भविष्यविज्ञ बन्ने कि अतितविज्ञ

शुक्रबार, ११ फागुन २०७४, ०५ : १८ प्रकाश जंग थापा
भविष्यविज्ञ बन्ने कि अतितविज्ञ

सन् १९९६ मा स्टारबक्स कम्पनी अमेरिकाबाहिर टोकियो, जापानमा पहिलो अन्तर्राष्ट्रिय कफी स्टोर खोल्ने योजनामा थियो । त्यस बेला कम्पनीका कार्यकारी प्रमुख होवार्ड सल्ज थिए । उनी स्टारबक्सलाई विश्व मार्केटमा लैजान चाहन्थे । कम्पनीले आफ्नो बजार सम्भाव्यता बुझ्न एउटा प्रतिष्ठित कन्सल्टिङ फर्मको सहयोग लिने भयो । यसका लागि शोधकर्ताले मागेको रकम तिर्न पनि कम्पनी तयार थियो ।

कन्सल्टिङ फर्मका शोधकर्ता जापानमा स्टारबक्सको स्टोर खेल्नु उचित हुने वा नहुने भन्ने विषयमा अनुसन्धान गर्न थाले । धेरै समय खर्च गरियो । मोटो प्रतिवेदन तयार पारियो । कम्पनी सामु सो प्रतिवेदन आकर्षक शैलीमा प्रस्तुत गरियो । प्रतिवेदनको एउटै निष्कर्ष थियो– जापानमा स्टार बक्स स्टोर खोल्नुको कुनै तुक छैन । त्यहाँ स्टोर खोल्नु भनेको असफलता निम्त्याउनु हो । यसबाट कम्पनीले आर्थिक क्षति बेहोर्नु पर्ने हुन्छ । कारण ?

जापानी रियल स्टेट बिजनेस महँगो छ । जापानमा घरजग्गाको कारोबार महँगो भएका कारण चुनौतीपूर्ण पनि छ । जग्गाजमिनको भाउ अकासिएको हुँदा स्टार बक्सको स्टोर सानो निर्माण गरिनुपर्छ । स्टार बक्सको स्टोर प्रायः ठूलो हुने गर्छ । त्यसैले जापान बिजनेस विस्तारका लागि उचित छैन ।

दोस्रो कारण, स्टार बक्सको ‘नो स्मोकिङ पोलिसी’ पनि हो, जसका कारण चुरोट पिउने जापानी ग्राहकलाई त्यति आकर्षित गर्दैन । तेस्रो, जापानी संस्कृति । अमेरिकामा प्राय मानिसहरु स्टोरमा कफी अर्डर गरेर साथमै लिएर जान्छन् । उनीहरु बाटोमा कफी पिउँदै हिँड्छन् । यस्ता ग्राहकबाट कम्पनीले ८०% भन्दा बढी बिजनेस गरेको हुन्छ तर जापानमा मानिसहरु हिँड्दै कफी पिउने वा गाडीमा पिउने गर्दैनन् । फलस्वरुप अमेरिकामा जस्तो उच्च भोल्युममा बिक्री त्यहाँ गर्न सकिन्न । अर्को शब्दमा भन्नु पर्दा मुनाफा त्यति आकर्षक हुँदैन ।

चौथो, अनुपयुक्त समय । अगस्ट महिना जापानी वातावरणमा उच्च गर्मी हुन्छ र कफी पिउनका लागि यो समय उचित होइन । यस्तो समयमा नयाँ स्टोर खोल्नु मुर्खता हो । आफ्नै खुट्टामा बन्चरो हान्नुसरह हो ।
स्टार बक्सका कार्यकारी प्रमुख होवार्डले सम्पूर्ण रिपोर्ट ध्यानपूर्वक सुने र पढे पनि । उनले कम्पनीलाई अनुसन्धानका लागि धन्यवाद मात्र दिएनन्, लागेको खर्च भुक्तानसमेत गरिदिए । उनले शोधकर्ताप्रति कृतज्ञता प्रकट गरे तर उनी शोधकर्ताको सुझावविपरीत गए । जस्तोसुकै चुनौतीको सामना गर्ने अठोट लिए ।

कुनै पनि बहानामा पछि नहट्ने प्रण गरे । अन्ततः टोकियो, जापानमा प्रथम अन्तर्राष्ट्रिय स्टोर स्थापना गरियो । स्टोरको उद्घाटन समारोह सिएनएनले कभर गर्ने भनिएको थियो । होवार्ड उद्घाटनको अघिल्लो दिनसम्म नर्भस थिए । उद्घाटनको दिन स्टोरमा दुई–तीन जना मात्रै आउँछन् कि भन्ने शङ्का उनमा थियो । बिजनेस असफल हुन्छ कि भन्ने डरले उनलाई उत्तिकै सताइरहेको थियो तर उद्घाटनको दिन उनले सोचेविपरीत अवस्था सिर्जना भयो । सयौँ मानिस स्टोरअगाडि कफी पिउन लाइनमा उभिएका थिए । त्यो दिन पहिलो ग्राहक एक जापानी विद्यार्थी थिए । खासै राम्रो अंग्रेजी बोल्न नजान्ने भए पनि उनले आफ्नो लागि कफी यसरी अडर गरे– मे आई अर्डर डबल टल ल्याटे प्लीज ?

त्यसपछि होवार्ड निकै खुसी भए । जापान स्टार बक्सको लागि मुख्य व्यापार केन्द्र हुने कुरामा आश्वस्त भए । उद्घाटन दिनमै मानिसको भिड देखेर उनले आफ्नो बिजनेस पार्टनरलाई सोधे, ‘कतै हामीले लाइनमा उभिन कुनै फिल्म स्टारलाई त नियुक्त गरेनौं ?’ जापानमा स्टार बक्सको पहिलो स्टोर स्थापना भएलगत्तै अरु देशहरुमा पनि स्टोर खोलियो । सन् २०१७ को रिपोर्टअनुसार स्टार बक्सको ७५ देशहरुमा २७,३०० भन्दा बढी स्टोर सञ्चालनमा आइसकेका छन् । यो कम्पनी यतिबेला ८४ खर्ब डलरको कम्पनी बन्न सफल भएको छ । होवार्ड जापानमा पहिलो स्टोर खोल्दाको क्षणलाई आफ्नो जीवनकै र कम्पनीकै लागि एक टर्निङ्ग प्वाइन्ट मान्छन् । उनले आफ्नो पुस्तक ‘पोर योर हार्ट इन्टु इट’मा यसबारे विस्तारमा लेखेका छन् ।

हाम्रो जीवन, बिजनेस र करियरमा सबैभन्दा ठूलो चुनौती भनेकै कुनै चुनौती नलिनु हो । जो व्यक्ति चुनौतीबाट डराउँछ उसले प्रगति गर्न सक्दैन । डरछेरुवाहरु असम्भवको भाषामा मात्रै संवाद गर्छन् । त्यसैगरी विजेताहरु सम्भावनाका कुरा गर्छन् । बुद्धिजीवी, सल्लाहकार र आलोचनात्मक सुझाव दिनेहरुले चुनौती लिनु विरलै सुझाउँछन् । उनीहरु विगतका विज्ञ हुन् । भविष्यका होइनन् । लिडर, दुरदर्शी र उद्यमशील व्यक्ति नै भविष्यको विज्ञ हुन् । त्यसैले होवार्डले सोधकर्ताको कुरा सुने पनि पालना गरेनन् ।

उनको यस कदमले उनलाई भविष्यको विज्ञ बनायो । अमेरिकी साइन्स् फिक्सन लेखक रोबर्ट ए. हेनलिन भन्छन्, ‘समीक्षक र आलोचकको सुझाव हरहमेसा सुन्नु । उनीहरुले तिमीलाई जे नगर्नु भन्छन्, त्यही गर्नु ।’ आलोचक र समीक्षकका कुरा सुनौँ तर मनले जे भन्छ, त्यही गर्नुपर्छ । 
 

Leave A Comment