एक घटना, चार बयान

आइतबार, ०६ फागुन २०७४, ०३ : २१ केपी ढुंगाना
एक घटना, चार बयान

घटनाको दिन माघ ८ मा युवतीले दरबारमार्ग वृत्तमा दिएको प्रारम्भिक बयान 

‘मलाई जबर्जस्ती करणी गरेजस्तो लाग्छ’

म झम्सिखेलमा रहेको कटन मिलमा काम गर्छु । घटनाको दिन अफिस गएर बेलुका ६ बजेतिर निस्किएर साथीको घरमा जान लाग्दा शैलेशले फोन गरेर लाजिम्पाटको भुमी रेस्टुरेन्टमा बोलाएको थियो । शैलेशसँग केही महिनाअगाडि फेसबुकमा चिनेको । शैलेशले फोन गरेर काम छ, एकैछिन आऊ बरु म साथीको कोठामा पु¥याउँला भनेपछि गाडी चढेर लाजिम्पाट गएको थिएँ । भुमीमा जाँदा शैलेश, विकास, दीपक श्रेष्ठ र रवि पौडेल खानपिन गरिरहेका थिए । 
मैले २ गिलास वाइन र २ पिस मम खाएको थिएँ । अलिअलि नशा लाग्न थालेपछि मैले कोठामा पु¥याइदेऊ भन्दा दाइ आएपछि पु¥याउँछु भनेको थियो । एकदम नशा लाग्यो पु¥याइदिनुस् भनेपछि कमलादीमा रहेको ल्याडमार्क होटल एन्ड अपार्टमेन्टको कोठा नम्बर ४०५ नम्बरको कोठामा लगेर सुताएको थियो । निजहरुले मलाई जबर्जस्ती करणी गरेजस्तो लाग्छ । निजहरुले योजना बनाई मलाई वाइन पिलाएर साथीको कोठामा पु¥याइदिन्छौं भनी होटलको कोठामा लिइआई यौन सम्पर्क गरेको हुनसक्छ । 

घटनाको दोस्रो दिन ९ गते चिकित्ससँग पीडितले बताएको घटना विवरण :

‘चार जनाले मेरो लुगा फुकाले’

६ महिनाअगाडि शैलेशसँग हेटौँडामा भेटेको हो । उनीसँग बेलाबखत भेट भइरहन्थ्यो । साथीलाई भेट्न जाने क्रममा शैलेशले फोन गरेर बोलाएको । भेट भएपछि शैलेशले उनलाई मम र वाइन अफर गरेको । वाइन र मम खाएपछि उनलाई नशा लागेझैँ भएको थियो । करिब ७ बजे होस गुमाएझैँ भएको थियो । उनले गुनासो गरेपछि होटल ल्यान्डमार्कको कोठा नम्बर ४०५ मा करिब ९ः ३० मा लगेको । 

चार जनाले उनको लुगा फुकालीदिए ।  ट्वाइलेटमा सेभ हुन गएपछि शैलेशले तानेर ल्याएर कोठाको बेडमा सेक्स ग¥यो । त्यो सबै एउटा केटाले पुलिस भन्दै खिच्यो । बिहान ४ बजेतिर उठेपछि सहयोगका लागि चिच्याएको । अर्पाटमेन्टबाट हामफालेर आत्महत्या गर्न खोजेकोपछि उनीहरुले रोकेर घर जाऊँ भनेपछि सहयोगका लागि प्रहरीकोमा गएको ।


माघ १० मा पीडित युवती र शैलेशको परिवारबीच भएको सहमति

‘सहमतिमै सेक्स भएको हो’

छ महिना अगाडिदेखि धुम्बाराही बस्ने शैलेश कार्कीसँग साथीको रुपमा चिनजान भई हामीहरु बेलाबखत भेटघाट हुने, घुम्न जाने, सँगै बस्ने र खाने गर्ने गथ्र्यौं । हामीहरु विवाह गर्नेसमेत सर–सल्लाह भइसकेका कारणले मलाई गते यकिन थाहा भएन आज भन्दा २ महिनाअगाडि काठमाडौंको चक्रपथमा रहेको होटेल कम्पार्टमा एक रात सँगै बसेकोमा निज र मेरो सल्लाहअनुसार नै हामीबीच शारीरिक सम्पर्क समेत भएकोमा मिति २०७४–१०–७ गते रातिको समयमा कमलादीमा रहेको होटल ल्यान्डमार्क एन्ड अपार्टमेन्टको कोठा नम्बर ४०५ बुक गरी हामीहरु दुबै जना सँगै बसेकोमा हामीहरुले वाइन रक्सीसमेत सेवन गरेकोमा उक्त दिनमा पनि हामीहरु दुवै जनाको सल्लाहमा एक चोटी शारीरिक सम्पर्क भएकोमा पछि निज साथी शैलेशसँग नशाको सुरमा वादविवाद भएको र निजले मलाई होटलमा नै छोडी गएको कारण मैले रिसको आवेगमा त्यसको भोलिपल्ट बिहान ८ बजे कमलपोखरी प्रहरी कार्यालयमा गई मलाई शैलेश कार्कीसमेत निजका साथीहरुले जबर्जस्ती करणी गरेको भनी मौखिक जानकारी गराएको हुँ ।

तर कुनै लिखित निवेदन जाहेरी पेश गरेको छैन । रिसको आवेगमा मलाई होटलमा जबर्जस्ती करणी गरेको भनी प्रहरी कार्यालयमा गई जानकारी गराउनु मेरो गल्ती भयो । मलाई कोही कसैले पनि अनुचित यौन सम्पर्क तथा शारीरिक सम्पर्क गर्नेजस्ता कुनै अनैतिक कार्यहरु गरेको छैन । अब आइन्दा यसै विषयलाई लिएर कतै उजुरी गर्ने छैन ।

माघ २० मा महानगरीय प्रहरी परिसर काठमाडौंमा दिएको बयानको सम्पादित अंश

‘विकास र शैलेशले म्याट्रेसमा सुताएर सेक्स गरे’

६ बजे साथीको घर जाँदै गरेको थिएँ । शैलेशले फोन आयो । शैलेशसँग फेसबुकमार्फत् चिनेको हो । पटक–पटक फोन गरेर बोलाएपछि हार्न नसकेर भुमी क्याफेमा गएँ । त्यहाँ  ४ जना व्यक्ति रक्सी खाँदै थिए । उनीहरुले मलाई पनि खा भने, खाइनँ । मःम ल्याए, खाएँ । पछि २ गिलास वाइन ल्याए, खाएँ । मलाई नशा लागेको जस्तो भयो । साथीको कोठामा पु¥याइदेऊ भने । दाइको मिटिङ सकिएपछि पु¥याउँछु भने । मलाई धेरै नशा लाग्यो । उनीहरुले कोठामा पु¥याउँछु भनेर गाडीमा राखे । साथीको कोठामा लग्ने भनेर होटलमा लगे । कोठा नम्बर ४०५ मा राखे । १०ः३० मा दीपक श्रेष्ठ आए । उसले मलाई पुलिस हुँ भन्यो । 
चार जनाले मैले लगाएको कपडा खोले र भिडियो खिचे । कोठामा रहेको म्याट्रेसमा सुताएर विकास र शैलेशले सेक्स गरे । बेलुका फेरि रवि र दीपक आएर सेक्स गरे । म बेहोस भएँ । बिहान होश खुल्दा ४ बजेको थियो । जिउमा कपडा थिएन । कपडा लगाएर बिहान ७ वजे होटलबाट तल झरेँ । एउटा ट्याक्सीलाई जाउँ भन्दा मानेन । अर्कोमा चढेर कमलपोखरीमा रहेको प्रहरी कार्यालय गएँ । भोलिपल्ट शैलेशले विवाह गर्छु प्रहरीकोमा उजुरी नगर्नु भन्यो । 



घटनास्थलबारे प्रहरीको मुचुल्का 

‘कोठामा प्रयोग गरेको कण्डम भेटियो’

काठमाडौं महानगरपालिका वडा नम्बर १ कमलादीस्थित पूर्वमा बाटो, पश्चिममा रोयल सिङ्गे होटल, उत्तरमा याक एन्ड यती होटल दक्षिणमा खाली जग्गा भएको । रवीन्द्रमान मल्लको ७ तले भवन रहेको । सो भवनमा प्रदीप कुइँकेल समेतले होटल ल्यान्डमार्क अपार्टमेन्टको चौथो तलामा प्रवेश गर्दा बीच भागमा उत्तर–दक्षिण प्यासेज रहेको, भ¥याङबाट उत्तरतर्फ जाँदा प्यासेजको पूर्वतर्फ सुरुमा ४०५,४०६ नम्बर लेखेको कोठा रहेको । 
सो कोठाभित्र प्रवेश गरी हेर्दा ठूलो हल रहेको र हलको दक्षिणतर्फ किचन रुम रहेको, दक्षिणतर्फ ४०६ र ४०५ नम्बरको कोठा रहेको । ४०५ नम्बरको कोठाभित्र प्रवेश गरी हेर्दा पश्चिमतर्फ झ्याल रहेको, दक्षिण र उत्तरतर्फ पूर्व–पश्चिम भई दुईवटा बेड रहेको । बीचमा खाली ठाउँ रहेको र पश्चिमतर्फ भित्तामा सटाई सानो टेबल राखेको । सोमाथि टेलिफोन सेट रहेको । उत्तरतर्फ रहेको बेडमा सेतो रङको तन्ना, खैरो रङको ब्ल्याङ्केट, सोही बेडमा मिति २०७४–१०–७ गते रातिको समयमा शैलेश कार्की समेतले कालीमाटी ७ लाई (पीडितको पहिचान लुकाउन प्रयोग गरिएको कोड) जबर्जस्ती करणी गरेको भन्ने बुझिएको । सो बेडको तन्ना तथा ब्ल्याङकेट यत्रतत्र भई खुम्चिएको अवस्थामा रहेको । घटनास्थलको चार किल्ला विवरण र सो बेडको उत्तरतर्फ भुइँमा प्रयोग गरेको कण्डम थान १ फेला परेको । दक्षिणतर्फ खाली ठाउँमा फायर–एक्स्ट्रा लेखेको कन्डमको खेला १ थान फेला परेको र सो कोठाको पूर्वतर्फ बाथरुम रहेको र सो बाथरुमभित्र डष्टविनमा फायर एक्स्ट्रा लेखेको कण्डमको खोल थान १ समेत फेला परेको हुँदा अनुसन्धानको लागि लिई गएको ठीक साँचो हो ।

प्रहरी अनुसन्धानको निष्कर्ष

‘आर्थिक प्रभावमा परेर प्रहरीले अपराध लुकाए’

होटल ल्यान्डमार्कमा युवतीमाथि सामूहिक बलात्कार भएको देखिन्छ । बलात्कारको घटनाबारे प्रहरीले समयमै जानकारी पाएर आरोपीमध्येका एक पक्राउ गरे पनि मिलेमतो गराउने क्रममा उसलाई थुनामुक्त गराएर आर्थिक प्रलोभनमा पारेर बलात्कारजस्तो गम्भीर प्रकृतिको आपराधिक घटना छिपाउने प्रयास भएको देखियो । 

यसमा महानगरीय प्रहरी वृत्त दरबारमार्गको मुद्दा शाखामा कार्यरत प्रहरी निरीक्षक लक्षणसिंह ठकुरी र प्रहरी नायव निरीक्षक चन्द्रबहादुर भण्डारीले अपराध लुकाउन छिपाउन भूमिका खेलेको देखियो । आर्थिक लेनदेनका आधारमा पीडितलाई जबर्जस्ती मिलपत्रको कागज गराउन र आरोपी शैलेश कार्कीलाई हिरासतमा राखेको विवरण च्यातेको अनुसन्धानमा देखियो ।

प्रहरीसँग मुद्दा मिलाउन अन्य व्यक्तिहरु पनि संलग्न देखिएकाको पहिचान भई मुद्दाको रोहमा कारबाही गर्नुपर्ने देखिन्छ । आर्थिक प्रभावमा परेर गम्भीर अपराधको अनुसन्धानको साटो लुकाउन सक्रिय देखिएका ठकुरी र भण्डारी र कार्यालय प्रमुखको दायित्व निर्वाह गर्न नसकेको प्रहरी नायब उपरीक्षक तिलक भारतीमाथि हदैसम्मको कडा कारबाही हुनुपर्ने देखियो । तीनैजना आर्थिक प्रभावमा परेर अपराध लुकाउन संलग्न देखिएकाले फौजदारी दायित्वसमेत बहन गर्नुपर्ने देखियो ।
 

Leave A Comment