मोदीको हराउँदो चमक !

आइतबार, १८ चैत २०७४, ०१ : १६ मणि दाहाल
मोदीको हराउँदो चमक !

चार वर्षअघि भएको आमचुनावमा भारतीय राष्ट्रिय कांग्रेसलाई राष्ट्रिय राजनीतिमा जित्दै बहुमतसहित सरकार बनाएको भारतीय जनता पार्टी (भाजपा)ले आगामी चुनावमा त्यही परिणाम दोहोर्याउला ? भारतीय राजनीतिमा अहिले बहसको विषय बनेको छ किनभने राजनीतिमा सफलताको प्राप्त गर्न जति कठिन छ, त्यो भन्दा चुनौतीपूर्ण काम त्यो सफलतालाई निरन्तता दिनु पनि हो । 

प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अध्यक्ष अमित शाहको जोडीले विगत चार वर्षमा भएका विधानसभा चुनावमा बिहार, दिल्ली र पञ्जाबबाहेक अन्य स्थानमा जीत हासिल गरेको छ । कहिले पनि आफ्नो उपस्थितिसमेत जनाउन नसकेको उत्तर–पूर्वी भारतमा समेत जीत हासिल गरेका छन् ।

अहिले भारतका २१ राज्यमा भाजपा वा सो दल सहभागी रहेको गठबन्धनको सरकार रहेको छ । के उनीहरुले यो सफलता आगामी वर्ष हुने चुनावमा कायम राख्न सक्लान् ? कुनै घटना क्रमले तुरुन्तै परिवर्तन हुने आममानिसको धारणाका कारण अहिले यसै भन्न सकिदैन तर भारतीय राजनीतिमा केही संकेतहरु देखिएका छन् । 

मोदी भर्सेस राहुल
तीस वर्षपछि स्पष्ट बहुमतका साथ सरकारको नेतृत्व गर्न पाएका नरेन्द्र मोदीको चार वर्षे कार्यकाल पूरा भएको छ । विगतको जस्तो चमत्कारी व्यक्तित्वमा ह्रास हुँदै गए पनि उनलाई टक्कर दिने व्यक्ति नदेखिएको सञ्चार माध्यमहरुले बताएका छन् तर उनका लागि क्षेत्रीय दलहरु भने चुनौती बन्ने अनुमान छ । जसलाई भारतीय जनता पार्टीले मोदीको विकल्प कोही छैन भन्दै प्रचार गर्दै आएका छन् । 

मोदीको ‘टिना फ्याक्टर’लाई चुनौती दिने कांग्रेस र अहिलेको अध्यक्ष राहुल गान्धी हुन्छन् कि वा क्षेत्रीयहरु आउने हुन् भन्ने बुझ्न अझै केही समय लाग्नेछ । पछिल्लो उप चुनाव मात्रै नभएर मोदीको गृह राज्य गुजरातमा भएको विधानसभा चुनावमा समेत राहुल गान्धीको नेतृत्वमा कडा चुनौती महसुस गरिएको थियो । 

गान्धीको भविष्य मेमा हुने कर्नाटक चुनाव र त्यसपछि हुने राजस्थान, मध्य प्रदेश र छत्तिसगढको विधानसभा चुनावले निर्धारण गर्नेछ । मंगलबार मात्रै कांग्रेसका शासनमा रहेका दुई ठूला राज्य मध्यको एक कर्नाटकको विधानसभा चुनाव मिति घोषणा भएको छ । जसमा कांग्रेसले आफ्नो सत्ता बचाउन सके र कांग्रेस र भाजपाबीच सिधै टक्कर रहेको राजस्थान, छत्तिसगढ र मध्य प्रदेशको चुनावमा राम्रो गर्न सके, राहुल गान्धी मोदीको टक्करमा आउन सक्ने छन् । 

मोदी भर्सेस क्षेत्रीय दलहरु 
आगामी चुनाव भारतको राजनीतिमा क्षेत्रीय दलहरु भाजपाविरुद्ध संगठित हुने संभावना भने देखिएको छ । आन्ध्र प्रदेशलाई विशेष राज्यको दर्ता पाउनु पर्ने माग पूरा नगरेको भन्दै सो प्रदेशका दुई दलहरु तेलगु देशम पार्टी र वाइसिआर कांग्रेस पार्टीले संसद्मा अविश्वास प्रस्तावको पक्षमा क्षेत्रीयहरु देखिएका छन् ।

क्षेत्रीय दलहरु बीच पनि गठबन्धनको प्रयास भएको छ । जसमा उत्तर प्रदेशमा अखिलेश यादवको समाजवादी पार्टी र मायावतीको बहुजन समाज पार्टी, बिहारमा लालुप्रसाद यादवको राष्ट्रिय जनता दल, पश्चिम बंगालबाट ममता बनर्जीको त्रिणमुल कंग्रेस, उडिसाबाट नवीन पटनायकको विजु जनता दलबीच सहकार्य हुने सम्भावना बढेको छ ।

त्यस्तै दक्षिण भारतका कयौँ पार्टीले पनि महागठबन्धन बनाउने सम्भावना बढेको छ । यी सबैले भाजपाको बाटो अवरोध गर्ने देखिन्छ । तर उनहरूले सत्ता चलाउने आधार भने त्यति विश्वासिलो छैन । सन् १९९४ पछि जस्तो ‘गैर कांग्रेस, गैर भाजपा’ गठबन्धन कम्युनिस्ट र क्षेत्रीय दल मिलेर बनाए पनि सरकार बन्ने र भत्कने काम निरन्तर रुपमा भयो । 

उत्तर प्रदेशको चुनौती
सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा पनि क्षेत्रीय दलहरुको गठबन्धन बन्ने सम्भावना देखिएको छ । उत्तर प्रदेशमा भाजपालाई रोक्न शत्रुतापूर्ण सम्बन्ध भएका अखिलेश यादवको समाजवादी पार्टी र बहुजन समाज पार्टी गठबन्धनको सम्भावना छ । ८० स्थान रहेको उत्तर प्रदेशमा महŒवपूर्ण जीत हासिल गर्न नसक्ने दलले बहुमत पु¥याउन कठिन हुने आँकलन गरिन्छ । दुवैले उपचुनावहरुमा गठबन्धनको सफल परिणाम देखाएका हुनाले मोदीका लागि आउँदो आमचुनावमा उत्तर प्रदेशले धक्का दिने पो हो कि भन्ने आशंका गर्नेहरु पनि उत्तिकै छन् ।

दुवै क्षेत्र उत्तर प्रदेशको मुख्यमन्त्री र उपमुख्यमन्त्री बन्न छाडेका संसद् सिटका लागि भएको निर्वाचनमा योगी आदित्यनाथ तथा उपमुख्यमन्त्री केशवराज मौर्यको ठाउँमा भाजपा पराजित भएको थियो । जसका कारण समाजवादी पार्टी र बहुजन समाज पार्टी मिले भने भाजपाले जीत दर्ता गर्न कठिन हुने देखिएको छ । 
जति ठूलो जनादेश, त्यति ठूलो चुनौती  

तीन दसकपछि सन् २०१४ को आमचुनावमा भाजपाले स्पष्ट बहुमत ल्यायो । इन्दिरा गान्धीको हत्यापछि सहानुभूतिमा सन् १९८४ मा कांग्रेसले अहिले भन्दा ठूलो जनमत प्राप्त गरेको थियो तर त्यसपछिको चुनावमा सफलता प्राप्त गर्न सकेन ।

अन्य सहयोगी दलहरुसँग मिलेर जनता दल सरकारमा पुग्यो । मोदी लहरले पूरै उत्तर र पश्चिम भारतीय इलाकामा भाजपालाई एकलौटी जीत हासिल गरेपछि बहुमत प्राप्त छ । जसमा उत्तर प्रदेश, बिहार, गुजारत, राजस्थान, छत्तिसगढ, मध्यप्रदेश, महाराष्ट्र, कर्नाटकजस्ता बढी जनसंख्या भएको राज्यहरुमा जीत हासिल गरेको थियो । भाजपाका लागि बहुमत बनाइराख्न यस क्षेत्रमा सन् २०१४ को जस्तो चुनावी परिणाम आवश्यक पर्छ । 

कहिले पनि जमानत जोगाउन नसकेको भारतका उत्तरपूर्वी क्षेत्रमा समेत आफ्नो प्रभाव विस्तार गरेको भाजपाले क्षेत्रीय दलहरुसँग मिलेर यी स्थानमा आफ्नो वर्चस्व कायम राखेको छ तर उत्तरपूर्वी क्षेत्रमा थोरै सिट रहेकाले ती क्षेत्रमा भाजपाको जीतले अर्को चरणको सत्तायात्रालाई सहज बनाउन कठिन नै हुनेछ ।
एकतातर्फ भाजपाको विरोध गर्दै आएका क्षेत्रीय दलहरु संगठित हुदैछन् भने अर्कोतर्फ भाजपाको शासन संचालन शैलीको विरोध पनि भइरहेको छ । कतिपयले गठबन्धन नै छाड्न थालेका छन् । यसले पनि मोदीको आगामी सत्ता आरोहण कठिन हुनसक्ने धेरैको अनुमान छ ।
 

Leave A Comment