शुक्रवार कभर स्टोरी : सेक्स क्यालेन्डर

आइतबार, १३ फागुन २०७४, ०४ : ३२ उपेन्द्र खड्का
शुक्रवार कभर स्टोरी : सेक्स क्यालेन्डर

(तस्बिर  कृष्पा श्रेष्ठ, मोडल : शोभा पौडेल र आशिष अर्याल)

गर्भ राख्दा नै छोरा या छोरी निश्चित गर्न सम्भव रहेको दाबी अझै हराएको छैन । गर्भको सन्तान गर्भ राख्ने दिनमै निश्चित गर्न सघाउन चिनिया क्यालेन्डर, जापानी क्यालेन्डर लगायतका धेरै क्यालेन्डर पछ्याउनेहरुको संख्या अझै उस्तै छ । के यो सम्भव विधि हो त ?

चिकित्साशास्त्रको अभ्यासमा संलग्नहरुको मतअनुसार गर्भको सन्तान छोरा या छोरी निश्चित गर्ने कुनै विधि छैन । प्रसूति गृह, थापाथलीका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्राध्यापक डा. गेहनाथ बरालको तर्कअनुसार गर्भ बस्दा छोरा या छोरी के हुने त्यो चिठ्ठाजस्तै हो । आधुनिक चिकित्सा उपकरणको सहयोगमा गर्भ बसेको तीन महिनापछि गर्भमा रहेको सन्तानको लिंग पहिचान गर्न सम्भव छ तर गर्भ बसाउँदा नै छोरा या छोरी पाउने निक्र्यौल गर्न सम्भव भने छैन ।

यता ज्योतिषशास्त्रको अभ्यासमा संलग्नहरुको मत भिन्न छ । केही अन्तर्राष्ट्रिय अध्ययनले समेत निश्चित प्रक्रिया पछ्याउन सक्ने हो भने गर्भ राख्दाको समयमै आफूले चाहे अनुसारको भ्रूणको विकास गर्न सकिने देखाएको छ ।

ज्योतिषशास्त्री ऋषिराज घिमिरेको दाबीअनुसार जोर रात (६,८,१०,१२,१४,१६) मा गर्भ रह्यो भने छोरा जन्मिन्छ ।  बिजोर रातमा (७, ९, ११, १३, १५) मा गर्भ रह्यो भने छोरी हुन्छ । चिकित्साशास्त्रका अभ्यासकर्ता हुन् या ज्योतिषविधाका– दुवैको गणनाविधि भने महिलाको पिरियड टेबल नै हो ।

नेपाली चिकित्सकले असम्भव भने पनि सन् २००८ मा अक्सफोर्ड र एक्सटर विश्वविद्यालयका शोधकर्ताहरूले लिङ्ग छनोट सम्भव भएको पत्ता लगाएका थिए तर उनीहरुले यसका लागि जोर या विजोर समय भन्दा पनि महिलाले चयन गर्ने खानालाई मुख्य आधार बनाएका थिए । 

अध्ययनको निष्कर्ष थियो ‘बच्चा पाउने तयारी थाल्दाका अवस्थामा जसले बढीभन्दा बढी क्यालोरीयुक्त खान्कीमा जोड दिन्छ उसले छोरा पाउने सम्भावना बढी हुन्छ । जसले खाजा तथा खानेकुरामा कम ध्यान दिन्छ, उसले छोरी पाउने सम्भावना बढी हुन्छ ।’

डा. रीमा महर्जन र डा. ईशा श्रेष्ठको मतअनुसार गर्भमा विकसित हुने भ्रूण छोरा या छोरी भन्ने तय हुने प्रक्रिया प्राकृतिक हो । यी दुवै चिकित्सकको तर्कअनुसार पुरुषको शुक्रकिटबाट छोरा र छोरी छुट्टिने गर्छ । 
‘पुरुषको शुक्रकिटमा एक्स—वाई क्रोमोजोम हुन्छन् । महिलाको अण्डामा सधैँ एक्स—एक्स क्रोमोजोम मात्रै हुन्छन् । पुरुषको वाई क्रोमोजोम भएको शुक्रकिट गएर महिलाकोे एक्स क्रोमोजोम अण्डासँग मिल्योे भने छोरा हुन्छ । पुरुषको एक्स क्रोमोजोम गएर महिलाको एक्स क्रोमोजोम भएको अण्डासँग मिल्यो भने छोरी हुन्छ,’ दुवै चिकित्सकले भने ।

औँसीको समयमा गर्भ बसे छोरी र पूर्णिमाको समयमा गर्भ बस्दा छोरा जन्मिने तर्क पनि नसुनिएको हैन तर यो तर्कलाई चिकित्सक र ज्योतिष दुवैले अस्वीकार गरे ।

चिकित्सक गेहनाथ यसलाई अन्धविश्वास मात्रै भएको बताउँछन् । यसको वैज्ञानिक आधार नभएको भन्दै उनले भने, ‘कुन आसनमा यौन सम्पर्क भयो भने छोरा वा छोरी हुन्छ भन्ने वैज्ञानिक आधार छैन । यो ‘लट्री’ परेजस्तै हो ।’

सम्बन्धित समाचार

१. लिङ्ग छनोटमा चिनियापात्रो

२. लिङ्ग छनोटको विज्ञान

ज्योतिष घिमिरे पनि पूर्णिमाको समयमा गर्भ बस्यो भने छोरा र औँसीको रातमा गर्भ बस्यो भने छोरी जन्मिने मान्यतामा सहमत छैनन् तर सुत्ने आशनको दिशाको प्रभाव गर्भमा पर्ने दाबी भने उनी गर्छन् ।
घिमिरेका अनुसार उत्तर र पूर्वको दिशाको कोण ईशान हो । यो पानीको स्थान हो । पानीको स्थानमा सुत्यो भने चिसोले यौन शक्ति कम हुन्छ र गर्भमा बच्चा बस्ने सम्भावना पनि कम हुने उनको तर्क छ । 

पूर्व र दक्षिण दिशाको कोण आग्नेय हो । आग्नेय कोण अग्निको स्थान हो । उनको तर्कअनुसार, अग्निको स्थानमा सुत्दा शरीर तात्छ र यौन शक्ति बढ्छ । यौन सम्बन्ध राख्दा गर्भ बस्छ । दक्षिणी दिशामा सुत्दा पनि गर्भ बस्न सक्छ । 

ज्योतिषहरु ग्रहका कारणले पनि छोरा वा छोरी जन्मिने दाबी गर्छन् । उनीहरुको तर्कअनुसार सन्तानको स्थानमा शनि ग्रह छ भने छोरा हुन्छ । सन्तानको स्थानमा उच्चको शुक्र र चन्द्रमा छन् भने छोरी हुने ज्योतिष दुर्गाप्रसाद उपाध्याय बताउँछन् । सूर्य ग्रह भएको समयमा गर्भ बस्यो भने छोरा र चन्द्रमाले छोरी जन्मने ज्योतिष घिमिरेको तर्क छ । 

‘मंगल ग्रह छ भने छोरा जन्मिन्छ, बुधबार गर्भ बस्दा छोरी जन्मिने सम्भावना हुन्छ,’ उनको दाबी छ, ‘बिहीले छोरा, शुक्रको प्रभावले छोरी हुन्छ । शनिको प्रभावले गर्भ खेर जान सक्छ ।’

उनले खानपिनका कारण पनि छोरा वा छोरी जन्मने तर्क गरे । बेलायतमा भएको अध्ययनले समेत यो देखाएको थियो । उनीहरुले अध्ययनमा क्यालोरीको गणना गरेका थिए । 

ज्योतिष उपाध्याय धेरै रोटी खायो भने छोरा जन्मिने दाबी गर्छन् । उनको दाबीअनुसार भात धेरै खायो भने छोरी जन्मिन्छ । 

महिनाबारीमा सेक्स कति उत्तम ?

 

 

(तस्बिर  कृष्पा श्रेष्ठ, मोडल : शोभा पौडेल र आशिष अर्याल)

ज्योतिष (शास्त्री) ऋषिराज घिमिरे पनि महिनावारी भएको सात दिनसम्म यौन सम्पर्क गर्न नहुने सल्लाह दिन्छन् । महिनाबारी भएको समयमा यौन सम्पर्क गर्दा महिलाको स्वास्थ्यमा असर गर्ने शास्त्रीय मान्यताका कारण त्यस समयमा यौन सम्पर्र्क गर्न नहुने उनले दाबी गरे । 

चिकित्सक पनि महिनाबारी भएको समयमा सकभर यौन सम्पर्क नगर्न सुझाव दिन्छन् । महिनाबारी भएको समयमा यौन सम्पर्क गर्दा महिलामा इन्फेक्सन हुने सम्भावना हुने र गर्भधानको समय समेत फेरिने चिकित्सकहरु सचेत गराउँछन् ।

महिनावारीको समयमा महिला चाँडो उत्तेजित हुने कतिपय चिकित्सकको भनाइ छ । उच्च एट्रोजनका कारण उत्तेजना छिटो हुने र पिरियडको समयमा महिलालाई यौन सम्पर्क गर्न मन लाग्ने चिकित्सक बताउँछन् ।

एक्टिभ समय, प्यासिभ समय

सामान्यतः पिरियडको समय यौन सम्बन्ध राख्दा गर्भ रहने सम्भावना कम हुन्छ । प्रसूति गृह, थापाथलीका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्राध्यापक डा. गेहनाथ बरालका अनुसार महिलाको पिरियड साइकल २८ दिनको हुन्छ । नियमित यौन सम्बन्ध भइरहेको जोडीले गर्भनिरोधक साधन प्रयोग नगरेको अवस्थामा दुई वर्षभित्र ८५ प्रतिशतको गर्भ बस्ने उनले बताए । 

बरालका अनुसार महिनावारी अनियमित हुने महिलाको हकमा यौन सम्पर्क गर्दा अस्थायी साधनको प्रयोग गर्नु उत्तम हुन्छ । 

उनका अनुसार पिरियड सुरु भएको पाँच दिनपछि गर्भ बस्ने सम्भावना बढ्दै जान्छ । नौ दिनपछि सक्रिय हुन्छ । चिकित्सकका अनुसार पाँच दिनदेखि नौ दिनसम्म पनि गर्भ बस्ने सम्भावना हुने भएकाले गर्भ नचाहने जोडीले अस्थायी साधनको प्रयोग गर्नु उत्तम हुन्छ । 

‘महिनाबारी भएको दिनलाई पहिलो दिन मान्ने हो भने  नवौँ दिन देखि १७ औँ दिनसम्म गर्भ बस्ने सम्भावना अत्यधिक हुन्छ,’ डा. बराल भन्छन्, ‘यस अवधिमा युवाजोडी (स्त्री–पुरुष) बीच यौन सम्बन्ध हुँदा गर्भ बस्छ । औसतमा महिनाबारी भएको १४ औँ दिनमा गर्भ बस्ने सम्भावना सबैभन्दा बलियो हुन्छ ।’

बरालका अनुसार पुरुषको शुक्रकिट यौन सम्पर्क भएको ३ देखि ५ दिनसम्म पनि जीवित रहन्छ । त्यसैले महिनावारी भएको नवौँ दिनमा यौन सम्पर्क गरेको छ भने पनि १४ औँ दिनमा महिलाको डिम्ब निस्कँदा गर्भ बस्ने सम्भावना हुन्छ । त्यस्तै १४ औँ दिनमा महिलाको डिम्ब निस्कँदा तीन दिनसम्म डिम्ब बाँच्ने भएकाले १७ औँ दिनमा यौन सम्पर्क भयो भने पनि गर्भ बस्न सक्छ । 

दैनिक यौन सम्बन्ध राख्दा वीर्य पातलो भएर गर्भ बस्ने सम्भावना कम हुने जानकारी दिँदै उनले नवौँ दिनदेखि १७ औँ दिनसम्म दिन बिराएर यौन सम्पर्क गरेको खण्डमा गर्भ बस्ने सम्भावना बलियो हुने बताए । 

सिभिल अस्पतालकी स्त्री तथा प्रसूति विभागकी रजिस्ट्रार डा. रीमा महर्जन औसतमा २८ दिनको महिनाबारी हुने चक्रमा सहमत छिन् । 

महर्जनका अनुसार २८ दिनको महिनाबारीको साइकल छ भने पछिल्लो महिनाबारी हुनुभन्दा १४ दिनअगाडि महिलाको अण्डा फुट्छ । महर्जनका अनुसार एक हप्ता महिनाबारी तलमाथि हुनु सामान्य हो । 
त्यसैगरी सिभिल अस्पताल स्त्री तथा प्रसूति विभागकी रजिस्ट्रार डा. ईशा श्रेष्ठ महिलाको अण्डा फुटेको समयमा यौन सम्पर्क भयो भने गर्भ रहन सक्ने बताउँछिन् । 

‘अण्डाको जीवनचक्र २४ घण्टाको हुन्छ । महिलाको अण्डा फुटेको २४ घण्टासम्म यौन सम्पर्क भयो भने गर्भ रहन सक्छ,’ श्रेष्ठले भनिन्, ‘अण्डा फुटेको २४ घण्टा सम्ममा पुरुषको शुक्रकिट महिलाको योनिबाट भित्र छि¥यो भने गर्भ रहने सम्भावना बलियो हुन्छ ।’ 

महिलाको अण्डा फुट्ने समय निश्चित भने हुन्न तर अण्डा फुटेको दिनबाट दुई हप्तामा महिनाबारी हुने समय निश्चित हुन्छ । 

‘३० दिनमा महिनाबारी हुने महिलाको महिनाबारी भएको १६ दिनमा अण्डा फुट्छ । २२ दिनमा महिनाबारी हुने महिलाको १२ दिनमा फुट्छ । २८ दिनमै महिनाबारी हुने महिलाको अण्डा फुट्ने समय अघिपछि पनि हुन सक्ने भएकाले बच्चा नचाहने यौन जोडीले महिनावारी भएको तीन दिनपछि अस्थायी साधनको प्रयोग गर्नु राम्रो,’ उनको सुझाव छ ।

नवौँ दिनभन्दा अगाडि र १७ औँ दिनभन्दा पछाडि गर्भ बस्ने सम्भावना कम हुने बराल बताउँछन् । 
पिरियड साइकलको गणनाबारे चिकित्सक र ज्योतिषशास्त्रीबीच समानता देखिन्छ । ज्योतिष उपाध्याय महिनाबारी भएको १८ रातपछि गर्भ रहने सम्भावना कम हुँदै जाने बताए । सामान्यतः रातका समयमा यौन सम्पर्क हुने मान्यतामा ज्योतिषहरुले रातको गणना गर्छन् । 

ज्योतिष घिमिरे र उपाध्याय १२ बजेपछिको समयमा यौन सम्पर्कपछि गर्भ बसेको खण्डमा बच्चा तेजस्वी हुने दाबी गर्छन् । 

‘दिउँसो यौन सम्पर्क गर्नु राम्रो हैन, दिउँसोको समयमा बसेको गर्भले ग्रहका कारणले जन्मिने बच्चामा समेत असर पर्छ,’ घिमिरेको सुझाव छ, ‘बिहानको सूर्य उदयको समयमा यौन सम्पर्क राख्नु हुँदैन ।’
डिम्ब निस्किएको कसरी चाल पाउने ?

चिकित्सकका अनुसार डिम्ब निस्किएको समयमा महिलाको शरीरको तापक्रम केही बढ्छ । चिकित्सक बरालका अनुसार यो बेला आधादेखि एक डिग्री फरेनहाइटसम्म तापक्रम बढ्न सक्छ । त्यसैगरी यौनीबाट बग्ने पानी अन्य समयको भन्दा बढी चिप्लो हुन्छ । 

‘योनिमार्गबाट निस्केको पानी दुई वटा औँलाको बीचमा च्यापेर फैलाउँदा अघिपछि तन्कन्छ तर बच्चा बस्ने समयमा त्यो चिप्लो पानी औँलाले च्यापेर फैलाउँदा टुक्रा परेर जान्छ,’ चिकित्सक बरालले भने, ‘तन्कियो भने अर्को हार्मोन निस्किएको छैन भनेर बुझ्नुपर्छ तर डिम्ब निस्कँदा हार्माेन परिर्वतन हुन्छ । नयाँ निस्किएको हार्मोनले ¥याल टुक्र्याउँछ र बच्चा बस्न योग्य हुन्छ ।’ 

 

(तस्बिर  कृष्पा श्रेष्ठ, मोडल : शोभा पौडेल र आशिष अर्याल)

महिनाले छुट्ट्याउँछ स्वभाव
ज्योतिषशास्त्रीहरु जन्मिएको महिनाको आधारमा समेत बच्चाहरुको गुण खुट्याउन सकिने दाबी गर्छन् । यसमा चिकित्सकहरु सहमत देखिएनन् । चिकित्सकको मतअनुसार कुन बाल–बालिका कस्तो हुन्छन् भन्ने उनीहरुको स्वास्थ्य अवस्था र हुर्काइको वातावरणमा भर पर्छ ।

शुक्रबारकर्मीले कुरा गरेका दुवै ज्योतिषअनुसार ६ महिना सूर्य उत्तरायण हुन्छ । उत्तरायण भएको बेला सूर्य पूर्ण हुन्छ । ६ महिना दक्षिणायन हुन्छ । यो समयमा सूर्य घटेको हुन्छ । पूर्ण देखिँदैन । 
माघदेखि असारसम्म सूर्य पूर्ण देखिन्छन् । असारदेखि पुससम्म सूर्य कमजोर हुन्छ । सूर्य कमजोर भएको अवस्थामा जन्मिएको बच्चा कमजोर हुने उनीहरुको मत छ । 

माघदेखि असारमा जन्मिएको बच्चा सक्षम हुन सक्छ । चैतदेखि असार महिनामा जन्मिएको बच्चा धेरै राम्रो हुने ज्योतिष घिमिरे र उपाध्यायको तर्क छ । 

Leave A Comment