विश्व : ०७४– सुपरहिरोको जगजगी

शुक्रबार, ३० चैत २०७४, ०२ : २२ शुक्रवार
विश्व : ०७४– सुपरहिरोको जगजगी

आङ सान सुची
बर्माको रखाइन प्रान्तमा वर्र्र्षाैंदेखि बसोबास गरिरहेका रोहिङ्ग्या मुस्लिमका गाउँका गाउँ सखाप पार्ने, सामूहिक हत्या गर्ने, सामूहिक बसाइँसराईका लागि बाध्य पार्नेजस्ता क्रियाकलापका कारण म्यानमार यो वर्षभरि चर्चाको केन्द्रमा रह्यो । 

बर्माको सेनाको अत्याचार, त्यहाँका अतिवादी बौद्ध धर्मावलम्बीको कुदृष्टि र प्रख्यात नेतृ आङ सान सुचीको मौनताका कारण रोहिङ्ग्या मुस्लिमको उठिबास भयो । करिब पाँच लाखभन्दा बढीको उठीबास भयो भने सम्पत्ति हुने मुस्लिमहरुले पनि त्यहाँका प्रभावशालीलाई हातमा लिएर आफ्नो ज्यानसम्म जोगाए । 

विश्व समुदायले यस किसिमको सामूहिक हत्या र देश छाड्न बाध्य पारिएकामा बर्मा र खासगरी नेतृ सुचीको घोर आलोचना गरे । सुचीले पनि लामो समयसम्म रोहिङ्ग्या समुदायका बारेमा मुख खोलेकी थिइनन् । उनले लामो आलोचनापछि मुख खोले पनि रोहिङ्ग्याको पलायन उनीहरुको खुसी भएको र अधिकांश मुस्लिमले जन्मथलो नछाडेको टिप्पणी गरेकी थिइन् ।

१९८२ मा बेलायतमा श्रीमान् र दुई सन्तान छाडी आमाको सेवाका लागि बर्मा छिरेकी सुची त्यसयता प्रजातान्त्रिक आन्दोलनको एक विम्वका रुपमा रहेकी थिइन् । बारम्बार सेनासँग टक्कर लिइरहेकी सुचीले पछिल्लो समय ठूलो बहुमतका साथ सरकार बनाउन पुगेकी थिइन् । 

राष्ट्रपति हुन नसके पनि आफ्ना नजिकका व्यक्तिलाई सर्वोच्च पदमा पुर्याएर आफू फस्ट स्टेट काउन्सिलर बनी छायाँ राष्ट्रपतिका रुपमा देश चलाइरहेकी सुचीको एक शब्दले धेरै काम गर्न सक्ने अपेक्षा गरिए पनि उनको सरकार सञ्चालन अपेक्षित हुन नसकेको आलोचना हुँदै आइरहेको छ ।

मि टू ह्यासट्याग
न्युयोर्क टाइम्स पत्रिकाले कार्यालय तथा फिल्म उद्योगमा हुने यौन उत्पीडनका बारेमा एउटा शृंखलाबद्ध रिपोर्ट प्रकाशन गरेको थियो र नाम दिइएको थियो– टाइम्स अप । खासगरी हलिउडको मिराम्याक्स स्टुडियो खोली प्रख्यात फिल्म निर्माण गरेका फिल्म निर्माता हार्भे विन्स्टिनमाथि यौन उत्पीडनको आरोप लगाउने करिब ८० अभिनेत्री तथा कार्यालय सहयोगीका कारण हलिउड निर्माता हार्भे कंगाल मात्र भएनन्, सर्वाङ्ग नाङ्गोसमेत भए ।

माई लेफ्ट फुट, इङ्लिस प्यासेन्ट, पल्प फिक्सन, ग्याङ्स अफ न्युयोर्कजस्ता मूलधार बाहिरका फिल्मलाई मूलधारमा ल्याउने श्रेय पाएका विन्स्टिनको कम्पनीको खातामा लगभग तीन सय ओस्कार नामांकन परेको थियो । असोज १९ गते न्युयोर्क टाइम्सले हलिउडको ‘ओपन सेक्रेट’बारे खुलस्त लेखेपछि हार्भेको पोल खुलेको थियो । प्रख्यात अभिनेत्रीहरु एन्जेलिना जोली, गिनिथ पाल्ट्रो, एस्ले जुड, रोजन्ना आर्केटीले आफूमाथि हार्भेले दुव्र्यवहार गरेको आरोप लगाएका भए पनि केट बासिङ्गेल र लेसेटी एन्थोनीले त आफूलाई हार्भेले बलात्कार नै गरेको भनी मुख खोलेका थिए ।

यसपछि त संसारभरि नै मिटू ह्यासट्याग भाइरल हुन थाल्यो र सबैले आफूलाई कसले, कसरी दुव्र्यवहार गरेका थिए भनी फेसबुक र ट्विटरमा टिप्पणी गर्न थाले । यस किसिमको टिप्पणी महिलाले मात्र नभई पुरुषले पनि गरे । 

हुँदाहुँदा भारतमा समेत चर्चित कलाकार जितेन्द्रले आफन्त पर्ने एक बहिनीलाई दुव्र्यवहार गरेको आरोप लाग्यो । त्यस्तै अभिनेत्री राधिका आप्टेले त एक निर्देशकबाट काम पाउन आफूले फोन सेक्ससमेत गर्नु परेको खुलासा गरेकी थिइन् । त्यसपछि बलिउडमा मिटू अभियानलाई साथ दिन कोनकणा सेन शर्मा र कंगना रनावतजस्ता चर्चित अभिनेत्री अगाडि देखा परे । यो लहर दक्षिण भारतीय फिल्म उद्योगमा समेत देखियो ।

चर्चित फिल्म
फिल्मतर्फ दुई वटा सुपरहिरोले कमाल देखाए । एउटा फिल्म थियो, ‘वन्डर वुमन’ र अर्को ‘ब्ल्याक प्यान्थर’ । वन्डर वुमनले अहिलेसम्मका जति पनि सुपर हिरोका कथामा बनेका फिल्म थिए, महिला सुपर हिरो चल्दैनन् भन्ने मिथकलाई उल्ट्याइदियो । यसले संसारभरिबाट ८ खर्ब २१ अर्ब ८ करोड व्यापार गरेर सबैलाई चकित बनाइदियो । फिल्मको पहिलो शृंखलाले यति धेरै व्यापार गरेको यो पहिलो हो ।

यसअघि सन् २००२ मा रिलिज भएको ‘स्पाइडरम्यान’को पहिलो शृंखलाले यसको कीर्तिमान बनाएको थियो । यसअघि ‘क्याट वुमन’ जस्तो लोकप्रिय कमिक्सको चरित्र फिल्ममा ल्याइएको भए पनि र चर्चित नायिका हेल बेरी क्याट वुमन बनेको भए पनि फिल्म फ्लप भएको थियो । जसका कारण महिला सुपरहिरो चल्दैनन् भन्ने एक किसिमको धारणा व्याप्त थियो ।

यस्तै आश्चर्यमा पार्ने अर्को फिल्म बन्यो, ‘ब्ल्याक प्यान्थर’ । अहिलेसम्म जति पनि सुपरहिरो थिए ती गोरा थिए । गोरा सुपरहिरो फिल्ममा कालाहरु भिलेनका रुपमा उदाउँथे वा गोरा सुपरहिरोका सहयोगीका रुपमा देखिन्थे ।

यस पटक भने ब्ल्याक प्यान्थरमा कालाहरु हिरो थिए भने गोराहरु भिलेनका रुपमा देखिए । यस्तो फिल्म रिलिज गर्नु व्यावसायिक रुपमा फ्लप हुन सक्थ्यो तर फिल्मले संसारभरिबाट ८ खर्ब रुपैयाँ कमाएर सबैलाई चकित पारिदिएको छ । 

यस फिल्मले पाएको सफलतासँगै सोनी पिक्चरका लागि भने दुःखदायी अवस्था सिर्जना भयो किनभने मार्भल कमिक्सले एक दसकअघि कम्पनी घाटामा जान थालेपछि ब्ल्याक प्यान्थरसहित प्रख्यात सुपरहिरोहरु आइरनम्यान, हल्क, थोर, क्याप्टेन अमेरिका, डेयरडेभिल लगायत अन्यको सिनेमा राइट किनिदिन आग्रह गरेको थियो । सोनी कम्पनीले भने ‘स्पाइडरम्यान’मा मात्र चासो दियो र अन्यलाई हेला ग¥यो । यतिबेला मार्भल कमिक्सले धमाधम सुपरहिरोमाथि फिल्म बनाइरहेको छ र संसारभरिबाट पैसा बटुलिरहेको छ । सोनी कम्पनी भने ठूलो मौका गुमाएकोमा पछुताइरहेको छ ।
 
फेसबुक र क्याम्ब्रिज एनालिटिका
सन् २०१६ ताका अमेरिकी राष्ट्रपतीय निर्वाचनलाई सघाउ पु¥याउने हिसाबले क्याम्ब्रिज एनालिटिका नामक विश्लेषण कम्पनीले पाँच करोडभन्दा बढी अमेरिकीको फेसबुक सूचना अनधिकृत रुपमा संकलन गरी दुरुपयोग गरेको समाचार बेलायती अखबार गार्जियनले खुलासा गरेपछि फेसबुक आलोचनाको केन्द्र बन्यो । 

फेसबुक प्रमुख मार्क जुकरबर्गले त्यसलगत्तै आफ्नो कम्पनीबाट गल्ती भएको स्वीकार्दै अब आइन्दा यस्तो नहुने विज्ञापन अमेरिका तथा बेलायतका प्रख्यात अखबारमा गरे । यसले पनि सर्वसाधारणको रिस मत्थर भएन । कतिले त डिलिटफेसबुक ह्यासट्यागलाई लोकप्रिय बनाए भने प्रख्यात उद्यमी एलेन मस्कले उनका चर्चित दुई कम्पनी टेस्ला र स्पेस एक्सका फेसबुक पेजका लाखौँ जानकारी एकै झमटमा डिलिट गरिदिए ।

यो खबर सार्वजनिक भएलगत्तै फेसबुकको सेयर बजार स्वात्तै घटेको छ । भारतीय प्रख्यात उद्यमी आनन्द महिन्द्राले भारतीयहरुको बेग्लै सामाजिक सञ्जाल हुनुपर्ने भन्दै सफ्टवेयर इन्जिनियरहरुलाई पहल गर्न आग्रह गरे । सुरुवाती रुपमा महिन्द्राले एक करोड भारु सामाजिक सञ्जाल विकास गर्नका लागि छुट्याएको घोषणा मात्र गरेनन्, सो अभियानमा भाग लिन चर्चित व्यक्तिहरुसमेत लाइनमा लागिसकेका छन् ।  

राजकुमार ह्यारी र मेगन मर्केलको प्रेम
३३ वर्षे बेलायती राजकुमार ह्यारीले आफ्नो विवाहका लागि योग्य महिला अरु कोही नभेटेर आफूभन्दा जेठी र यसअघि विवाह गरेर विरक्तिएकी महिला ३६ वर्षीया मेगन मर्केललाई अपनाएका छन् ।

यस खबरले संसार हल्लियो । विवाहको तयारी थालिरहेका ह्यारी र मर्केलको पछिल्लो टिप्पणीले पनि चर्चा बटुलेको छ । उनीहरुले आफ्नो वैवाहिक समारोहका लागि सर्वसाधारणलाई कुनै पनि उपहार नल्याउन आग्रह गरेका छन् । आउँदो जेठ ५ मा उनीहरुको विवाह हुने पक्का भएको छ । सो दिन आफूहरुलाई उपहार दिनुभन्दा दानपेटीमा रकम वा गरगहना हालिदिन उनीहरुले आग्रह गरेका हुन् ।

यसअघि सन् २०११ मा ह्यारीका दाजु राजकुमार विलियम र केट मिडलटनको बिहेका बेला पनि त्यस्तै आग्रह गरिएको थियो । त्यसबेला १० लाख पाउन्ड जम्मा भएको थियो । 

सन् २०१६ को जुलाईमा पहिलो पटकको भेटमै राजकुमार ह्यारीले मेगनलाई मन पराएका थिए । यसको केही सातामै ह्यारीले मेगनलाई अफ्रिकी मुलुक बोत्सवाना घुम्न निम्त्याए । मेगन गइन् मात्र होइन, त्यहीँ सम्बन्धलाई कसिलो बनाउने निर्णयसमेत गरिन् । 

ह्यारीले प्रेमिका मेगनलाई लगाइदिएको औँठी बोत्सवानामै किनेका थिए । उनीहरुको प्रेम ६ महिना मात्र गोप्य रह्यो । अक्टोबरको अन्त्यमा सन्डे एक्स्प्रेस पत्रिकाले यसको खुलासा गरिदियो । यसपछि उनीहरुले आफ्नो प्रेमको खुलासा गरेका थिए ।

पोर्नस्टारको राष्ट्रपतिमाथि हमला
एकताका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो सम्बन्ध निकै ‘हट’ अन्तरवार्ता दिएसँगै पोर्न स्टार स्टोर्मी ड्यानियल्स चर्चामा आइन् । १२ वर्षअघि ट्रम्पसँग भेट हुँदा वास्तविक नाम स्टेफनी क्लिफोर्ड रहेकी स्टोर्मीले ६० वर्षे ट्रम्प (अहिले उनी ७२ वर्षका भए)सँग १५ मिनेट छोटो यौन सम्बन्ध राखेको बताएर संसारलाई छक्क पारिदिएकी थिइन् ।

यसअघि पनि सार्वजनिक रुपमा ट्रम्पसँग यौन सम्बन्धबारे बोल्दै हिँडेकी स्टोर्मीलाई खुला रुपमा यसरी नबोल्न ट्रम्पका मानिसले घुस दिन खोजेको टिप्पणी गरेकी थिइन् । उनलाई ट्रम्पका नजिकका मानिसले सन् २०१६ को चुनावअघि १ लाख ३० हजार डलर दिएको र चुप नलागे शारीरिक हमलासमेत हुनसक्ने भनी धम्क्याएको बताएकी थिइन् ।

रमाइलो त के छ भने हालसम्म राष्ट्रपति ट्रम्पले यस्ता यौन दुव्र्यवहार, यौन सम्बन्ध र अन्य यौन गतिविधिका बारेमा ३ हजार ५ सय वटा मुद्दा खेपिसकेका छन् । अधिकांशले आफ्नो पैसाका कारण दुःख दिएको ट्रम्पको भनाइ थियो ।
 
संसारकै धनीः जेफ बेजोस
यस वर्ष जेफ बेजोस संसारकै धनी सूचीमा परे । फोब्र्स म्यागेजिनले हरेक वर्ष निकाल्ने सो सूचीमा उनी यस पटक शीर्षमा परेका हुन् । उनले बिल गेट्सको आम्दानीलाई पछि पार्दै शीर्ष सूचीमा नाम लेखाएका हुन् । उनको अमेजनडटकम नामक कम्पनी छ । यस कम्पनीले नेपालको भाटभटेनी सुपरस्टोरले जस्तै अनलाइनमार्फत् सामग्री बेच्ने गर्छ ।

गएको जनवरी १२ मा ५४ वर्ष पुगेका बेजोसको नेट मूल्य ११६.९ अर्ब डलर रहेको छ । इन्टरनेट अनलाइन किताब पसलबाट सुरु भएको बेच्ने सिलसिला अहिले भिडियो स्ट्रिमिङसम्म पुगेको छ । उनको अन्तरिक्ष पर्यटनको सोच पनि कार्यान्वयनको चरणमा छ । उनले सन् २०१३ ताका २५० करोड डलरमा द वासिङ्टन पोस्ट पत्रिका किनेपछि सबैको नजरमा चढेका थिए । यही गतिमा उनको सम्पत्ति बढ्दै गए संसारकै पहिलो खर्ब डलर सम्पत्तिको मालिक हुने देखिएको फोब्र्सले जनाएको छ ।

क्रेडिट सुसीको अध्ययन र विश्व सम्पत्ति रिपोर्टअनुसार २०५७ यता १७० प्रतिशत करोडपतिको संख्यामा वृद्धि भएको छ ।
संसारका १% सँग ५०.१% भन्दा बढी सम्पत्ति छ र बाँकी ९९ प्रतिशतसँग ४९.९% सम्पत्ति बाँडिएको छ ।
चाँडै धनी हुनेहरुको संख्या अघिल्लो एक दशकको तुलनामा यो दशकमा ५ गुणाले बढेको छ ।
५२% संसारका मानिसहरुले इन्टरनेट चलाउन पाएका छैनन् । तीमध्ये ६२ प्रतिशत एसिया र प्रशान्त क्षेत्रका मानिससम्म इन्टरनेटको पहुँच पुग्न सकेको छैन ।
विवाहित दम्पतिहरु भन्दा एकल जीवन बिताउनेहरुको चाँडै मृत्यु हुने सम्भावना ५० प्रतिशतले बढी छ ।
 

Leave A Comment