गायक कृष्ण काफ्लेका प्रिय १० सुर

आइतबार, १८ चैत २०७४, ०२ : ०४ भोला अधिकारी
गायक कृष्ण काफ्लेका प्रिय १० सुर

नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय गायक हुन्, कृष्ण काफ्ले । उनले गाएका पछिल्ला नेपाली चलचित्रका गीत श्रोता र दर्शकको मन जित्न सफल छन् । उनले आफूलाई लागेका प्रिय पाँच गीत र अरूले गाएका प्रिय पाँच गीतबारे शुक्रबारसँग साटे । 

आफ्ना पाँच 
देखन चम्पा, सुनन चम्पा 
यो चलचित्र छक्का पञ्जा–२ का लागि मैले गाएको गीत हो । यो अरूभन्दा फरक बनाइएको छ । यसका शब्दमा नेपालका पश्चिमतिर गाइने देउडा भाषाको संयोजन गरिएको थियो । यो गीत गाउँदा पश्चिमतिरको झ–झल्को दिन्छ । यसमा शान्ति प्रियको शब्द र दीपक शर्माको संगीत  छ । गीतमा अभिनेत्री दीपाश्री निरौलाले गायनमा साथ दिएकी छन् ।

पर्ख पर्ख मायालु 
यो गीत पनि पश्चिमको मौलिक भाषा र भाका मिसिएर बनाएको गीत हो । यो गीत धेरै दर्शक श्रोताले मन पराइदिनुभयो । यो गीत महोत्सवमा बढी रोजाइमा पर्ने गरेको छ । गीतमा  सरल र मिठास सुनिन्छ । मैले गाएको यो पहिलो लोक गीत हो । यसमा दीपक शर्माको शब्द संगीत रहेको छ । 

तिम्रो पिक्चर हिट
यो मोर्डन गीत हो । यो गाउन निकै गाह्रो थियो । यो डान्स, पार्टीलगायत जता पनि बजाउन सकिन्छ । बजेको पनि सुनिन्छ । शास्त्रीय गीतको पनि फ्युजनमा रहेको छ यसमा । यो गीत लेखु सहयात्रीले लेखेका हुन् भने दीपक शर्माको संगीत छ  । 

यो मुटुको ढुकढुकीमा 
यो गीत मेरो पहिलो एल्बमको भएकाले धेरै मन पर्छ । आफ्नो पहिलो गीति एल्बमको तयारी गर्दा यो गीत जति गाउँछु उति मन पर्न थाल्थ्यो । यसमा  म आफैँले संगीत भरेको छु । लेखु सहयात्रीको शब्द रहेको यो गीतमा मोलिषा आलेले मलाई गायनमा साथ दिएकी छन् । 

लाइँदैन माया पिरती
अरूभन्दा फरक तरिकाले गाउन रुचाउने भएकाले यसमा फरकशैलीमा गाउने प्रयास गरेको छु । गीत फरक बिटमा छ । आफूले गरेको काम कसले बिर्सन्छ र । यसै गीतबाट वेष्ट सिङ्गरको अवार्ड पाउन सफल भए । गीतमा विक्रम सुन्दासको शब्द पुरुषोत्तम न्यौपानेको संगीत छ  । 

अरूका पाँच
मैले गीत छोडी आएँ 
कुुमार कान्छा मलाई एकदमै मन पर्ने गायक हुन् । उनको स्वरमा एउटा जादु छ । यो गीतमै धेरै कुरा उठाएको छ । एउटा प्रेमिकालाई कतै छोडेर आएको भनाइ छ । कहाँ खोजु कहाँ जस्ता शब्दले मन छुने गरेको  छ । गीतको मेलोडीमा उत्तिकै  मिठास आउँछ । 

कुन मन्दिरमा जान्छौ यात्री 
यो गीत सुन्दा अरूभन्दा फरक छ । गीतको शब्द स्वर संगीत नै मन छुने छ । नारायण गोपालको आवाजमा दम छ । यो गीत हरेक म्युजिक सिक्ने विद्यार्थीले सुन्नुपर्छ जस्तो लाग्छ  । यो गीत सानैदेखि मैले गाउँमा हुने कार्यक्रममा गाउँदै आएको थिएँ । त्यसैले पनि यो गीत मलाई प्रिय लाग्छ । 

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् 
नेपाल हिमालै हिमालको देश हो । त्योभन्दा पनि विश्वको अग्लो सगरमाथामा भएको देश । आफ्नै भौगोलिकताको बयान छ यसमा । गायक रामकृष्ण ढकालको आवाजमा रहेको यो गीतमा देशभक्तिको भाव झल्किएको छ । देशप्रतिको माया दर्शाइएको छ । 

उकाली ओरालीहरुमा 
यो तारादेवीले गाएको गीत हो । चाँदनी शाहले लेख्नुभएको हो । यसमा हाम्रो देशको भौगोलिकतालाई हेरेर गीत लेखिएको छ । शब्दमा जति मिठास छ, त्यति नै स्वर र संगीत पनि छ ।  

लोलाएका ती तिम्रा ठूला नजरले  
बलिउड गायक गुलाम अलीले गाएको यो गीत अति नै मिठो लाग्छ । एकान्तमा रहेको बेला यो गीतका भाव गहिरिएर सुन्छु । बढो मिठो लाग्छ । गुलाम अलिले गाएको यो गीत नेपालीमा दमदार लाग्छ । गीतमा शब्द, संगीत र स्वरको संगीत संयोजन दमदार लाग्छ ।  
 

Leave A Comment