सुरु भयो ‘नाइँ नभन्नू ल ५’

आइतबार, १८ चैत २०७४, ०२ : १३ शुक्रवार
सुरु भयो ‘नाइँ नभन्नू ल ५’

झापाको बिर्तामोडबाट सोमबारदेखि ‘नाइँ नभन्नू ल ५’को औपचारिक सुटिङ आरम्भ भएको छ । झापा र इलामका रमणीय स्थानमा खिचिने फिल्मको झापास्थित सालबारी पोखरीबाट फिल्मको सुटिङ सुरु भएको हो । पहिलो दिन अभिषेक नेपाल र स्वस्तिमा खड्काले सट दिएका थिए ।

कान्तिपुर फिल्म एकेडेमीमा पढ्दै गरेका अभिषेक निर्देशक विकास आचार्यको नजरमा परेपछि यही फिल्मबाट डेब्यु गर्दैछन् । फिल्ममा स्वस्तिमाको जोडीको रुपमा अभिषेक देखिनेछन् । हरेक फिल्मबाट नयाँ नयाँ कलाकारलाई जन्माउँदै आएका आचार्यले यस फिल्मबाट पनि अभिषेकसँगै सेड्रिना शर्मालाई लन्च गर्दैछन् । झापामै मूलघर भएकी सेड्रिनाले अनुभव रेग्मीको जोडीको रुपमा अभिनय गर्नेछिन् । 

निर्देशक आचार्यले झापाको बिर्तामोडमा तीन दिन र इलाममा २५ दिन सुटिङ गरी काठमाडौं फर्कने जानकारी गराए । ‘काठमाडौंमा हप्ता दिनको सुटिङपछि फिल्म सकिन्छ,’ आचार्यले भने, ‘कथामा पहिलेकै शृंखलाको स्वाद भए पनि यस पटक प्रस्तुतिमा धेरै मिहिनेत गरिएको पाउनु हुनेछ ।’ 

आचार्यले फिल्म भदौ ८ मा ल्याउने तयारी गरिरहेको पनि जानकारी गराए । ‘नाइँ नभन्नू ल’को परिवारमा यस पटक दिलिप रायमाझी र केकी अधिकारी थपिएका छन् । दोस्रो शृंखलादेखि जोडिएकी प्रियंका कार्कीले यो भागमा पनि निरन्तरता पाएकी छन् । आचार्यले केकीसँग काम गर्ने अवसर बल्ल जुरेको बताए ।

‘नाइँ नभन्नू ल ३’मा पनि केकीलाई खेलाउन चाहेका थियौं तर विविध कारणले मिलेको थिएन । यो पाला अवसर जुरेको छ,’ आचार्यले भने । केकीले चैतको तेस्रो साताबाट इलामको सेड्युल ज्वाइन गर्नेछिन् । 
विकास आचार्य र सामीप्यराज तिमल्सेनाको लेखन रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्दैछन् भने फिल्मको संगीत वसन्त सापकोटाले तयार पारेका छन् । 
 

Leave A Comment