कांग्रेसमा रोइलो कि एकता ?

आइतबार, १८ चैत २०७४, ०१ : १२ शुक्रवार
कांग्रेसमा रोइलो कि एकता ?

नेपाली कांग्रेसको चुनाव समीक्षा केन्द्रीय बैठक जारी छ । साता दिनदेखि चलिरहेको बैठक केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिसकेपछि र संभवतः पार्टी सभापति शेरबहादुर देउवाले स्पष्टीकरण दिएपछि सम्पन्न हुने छ । बैठकमा अहिलेसम्म उठेका–उठाइएका विषय र मुद्दाहरूमा कांग्रेसजन विवाद गरिरहेको देखिन्छ ।

बैठकमा स्थानीय, प्रदेश र संघीय चुनावमा कांग्रेसले व्यहोरेको पराजयको कारकमाथि समीक्षा भैरहेको देखिदैन । स्थानीय तह, प्रदेशमा पार्टीका उम्मेदवारले प्राप्त गरेको मतको विश्लेषण भैरहेको देखिदैन । उम्मेदवारी दिने बेला नेताहरूले गरेका भागबण्डा, पार्टीलाई गुटबाट चलाउने परिपाटी पराजयका पछाडिका कारण हुन् वा हैनन्, त्यसको लेखाजोखा भैरहेको दैखिदैन ।

पार्टीका पदाधिकारी, जो ‘जिम्मेवार’ पदमा आसिन छन्, उनीहरू सबै पार्टी सभापतिमाथि दोषारोपण गरेर आफूहरू पन्छिने खेल भैरहेका छन्, जसलाई राजनीतिक भनिदैछ । कांग्रेसले स्थानीय तहका माओवादीसँग एक किसिमको तालमेल गरेको थियो, माओवादीलाई सत्ताको नेतृत्वसमेत दिएको थियो । स्थानीय तहमा गरिएको त्यस्तो मिलोमतोको औचित्य र आवश्यकतामाथि विवेचना भैरहेको छैन । नेपालको राजनीतिमा नेपाली कांग्रेसले पछिल्ला केही वर्षयता प्राप्त गरेको जनमतले उसलाई नेतृत्वदायी स्थानमा पुर्याएको थियो ।

त्यस्तो स्वर्णिम अवस्था पार्टीले प्राप्त गर्नुका पछाडि कांग्रेसको एक्लो सामथ्र्य थियो वा नेपालका प्रमुख दुई कम्युनिस्ट पार्टी आपसमा भिडिरहेको अवस्थाको लाभ पार्टीले उठाएको हो, त्यसबारे चर्चा गरिएको छैन । नेपालको राजनीतिक धरातलमा कांग्रेसको उपस्थिति करिब एक तिहाई रहेको छ । विभाजित रहेका कम्युनिस्टहरूबीच चुनावी एकता हुँदा उनीहरूको हैसियत कांग्रेसको भन्दा धेरै हुन्छ । राजनीतिको यो वास्तविकतालाई सामुन्ने राखेर कांग्रेसजनले चुनावको समीक्षा गर्न आवश्यक छ ।

पार्टी सभापतिको नेतृत्वदायी भूमिकामा रहेका देउवा पराजयका मामलामा प्रमुख जिम्मेवार हुन् यसमा विवाद छैन । तर, पार्टीको नेतृत्वदायी भूमिकामा रहेका र आफैँ एउटा निर्वाचित क्षेत्रबाट चुनिएर आउन नसकेका नेताहरूको गर्जन सुहाउँदो भएन । 

कांग्रेसले चुनावको समीक्षा गर्दा नेताहरूको आलोचना गर्ने होइन । राजनीतिका विभिन्न पक्षहरूलाई अगाडि राखेर चुनावको आँकलन गर्याे भने त्यसले परिणाम ल्याउँछ । स्थानीय तहको रचना कसरी, कसले ग¥यो, त्यसमा कांग्रेसको भूमिका कहाँ र कति थियो ? राजनीतिका ठूला गफ र आरोपका खेतीहरूबीच यस्ता वस्तुगत तथ्य लिइँदैन । माओवादीसँगको सत्ता सम्बन्ध र पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भएको सहमति अगाडि बढ्न आवश्यक थियो वा थिएन ? त्यसको विश्लेषण कांग्रेसले गर्ने कि नगर्ने ? आरोपहरूको लामा–लामा लिखत केन्द्रीय समितिमा पेश गर्ने र सार्वजनिक खपतका निम्ति वक्तव्यबाजी गर्नुलाई चुनावी समीक्षा भन्ने कि नेताहरूको प्रचार अभियान ? आफ्ना कमजोरीहरू आफैँभित्र छलफल गराउने परिपाटी बसाल्नु कांग्रेसका लागि आवश्यक छ ।

मिडियाको हेड लाइनमा रमाउने नेताहरूले पार्टीका चुनौती, मुलुकले लिइरहेको राजनीतिक बाटो र आम मतदाताका अन्योलग्रस्त मनहरू मसिनोसँग पर्गेल्न सक्नुपर्छ । अहिलेकै जस्तो आरोप प्रत्यारोपलाई पार्टी राजनीति भनिरहेको हो भने इतिहासमा सबैभन्दा कमजोर अवस्थामा पुगेको कांग्रेस आन्तरिक कलहमा रुमल्लिने छ । उता कम्युनिस्ट बहुमतको सरकार कमजोर प्रतिपक्षीलाई पन्छाउँदै लोकतन्त्रको ‘प्रयोग’ गरिरहने छ । मुलुकमा अहिले संविधान कार्यान्वयनमा आएको छ, संघीय प्रणालीले जग हाल्दै छ ।

यस अर्थमा मुलुक लोकतान्त्रिक लिकबाट अगाडि बढिहाल्छ भन्ने होइन । यस्तै पेचिलो अवस्थामा राजनीतिमा अधिनायवादले जन्म पनि लिन्छ । हामी नेपाली अहिले अवसरको प्रतीक्षामा छौं र सँगसँगै खतराहरूको भय पनि छँदैछ । यस्तो अवस्थामा लामो राजनीतिक इतिहास बोकेको र नेपालका लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टीले आफूलाई सम्हाल्न सक्नुपर्छ ।

चुनावमा जीत र हार हुने हो । परिणामहरू आइसकेका छन्, त्यसमा कोकोहोलो गरेर कुनै उपलब्धि हुने होइन । परिवर्तित राजनीतिमा अहिले विकासका नाराहरू अघि सारिएका छन्, नेपालीलाई उन्नतिको आकास देखाइँदैछ सँगसँगै लोकतान्त्रिक राजनीतिक व्यवस्था बेवारिसे हुने पो हो कि भन्ने प्रश्नहरू उपस्थित भएका छन् ।

कांग्रेसका नेताहरूले अहिले गरिरहेको आरोपका खेतीपाति र आत्मप्रचार त्याग्न सक्नुपर्छ । कांग्रेसका नेताहरू चुनावी समीक्षाको नाममा आगामी अधिवेशनका निम्ति मसलाहरू सृजना गरिरहेका छन् । मुख्य कुरा घर बलियो र प्रभावकारी भयो भने मात्र बाहिरी दुनियासँग भिड्न प्रतिस्पर्धा गर्न सकिने हुन्छ । तसर्थ कांग्रेसका ‘जिम्मेवार नेता’ रामचन्द्र, सशांक, कृष्ण सिटौला, प्रकाशमानहरू जो अहिलेको पराजयको मूल्यमा नेता बन्न जग हाल्न खोजिरहेका छन् ।

उनीहरूले कम्तिमा  आत्मसमीक्षा गर्नुपर्छ र अहिलेको अवस्थाका निम्ति आफ्नो भूमिका कति थियो वा छ भन्ने यकिन गर्नुपर्छ । कांग्रेसहरू सम्पन्न चुनावको परिणामलाई लिएर शोकमग्न हुने, रोइलो गर्ने र एकले अर्कामाथि दोषारोपण गर्ने होइन बरु उनीहरूले समयको पदचाप बुझ्न सक्नुपर्छ । समयको माग कांग्रेस गुट होइन, एकजुट हुन सकोस् भन्ने हो । नेताहरूलाई घर बालेर आगो ताप्न सुहाउँदैन । प्रचुर बहुमतको कम्युनिस्ट सरकारले राज गरिरहेको राजनीतिमा प्रमुख प्रतिपक्षी आपसी कलहमा रुमल्लिनु कांग्रेस र मुलुक दुवैको हितमा हुँदैन । सशक्त प्रतिपक्षीय भूमिका कसरी खेल्ने अहिलेको आवश्यकता त्यत्ति हो । 
 

Leave A Comment