गीत चोरी प्रकरण : ‘दोषी’कै पक्षमा कलाकार !

बिहिबार, २२ चैत २०७४, ०३ : ५९ अनिल यादव
गीत चोरी प्रकरण : ‘दोषी’कै पक्षमा कलाकार !

एक महिनाअघि मात्रै रिलिज भएको फिल्म ‘कृ’का निर्माता सुवास गिरी गत चैत १३ गते मंगलबार गीत चोरीको अभियोगमा प्रहरी नियन्त्रणमा परे। उनीविरुद्ध निर्देशक शम्भु प्रधानको आरोप थियो– ‘कृ’मा उनको पुरानो फिल्म ‘सम्झना’को ‘उकालीमा अघिअघि’ गीत बिनाअनुमति प्रयोग गरियो।’ 

प्रधानको आरोपझैँ फिल्मको गीतको केही अंश जस्ताको तस्तै प्रयोग भएकै थियो। प्रधानले फिल्मका निर्माताविरुद्ध प्रहरीमा उजुरी गरेपछि चोरी प्रस्ट भयो। 

महानगरीय प्रहरी परिसर काठमाडौंले गीत चोरीको अभियोगमा तानिएका निर्माता गिरीलाई मंगलबार छलफलका लागि बोलाउँदै हिरासतमा राख्यो। भोलिपल्ट छलफल भयो तर मुद्दा प्रतिलिपि अधिकार ऐनअन्तर्गत अघि बढेन। 

गीतको लय र शब्द ‘चोरी’ गरेबापत निर्माता गिरीले प्रधानलाई ११ लाख रुपैयाँ क्षतिपूर्ति दिएर गीत हटाउने सहमति गरेपछि केस प्रहरी परिसरमै  सल्टियो। अदालतसम्म पुग्दै पुगेन।

क्षतिपूर्ति तिरेर प्रहरी हिरासतबाट उम्किएका निर्माता गिरीले बुधबार प्रेस मिट नै राखेर प्रहरीमाथि गम्भीर आरोप लगाए– ‘प्रहरीले अपहरण शैलीमा मलाई थुन्यो र जबरजस्ती पैसा तिर्न लगाइयो। यसअघि जिन्दगीमा एक दिन पनि हिरासत नपरेको मैले मेरो आत्मसम्मानका लागि भए पनि पैसा तिर्न तयार भएँ। आत्मसम्मानका लागि ११ लाख त के म ५० लाख पनि तिर्न तयार थिएँ।’ उनी निरन्तर प्रहरी र प्रधानमाथि खनिए। प्रधानले गलत नियत राखेर आफूलाई फसाउन खोजेको आरोपसमेत लगाए गिरीले।

उनले जे–जस्तो आरोप लगाए पनि उनले क्षतिपूर्ति रकम तिरे अनि प्रतिलिपि अधिकार उलंघनको आरोप लागेको गीतको लय ‘कृ’ बाट हटाए।

०००

पुराना गीतका लय र शब्दको चोरी नेपाली फिल्ममा पछिल्लो समय बढ्दो छ। यो त एउटा उदाहरण मात्रै थियो। नेपाली फिल्म क्षेत्रको ताजा र चर्चामा रहेको घटना हो यो। निर्माताले कारबाही नै भोग्नुपरेपछि यसले फिल्म क्षेत्रमा तरङ्ग ल्यायो। 

‘सम्झना’को ‘उकालीमा अघिपघि’ गीत उदितनारायण झा र दीपा झाले गाएका हुन् भने संगीत तथा रचना रञ्जित गजमेरको हो। गीतमा भुवन केसी र तृप्ति नाडकरले अभिनय गरेका छन्। 

‘कृ’मा प्रयोग गरिएको यही गीतमा भने अनमोल केसी र अदिती बुढाथोकी देखिएका छन्। पछिल्लो समय गीत विवादमा लगातार मुछिएका अलमोडा राना उप्रेतीले नै यो गीत तयार पारेका हुन्। यो गीतको शब्द र संगीतमा उनैले रिमेक गरेका हुन् र गाएका पनि। 

तर अहिले उनी गायब छन्। निर्माता गिरी हिरासत पर्दासमेत न उनी त्यता पुगे, न उनले कुनै सार्वजनिक अभिव्यक्ति नै दिए। निर्माता गिरीले हिरासतबाट निस्किएपछि गरेको प्रेसमिटमै भने, ‘मैले उहाँलाई पनि छलफलमा बोलाउनका लागि सम्पर्कको प्रयास गरेँ तर मोबाइल अफ थियो। कता हुनुहुन्छ, त्यो थाहा भएन।’ मंगलबार शुक्रबारकर्मीले सम्पर्क गर्दा पनि उनको मोबाइल स्विच अफ नै थियो। 

चोरीमा खप्पिस अलमोडा

पुराना गीतका शब्द र लय प्रयोग गरेर विवादमा आइरहने गायक हुन्, अलमोडा। यो उनको पहिलो गीत चोरी विवाद पनि होइन। उनका विवादहरु देख्दा र गीतहरु सुन्दा लाग्छ, उनी अरुका गीतको ट्युनिङ नक्कल गर्न र शब्द चोर्न खप्पिस छन्। 

दर्शकमाझ चिनाएको गीत ‘पानी प-यो असिना झ-यो’ स्वयं उनको पूर्ण मौलिक सिर्जना थिएन। त्यसपछि ‘६क्कापञ्जा–२’को ‘ए दाजु नसमाऊ नाडी’मा बोलको गीतको संगीत चोरेको विवादले त उनको क्षमतामाथि नै प्रश्न उठेको थियो। 

त्यतिबेला पनि अलमोडाभन्दा बढी निर्माता दीपकराज गिरी विवादमा आएका थिए, अहिले पनि अलमोडा उम्किए, निर्माता सुवास गिरी विवादमा परे। फरक यति हो, त्यतिबेला दीपकराजले कान्छा मगरको नाम क्रेडिटमा थपेर कुरा सामसुम पारेका थिए तर अहिले शम्भुले क्षतिपूर्ति लिए। 

दुवै केसमा अलमोडा बोलेनन्, निर्माता नै बढी जवाफदेही हुनुप-यो। निर्माता भनेको फिल्ममा पैसा खन्याउने मान्छे मात्रै होइन, आफ्नो फिल्मको कन्टेन्टप्रति पनि ऊ गम्भीर र जानकार हुनुपर्छ, अहिले गीत विवादले सिकाएको यो एउटा गतिलो पाठ हो।

अलमोडा त सचेत नदेखिएकै हुन् तर अचम्म के छ भने लगातार गीत विवादमा आइरहँदा पनि निर्माताहरु उनको गीत प्रयोग गर्नुअघि सचेत किन देखिदैनन्?

प्रहरीमाथि प्रश्न 

नेपालको संविधान, २०७२ को धारा २५ को उपधारा १ मा सम्पत्तिसम्बन्धी हकको प्रावधान छ, जसअन्तर्गत बौद्धिक सम्पत्ति पनि पर्ने उल्लेख छ। 

कानुनतः अरुको सिर्जना बिनाअनुमति प्रयोग गर्ने अधिकार कसैलाई पनि छैन, चाहे त्यो एक लाइन नै किन नहोस्। नेपाल प्रतिलिपि अधिकार ऐन २०५९ को दफा २७ मा प्रतिलिपि अधिकार उल्लंघन गरेमा पहिलो पटक १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना, ६ महिना कैदा वा दुवै सजाय हुने उल्लेख छ। यस्तै दोस्रो पटक प्रतिलिपि अधिकार उल्लङ्घन गरेमा २० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था छ।

यस्तो कानुनी व्यस्था हुँदाहुँदै ‘उकालीमा अघिअघि’ गीत विवाद प्रहरी परिसरभित्रै मिल्यो। प्रहरीको जिम्मेवारी आएको उजुरीको अनुसन्धान, अभियोजन हो। को दोषी, को निर्दोष र यस्तो घटनामा मूल श्रष्टालाई कति क्षति पुग्यो, त्यो किटान गरी क्षतिपूर्ति भराउने जिम्मेवारी अदालतको हो। निर्मातालाई एक रात हिरासतमा राखेको प्रहरीले यो केस अदालत लैजाने झन्झटै गरेन। यसले निर्माता गिरीको मनोबल बढायो। प्रहरीको व्यवहार विवादमा तानियो।

‘मलाई ११ लाख रुपैयाँ जबरजस्ती तिराइएको छ,’ उनले पत्रकार सम्मेलनमा भने, ‘म यसविरुद्ध कानुनी उपचारमा जान्छु। यसो भनिरहँदा मलाई फेरि पनि पुलिसले थुन्न सक्छ। ३७ वर्षको जीवनकालमा एकपल्ट थुुनिसकेँ। फेरि थुनिन सक्छु।’ 

निर्माता गिरीले त्यति मात्र भनेनन्, आफूलाई प्रहरीले अपहरण शैलीमा पक्राउ गरेको आरोपसमेत लगाए। ‘तैँले चेक साइन गरेर दिइस् भने जान पाउँछस्, नत्र जान पाउँदैनस् भनेर डिएसपी, एसएसपी सा’बले नै भन्नुभयो। मुद्दा लड्दा २४ दिनसम्म थुनिन सक्ने डर देखाउनुभयो,’ उनको दाबी थियो। 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले अपहरणशैलीमा पक्राउ गरेको दाबी अस्वीकार गरे। ‘पुलिसले कानुनबमोजिम थुन्दा पनि अपहरण हुन्छ र?’ उनले भने, ‘नेपालको संविधानले नै प्रहरीलाई छानविनको अधिकार दिएको हुन्छ। दुवै पक्षबीच ४०–५० जना फिल्मकर्मीका बीचमा क्षतिपूर्ति दिने र गीत हटाउने सहमति भएको हो। हामीले केही हस्तक्षेप गरेका छैनौँ, नपत्याए सिसिटिभी फुटेज हेरे हुन्छ। हामीले सहमति नहुने अवस्थामा कानुनबमोजिम मुद्दा अदालतमा जान्छ भनेका हौं। अब त्यसलाई सुवासजीले धम्कीका रुपमा लिनुभयो भने त्यो हामी जान्दैनौं। यहाँ त जो चोर उसैको ठूलो स्वर जस्तो भयो।’ 

प्रहरीले जसरी सहमति गरायो र अदालतै नपठाई विषयको छिनोफानो गरायो यसको प्रकृति हेर्दा गिरीलाई एक रात थुन्नुको उद्देश्य उनलाई गलाउनु रहेको भने देखियो नै।

कसरी बचे भुवन केसी ? 

‘कृ’ फिल्मका निर्माता सुवास गिरी मात्रै होइनन्, अभिनेता भुवन केसी पनि हुन् तर प्रहरीले भुवनलाई पक्राउ गरेन। प्रहरीका अनुसार चलचित्र विकास बोर्डले गिरी मात्रै निर्माता रहेको पत्र पठाएपछि त्यही पत्रलाई आधिकारिक मान्दै गिरीलाई मात्र पक्राउ गरिएको हो। 

प्रेसमिटमा भुवनको पक्राउ नपरिएको विषयमा पनि भुवनकै अघि सुवासको गुनासो सुनियो। ‘अलमोडा र भुवनजीसँग सल्लाहअनुसार नै त्यो गीतको अंश राखिएको थियो,’ उनले प्रेसमिटमा भनेका थिए, ‘भुवनजी पनि निर्माता हो तर शम्भुजीको गलत नियतका कारणले मलाई मात्र फँसाउन खोजियो। सुवाससँग पैसा छ, यो सोझो मान्छे छ, जति मागे पनि दिन्छ भन्ने मानसिकताले मलाई मात्र फँसाइयो। भुवनजीलाई फोन गर्दा पनि ‘तिमी बीचमा नपर’ भनियो।’ 

सोही प्रेस मिटमा भुवनले भावुक हुँदै पत्रकारसामु भनेका थिए, ‘यो म सुवासजीलाई होइन, मलाई थुनाएको सम्झन्छु। आज शम्भुजी मेरो नजरमा एकदमै गिर्नुभएको छ। उहाँको औकात ११ लाखमै सकाउनुभयो, हामी २१–२२ लाख पनि दिन सक्थ्यौँ।’ 

निर्देशक शम्भु प्रधानले भने पहिलोपल्ट बोलाउँदा अटेर गरेपछि बाध्य भएर कानुनी उपचारको बाटोमा जानुपरेको तर्क गर्छन्। ‘मैले फिल्म रिलिज भएको १० दिनपछि मेरो गीत  प्रयोग गरेको थाहा पाएँ। थाहा पाउनेबित्तिकै कल गरेँ तर उहाँ आउनुभएन। फस्ट डे बोलाएको भए गीत त हटाउनुपथ्र्यो तर पैसाको हकमा भने म एक रुपैयाँ लिएर छाडिदिन्थेँ,’ उनले भने, ‘तर उहाँले मान्छे गन्नुभएन, भागीभागी हिँड्नुभयो। उजुरी हालेपछि पनि जापान गएर दुई हप्ता बस्नुभयो। म त अहिले पनि पैसा लिने पक्षमा थिइनँ, अदालतमै जान तयार थिएँ, उहाँहरु मान्नुभएन।’

चोरीको समर्थनमा फिल्मकर्मी

फिल्म क्षेत्र विचित्रकै छ– चोरीको गीत प्रयोग भएको स्वीकार्दै निर्माता गिरीले क्षतिपूर्ति तिरिसक्दा पनि माहोल उनको पक्षमा छ भने निर्देशक प्रधानको विरुद्धमा। यस घटनापछि बौद्धिक चोरीलाई लिएर रचनात्मक र बौद्धिक बहस सुरु हुने अपेक्षा थियो तर धेरै फिल्मकर्मी शम्भुसँग चिढिएर प्रस्तुत भइरहेका छन्, उनीविरुद्ध खनिएका छन्। 

निर्देशकहरु चन्द्र पन्त, नवल नेपालदेखि अभिनेत्री छुल्ठिम गुरुङ लगायत थुप्रै फिल्मकर्मीले सुवासको पक्षमा स्टाटस र कमेन्ट लेखेका छन्। 

निर्देशक सुदर्शन थापाले लेखेका छन्, ‘कृ निर्माता सुवास गिरीमाथि सरासर अन्याय भयो। खास सबै चोर नै हुन्। आज जे भयो, गलत भयो। शम्भु प्रधान दाइले पनि धेरै कपि गर्नु भएको छ। सबै चोरलाई कारबाही होस्। दुःखको बेला सबै चलचित्रकर्मी एकजुट हौँ।’

फिल्मकर्मीको समर्थन देख्दा लाग्छ, शम्भुले प्रहरीसामु न्याय माग्न जानु नै ठूलो अपराध भयो। फिल्मकर्मीको आवाज चोरी गर्ने अलमोडाविरुद्ध उभिएको छैन, छ त केवल शम्भु प्रधानविरुद्ध। 

यता चोरीको सिर्जना प्रयोग गरेका निर्माता गिरी ११ लाख तिरेर वाहवाही बटुलिरहेका छन्। उता निर्देशक प्रधान दुःखमनाउ गरिरहेका छन्, ‘चोरको समर्थनमा पूरा इन्डस्ट्री उर्लेको देख्दा दुःख लागिरहेको छ। अब भोलि अरु कसैको गीत चोरी होला अनि चोर्नेकै समर्थन गर्ने?’

‘गल्ती गर्नेको पक्षमा फिल्मकर्मी लाग्दा दुःखी छु’

शम्भु प्रधान
निर्माता/निर्देशक 

मेरो फिल्मको गीतको अंश ‘कृ’मा बिनाअनुमति राखिएको फिल्म रिलिज भएको १० दिनपछि मात्र थाहा पाएँ। थाहा पाएपछि निर्माता सुवास गिरीलाई कल गरेँ। भेट्न बोलाएँ तर आउनुभएन। त्यतिबेला हलमा फिल्म रिलिज भएको थियो, त्यसैले गीत हटाउनुपर्छ भनेर आउनुभएन। फस्ट डे बोलाउँदा आएको भए म एक रुपैयाँ मात्र क्षतिपूर्ति लिन्थेँ। मेरो वकिलको सुझाव पनि त्यही थियो– एक रुपैयाँ लिएर गीत काट्न लगाउने। सुरुमा मान्छे नगन्ने, भागीभागी हिँड्ने गर्नुभयो। अहिले क्षतिपूर्ति तिरेपछि नानाथरी कुरा गर्दै हिँडिरहनुभएको छ। यदि उहाँहरुको नियत सफा भएको भए मैले पहिलोपल्ट कल गरेकै बेला गीत हटाको भए हुन्थ्यो। त्यो पनि गर्नुभएन। देश–विदेश फिल्म देखाइरहनुभयो। मेरो गीत बजिरह्यो। मेरो कुरालाई गम्भीरतापूर्वक लिइएन। अनि प्रहरीमा उजुरी गर्न बाध्य बनेँ। मेरो गीत प्रयोग गरेको प्रस्टै छ। प्रेसमिटमा भनिएजस्तो भुवन केसी कहिल्यै पनि मेरो घरमा ढोका ढक्ढकाउँदै आएका छैनन्। अर्को कुरा भुवनले यो फिल्मको प्रिमियरमा मलाई बोलाएका थिए। श्रीमतीसहित पुगेको थिएँ। ढिला पुगियो। पास नपाएपछि फर्किएका थियौं। सायद त्यही दिन फिल्म हेर्दा आफ्नो गीत देखेको भए अहिलेजस्तो परिस्थिति गम्भीर हुँदैनथ्यो कि ! अलिकति पोजिटिभ नै हुन्थ्यो कि ! फिल्ममा गीतको कपिराइट निर्मातासँग हुने भएकाले मैले निर्माताविरुद्ध उजुरी गरेको हुँ। अब निर्माताले संगीतकारलाई समाउने/नसमाउने त्यो उहाँको पाटो हो। खासमा म ११ लाख लिने पक्षमा थिइनँ, अदालतमा मुद्दा लड्ने पक्षमा थिएँ। त्यसो गर्दा सुवासजीले कम जरिवाना तिर्नुपर्ने हुनसक्थ्यो अथवा मुद्दा फैसला नै उहाँको पक्षमा हुनसक्थ्यो तर उहाँ मान्नुभएन। उहाँलाई हिरासत बस्न गाह्रो लाग्यो, त्यसैले रे ! यस घटनालाई फिल्मकर्मीहरुले सकारात्मक रुपमा लिन्छन् जस्तो लागेको थियो तर उल्टो मलाई गाली गर्न थाले। मेरो चरित्रहत्या गर्न थाले। जसले गल्ती गरेको हो, उसैको पक्षमा फिल्मकर्मी लागेको देख्दा छक्क परेको छु।

‘शम्भुजी मेरो नजरमा गिर्नुभयो’ 

भुवन केसी 
अभिनेता

मेरो यत्रो लामो करिअरकै दुःखदायी क्षण भयो यो घटना। शम्भु दाईसँग मैले थुप्रै फिल्ममा काम गरेको छु। मेरो फिल्ममा उहाँलाई डिरेक्सन गराएको छु। मैले पक्कै पनि उहाँको गीतको १–२ लाइन पैसा नपुगेर हालेको होइन होला। टेक्निकल टिममा छलफल गर्दा मैले आफैँ अभिनय गरेको पुरानो गीत हाल्दा राम्रो हुने कुरा आएपछि राख्ने निर्णय गरेका थियौं। म्यूजिक नेपालका चेयरपर्सनसँग राइट्स छ भन्ने थाहा पाएपछि मैले उहाँसँग अनुरोध पनि गरेँ। हाम्रो तर्फबाट केही अब्जेक्सन छैन भन्नुभयो। शम्भु प्रधान दाइसँग पनि कुराकानी गरौंला एकचोटी भन्ने थियो तर गर्न पाइएन। अञ्जानवस उहाँलाई सोध्न पाएनौं भने पनि सजाय भोग्न तयार थियौँ तर जब उहाँले लगानीको ५० प्रतिशत दिनुप-यो भनेर दाबी गर्नुभयो हामी चकित भयौँ। इज्जत गरेको वरिष्ठ मान्छेको यस्तो नियत देख्दा दुःख लाग्यो। म उहाँले सुवासजीलाई होइन, मलाई थुनाएको सम्झिन्छु। आज शम्भुजी मेरो नजरमा एकदमै गिर्नुभएको छ। उहाँले आफ्नो औकात ११ लाखमै सकाउनुभयो। (पत्रकार सम्मेलनको सम्पादित अंश)

‘आइजिपीसँग सम्बन्ध राम्रो भएकोले ठाडो आदेशमा थुनियो’ 

सुवास गिरी
निर्माता

गीत चोरीमा म्युजिसियनको नाम आउनुपर्ने मेरो मात्र आयो। मलाई फँसाउनुपर्छ भन्ने नियत देखियो। मलाई एक रात थुनामा राखेर भोलिपल्ट ११ लाख जबरजस्ती तिराइएको छ। म कानुनी उपचारमा जान्छु। म आफैँ प्रहरी कार्यलयमा पुगेको थिएँ तर मलाई अपहरण शैलीमा हिरासतमा पु-याइयो। आइजिपी सा’बसँग सम्बन्ध राम्रो भएकाले ठाडो आदेशमा मलाई थुनियो। मलाई पैसा दिइएन भने २४ दिन अझै थुनिन्छु भन्ने डर देखाइयो। आजसम्म जेल नदेखेको मान्छेलाई जेलमा २४ दिनसम्म बस्नुपर्छ भनेर डर देखाएपछि म पैसा तिर्न तयार भएँ। ११ लाख होइन, ५० लाख भनेको  भए पनि म मेरो आत्मसम्मानका लागि तिर्न तयार थिएँ। भुवनजीको फिल्मको गीत भएकाले उहाँकै सल्लाहमा गीत राखिएको थियो। भुवनजीले शम्भुलाई म सोध्छु भनेपछि मैले सहज रुपमै लिएँ। ११ लाख तिराउने बेलामा मैले शम्भु प्रधानको फिल्मको कम्पनीको नाममा चेक काट्छु भन्दा पनि मानिएन। शम्भु प्रधान निर्माता रहेको कम्पनीको प्रमाण दिनुभन्दा पनि हेर्न दिइएन। ‘तैँले चेक साइन गरेर दिइस् भने जान पाउँछस्, नत्र पाउँदैनस्’ भनेर डिएसपी, एसएसपी सा’बले नै भन्नुभयो। परिसरमै चेक बुझाएपछि मात्र निस्किन पाएँ। (पत्रकार सम्मेलनको सम्पादित अंश)

‘जर्वजस्ती गरेका छैनौं, सहमति गर्दाको सिसिटिभी फुटेज हेरे हुन्छ’ 

डिएसपी मोहन थापा
प्रवक्ता, महानगरी प्रहरी परिसर काठमाडौं 

सुवास गिरीले भनेजस्तो उहाँलाई हामीले अपहरण शैलीमा पक्राउ गरेका होइनौं। उहाँले मलाई खबर गरेरै जापान गएको हो, कार्यालय पनि बोलाउँदा आएकै हो तर पुलिसले थुन्दा अपहरण कसरी भयो? कानुनबमोजिम थुन्दा अपहरण हुन्छ होला? नेपालको संविधानले त प्रहरीलाई छानविनको अधिकारै दिएको छ, जुन उहाँलाई थाहा हुनुपर्ने हो। २४ घण्टा थुनेर अनुसन्धान गर्न पाइन्छ। त्यसपछि म्याद थप भएको भए सहमति गर्ने वातावरण हुँदैनथ्यो, मुद्दा अघि बढ्थ्यो।फिल्म क्षेत्रमा थुप्रै संघसंस्थाका प्रमुख र फिल्मकर्मीको सहभागितामा थुनेको भोलिपल्ट सहमतिको वातावरण मिलेको हो। उहाँहरु दुवै पक्षले वकिल राखेर ४०–५० जना फिल्मकर्मीका बीचमा गीत हटाउने र क्षतिपूर्ति तिर्ने सहमति गर्नुभएको हो। प्रहरीको कुनै हस्तक्षेप छैन। जबर्जस्ती सहमति गराएका हैनौँ। सहमति गर्दाको सिसिटिभी फुटेज छ। तर यहाँ त जो चोर उसैको ठूलो स्वरजस्तो भएछ। यो केसमा प्रहरीको केही दोष छैन। हामीले सहमति नगर्ने भए कानुबमोजिम केस अदालत जान्छ भनेका हौं। अब त्यो सुवासजीलाई धम्कीजस्तो लागेको हो भने मेरो भन्नु केही छैन। 

Leave A Comment