सुरक्षा–२०७४ : कमान्ड फुस्किएको वर्ष

शुक्रबार, ३० चैत २०७४, ०१ : ५९ केपी ढुंगाना
सुरक्षा–२०७४ : कमान्ड फुस्किएको वर्ष

नेपाल प्रहरीका लागि वर्ष २०७४ अफापसिद्ध भयो । २०७३ को अन्त्यबाट सुरु भएको संगठन प्रमुखको नियुक्तिबारे कानुनी विवाद २०७४ मा टुंगियो तर नियुक्तिका क्रममा पेस गरिएका कागजपत्र सक्कली कि नक्कली भन्ने विवाद अझै जारी छ ।

प्रहरी महानिरीक्षक नियुक्ति निर्णय पटक–पटक विवादमा तानिए पनि निर्णय प्रक्रिया सुधारमा सरकार सुस्त देखियो । सुरक्षा संगठनको सञ्चालन नीति र पद्धतिमा भन्दा पनि आफूअनुकूलता नै सरकारको प्राथमिकतामा पर्याे । अति राजनीतिले प्रहरी संगठन थला पर्यो ।

आ–आफ्नाको बढुवाका लागि अनावश्यक पदावधि बढाउँदा प्रहरी र सशस्त्र प्रहरीका एआइजी तहका अधिकारी पङ्गु बन्न पुगे भने प्रदेश र संघको निर्वाचन सम्पन्न भई प्रदेश सरकार गठन भइसक्दासमेत सुरक्षा निकायको संघीय संरचना कार्यान्वयनमा आउन सकेन ।

नवराज सिलवाल र जयबहादुर चन्द बीचको लडाईंमा प्र्रकाश अर्यालको काँधमा आइजिपीको फुली चढ्यो तर पनि उनले आफ्नो कार्यकाललाई प्रभावकारी बनाउन सकेनन् । चेन अफ कमान्ड कायम गर्न उनी कमजोर देखिए ।

प्रहरीको २५ औं आइजिपीको रुपमा प्रहरी कार्यालयमा फोटो झुन्ड्याउनेबाहेक उनले स्मरणीय काम गर्न सकेनन् । उनको कार्यकालमा प्रहरी गम्भीर अपराधमा मुछिए । काठमाडौंको दरबारमार्गस्थित प्रहरी कार्यालयका प्रमुख डिएसपीदेखि सईसम्म सामूहिक बलत्कारको घटना लेनदेनमा मिलाउन सक्रिय भएको आरोपमा मुछिए । प्रहरीमध्येका कोही हत्यामा पक्राउ परे भने कोही जबर्जस्ती रकम असुलीमा ।

एक वर्षमा तीन गृहमन्त्री भए । तर उल्लेखनिय काम गर्न सकेनन् । बिमलेन्द्र नीधी बामदेव गाैतमसँगै विवादित गृहमन्त्रीकाे सूचीमा चढे। जनार्दन शर्माले नीतिगत केही काम गर्ने प्रयास गर्दागर्दै एमालेसँग पार्टीकाे सहकार्यपछि जगेडामा पुगे । स‌घ र प्रादेशिक प्रहरीकाे नीतिगत टुंगाे लगाउन सक्रिय हुनुपर्ने  बेला बहुमतसहितकाे सरकारकाे गृहमन्त्री बनेका रामबहादुर थापा निर्देशन र चेतावनीमै अल्मलिइरहेका छन्। जवानकाे मेसमा खान खाएर रमाइरहेका छन् ।

गम्भीर प्रकृतिका आपराधिक घटना हुनुअगाडि नै नियन्त्रण गर्न असफल भएको प्रहरी घटनामा संलग्नको पक्राउमा भने सफल देखियो । 

काठमाडौंमा दिउँसै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भयो । असोज २३ मा महासंघका अध्यक्ष गौचन घरबाट अनामनगरस्थित महासंघ कार्यालय जाने क्रममा बाटैमा मारिए । पौने तीन बजेतिर उनी चढेको बा१३च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडीमा गोली हानेर हत्या गरिएको थियो । मध्य दिनमा सहरको मध्यभागमा गोली हानेर हत्यारा फरार भएका थिए ।

सुन तस्करीको क्रम उस्तै रह्यो । काठमाडौंमा ८८ किलोसम्म सुन फेला प¥यो । महानगरीय प्रहरी अपराध महाशाखाले ठमेलमा ८८ किलो सुन फेला पारेको थियो । सिआइबीले १५ किलो मात्र सुन फेला पार्यो ।
अनुसन्धानमा महाशाखाले फेला पारेको सुन चिनिया तस्कर समूहले नेपाल भित्रयाएको देखायो । ब्युरोको अनुसन्धानमा १५ किलो सुनको तस्करीमा जनप्रतिनिधि रामकुमार पौडेल संलग्न देखिएका थिए । भरिया पक्राउ पर्ने, मूल नाइके उम्कने क्रम रोकिएन । पक्राउलाई सफलता मान्ने भए एउटा पाटो, नत्र सुन तस्करी नियन्त्रणमा प्रहरीको प्रभावकारिता देखिएन ।

पुरातात्विक सम्पदा र वन्यजन्तुको अङ्गको कारोबारमा २०६५ सालदेखि प्रहरीको खोजी सूचीमा परेका अमेरिकी नागरिक इयान बेकर नेपाल प्रहरीले जारी गराएको रेडकर्नर नोटिसको आधारमा ग्रिसमा पक्राउ पर्दासमेत नेपालले उनलाई स्वदेश ल्याउन सकेन ।

साउन ११ मा राजधानीको एक विद्यालयबाटै विद्यार्थी अपहरणमा परे । आफ्नै बाबुको साथीबाट अपहरणमा परेका ११ वर्षीय बालक धन्न सकुशल नै अपहरणमुक्त भए । पुस २१ मा वसन्त पौडेल मारिए । 
नेपाल प्रहरीलाई कलंकित बनाउने सुडान घोटालाका अभियुक्त प्रहरीका तीन पूर्व आइजिपी रमेश चन्द ठकुरी, हेमबहादुर गुरुङ र ओमविक्रम राणालाई सर्वोच्चले दोषी ठहर ग¥यो । दोषीमध्ये हेमबहादुर र राणासहित ४ जनाले असार ७ मा आत्मसर्मपण गरे । ठकुरी अझै फरारै छन् । प्रहरीले उनको खोजीमा चासो देखाएको छैन । 

जसले प्रहरीको साख बढायो 
१४ वर्षीया किशोरीको बलात्कार र हत्या अभियोगमा ६ वर्षदेखि फरार रहेका श्याम राउतको पक्राउले प्रहरीको साख बढायो । भारतमा लुकेर बसेका उनलाई रामेछाप प्रहरीको सक्रियतामा असार १२ गते पक्राउ गरेर नेपाल ल्याइएको थियो । 

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्यामा संलग्न समीरमान बस्नेतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतदेखिनै पक्राउ गरेर नेपाल ल्यायो । यसले प्रहरीले चाह्यो भने कोही जोगिन्नन् भन्ने कथनलाई बलियो बनायो ।

२०७३ मा मारिएका दुर्गा तिवारी र २०७४ मा मारिएका वसन्त पौडेलको हत्याका योजनाकार मानिएका मनोज पुन फागुन ९ मा इन्काउन्टरमा मारिए । भारतमा लामो समयदेखि लुकेर बसेका उनी एकाएक कपिलवस्तुमा इन्काउन्टरमा पर्नुले घटना नियोजित देखायो तर आतंकको अन्त्य भने भयो । ठूलो प्रकृतिको वित्तीय अपराध नियन्त्रणमा प्रहरी केही हदसम्म सक्रिय देखियो । 

दण्डहीनताविरुद्ध धावा
वैशाख ३ मा जिल्ला अदालत काभ्रेले मैना सुनुवारको हत्यामा जोडिएका तीन सैनिक अधिकृतलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनायो । अवकाशप्राप्त महासेनानी बबी खत्री, सहसेनानी अमित पुन र सुनील अधिकारीलाई २० वर्ष कैद सजाय सुनाएको थियो । 

१५ वर्षीया किशोरी मैनालाई घरबाट पक्राउ गरी काभ्रेको पाँचखालमा लगेर २०६० फागुन ५ मा हत्या भएको थियो । अदालतको यो फैसलाले दण्डहीनताविरुद्ध धावा बोल्यो । उज्जन श्रेष्ठको हत्या अभियोगमा जन्मकैद सुनाइएका बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ गरेर अदालतको दण्डहिनताविरुद्धको अभियानमा सघायो । 

तर सरकार भने दण्डहीनता बढाउनै सक्रिय भयो । थरुहट र मधेस आन्दोलनका क्रममा जघन्य अपराधको आरोप लागेका पाँच सय जनाको मृद्दा फिर्ता लिने सरकारको निर्णयको विरोध भयो । जेठ ४ मा बसेको मन्त्रिपरिषद्को बैठकले कैलालीको टीकापुरमा ८ प्रहरीको हत्यामा संलग्न र मधेस आन्दोलनकाक्रममा विभिन्न जिल्लामा भएका गम्भीर अपराधका आरोपीको मृद्दा फिर्ताको निर्णय गरेको थियो । निर्णय पूर्ण रुपमा कार्यान्वयन भने हुन सकेन ।

‘अपराधी’लाई प्रोत्साहन
उपत्यकामा संगठित आपराधिक सञ्जाल चलाएर कुख्यात भएका दीपक मनाङेलाई मनाङबासीले प्रदेश सभाको माननीय बनाइदिए । मनाङेको माननीय यात्राको साक्षी नेकपा एमाले बस्यो । सर्वोच्च अदालतले विचाराधीन मुद्दाको किराना लगाउँदा उनी हत्या प्रयासको अभियोगमा पहिल्यै सजाय पाइसकेका र निर्वाचनमा उम्मेदवार बन्नसमेत अयोग्य रहेको रहस्य खुलेपछि उनी फरार भए । धन्न माननीयको सपथ खान पाएनन् । उनको फरारयात्रा जारी छ ।

कैलाली घटनामा मुख्य योजनाकारको रुपमा अदालतले अरेस्ट वारेन्ट जारी गरेका रेशम चौधरी फरारै रहेको अवस्थामा प्रतिनिधि सभाको उम्मेदवार बनेर विजयी पनि भए । अदालतको हस्तक्षेपमा निर्वाचित भएको प्रमाणपत्र लिन नपाएका उनले पछि आत्मसर्मपण गरे । जेलमा रहेर माननीयकै हैसियत लिने उनको प्रयास जारी छ ।

कालो धनको रङ फेरियो
आपराधिक गतिविधिबाट कमाएको सम्पत्ति भन्दै सम्पत्ति शुद्धीकरण विभागमार्फत् विशेष अदालतमा मुद्दा पुगेका गुण्डाहरुको ‘कालो सम्पत्ति’ यो वर्ष सेतो भयो । गुन्डा नाइके पर्शुराम बस्नेत, गणेश लामा र चक्रे मिलनको सम्पत्तिलाई अदालतले यही वर्ष सेतो भएको प्रमाणित ग¥यो । मनाङेको सम्पत्ति गत वर्ष नै चोखिएको थियो । मनाङे फरारै छन् । चक्रे स्वतन्त्र छन् । वर्षको अन्त्यमा हतियारसहित पक्राउ परेका लामा भने पूर्पक्षका लागि थुनामा पुगे ।

काे हिट, काे फ्ल्प !

हिट : दुर्गाबहादुर राना
दाङको छाँगामुनिको मतदान केन्द्रमा फालिएको बम हातले टिपेर फ्याँकी मानवीय क्षति रोक्ने तत्कालीन प्रहरी हबल्दार दुर्गाबहादुर रानाको दुस्साहसको सबैतिर प्रशंसा भयो ।
मतदाता भोट दिन लाइनमा बसेको बेला फेला परेको बम उनले ट्याप्पै टिपेर फालेका थिए । बम हातले टिपेर फाल्नु ज्यान जोखिममा पार्ने मुर्खता त हो तर उनको मुर्खताले सर्वसाधारणको ज्यान जोगाएकाले उनको कामको प्रशंसा भयो । 
तुलसीपुर उपमहानगरपालिका ३ अम्बासस्थित प्रतापकोट निमावि मतदान केन्द्रमा खटिएका उनले मतदान केन्द्रको पूर्वपट्टिको छाँगो झाडीबाट मतदान केन्द्रतिर सुतली बम फालिएको थियो । बम रानानजिकै आएपछि उनले आगो बलिरहेको गोलो बम हातले टिपेर मतदान केन्द्रभन्दा पर फ्याँकिदिएका थिए । 
अहिले रानाले अवकास पाइसकेका छन् । उनको साहसको कदर गर्दै गृह मन्त्रालयले उनको एक तह पदोन्नति गरेर सम्मान गरेको थियो ।

फ्लपः प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी
माघ ७ मा काठमाडौंको होटल ल्यान्डमार्कमा भएको सामूहिक बलात्कार घटना लेनदेनबाट मिलाउन प्रहरी नै सक्रिय भएको लज्जास्पद घटना सार्वजनिक भयो । बलात्कार दाबी गरिएको घटना लेनदेनबाट मिलाउन सक्रिय भएको घटनामा महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारी जोडिए ।

दुर्गम स्थानमा प्रहरीको मिलेमतोमा हुने यस्ता जघन्य अपराधका घटना यदाकदा सार्वजनिक भइरहेको थियो । राजधानीको केन्द्रमा रहेको प्रहरी कार्यालयमै प्रहरीबाट भएको बदमासीले संगठनकै शिर निहु¥यायो । 

अहिले ठकुरी र भण्डारी निलम्बनमा छन् । भारतीलाई सरुवा मात्र गरियो । सामूहिक बलात्कारमा जोडिएका शैलेश कार्की, विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेलमध्ये कार्की पक्राउ परेका छन् भने अन्य फरार छन् । 
 

Leave A Comment