रञ्जु दर्शनाको उद्घोष ‘म खहरे हैन’

आइतबार, ११ चैत २०७४, ०६ : ३६ शुक्रवार
रञ्जु दर्शनाको उद्घोष ‘म खहरे हैन’

राजनीति सुरु गरेको नै ४ वर्ष भयो । विवेकशील पार्टीले विश्वास गरेर काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनायो । उम्मेदवार भएसँगै म मतदातासँग नजिक हुने र समस्या बुझ्ने मौका पाएँ । मेरो उमेरका साथीहरु ‘आई हेट पोलिटिक्स’ भन्नेमा हुनुहुन्थ्यो । अहिले अवस्था केही फेरिएको छ । युवा उमेरमै राजनीतिमा होमिँदाको यो सकारात्मक पाटो हो । चुनावमा हारजीत सामान्य हो । मैले हारेँ तर यस बीचमा धेरै सिकियो । 

नानीमैयाँ दाहाल वास्तवमै ट्यालेन्ट हुनुहुन्छ । उहाँ बराबर १०० जना पुरुष हुनुहुन्छ भन्दा फरक नपर्ला । त्यतिबेला पञ्चायतविरुद्ध जो उठे पनि जित्थ्यो तर अहिलेको चुनाव त्यस्तो होइन । चुनावताका मलाई साउने भेल पनि नभनेका होइनन् तर म भेल हैन, नदी बन्न अडिग छु । मेरो कामले नदीको आकार लिँदैछ । 

अहिले म युवा र महिलामा बढी केन्द्रित छु । महिलामाझ राजनीतिमा त्यत्ति चासो भएको पाउँदिन, भए पनि केही सीमित छन् । महिलाको गुणात्मक र संख्यात्मक दुवै उपस्थिति बढाउनुपर्ने अवस्था छ । 

दाइजोको नाममा महिलाको देह जलिरहेको छ । छाउपडीको आवरणमा अकालमा धेरैले ज्यान गुमाइरहेका छन् । दैनिक बलात्कृत भइरहेका छन् । यो अवस्था बदल्न पनि महिला राजनीतिमा सक्रिय हुन आवश्यक छ । 

जुनसुकै दलमा आबद्ध भएका हुन्, ती सबैलाई भेला गरेर विचार आदानप्रदान गर्न आवश्यक छ । वाद फरक होला तर लक्ष्य सबैको एकै त हो, मुद्दा एकै त हो ।

कतिपयले चुनावपछि रञ्जु दर्शना हराई भन्ने गरेको पनि सुन्छु तर म हराएको छैन । चुनावको समयमा उम्मेदवार भएपछि बढी चर्चा हुन्छ । चुनाव सकिएपछि हुन्न । म अहिले धेरै भन्दा धेरै साथीसँग भेटघाट गर्ने, नेतृत्व विकासका तालिम दिन खटिइरहेकी छु । 

साझा पार्टी र विवेकशीलबीच पार्टी एकीकरण भएपछि म छायाँमा परे भनेर केही शुभचिन्तकले चिन्ता लिएको पनि सुन्छु तर त्यस्तो हैन । म अभियान विभाग प्रमुख छु । केन्द्रीय सदस्य पनि हो । म छायाँमा परेको होइन, झन् बढी सक्रिय भएकी छु । 

अन्य देशमा दोस्रो हुने उम्मेदवारले छाया सरकार बनाएका हुन्छन् तर हाम्रोमा त्यसो हुन सकेन । काठमाडौँ महानगरपालिकाको निर्वाचित नेतृत्वले काम गर्न सकेका छैनन् । 

यदि छाया सरकार बनाउन सकेको भए केही काम गर्न सजिलो हुन्थ्यो । मेयरलाई भेट्न खोज्दा पनि समय दिनुहुन्न । केमा अल्झिनुभएको हो, थाहा छैन । 
प्रस्तुति : प्रजु पन्त
 

Leave A Comment