नर्सको बेहाल

आइतबार, ०६ फागुन २०७४, ०४ : ११ प्रजु पन्त
नर्सको बेहाल

तस्बिर :pahilopost.com

सुनिता श्रेष्ठ (नाम परिर्वतन) काठमाडांैको एक निजी अस्पतालमा ३ वर्षदेखि नर्सका रुपमा कार्यरत छिन् । उनको मासिक पारिश्रमिक महिनाको ८ हजार ५ सय छ । प्रारम्भमा ठीकै छ, अनुभव पनि हुन्छ भनेर काम सुरु गरिन् तर यस बीचमा उनको पारिश्रमिक बढ्दै बढेन । 

‘सुरुमा ठीकै होला भन्ने लाग्यो तर तीन वर्षसम्म एक पैसा पनि नबढ्दा दिक्क लागेको छ,’ उनले भनिन्, ‘यो पैसा त खाजामै सकिन्छ । अरु खर्च चाहियो भने घरमा माग्नुपर्छ ।’ स्टाफ नर्स पढ्न नै चार लाख ५० हजार खर्च भएको तर त्यसअनुरुपको प्रतिफल नआएकोमा उनी दुःखी छिन् ।

अर्की नर्स उर्मिला सत्यालको (नाम परिर्वतन) दुःख पनि सुनिताको भन्दा फरक छैन । प्राविधिक विषय पढेपछि सजिलै काम पाइन्छ भनेर नर्सिङ पढेकी उनी अहिले बेक्कार पढिएछ भनेर पछुताउँदैछिन् । तीन वर्ष भयो उनी रोजगार भएको । मासिक आम्दानी ९ हजार हाराहारी छ ।

‘सिटिभिटीमा पढ्दा नै ४ लाख खर्च भयो । पढाइ सकिएपछि सजिलो हुन्छ भनेको आम्दानीले दैनिक खर्च पनि धान्दैन,’ उनले शुक्रबारसँग भनिन्, ‘जागिर सुरु गरेको तीन वर्ष भयो, आम्दानी नौ हजारबाट बढेको छैन ।’

आफ्नै सवारीसाधन नहुनेका लागि अस्पतालले निवास पु¥याउने सुविधासमेत दिएको छैन । रातबिरात हिँड्दा कति नर्स दुव्र्यवहारको सिकार हुने गरेका छन् ।

‘बेलुका समयमा ड्युटी सकियो भने घर जाने समस्या हुन्छ,’ एक जना नर्सले परिचय नखुलाउने सर्तमा गुनासो गर्दै भनिन्, ‘अस्पतालले यातायात सुविधा दिन्न, सधैँ ट्याक्सीमा जान आम्दानीले भ्याउन्न । एक दिन बेलुकातिर अफिसबाट घर जाँदै थिएँ, बाटामा एउटा केटा पछि लाग्यो । एकान्त स्थानमा पुगेपछि नजिकै आएर जाने हो भन्यो । डर लाग्यो । चर्काे स्वरले कराएपछि भाग्यो ।’

आन्दोलित नर्स

नेपालमा बर्सेनि सात हजार छ सय १० अनमी र स्टाफ नर्स उत्पादन हुन्छन् । नेपाल नर्सिङ काउन्सिलको तथ्यांकअनुसार नेपालमा करिब ७५ हजार नर्स छन् । तीमध्ये सरकारी अस्पतालमा नौ हजार काम गर्छन् भने २२ हजार निजी अस्पतालमा । १ हजारको संख्यामा गैर सरकारी संस्थामा कार्यरत छन् । बाँकी बेरोजगार, रिटार्यड र विदेश पलायन भएका छन् । 

सेतो कपडामा सजिएर अस्पतालको वार्डमा बस्ने नर्स हेर्दा उनीहरुको पेशा निक्कै लोभलाग्दो देखिन्छ । स्वास्थ्य समस्या लिएर अस्पतालको बेडमा पुगेकाहरुको हेरचाह गर्न दिनरात खटिने उनीहरु यतिबेला कसलाई आफ्नो व्यथा कहने भन्ने पीडा छ । ड्युटी अनुसारको मासिक पारिश्रमिक पनि राम्रै हुने आंकलनले नर्स बनेकालाई भने यतिबेला तनाव छ ।

तह अनुसारको पारिश्रमिक तोकिएकाले सरकारी अस्पतालका नर्स आर्थिक रुपमा बलिया छन् तर निजी अस्पतालमा काम गर्ने नर्सको बेहाल छ । उपचार सेवा बापत बिरामीसँग चर्को शुल्क असुले पनि कर्मचारीको वृत्ति विकासमा मौन बसेपछि उनीहरु आन्दोलित छन् तर समस्याको सम्बोधन अझै हुन सकेको छैन ।

सन् १९५६ मा दार्जिलिङबाट पढेर आएकी ल्हामु आमात्यबाट नेपालमा सुरु भएको नर्सको सेवा २०६६ सालअगाडि नर्सहरु आन्दोलित भएको समाचार सुनिएको थिएन । २०७४ मा भने नर्सहरु सडकमै उत्रिएपछि भने स्वास्थ्य मन्त्रालयले नर्सका समस्यामा चासो दिन थाल्यो । मन्त्रालयले माग सम्बोधन गर्ने आश्वासन दिएपछि अहिले आन्दोलन रोकिएको छ तर टुंगिएको भने छैन । 

नेपाल नर्सिङ काउन्सिलकी पूर्व सभापति चन्द्रकला शर्मा नर्सको कार्यक्षमताको मूल्याङ्कन नहुने गरेको बताउँछिन् । कामको चाप तर न्यून पारिश्रमिकका कारण नर्सहरुमा निराशा बढ्दै गइरहेको र डिप्रेसनको बिरामी हुने गरेको उनले बताइन् । 

‘बिरामीको हेरचाह गर्दा आफैँलाई नै बिस्र्यौं, आफ्ना अधिकारबारे चासो नै राखेनौं,’ नर्सिङ काउन्सिलकी वरिष्ठ उपाध्यक्ष गंगा थापाले भनिन्, ‘कसैले सुनुवाइ नै नगरेपछि अहिले बाध्य भएर न्यूनतम तलब, आवास, सुरक्षा, नाइट भत्ता, अध्ययन बिदा आदिको माग गर्दै आन्दोलनमै उत्रिनुप¥यो ।’

निजी अस्पतालमा न्यूनतम मासिक तलब तोकिनु पर्ने र त्यसको सरकारले अनुगमन गर्नुपर्ने, सरकारी अस्पतालमा नर्सको भर्ती बढाउनुपर्ने, नर्सहरुको अध्ययनका लागि छुट्टयाएको कोटा ४÷५ वटा मात्र रहेकामा बढाउनुपर्ने, निजी अस्पतालमा श्रम शोषण हुने गरेकोले त्यसको अन्त्य हुनुपर्ने, नर्सको पेशागत सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, नर्सिङ महाशाखा गठन गरिनुपर्ने जस्ता माग उनीहरुको छ ।

 

'डाक्टरले नर्सलाई गन्दै गन्दैनन् '

गंगा थापा,नेपाल नर्सिङ एसोसिएसन, वरिष्ठ उपाध्यक्ष 

बिरामीको हेरचाह छोडेर आन्दोलनमा किन ?
बिरामीको हेरचाह हाम्रो दायित्व हो तर न्यूनतम आवश्यकता पनि पुरा नभएपछि आन्दोलनको विकल्प देखिएन । 

माग के हुन् ?
निजी अस्पतालमा न्यूनतम पारिश्रमिक तोकियोस् र सरकारी निकायले अनुगमन गरोस् । योग्यता पुगेका नर्सको वृत्ति विकासको लागि अध्ययन बिदामा अहिले भइरहको ३÷४ जनाको कोटा बढाएर वार्षिक १२÷१५ जना हुनुपर्ने, जेनेरल वार्डमा एक नर्स बराबर ६ जना बिरामी हुन् । इमर्जेन्सी, आएसियु, सिसियुमा १ बिरामी बराबर १ नर्सको व्यवस्था होस् । नर्सिंङ महाशाखा पुनर्गठन गरियोस् । 

मन्त्रालयमा महाशाखा हुँदाहुँदै छुट्टै महाशाखाको माग किन ?
स्वतन्त्रतापूर्वक सेवा गर्न सकियोस् भन्ने हो । बिरामीको सेवा क्युरेटिभ, प्रिभेन्टीभ, रियाबेलीटेटिभ, प्रोमोटिभ चरण हुन्छ । डाक्टरको निर्देशनअनुसार औषधि खुवाउने काम नर्सको हो । अरु स्याहासुसार गर्न हामीलाई डक्टरले भनिराख्नु पर्दैन । कुन औषधि खादाँ के साइडइफेक्ट हुन्छ, त्यो हामीले पनि पढेका हुन्छौँ । बिरामीलाई साइकोलोजिकल सपोर्ट गर्ने काम हाम्रो हो । यस्ता सेवा दिन हामीलाई डाक्टरको सहयोग चाहिन्न । कार्यक्षमताको मूल्याङ्कन र नर्सहरुलाई विश्वास गरियोस् भन्नका लागि महाशाखाको माग गरिएको हो ।

डक्टरसँग नर्सको कुरा मिल्दोरहेनछ है ?
यो पेसागत द्वन्द्व हो । बिरामीको सेवामा दुवैको उत्तिकै महŒवपूर्ण भुमिका हुन्छ तर डाक्टरले हामीलाई गन्दै गन्दैनन् । 

मासिक पारिश्रमिक पनि छ नि मागमा ? नर्सको तलब राम्रो छैन र ?
सरकारी अस्पतालमा केही सन्तोषजनक छ । २५ हजारबाट सुरु हुन्छ । निजीमा त ३ हजार ५ सयदेखि २० हजारसम्म छ । नर्सको अन्तर्राष्ट्रिय माग पनि छ तर सबै विदेश जाने भनेर त पढ्दैनन् नि ! ४–५ लाख खर्च गरेर पढेर आएकाहरु ५ हजारमा काम गर्न बाध्य छन् । यसले डिप्रेसन बढाउला भन्ने चिन्ता छ । 
 

Leave A Comment