'स्विट सिक्सटिन' सम्हाल्नै गार्हाे

सोमबार, १९ चैत २०७४, १२ : ११ उपेन्द्र खड्का
'स्विट सिक्सटिन' सम्हाल्नै गार्हाे

(तस्बिर : कृष्पा श्रेष्ठ,माेडल सवनम लिम्बु ।)

बालापन सकिएपछि आउने टिनएज एउटा ‘सकिङ’ अवधि हो । अधिकांश किशोर–किशोरी यही अवधिमा रुमल्लिन्छन्, कुलतमा फस्छन् र जीवन बर्बाद पार्छन् । विज्ञहरू सुझाउँछन्– परिवर्तनलाई आत्मसात गर्दै अभिभावकले टिनएजरलाई सघाउनुपर्छ । उपेन्द्र खड्काको रिपोर्ट ।


एकातिर रमाइलो अनुभव, अर्कोतिर लाज र संकोच । आफ्नै शरीर आफ्नै हो या हैनझैँ लाग्ने । स्वर पनि खै कस्को कस्को झैँ सुनिने धोद्रो । निशंकोच लुटुपुटु गर्ने आमाको काख पनि पराइकोझैँ लाग्ने, बाबाको काँधमा कसिन किन–किन अप्ठ्यारो लाग्ने ।

के सही, के गलत ! खै के, खै के ! अन्योलको समय । 

किशोर–किशोरीका लागि यस्तै रहस्यमय र कुतुहलता बोकेर आउँछ १३ देखि १९ वर्षको अवधि । बालापनको अन्त्य, यौवनकाल फक्रने समयको मध्य उमेर १६ वर्षलाई ‘स्विट सिक्सटिन’ पनि भनिन्छ तर उचित परामर्श र पूर्वज्ञान नहुँदा यो उमेर सबैका हकमा ‘स्विट’ नहुन पनि सक्छ ।

निशंकोच लुटुपुटु गर्ने सदस्य बिस्तारै टाढा बस्न रुचाउन थालेपछि अभिभावकले सन्तानको उमेरको ख्याल त गर्छन् तर उचित व्यवहार र सावधानी अपनाउन नसके मनोरञ्जक हैन, जोखिमपूर्ण बन्न सक्छ किशोरकाल । 

‘बालापनको स्वतन्त्र व्यवहारमा आउने परिर्वतनसँगै हुने मानसिक परिर्वतनले बढाउने आफ्नैसँगको संकोच र लजालुपन बढाउँदा अन्योलमा पर्छन्, किशोर–किशोरी,’ मनोविद् गोपाल ढकालले भन्छन्, ‘सबैसँग घुलमिल हुने घरको सदस्य बिस्तारै एकान्तप्रेमी बन्दै जान्छन् । चाँडै रिसाउने, आफूले भनेकै हुनुपर्ने जिद्दी स्वभाव देखिन्छ । के गर्ने के नगर्ने निर्णयमा अन्योल हुँदा समस्या आउँछ ।’ 

कारण के हुन् ?
मनोविद् ढकालका अनुसार मानिसको दिमागमा दुईवटा पाटा हुन्छन् । राइट हेमिस्फियर (दायाँ गोलाद्र्ध) र लेफ्ट हेमिस्फियर (बायाँ गोलाद्र्ध) । राइट हेमिस्फियर भावनासँग सम्बन्धित हुन्छ । लेफ्ट हेमिस्फियर तर्क, विचारसँग । लेफ्ट हेमिस्फियरले के ठीक के बेठीक भन्ने छुट्याउँछ । राइट दिमाग बढी भावनामा बग्छ । उनका अनुसार जन्मदा मानिसको दिमाग दाया भाग नै बढी सक्रिय हुन्छ । 

हुर्किएसँगै बिस्तारै बायाँ भाग सक्रिय हुँदै जान्छ । चिकित्सकका अनुसार बाल्यकालमा बालबालिका बढी भावानात्मक हुनुको कारण यही हो । किशोरकालको प्रारम्भिक समयमा समेत भावना नै हावी हुन्छ । उमेर बढ्दै जाँदा तर्क–वितर्कसँगै निर्णय गर्ने क्षमता बढ्दै जान्छ ।

किशोर उमेरमा विपरीत लिङ्गीप्रतिको आकर्षण बढ्नुको कारण शरीरको हार्मोनमा हुने परिर्वतन कारक रहने पिपल्स अस्पतालका जनरल फिजिसियन देवराज घिमिरे बताउँछन् । 

‘हार्मोनमा हुने परिर्वतनले शरीरलाई सक्रिय गराउँछ अनि यौन जोडीको आवश्यकता महसुस हुन्छ,’ घिमिरेले भने ।

मनोविद् ढकालले किशोरकालमा मनमा उत्पन्न हुने प्रेमभावलाई थप प्रस्ट पारे । उनका  अनुसार, किशोर अवस्थाभन्दा अगाडि बाल्यकालको प्रेम आमाबुवासँग वा जो कोहीसँग पनि हुनसक्छ । 

त्यसकालको भाव यौनसँग जोडिदैन तर किशोरकालमा प्रवेशसँगै प्रेम यौनसँग समेत जोडिन्छ । बाबुसँग घुलमिल हुने छोरीले संकोच मान्न थाल्नु र छोरा आमासँग अलिक टाढै हुन रुचाउनुका कारण यसैको प्रभाव रहेको ढकालको निष्कर्ष छ ।

‘१३ वर्षभन्दा कम उमेरका बच्चाहरुको सम्बन्ध शारीरिक भन्दा भावनासँग सम्बन्धित हुन्छन् र आमाबुवा वा निकटसँग सुत्न पनि लाज मान्दैनन्,’ ढकालले भने, ‘तर टिनएजमा आमाबुवासँग पनि सुत्न लजाउँछन् । यसको कारण मानसिक र शारीरिक बदलाव नै हो ।’

आफ्नै शरीर देखेर छक्क
१३ वर्षभन्दा अगाडि बाल्यावस्था नै हुन्छ भन्छन्, चिकित्सक घिमिरे । चकचके स्वभाव, अरुले आफ्नो हेरचाह गरिदियोस् भन्ने र कोही बच्चा दङ्ग्याउने स्वभावका हुन्छन् । १३ वर्षभन्दा कमका बालबालिकामा पनि छोरा आमासँग त छोरी मानिस बुवासँग बढी आकर्षित हुने डा. घिमिरेको बुझाइ छ । उमेर बढ्ने क्रमसँगै स्वभाव पनि फेरिन्छ ।

बालबालिकाको १३ वर्ष प्रवेशपछि यौनाङ्ग तथा काखी, यौनाङ्ग वरिपरि रौँ पलाउन थाल्छ । बोलिचालीमा परिवर्तन आउँछ । किशोरीको स्तनमा निप्पल देखा पर्न थाल्छ । यसबारे पूर्वजानकारी नहुँदा उनीहरुको व्यवहारमा समेत परिर्वतन ल्याउने चिकित्सक घिमिरेले बताए ।

‘आफ्ना अङ्ग बढेको देखेर किशोर–किशोरी आफैँ अचम्ममा पर्न थाल्छन्, कुतुहल बढ्छ र आफ्ना अङ्ग चलाउन थाल्छन् । अङ्ग चलाउँदा आनन्द आउँछ र यो चलाउनुपर्ने कुरा पत्ता लगाउँछन् र यसैमा आनन्द लिन थाल्छन्,’ घिमिरेले भने ।

सेक्स चाहना मेटाउन किशोर–किशोरी विपरीत लिङ्गीप्रति आकर्षित हुन थाल्छन् । विपरीत लिङ्गीसँग आफ्नो भावना साटासाट गर्न खोज्छन् । वीर्य बन्ने उमेर पनि किशोरकाल नै हो । 

‘कसैले मलाई केही भन्ने पो हो कि ! केही भन्दै पो छ कि भन्ने जस्ता विविध कुरा मनमा खेल्न थाल्छन् । आफ्नो शरीर आफैँलाई अनौठो लाग्छ,’ मनोविद् गोपाल ढकाल भन्छन्, ‘यौन नबुझेका कारण नै टिनएजर लजाउँछन् तर बिस्तारै यौन बुझ्दै गएपछि लजाउन छाड्छन् ।’

द्वन्द्वको प्रारम्भ
किशोरकालमा प्रवेशसँगै शारीरिक परिवर्तन मात्रै नभई मानसिक परिवर्तनसमेत हुन्छ । म आफू ठूलो भइसकेँ, मेरो पनि आफ्नै पहिचान छ, मेराबारेमा निर्णय गर्ने अधिकार मेरै हो  भन्ने भाव बढ्न थाल्छ । 
उता अभिभावकका अगाडि भने उनीहरु सानै हुन्छन् । उनीहरु सन्तानको निर्णयमा पहिलेजस्तै हस्तक्षेप गर्छन् । बाल्यकालमा सामान्य लाग्ने त्यही व्यवहार किशोरकालमा स्विकार्य नहुनसक्छ । यसले अभिभावक र किशोरकिशोरीबीच द्वन्द्वसमेत बढ्छ ।

किशोर उमेरका छोराछोरी देख्दा आमाबाबुको मनमा अझै सानै छन्, बिस्तारै सुध्रदै जान्छन् भन्ने लाग्नसक्छ । यस्तो सोच गलत हो । यो उमेरका किशोर किशारीलाई बन्देज लगाउनु उचित हुन्न । निगरानी र परामर्श भने आवश्यक पर्छ ।

गलत बाटोको जोखिम
यो उमेरमा किशोर–किशोरीमा लभ र सेक्सप्रति झुकाव बढ्दै जान्छ । शारीरिक बदलाव र साथीसंगीको व्यवहारले प्रेम र यौनप्रति जिज्ञासा बढाउँदै लैजान्छ । जिज्ञासा समाधान गर्ने सहज माध्यमम भए किशोर–किशोरीले त्यसलाई पछ्याउँछन् । असहज अवस्था छ भने विकल्पको खोजी गर्छन् । यस्तो अवस्थामा सके अभिभावकले नसके साथीमार्फत् जिज्ञासा समाधान गराउन सके उत्तम हुन्छ ।

नेपालको सामाजिक संरचनामा बाबुआमासँग शारिरिक बदलाव र यौन जिज्ञासाबारे खुलेर कुरा गर्न किशोरकिशारी हच्किन्छन् । यस्तो समस्या समाधान गर्न अभिभावकले सन्तानको विश्वासिलो व्यक्ति खोज्न सक्छन् । घरकै कुनै अन्य सदस्यले समेत यसमा सघाउन सक्छन् । चिकित्सक या परामर्शदाताको सहयोग पनि लिन सकिन्छ । 

वीर अस्पतालकी वरिष्ठ कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. अनुपमा कार्की (कँुवर)यौन जिज्ञासा लिएर किशोर–किशोरीहरु अस्पताल आउन थालेको अनुभव साट्छिन् । इन्टरनेटको सहज उपलब्धताले टिनएज उमेरकाले जथाभावी अश्लील यौनजन्य गतिविधि गर्ने भएकाले असुरक्षित यौन गतिविधिमा संलग्न हुँदा यौन रोग लाग्ने उनले उपचारमा संलग्न हुँदा गरेको अनुभव सुनाइन् ।

यौनाङ्गमा फोका आउने, मुसा आउने, युवतीको यौनाङ्गमा गन्हाउने पानी आउने, गोनोरिया, एचआइभी लगायतको समस्या लिएर किशोर–किशोरी अस्पताल आउने गरेको उनले बताइन् । 

‘गलत साथीको संगत, अभिभावकको सकारात्मक भूमिका नहुँदासमेत किशोर–किशोरीमा यस्ता समस्या बढ्न सक्छन्,’ चिकित्सक कार्कीले भनिन्, ‘सेक्स वर्करको सहज उपलब्धताले समेत जोखिम बढाएको छ । कन्डमको प्रयोगले ९५ प्रतिशतभन्दा धेरै यौन रोगबाट बच्न सकिन्छ ।’

२० पार बढ्छ परिपक्वता
१३ वर्षसम्म दायाँ दिमाग बढी सक्रिय हुन्छ । किशोरकालमा पनि दिमागको दायाँ भाग नै सक्रिय हुन्छ तर यो उमेरमा बायाँ पनि सक्रिय हुँदै जान्छ । किशोरकाल पार गरेपछि किशोर–किशोरी अलि परिपक्क हुन्छन् । त्यसको कारण दिमागको बायाँ भाग बढी सक्रिय हुनु हो । उनीहरु विस्तारै भविष्यबारे सोच्न थाल्छन् । करियरका बारेमा चिन्तित हुन्छन् । 

‘२०÷२२ वर्षको उमेरमा आइपुग्दा दायाँ र बायाँ करिब बराबरीको अवस्थामा हुन्छ । ठोस निर्णय लिनसक्छन्,’ मनोविद् ढकालले भने, ‘दायाँको भावना, डर, चिन्ता, मायासँग हुन्छ । प्रेमको अवस्थामा पनि दायाँ भाग नै सक्रिय हुन्छ । २० पार गरेपछि भने बायाँ भागको सक्रियता बढ्छ । भावनाभन्दा यर्थाथपनको महसुस बढ्दै जान्छ,’ उनले भने ।
 

Leave A Comment