सौगातको ‘ब्याड–लक’

आइतबार, २० फागुन २०७४, ०६ : ११ शुक्रवार
सौगातको ‘ब्याड–लक’

सौगात मल्ल एउटा सुपरहिट फिल्मको पर्खाइमा छन् तर यसका लागि सौगातसँग न मिहिनेत गर्ने समय छ न त इच्छाशक्ति नै । सुटिङको लाइनअप हेर्दा लाग्छ, सौगात छोटो समयमै भएभरका फिल्म खेलेर करोडपति बन्ने ध्याउन्नमा छन् । यही कारण उनले अफर आए जति फिल्म साइन गरेर बसेका छन् तर झुक्किएरै सही कुनै फिल्म चल्दिए हुने थियो भनेर उनका प्रशंसकहरुले प्रार्थना गर्ने बेला आइसकेको छ ।

यो साल रिलिज भएका फिल्ममध्ये ‘फाटेको जुत्ता’ले ठीकै व्यापार गरेको थियो तर सौगातलाई कहिले नखुवाएको गाली यसैले खुवायो । त्यसपछि चलेको ‘झ्यानाकुटी’को पनि उही हालत रह्यो । यसले पनि निर्माता र सौगात दुवैलाई फाइदा गरेन । यही हप्ता सौगातको ‘पञ्चेबाजा’ रिलिज भयो ।

यो फिल्मबाट दर्शकलाईझैं सौगातलाई पनि खास अपेक्षा थिएन, सायद । त्यसैले पनि फिल्म हल्लाखल्ला बिनै रिलिज भयो तर कहिलेकाहीँ नसोचेको खोलाले बगाउँछ । ‘पञ्चेबाजा’ यस्तै निस्कियो । कसैले नसोचेको फिल्मले नकल्पेको तारिफ पायो तर सौगातको दुर्भाग्य, फिल्म हेर्न दर्शक हलसम्मै आइदिएनन् । पहिलो दिनबाटै दर्शकको खडेरी झेलेको फिल्मलाई ‘माउथ पब्लिसिटी’ले पनि बचाउन सकेन । नराम्रो त नराम्रो भइहाल्यो, राम्रो फिल्म हेर्न पनि दर्शक नआउनु अब सौगातकै ‘ब्याडलक’ त होला नि !

Leave A Comment