२०७४ मा स्वास्थ्य : रोकियो भाडाको कोख

शुक्रबार, ३० चैत २०७४, ०२ : १५ उपेन्द्र खड्का
२०७४ मा स्वास्थ्य : रोकियो भाडाको कोख

स्वास्थ्य क्षेत्रका लागि २०७४ उपलब्धिपूर्ण वर्ष बन्यो । सरकारले नागरिकको स्वास्थ्य समस्यालाई सम्बोधन गर्दै जटिल प्रकृतिका दीर्घरोगीका लागि भत्ताको व्यवस्था गर्नेदेखि लिएर स्वास्थ्य बिमासम्मको योजना यही सालमा बन्यो ।

०७४ मा तीनवटा सरकार बन्यो, तीन स्वास्थ्यमन्त्री आए गगन थापा, गिरिराजमणि पोखरेल र दीपक बोहोरा । नीतिगत निर्णयको आधारमा गगन थापा हिट भए यो साल । गठबन्धनको सरकारको नीतिअनुसार प्रधानमन्त्री बदलिएसँगै मन्त्रीसमेत बदलिँदा बनाएको नीति कार्यान्वयनको परीक्षा दिनबाट भने उनी जोगिए ।

स्वास्थ्य क्षेत्रमा नयाँ प्रविधि र योजनासमेत भित्रिए । चिकित्सकको लापरबाहीको घटनाक्रम यो वर्ष पनि रोकिएन जारी नै रह्यो । पेशाको सुरक्षाको बहानामा गलत काम गर्ने चिकित्सकको पक्षमा खुलेरै लागे चिकित्सकहरु । 

चिकित्सा शिक्षाको आवरणमा भइरहेको बदमासीका घटना सार्वजनिक भए । तर संलग्न कारबाहीको दायरामा आएनन् । स्वास्थ्य क्षेत्रको सुधारका लागि अनसन बस्ने डा. गोविन्द केसीको अभियान यो वर्ष पनि रोकिएन । 

नयाँ प्रविधिको प्रवेश
ब्रेन डेथ भएका व्यक्तिको मृगौला अर्को बिरामीलाई पहिलोपटक प्रत्यारोपण यही वर्ष भयो । भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रले जेठ ३ मा दुर्घटनामा परेर ब्रेन डेथ भएका एक बिरामीको दुवै मृगौला निकालेर मृगौलाको प्रतिक्षामा रहेका २ बिरामीमा प्रत्यारोपण गरेको थियो ।

नेपालमा दृष्टि विशेषज्ञ (अप्टोमेट्रिक्स) को अभाव हुँदै गएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले स्नातक तहमा अप्टोमेट्रिक्स एन्ड भिजन साइन्स विषयमा अध्यापन सुरु गर्ने निर्णय गरेको थियो । यो तहको पढाइ नेपालमा पहिलो हो । 

यो वर्ष सर्वोच्च अदालतले कोख भाडामा लगाउन रोक लगायो । कानुनको कमजोरीलाई हतियार बनाएर नेपाली महिलाको कोखसमेत भाडामा लिएर बच्चा जन्माउन थालिएपछि सर्वोच्चले सारोगेसी (कोख भाडामा लिएर बच्चा जन्माउने) प्रक्रियामा रोक लगाउने सकारात्मक फैसला गरेको थियो ।

माघमा भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले अत्याधुनिक क्याथल्याब सेवा सञ्चालनमा ल्यायो । विभिन्न मानव अंग प्रत्यारोपण गर्ने उद्देश्यले नेपाल सरकारले चार वर्षअघि केन्द्रको स्थापना गरेको थियो । मुटुको प्रत्यारोपण गर्न क्याथल्याब सेवा सञ्चालनमा ल्याइएको थियो । अस्पतालले माघमा सूर्यविनायकका ३६ वर्षीय अष्टलाल डंगोल र भक्तपुर दधिकोटकी ५० वर्षीया विमला न्यौपानेको एनजीओग्राम गरेर क्याथल्याब सेवा सञ्चालन गर्यो । 

सरकारले मृगौला, क्यान्सर र स्पाईनल इन्जुरी भएका बिरामीको जीविकोपार्जनका लागि मासिक पाँच हजार भत्ता दिने निर्णय गर्यो । बोहोराले रेकर्डमा १७ हजार पाँच सय बिरामीले भत्ता पाउने जानकारी दिएका थिए । 

अवकाश प्राप्त सांसदलाई पनि उपचार खर्च दिने विषयले  निक्कै चर्चा पायो यो वर्ष । अवकाश प्राप्त सांसदले औषधि उपचार खर्च पाउने व्यवस्थासहित पूर्व विशिष्ठ पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक पारित भयो ।

लाज पचाए चिकित्सकले
वर्षको प्रारम्भ विवादबाट भयो । पोखराको मणिपाल अस्पतालले मुस्ताङमा भएको बस दुर्घटनाका घाइतेको उपचार नगर्दा आलोचना भयो । दुर्घटनामा परेकाको जीवन जोखिममा थियो, चिकित्सक आन्दोलनमा । विरोध भएपछि मात्र उपचार सुरु भएको थियो । 

स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलको स्वीकृतिविना अस्पताल चलाउने चिकित्सक र सञ्चालक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा पुगे । चिकित्सकको लापरबाहीले कसैको ज्यान गयो त कसैको अंगभंग भएका समाचार आइरहे वर्षभरि । नर्भिकका चिकित्सकले नै एउटा घुँडामा समस्या तर अर्को घुँडाको अप्रेसन गरेको तथ्य बाहिरियो । 

बिरामीलाई पैसाको प्रलोभन दिएर प्रशासनले घटना लुकाउन खोजे पनि सार्वजनिक भएपछि नेपाल मेडिकल काउन्सिलले अप्रेसनमा जोडिएका चिकित्सक प्रविण नेपाल र शैलेश रञ्जितकारमाथि कारबाही गर्ने निर्णय गरेको थियो ।

चिकित्सकको यही लापरबाही रोक्न किरामीको मुत्यु भए सम्बन्धित चिकित्सकलाई क्षतिपूर्ति भराउने गरी कानुन बनाउन सक्रिय भयो सरकार । तर, चिकित्सकको दबाब थेग्न सकेन । सरकारको रणनीतिलाई लिएर दशैंभरिका अस्पतालको सेवा बन्द गराउँदै चिकित्सक आन्दोलनमा उत्रिएपछि सरकार क्षतिपूर्ति भराउने कानुन बनाउनबाट पछि हट्यो । निजी र सरकारी अस्पतालको ज्यादतीको विरोधमा नर्सहरु आन्दोलित भए तर चिकित्सकको साथ पाएनन् ।

अलपत्र निर्णय
स्वास्थ्य बिमा कार्यक्रमले पनि यो वर्ष निक्कै चर्चा पायो । सर्वसुलभ मूल्यमा औषधि खरिद गरेर जनतालाई वितरण गर्ने सरकारको योजनामा औषधि आयातकर्ता भिलेन बने ।

स्वदेशमै गुणस्तरीय औषधि गर्ने कुराले पनि निक्कै चर्चा पायो यो वर्ष । स्वदेशमा औषधि उत्पादन गर्ने कम्पनिको वृद्धि भयो यो वर्ष । सरकारी कोषमा रजाइँ गर्दै प्रभावशालीहरु विदेशमा उपचार गर्न जाने परिपाटी हटाउन सरकारले राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सेवा सुविधाबारे कानुन बनाउँदै स्वदेशमा उपचार सम्भव नभएको अवस्थामा मात्रै मेडिकल बार्डको सिफारिसमा  विदेशमा उपचार खर्च भएको रकम सरकारले व्यहोर्ने प्रस्ताव गर्यो । 

तर, शृंखला रोकिएको छैन । प्रधानमन्त्री केपी ओलीदेखि पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानसम्म उपचारका लागि विदेशै गए । साउनमा भएको मन्त्रिपरिषद् विस्तारमा थापा आउट भए । उनको स्थानमा गिरिराजमणि पोखरेल आए । यही वर्ष स्वाइन्फ्लुबाट टिचिङमा दुईजनाको मृत्यु भयो । मन्त्री भएपछि उनले २६ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए । तर, उनको प्रतिबद्धतापत्र बीचैमा तुहियो । 
 

Leave A Comment