'व्यवसाय गर्दा डराउनु हुँदैन'

बुधबार, १६ फागुन २०७४, ०६ : ३९ शुक्रवार
'व्यवसाय गर्दा डराउनु हुँदैन'

विराटनगरका प्रकाश मुन्दडा मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष हुन् । भारतको बैङलोरबाट बिबीएम गरेका ४२ वर्षीय मुन्दडा औद्योगिक नगरी विराटनगरको ‘व्यावसायिक थिङ् ट्यांक’ मानिन्छन् । जुट, साबुन, घिउ, तेल उद्योग, स्कुल, कलेज, हाइड्रोमा लगानी गरिरहेका मुन्दडासँग शुक्रबारका लागि मुलुकको व्यावसायिक वातावरणलगायतका विषयमा गरिएको कुराकानी :

कुन–कुन क्षेत्रमा लगानी गर्नुभएको छ ?
नेपालको जनसंख्या अनुसार यहाँको बजार सानो छ । उत्पादन गरेको वस्तुको ठूलो बजार नहुँदा हामीले मल्टी बिजनेस गरेका छौं । सुरुमा जुट उद्योग सञ्चालन गरेको भए पनि पछि साबुन, घिउ, तेललगायतका उद्योग चलायौं । अहिले स्कुल, कलेज, हाइड्रोमा पनि लगानी गरिरहेका छौं ।

एउटै क्षेत्रमा स्पेसिफिक नभएर किन धेरै क्षेत्रमा हात हाल्नुभयो ?
सगोल परिवार भएकाले पनि हो । अर्को सीमित जनसंख्यामा प्रतिस्पर्धा गर्नुपर्ने भएकाले मल्टी बिजनेसमा जानु परेको हो । नेपालबाट निर्यात गर्ने अवस्था पनि छैन । बजार साँघुरो छ । हाम्रोजस्तो भूपरिवेष्ठित देशका लागि उत्पादनलाई निर्यात गर्न समस्या छ । 

व्यावसायिक वातावरण कस्तो छ ?
स्थिर सरकारबाट सकारात्मक छौं । विकासका बाटा धेरै छन् ।  अस्थिरताको वातावरण हट्यो भने धेरै सम्भावना रहेको छ । सरकारले सुशासन कायम गरेर पूर्वाधार, सञ्चार, प्रविधिको क्षेत्रमा खर्च गरेर उपयुक्त परिस्थिति सृजना गर्ने हो भने ठूला व्यापारारिक घराना लगानी गर्न सक्षम छन् । त्यसले मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने गरी औद्योगिक वातावरण बन्छ । रोजगारी सृजना हुन्छ । आयातमुखी अर्थतन्त्रबाट आत्मनिर्भरतर्फ उन्मुख हुन सक्छौं ।

व्यापारिक घरानाले सर्भिस क्षेत्रमा लगानी बढाएका छन् किन ?
उत्पादन गरेको वस्तुका लागि स्वदेशी बजार साँघुरो निर्यात गर्न कठिन भएकाले अहिले धेरै व्यापारिक घराना सर्भिस क्षेत्रमा गएका छन् । हाम्रो मुलुकको व्यापार व्यवसाय परम्परागत रूपमा अघि बढेको छ । पुरानो प्रविधिमा अल्झिएको छ । अहिले पनि सामानको किनबेच अनलाइन पेमेन्टबाट हुँदैन । निर्यातमूलक वातावरण नभएकाले सर्भिस क्षेत्रलाई प्राथमिकतामा राखेका हुन् । औद्योगिक उत्पादनका लागि पनि हामीसँग सम्भाव्यता छ । 

नीतिगत समस्या के छन् ?
हामी विराटनगरमा उद्योग सञ्चालन गरिरहेका छौं । बोर्डर खुला रहेको छ । भन्सारको ग्याप छ । यसलाई विशेष ध्यान दिनुपर्छ । अहिलेको कर दर परिवर्तन गर्नुपर्छ । अब राज्य बहुकर प्रणालीमा राज्य जानु पर्छ । यो भयो भने मात्र प्रतिस्पर्धी हुन्छौं । अहिले पनि विराटनरगका स्थानीय सामान किन्न जोगवनी गइरहेका छन् । जोगवनीमा अहिले पनि दैनिक पाँच करोड रुपैयाँको किनबेच हुन्छ । यसले राज्यलाई नै करोडौं घाटा भएको छ । हामी हाम्रै बजारमा किनमेल गराउने व्यवस्था गर्न सक्छौं । यसले देशलाई अघि बढाउन टेवा पु¥याउँछ । उद्योगको वृद्धि कम छ । उद्योग मात्र नभएर शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि समस्या छ । मानौं पूर्वाधारसहित इन्जिनियरिङको कलेज चलायो भने पनि सिट संख्याको लिमिट हुन्छ । त्यसले विद्यार्थीसँग धेरै पैसा लिनुपर्ने बाध्यता हुन्छ । सरकारले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न दिएजस्तै हामीले पनि विदेश लगानी गर्न पाउने गरी वातावरण बनाउनु पर्छ ।

स्वदेशमै लगानी अभाव भइरहेको बेला विदेशमा किन लैजाने ?
नेपालीले लगानी गर्न सक्षम रहेको १०÷२० करोडको परियोजनामा पनि विदेशी लगानी आइरहेको छ । ठूला मल्टी नेसनल कम्पनीले चार÷पाँच वर्ष घाटा खाएर पनि यहाँ काम गर्न सक्छन् । उनीहरुको बजार पनि ठूलो छ । विदेशी यहाँ आएकाले हामीले पनि उत्पादन गर्ने वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा लैजान सक्छौं । विदेशमा लगानी जुटाउने जिम्मा उद्योगीकै हो । 

व्यवसायमा आउन चाहनेलाई यहाँको सुझाव ?
व्यवसायमा कहिले फेल भइन्छ । कहिल पास । व्यवसाय गर्दा डराउनु हुँदैन । नेपाल सम्भावनाको देश हो । आफ्नो माटोलाई बाहिर गएर जीवन जिउनु भन्दा यहाँ रमाउन सक्नुपर्छ । यहाँ उद्योग क्षेत्र मात्र नभएर शिक्षा, स्वास्थ्य, आइटी, हाइड्रो, पर्यटन क्षेत्रमा लगानीको अवसर छ । धार्मिक पर्यटक आकर्षित गर्न सकिन्छ । वर्षेनी भारतबाट २० करोड जनसंख्या घुम्न निस्किन्छ । 

व्यावसायिक सफलताका लागि के चाहिन्छ ?
इमानदारिताका साथ जिम्मेवारी बोध गरेर कर्मठरूपमा काम गर्नुपर्छ । लकचता अपनाई एउटा लाइन लिएपछि त्यो लाइनमा अघि बढ्छु भन्ने क्लियर भिजन बनाउनु पर्छ । नयाँ प्रविधिलाई प्रयोग गर्दै छिटो, छरितो गुणस्तरीय सेवा दिन सक्नुपर्छ । सेवामात्र नभर वस्तुको उत्पादन र बिक्रीमा पनि यो लागु हुन्छ ।

व्यवसायका अतिरिक्त यहाँको सक्रियता ?
उद्योगी, व्यवसायीकै हकहितका लागि मोरङ व्यापार संघमा पनि आबद्ध भएर काम गरिरहेको छु । देशलाई भिजन दिनुपर्नेछ । राउण्ड टेबल नेपालमा पनि संलग्न छु । 

कुन सफल उद्यमीबाट प्रभावित हुनुहुन्छ ?
विराटनगरकै उद्योगपति महेश जाजु । जसले स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्न सक्नुभयो । विशाल ग्रुपका अनुज अग्रवाल । विनोद चौधरी जसले नेपालको ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा सफलता दिलाउनु भयो ।

यहाँको रुचि ?
क्रिकेट, फुटबल मनपर्छ । तेक्वान्दोमा पनि आबद्ध छु ।

फुर्सदको समयमा के गर्नु हुन्छ ?
साथीसँग रमाउन मन पर्छ । दुई छोरा छोरी छन् । छोरीसँग खेलेर रमाउँछु । बुवासँग समय बिताउँदा अतुलनीय ज्ञान प्राप्त गर्छु ।


 

Leave A Comment