धारणाको धारमा रेटिँदा

शनिबार, २६ फागुन २०७४, ०३ : ०३ शुक्रवार
धारणाको धारमा रेटिँदा

-प्रकाश जंग थापा

एउटा छोटो परीक्षण गरौँ न ! मात्र एक मिनेट लाग्छ । मानौँ हामीलाई तीन व्यक्ति ‘क’ ‘ख’ र ‘ग’ बारेमा संक्षिप्त जानकारी दिइएको छ । व्यक्ति ‘क’ को नकारात्मक बानी, स्वभाव र दैनिकी यस्तो थियो– उनी चेन स्मोकर थिए । उनको दिन रक्सी पिएरै जान्थ्यो । दिनको आठदेखि दस पटकसम्म पिउनु उनको लागि सामान्य थियो । प्रायः चुरोट र रक्सीकै वरिपरि उनी हुन्थ्ये । उनी असल साथीको सङ्गतमा थिएनन् । भ्रष्ट राजनीतिज्ञसँग उनको ज्यादा उठबस हुने गथ्र्यो । कुनै नयाँ कामको थालनी गर्नु परे समयमा निर्णय लिनसक्ने हैसियतका थिएनन् । ज्योतिष शास्त्रको भर पर्थे । उनका दुई श्रीमती पनि थिए । 

त्यसैगरी व्यक्ति ‘ख’ मा निम्न नकारात्मक पाटा थिए– उनको खाने र सुत्ने समयको ठेगान थिएन । हरेक साँझ ह्विस्की पिउनु उनको नियमित खुराक थियो । उनी दिउँसोसम्म सुत्ने गर्थे । उनले कलेजमा बिताएका समयको रिर्पोटिङ पनि त्यति राम्रो देखिँदैन । विद्यार्थी जीवनकालमा लागूऔषधमा फँसेका थिए । उनको करियरको ट्र्याक रेकर्ड पनि त्यति सुखद् रहेन । उनी दुईपटक आफ्नो जिम्मेवारीबाट वञ्चित गरिएका थिए । यो त रह्यो दुई व्यक्ति ‘क’ र ‘ख’ का बारेमा दिइएका नकारात्मक टिप्पणी । व्यक्ति ‘ग’ मा भने सकरात्मक गुण बढी थियो । उनी साकाहारी थिए । धुम्रपान र मध्यपानबाट सधैँ टाढा रहे । उनलाई डेकोरेटेड वार हिरोको रुपमा सम्मान गरिन्थ्यो । उनी सम्बन्धलाई विशेष महत्व दिन्थे । उनले आफ्नी पत्नीसँग सधैँ सुमधुर सम्बन्ध राख्न सफल भए । र, कहिल्यै धोका दिएनन् । 

अब एउटा प्रश्न, ‘यी तीन व्यक्तिमध्ये कसलाई असल ठान्न सकिएला ? ‘क’, ‘ख’ वा ‘ग’लाई ?’ सामान्य शैक्षिक अनुमान गर्ने हो भने पनि व्यक्ति ‘ग’ नै बढी असल र इमान्दार पाउँछौँ तर यथार्थ भने फरक छ । यी तीन व्यक्ति विश्व इतिहासका परिचित नामहरु हुन् । व्यक्ति ‘क’ अमेरिकाका ३२ औँ राष्ट्रपति फ्राङ्कलिन रुजवेल्ट हुन् । व्यक्ति ‘ख’ तत्कालिन ब्रिटिस प्रधानमन्त्री विन्स्टन चर्चिल हुन् ।

व्यक्ति ‘ग’ एडल्फ हिटलर हुन् । यो छोटो परीक्षणमा हामीले केही जानकारीका आधारमा तीनै व्यक्तिका बारेमा धारणा बनायौँ । दुई जनालाई सही र एक व्यक्तिलाई असलको ट्याग भिरायौँ तर अन्ततः हाम्रा धारणा÷अनुमान गलत साबित भए । अङ्ग्रेजीमा एउटा भनाइ छ, ‘डन्ट जज अ बुक बाइ इट्स कभर (पुस्तकलाई त्यसको आवरणबाटै निर्णय नगर्नुस्) ।’ त्यसकारण व्यक्तिको बानी हेरेर हठात् ठ्याक्कै यही हो भन्ने निर्णयमा नपुगौँ ।

व्यक्तिका बारेमा गरिएका अनुमान गलत हुन्छन् भन्ने थाहा भए पनि हामी आफूलाई सच्याउन सक्दैनौँ किनभने जजमेन्ट अनकन्ससली (नजानीकनै) हुने गर्छ । हरेक नयाँ व्यक्ति भेटेपिच्छे उनीहरुका बारेमा धारणा दिने गरेकै हुन्छौँ । विभिन्न सोध अनुसन्धानबाट के प्रमाणित भएको छ भने हामी नयाँ व्यक्तिलाई पहिलो पल्ट भेटेको सात सेकेन्डभित्र उसका बारेमा धारणा बनाइसकेका हुन्छौँ । ती धारणा नकारात्मक र सकारात्मक दुवै हुन सक्छन् । व्यक्तिप्रति राखिएको त्यस्तो धारणाले फाइदा गर्ला कि वेफाइदा ? केही उदाहरण केलाएर हेरौँ । 

पहिलो नकारात्मक धारणा÷टिप्पणीले के कस्ता प्रभाव छोड्छ बुझ्ने प्रयास गरौँ । हामी पुरुष विपरीत लिङ्गीप्रति स्वाभाविक रुपमा आकर्षित हुन्छौँ । कामुक र आकर्षक शरीर भएको महिलाप्रति झन् हत्ते गछौँ नै । ती महिलालाई देख्नेबित्तिकै प्रतिक्रिया दिन हामीलाई भ्याई–नभ्याई हुन्छ । ‘वाउ, क्या च्वाँक !’ वा ‘क्या सेक्सी !’ भन्नु जिब्रो पड्काउनुजस्ता प्रतिक्रिया सामान्य हुन्छन् । साथै फर्कीफर्की हेर्नु पनि सामान्य हुन आउँछ । यी सब गलत नियतबाट सिर्जित प्रतिक्रिया हुन् ।

यतिमात्र होइन, हाम्रो दिमागमा यस्ता कुरा पनि खेल्न सक्छन्– यति धेरै आकर्षक महिला पक्कै कि त धनी बाउको छोरी हुनुपर्छ कि अनैतिक काममा लागेकी हुन सक्छे । यी महिलाका थुप्रै केटा साथीहरु होलान् । धेरै केटासँग उसको अन्तरङ्ग सम्बन्ध पनि छ होला भन्ने कल्पना हामी गर्न पुग्छौँ । त्यसैले हरेक आकर्षक महिला देहव्यापारी हुन्, केटाको ओछ्यानमा पुग्न समय लगाउँदैनन्, पैसामा बिक्ने चालु केटी होली भन्नेजस्ता धारणा राख्यौँ भने के होला ? अब दश वर्षपछि हामी बिहे बन्धनमा बाधियौँ रे !

संयोगवश, श्रीमती मोडेलजस्तै राम्री परिन् रे ! त्यसपछि समस्या सिर्जना हुन थाल्छ । जो महिला देखे पनि नकारात्मक धारणा बनाउने बानी हटेको हुँदैन । आफ्नै श्रीमतीप्रति शंका गर्न थाल्छौं । भए नभएको कुरा दिमागमा आउन थाल्छन् । मेरी श्रीमतीको पहिले अरु कोही पुरुषसँग अनैतिक सम्बन्ध थियो कि ? कतै उनी भर्जिन छैनन् कि ? साँघुरो सोचाइबाट आएका यस्ता कुराले सताउन थाल्छन् । श्रीमतीसँग यौन सम्बन्ध त राखिएला तर यसबाट हुने जति आनन्द प्राप्त हुन सक्दैन किनभने संभोग गर्दाको क्षणमा पनि श्रीमतीप्रति नकारात्मक भावना प्रवाह भइरहेको हुन्छ । 

त्यसैगरी नकारात्मक धारणाको अर्को उदाहरण लिऊँ । धनी व्यक्तिप्रति त्यति राम्रो धारणा राखिदैन । पक्कै पनि दुई नम्बरी काम गरेर पैसा कमाएको हुनुपर्छ । उनीहरु खराब व्यक्ति हुन् । गरिबलाई दबाएर, चुसेर धनी भएका हुन् । सरकारलाई तिर्नुपर्ने कर छलेर अकुत सम्पति जोडेका हुन् । हाम्रो परिवार, साथी र समाजबाट आएको यस्तो खाले धारणाले हाम्रो अर्धचेतन दिमागमा धनी व्यक्ति खराब हुन् भन्ने पर्छ । अब मानौं २० वर्षपछि हामीले नयाँ बिजनेस खडा गर्याे । मनग्य पैसा पनि कमायौँ । यद्यपि हामी खुसी हुन सक्दैनौं । कारण, हाम्रो दिमागमा धनी व्यक्ति खराब हुन् भन्ने धारणा रहनु । वर्षौंअगाडि धनीप्रति राखेको धारणाले सताउन थाल्छ । हामीलाई अरुले पनि खराब भनेर मूल्याङ्कन गरेका छन् कि भन्ने सोचले पिरोल्न थाल्छ ।

दोस्रो सकारात्मक धारणा÷मूल्याङ्कनका बारेमा पनि चर्चा गरौँ । मानौँ, तपाईं आमाको माया पाउनबाट वञ्चित हुनु भएको छ रे ! आमा तपाईंप्रति कडा रुपमा प्रस्तुत हुनुहुन्छ रे ! सानातिना गल्तीमा पनि कराइरहनु हुन्छ रे ! त्यसपछि तपाईं आमाप्रति नकारात्मक धारणा राख्न थाल्नु हुन्छ । अनि त्यसपछि तपाईं भविष्यमा खराब आमा नबनेर प्रेमिल आमा बन्ने प्रण गर्नु हुन्छ । यो आफैँमा राम्रो कुरा हो । मानौँ १० वर्षपछि आमा बन्ने अवसर पनि प्राप्त भयो । तपाईं आफ्नो सन्तानलाई धेरैभन्दा धेरै प्रेम दिन थाल्नु हुन्छ ।

आफ्ना खुसी र चाहना दबाएर सन्तानका लागि समर्पित हुनुहुन्छ । सन्तान ठूलो हुँदै जान्छन् । आफ्नो ख्याल आफैँ राख्न सक्ने भइसकेका हुन्छन् । जीवनमा महत्वपूर्ण निर्णय लिन सक्ने हैसियत राख्छन् तर तपाईं सूक्ष्म कुरामा पनि सन्तानलाई सुझाउन थाल्नु हुन्छ । यस किसिमको तपाईंको माइक्रो म्यानेज्मेन्ट गर्ने स्वभाव सन्तानलाई मन नपर्न सक्छ । आफूले नै जन्माएका र अति माया गरेका सन्तानसँग तपाईंको तीतो संवाद हुन पुग्ला । र, अन्ततः आफूले राम्रो गर्न खोज्दाखोज्दै पनि सन्तानले चिन्न नसकेकामा दुःखी बन्नु होला ।

त्यसैले हामीले दिने धारणा सकारात्मक होस् वा नकरात्मक दुवै हाम्रालागि हानिकारक छन् । धारणाको धार समयसँगै झन् धारिलो हुँदै जान्छ । यही धार हामीतिर चल्न थाल्छ र हाम्रो खुसी काटिन थाल्छ । धारणाको धारमा रेटिन चाहने को होला र !  

Leave A Comment