कलाकारकाे ‘करिअर’ बनाउन काठमाडौं

आइतबार, १८ चैत २०७४, ०७ : ०६ अर्जुन अाेली
कलाकारकाे ‘करिअर’ बनाउन काठमाडौं


सपनासिंह ठकुरी नेपालगञ्जमै मोडलिङ पेशालाई व्यावसायिक बनाउन चाहन्थिन् । तर, उनले यहाँ बसेर करिअर बनाउन सक्ने अवस्था देखिनन् । उनी विगत ९ वर्षदेखि राजधानीमा बसेर मोडलिङमा जमेकी छन् । 

‘करिअर खोज्दै राजधानी आएकी हुँ, राजधानी आएपछि धेरै स्ट्रगल(संघर्ष) गरेँ, बल्लतल्ल बिक्ने र टिक्ने भएकी छु,’ उनले भनिन् ।

नेपालगञ्ज–९ निवासी सपनाले राजधानी छिरिसकेपछि झण्डै अढाई दर्जन गीतमा मोडलिङ गरिसकेकी छन् । उनले आफ्नै लगानीमा ४ वटा म्युजिक भिडियो निर्माण गरिन् भने ३ वटा फिल्ममा अभिनय गरिन् । सानै उमेरमा कलाकारिताप्रति रुचि जागेपछि जिल्लामा मञ्च नपाउँदा राजधानी छिर्नुपरेको बाध्यता उनले सुनाइन् । 

‘कलाकार जसरी एउटा सपना बोकेर राजधानीमा छिर्छ, यहाँ आइसकेपछि सोचेको जस्तो हुँदैन,’ उनले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘कसैको सहयोगविना कलाकारितामा टिक्न र बिक्न धेरै गाह्रो रहेछ ।’ आफूलाई घर, परिवारका साथै राजधानीमै रहेका आफन्तबाट सहयोग मिलेका कारण कलाकारिता पेशालाई टिकाउन सहज भएको बताइन् । 

धम्बोझीकी बिमता घर्तीमगरले नेपालगञ्जमा रहँदा ९ वटा भिडियोमा अभिनय गरिन् । प्लस टु अध्ययन गर्दैै मोडलिङ गर्न थालेकी बिमताले नेपालगञ्जमै बसेर करिअर बनाउन सम्भव देखिनन् । उनी एक वर्षअघि राजधानी छिरिन् । अहिलेसम्म उनले ३३ वटा लोकदोहोरी, आधुनिक र चलचित्रका गीतमा मोडलिङ गरिसकेकी छन् । 

‘नेपालगञ्जमै बसेर पनि कलाकारिता गर्न सकिन्थ्यो होला, सुटिङको सहजतासँगै कलाकारिताको बजार ठूलो हुने भएकाले राजधानीतिर आएकी हुँ,’ उनले भनिन् । कलाकारितामा करिअर बनाउन आफूले सुरुमा धेरै मिहिनेत गरेको अनुभव बिमताले सुनाइन् । 

‘काठमाडौं आए पनि सुरु–सुरुमा त मोडलिङ गर्न पाउन गाह्रो हुँदो रहेछ, डाइरेक्टरसँग चिनजान भएको व्यक्तिले मात्र चान्स पाउँछ, नत्र त्यो कलाकार पछाडि पर्दो रहेछ ।’ 

करिअर बनाउन भन्दै राजधानी छिर्ने कलाकारको संख्या नगन्य छ । जिल्लामा बसेर कलाकारितामा फस्टाउन नसक्ने र कलाकारको माग कम हुने भन्दै युवा÷युवती राजधानी छिर्ने गरेका छन् ।

लामो समयदेखि राजधानीमै बसेर कलाकारितामा आबद्ध कतिपय त स्थापित भइसकेका छन् । उनीहरु राजधानीमा बसेर गीत, संगीत र मोडलिङ क्षेत्रमा जमेका छन् । कतिपय कलाकार पेशामा स्थापित हुने प्रयासमा छन् ।

राजधानीमा बसेर कलाकारितामा करिअर बनाउने अभ्यासमा रहेकी अनिशा चन्दले अहिले बल्ल मोडलिङको यात्रा तय गरेकी छन् । दुई वर्षसम्म आफूलाई राजधानीमा टिकाउन धेरै मिहिनेत गर्नुपरेको अनुभव सुनाउँछिन्, अनिशा ।

‘मोडलिङ गर्ने मेरो सानैदेखिको सपना हो, तर नेपालगञ्जमा त्यो सपना पूरा गर्न सम्भव भएन,’ कोहलपुर निवासी अनिशाले भनिन्, ‘राजधानी आइसकेपछि सुरुमा आफन्तको गीतमा भिडियो खेलेँ, बिस्तारै अन्य व्यक्तिबाट पनि अफर आउन थालेको छ ।’ सुरुमा चाहेर पनि भिडियोमा खेल्ने अवसर नमिलेपछि गीत चर्चामा आइसकेपछि मात्र अफर आउने गरेको उनको भनाइ छ । अनिशाले थपिन्, ‘कलाकारिता क्षेत्रमा टिक्न त यही क्षेत्रमा आफ्ना मान्छे हुनैपर्दो रहेछ ।’ 

बाँके, खजुराकी पवित्रा भण्डारी मोडलिङमा भविष्य खोज्दै ६ वर्षदेखि राजधानीमा छिन् । तर, उनले अझै पनि पेशालाई व्यावसायिक बनाउन सकेकी छैनन् । अहिलेसम्म १५ वटा जति भिडियोमा अभिनय गरिसकेकी उनले कलाकारितामा टिक्न गाह्रो भएपछि फरक पेशामा जागिर गर्दै आएकी छन् ।

‘क्षमता भए पनि अवसर नपाउँदा कलाकारिता क्षेत्रमा टिक्न गाह्रो हुँदो रहेछ,’ उनले भनिन्, ‘कलाकारिता मलाई मन पर्ने पेशा हो, तर यो पेशा व्यावसायिक हुन नसकेपछि जागिर गर्न बाध्य छु ।’ 

 

Leave A Comment