प्रहरीको गिर्दो मनोबल

शुक्रबार, ११ फागुन २०७४, ०५ : ११ शुक्रवार
प्रहरीको गिर्दो मनोबल

राजधानीको केन्द्र मानिने दरबार मार्ग क्षेत्रमा माघ पहिलो साता घटेको बलात्कारको घटना अहिले पनि अनुसन्धानको क्रममा छ । सामूहिक बलात्कारका आरोपीहरू ‘फरार’ छन् । काठमाडौंको रात्रीकालीन जीवनसँग जोडिएको यो मामलामा पैसाको खोलो बगाएर सामसुम पार्ने योजनाहरू आंशिक रुपमा सफल भएका छन् ।

प्रहरीका विभिन्न एकाईहरूसँग जोडिएको मामला भएको र बलात्कारजस्तो जघन्य अपराध भएकाले पैसाको बलले मात्र ढाकछोप हुन नसकेपछि घटना सार्वजनिक बहसमा आएको देखिन्छ । एक २० वर्षे युवतीलाई साथी भन्दै रेस्टुराँमा बोलाउने, मादक पदार्थ खुवाउने, बेहोस अवस्थामा पु¥याएर सामूहिक बलात्कार गर्ने घटना भएको पीडितका प्रारम्भिक बयानले बताउँछन् । तर, सबैभन्दा डरलाग्दो पक्ष के हो भने यो मामलामा ‘शान्ति, सेवा र सुरक्षा’को नारामा गर्व गर्ने बर्दिधारी प्रहरीहरू अपराधी जोगाउने धन्दामा संलग्न देखिएका छन् ।

घटनालाई पैसाको खेलोमा दबाउने प्रयास दरबार मार्ग प्रहरी वृत्तबाट भएको प्रहरी मुख्यालयको छानबिन समितिको निचोड हो । राजधानी काठमाडौंमा यौन व्यवसायको आकार ठूलो छ । रात्रिकालीन अँध्यारोमा यौन व्यवसाय फस्टाएको देखिन्छ । नेपालको कानुनले वर्जित यौन व्यवसायमा प्रहरी भने पटक–पटक मुछिने गरेको छ । खुलेआम यौन व्यवसाय भइरहँदा पनि मौनता साँध्ने गरेको आरोप खेपिरहेको प्रहरी यस पटक भने अपराधीलाई जोगाउने खेलमा सहभागी बनेको पाइएको छ । पैसा र पावरको पछि लाग्दै बलात्कारीलाई छोड्ने, बलात्कारी र पीडित पक्षबीच मिलोमतो गराउने काममा प्रहरीको संलग्नता चिन्ताको विषय हो ।

निश्चय नै कतिपय वादविवादहरू व्यक्तिका भावावेशमा घटेका हुन्छन् । त्यस्ता विवादमा मेलमिलाप राम्रो विकल्प हुनसक्छ तर मेलमिलापको नाममा बलात्कारजस्तो फौजदारी अपराध पर्दैन, पार्न मिल्दैन तर दरबार मार्गको प्रहरी नेतृत्वले मेलमिलापको सिद्धान्त बर्खिलाप काम गरेको छ । 

प्रहरी मुख्यालयले घटनामा संलग्नको आरोपमा प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारीलाई कारबाहीको प्रक्रियामा राखेको छ । छानबिनको क्रममा दोष्ीा देखिए पनि अपराधीलाई जोगाउन नेतृत्वदायी भूमिका खेल्ने दरबारमार्ग वृत्तका प्रहरी प्रमुख तिलक भारती भने सरुवा मात्र गरिएका छन् । भारतीको वामपन्थी राजनीतिक समीकरणका एक शीर्ष नेतासँग राम्रो उठबस भएकाले नै उनी जोगिएको बुझिन्छ ।

प्रारम्भमा सामूहिक बलात्कारको आरोप, रातारात बलात्कार नभएर भावावेशमा आक्षेप लगाएको भाका,  पीडित सम्झौतामा आएको र सहमतिमै यौन सम्पर्क गरेकोजस्ता घटनाका सिलसिलामा बर्दिधारीको मतियारी देखिन्छ । बर्दिधारी बिक्री हुनुका पछाडि बलात्कार घटना दबाउन बाहिर सतहमा देखिएको करिब ३० लाखको तेब्बर बढी १ करोडको ‘डिल’ भएको र खेलमा  भारतीको नेतृत्वदायी भूमिका रहेको बुझाइ हेडक्वार्टरको छ । 

यहाँ दुइटा पक्ष स्पष्ट रुपमा देखिएका छन् । एउटा बलात्कार घटनालाई पैसाले ढाकछोप गर्ने काममा प्रहरीको संलग्नता र अर्को राजनीतिक पहुँचका अगाडि हेडक्वार्टर लाचार हुने अवस्था । भित्रभित्रै दबाउन खोज्दा पनि सतहमा छरपस्ट भएकोे बलात्कारको घटनामा राजनीतिक पहुँचको प्रभावका कारण जसरी अपराधीलाई जोगाइँदै छ, त्यसले प्रहरी संगठनकै मनोबल गिराउने बाहेकको उपलब्धि देखिँदैन । 

किर्ते कागजातको आरोपमा ‘फरार’ पूर्वप्रहरी डिआइजी नवराज सिलवाल प्रकरण अहिले सामाजिक सञ्जाल र छापाहरूमा छरपस्ट छ ।  नयाँ सत्ता समीकरणसँगै फरार सिलवाल सार्वजनिक जीवनमा ‘प्रकट’ भएका छन् ।  एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको गाडीमा सयर गर्ने र प्रधानमन्त्री निवास बालुवाटारका अग्ला पर्खालभित्र बस्ने सिलवाललाई प्रहरीले नियन्त्रणमा लिन नसकेको बताइन्छ । अपराधबाट जोगिन राजनीतिक झण्डा बोकेको र ललितपुरबाट निर्वाचित सभासद बनेको पृष्ठभूमि सिलवालसँग छ । उता सिलवालको खोजीमा रहेको प्रहरी भने आफ्नो लाचारी प्रदर्शनी गरिरहेको छ ।

बलात्कार घटनाका दोषी उम्क्याउने र नेताहरूको आड भरोसामा रहेकालाई देखेको नदेखेजस्तै गर्ने प्रवृत्ति घातक हुनसक्छ । यस्ता प्रवृत्तिले प्रहरीको मनोबल गिराउने हुन्छ । मनोबल गिरेको प्रहरी ऐन मौकामा ‘बाँदरको पुच्छर लौरो र हतियार’ उखान चरितार्थ हुनसक्छ ।   
 

Leave A Comment