पाँच सयको निहुँमा ५५ लाख ब्ल्याकमेल

आइतबार, २५ चैत २०७४, ०२ : ४९ शुक्रवार
पाँच सयको निहुँमा ५५ लाख ब्ल्याकमेल

आरोपीः शिक्षक,विद्यार्थी र अभिभावक
पीडितः १२ वर्षका विद्यार्थी .
ठगिएको रकमः ५५ लाख .
अवधिः डेढ वर्ष .
ठगी विधिः ब्ल्याकमेल

सुन्दै अचम्म लाग्ने यो घटना भएको विद्यालय हो, नेपालगन्जको ‘ब्राइटल्यान्ड इंगलिस मिडियम बोर्डिङ स्कुल’ । जहाँका शिक्षक, विद्यार्थी र विद्यार्थीका अभिभावक ५५ लाख ठगीको घटनामा तानिएका छन् ।

पीडित हुन्, सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत १२ वर्षका छात्र आदित्य साहु । विद्यार्थीलाई ब्ल्याकमेल गरेर ४० लाख रकम लिएको आरोपमा स्कुलका कम्प्युटर शिक्षक सुशील साहु अहिले प्रहरी हिरासतमा छन् । थप १५ लाख ठगेको आरोप लागेका सोही विद्यालयका विद्यार्थी र अभिभावक अनुसन्धानको दायरामा छन् । ५५ लाख ठगीको अनौठो घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ब्ल्याकमेलको श्रृंखला
नेपालगन्ज–१० निवासी बिन्देश्वर साहु नाम चलेका व्यापारी हुन् । उनी आयुर्वेद मेडिकल र ड्राइफुडको डिलर सञ्चालन गर्छन् । दैनिक रुपमा व्यवसायमार्फत् आर्जन गरेको आम्दानी रकम बेलुका घरमै राख्थे । 

घरमा पैसा राख्ने जिम्मा बिन्देश्वरकी श्रीमतीको थियो । उमेरका हिसाबले सानै भए पनि उनी छोरा आदित्यलाई बढी विश्वास गर्थिन् । पैसा र गहना राख्ने बाकस र दराजको चाबीबारे आदित्य जानकार थिए । आमा कामले बाहिर जाँदा चाबी आदित्यको जिम्मामा हुन्थ्यो । 

डेढ वर्षअघि आदित्यले एकदिन चोरेर ५ सय रुपैयाँ स्कुल लगे र त्यो पैसाले साथी शिवम पाण्डेको कलम किन्न खोजे । उनले आदित्यलाई कलम बेचे । आदित्यले कलम किन्न दिएको ५ सय रुपैयाँ घरबाट चोरेर ल्याएको शिवमले चाल पाए । उनले त्यसैलाई ब्ल्याकमेलको आधार बनाए र साथीसँग पैसा असुल्न थाले ।

शिवमले पहिला २ हजारको माग गरे । २ हजार नदिए पैसा चोरेको घरमा भनिदिने त्रास देखाएपछि आदित्य डराए र साथीको माग पूरा गरिदिए । डेढ वर्षको अवधिमा शिवम्ले पटक–पटक गरेर आदित्यसँग १० लाख असुलेको दाबी छ ।

शिवमले आदित्यलाई ब्ल्याकमेल गरेर पैसा लिइरहेको कक्षाका अर्का साथी १३ बर्षका एजाज खान (हल्वाई)ले चाल पाए । एजाजले पनि शिवम्कै शैली अपनाएर आदित्यलाई धम्क्याउँदै पटक–पटक गरेर पाँच लाख असुले ।

आफ्नो कक्षाका एक विद्यार्थीलाई अन्य २ विद्यार्थीले धम्क्याएर पैसा असुली गरिरहेको कम्प्युटर शिक्षक सुशील साहुले थाहा पाए । अपराध गरिरहेका किशोर उमेरका विद्यार्थीलाई सम्झाएर यो श्रृंखलाको अन्त्य गर्नुको साटो उनको अपराधी दिमाग सक्रिय भयो । 

ब्ल्याकमेल गरिरहेका विद्यार्थीसँग उनी पनि मिसिए र  पैसा चोरेको घरमा भनिदिन्छु, परीक्षामा फेल गराइदिन्छु भनेर धम्क्याउँदै पैसा असुल्न थाले । डेढ वर्षको अवधिमा उनले पटक–पटक गरेर आदित्यसँग ४० लाख रुपैंया असुलेको प्रहरीको प्रारम्भिक आँकडा छ ।

ब्ल्याकमेलको श्रृंखला यहीँ रोकिएन । विद्यार्थीको अभिभावकसम्म समेत पुग्यो । आदित्यलाई तर्साएर पैसा असुल्ने समूहमा शिवमकी आमासमेत मिसिइन् । प्रहरीमा परेको उजुरीमा उल्लेख भएअनुसार उनले शिवम्लाई तर्साएर ४० हजार रुपैयाँ बराबरको गहना लिइन् । आदित्यले आमाको गहना चोरेर दिएका थिए । 

झन्डै भएन डिभोर्स
सानोतिनो रकमबारे साहु परिवारमा त्यत्ति चासो हुँदैनथ्यो तर बिस्तारै बिस्तारै हराउन थालेको रकमको मात्रा ठूलै भएपछि साहु परिवारमा तनाव सुरु भयो । 

ब्यापारमा अशुभ भएको भन्दै पूजा लगाए । धामीझाँक्री कहाँ गएर ग्रहदशा हेराए । पैसा हराउनेक्रम भने रोकिएन । तनावकै बीच बिन्देश्वरका ठूलो छोराले जनकपुरबाट बुहारी भिœयाए । बुहारी भिœयाएपछि पनि पैसा हराउनेक्रम रोकिएन । बुहारी भित्रिएपछि ठूलै रकम हराउन थाल्यो ।

१२ वर्षका किशोर आदित्य शंकामा पर्ने कुरै थिएन । परिवारले बुहारीमाथि शंका ग¥यो । परिवारमा कलह सुरु भयो । तनाव बढ्दा सम्बन्धबिच्छेदको तयारीसम्म पुग्यो । धन्न सम्बन्धविच्छेद हुनुअगाडि नै पैसा हराउनुको रहस्य खुल्यो र उनीहरुको दाम्पत्य जीवन पनि जोगियो ।

तीन हजारले खुल्यो रहस्य
गत साता आदित्यले पहिलेको जस्तै तीन हजार लुसुक्क निकाले तर त्यो बेला घरमा सबै जना थिए । पैसा हराएपछि परिवारमा हल्ला भयो । बाबुलाई कता कता छोरामाथि शंका लाग्यो र केरकार सुरु गरे । तीन हजारले डेढ वर्षदेखि हराइरहेको पैसाको रहस्य खुलायो ।

‘बाहिरबाट आफन्तको कामका लागि आएको पैसा दिउँसै हरायो,’ बिन्देश्वरले भने, ‘सबैको आँखैअगाडि पैसा गायब भएपछि छोरालाई सोधपुछ गर्दा उसले चोरेको पत्ता लाग्यो ।’ 

आदित्यले परिवारसामु साथी र शिक्षकले मार्छन् भन्न थाले । परिवार छक्क प¥यो । परिवारका सबै बसेर सम्झाउँदै सोध्न थाले । तब खुल्यो ५५ लाखको रहस्य । 

‘छोराले डराउँदै ड्याडी पैसा नदिएपछि मलाई अब तिनीहरुले मार्छन् भन्न थाल्यो,’ उनले शुक्रबारसँग भने ‘केही हुदैन बाबु तिमीलाई, भन त तिनीहरु को हुन् ? कहिलेदेखि तिमीलाई यस्तो गरेका हुन् ? भनेर सोध्दै जाँदा डेढ वर्षदेखि ब्ल्याकमेल गरेको कुरा भन्यो, सबै छक्कै प¥यौँ ।’

छोराको मुखबाट पैसा हराएको रहस्य खुलेलगत्तै बिन्देश्वरले प्रहरीलाई खबर गरे । जिल्ला प्रहरी कार्यालय बाँकेले सादा पोशाकमा प्रहरी पठायो । ‘घरमा कोही नभएको र पैसा लिन आऊ भन्दै आदित्यले फोन गरेर साथी र शिक्षकलाई बोलायो । उनीहरु मक्ख पर्दै घरमा आए र प्रहरीको फन्दामा परे । साहु परिवारले शिक्षक र दुई जना किशोरविरुद्ध चोरी र ठगीमा जाहेरी दिए । 

अहिले जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले शिक्षक सुशील र शिवम्की आमालाई हिरासतमा लिइसकेको छ ।  शिवम् र एजाजलाई बयानका लागि मात्रै बोलाउने गरेको छ । 

एक सातादेखि आदित्य, उनका दुई जना साथी, शिक्षक र साथीका आमासँग बयान लिने काम भइरहेको मुद्दा शाखाका प्रमुख प्रहरी निरीक्षक रणबहादुर बिष्टले बताए । 

आदित्यले आफूलाई तर्साएर शिक्षक सुशीलले ४० लाख, शिवम्ले १० लाख र एजाजले ५ लाख रुपैयाँ लगेको बयान दिएका छन् । बालकबाट असुलेको रकमबाट शिक्षक साहुले घर बनाउन र पसल सञ्चालन गर्न प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ । 

‘शिक्षाको पवित्र स्थलबाट यस्तो अनौठो घटना सार्वजनिक भयो,’ प्रहरी निरीक्षक बिष्टले भने ‘डेढ वर्षदेखि जोडिएको घटना भएकाले प्रमाण जुटाउन गाह्रो भइरहेको छ ।’

 

यसरी हराउनथाल्यो पैसा
घरमा राखेको पैसा हराउन थाल्यो । कसरी हराइरहेको छ थाहै भएन । छोरा सानै थियो । शंका लागेन । पुजापाठ गरे तर केही भएन । घरमा तनाव बढिरहेको थियो । डेढ वर्षदेखि राम्रोसँग सुत्न समेत सकेको थिइन् ।
एक दिन घरमा सबै भएको बेलामा त्यसरी नै तीन हजार रुपैंया हरायो । कतै छोराले पो लियो कि भनेर शंका लागेर केरकार गर्दा उसले स्विकार ग¥यो । निक्कै डराएको थियो ।  छोराले डराउँदै ड्याडी पैसा नदिएपछि मलाई अब तिनीहरुले मार्छन् भन्न थाल्यो । साथी र शिक्षकले मार्छन् भन्न थाल्यो । फकाउँदै सोध्दा उसका साथी, शिक्षक र साथीको आमाले धम्क्याउँदै पैसा चोर्न लगाएका रहेछन् । अहिलेसम्म ५५ लाखको हिसाव निस्किएको छ ।
–विन्देश्वर

साथीले पैसा माग्न थालेपछि डरले दिए
पाँच सय चोरेको घरमा भनिदिन्छु भन्दै पहिला साथीले डर देखायो । घरमा थाहा पाए भने पिट्छन् भनेर डर लाग्यो । साथीले पैसा माग्न थाल्यो । ममिले पैसा राख्ने ठाउँ देखेको थिए । चावी राख्ने ठाउँ समेत देखेको थिए । साथीले पैसा माग्न थालेपछि डरले दिए । अर्को साथीले पनि थाहा पाएछ । उसलाई पनि पैसा दिन थाले । पछि सरले पैसा चोरेको भनिदिन्छु, एक्जाममा फेल गराउँछु भन्दै पैसा माग्नुभयो । उहाँलाई पनि दिए । 
घरमा थाहा पाउँलान् कि भनेर धेरै डर लाग्थ्यो । आमा बाहिर जाँदा मलाई चावी दिएर जानुहुन्थ्यो त्यही बेला पैसा निकालेर दिन्थे । 
–आदित्य

प्रमाण जुटाउन गाह्रो भइरहेको छ ।
एक साता अगाडिबाट आदित्यका दुई जना साथी, शिक्षक र साथीका आमासँग बयान लिने काम भइरहेको छ । शिक्षाको पवित्र स्थलबाट यस्तो अनौठो घटना सार्वजनिक भयो । डेढ वर्षदेखि जोडिएको घटना भएकाले प्रमाण जुटाउन गाह्रो भइरहेको छ ।
प्रहरी निरीक्षक रणबहादुर बिष्ट

Leave A Comment