आई लभ यू भन्नै सकिन...

बुधबार, ०२ फागुन २०७४, ०२ : ४० प्रजु पन्त
आई लभ यू भन्नै सकिन...

नाटककार अशेष मल्ल र प्राध्यापक सावित्री कक्षपतिको क्लासिक लभ स्टोरी ।

जाडो बिदाका कारण कलेज बन्द भयो । सावित्री कक्षपति गृह जिल्ला पाल्पा गइन् । अशेष मल्लको घर धनकुटा भए पनि उनी काठमाडौंमै बस्थे । एक दिन सावित्रीलाई नदेख्दा छटपटी भइहाल्थ्यो उनमा । पाल्पा हिँडेपछि अशेषको मन थामियोस् कसरी ।
‘उनी हिँडेपछि मेरो मनमा आँधि चल्यो’ ज्ञानेश्वरको रेष्टुरेन्टमा शुक्रबारकर्मीमाझ ३४ वर्ष अघिको प्रेमिल दिन सम्झँदै अशेषले भने, ‘माया त गर्थेँ तर माया गर्छु भन्न सकेको थिइनँ, । उतै बिहे पो हुन्छ कि भन्ने डर पनि थियो ।’
अशेषले छटपटीका दिन वर्णन गर्दा नजिकै साडी–चोलीमा सजिएकी सावित्री मुसुमुसु हाँसिरहेकी थिइन् ।
अशेषको ध्यान छटपटीका दिन वर्णनमै केन्द्रित थियो । उनी मनको डायरीमा लेखिएका स्मृतिका पाना पल्टाउँदै गए, ‘मनमा माया गुम्स्याएर मात्र राख्न हुन्न भनेर प्रेम प्रस्ताव राख्न हिँडे तानसेनतिर ।’
.....................
राष्ट्रिय सभागृहको हल खचाखच भरिएको थियो । मञ्चमा ‘नाटकको नाटक’ मञ्चन भइरहेको थियो । नाटकमा सपनाप्रधान मल्लसहितका थुप्रै कलाकार थिए । नाटकको केही दृश्य अनि शब्द महिला लक्षित असहज खालको थियो । तै पनि दर्शकले स्वीकारे ।
नाटक टुंगिएपछि त्यसका निर्देशकलाई बधाईको ओइरो आईो । दर्शक मञ्चमै गएर बधाई दिन थाले । तर एक युवतीलाई नाटकमा प्रयोग गरिएको शब्द मन परेन छ । उनी  मञ्चमै गएर निर्देशकअगाडि औंला ठडाउँदै भनिन् ‘यसरी महिलालाई हेप्ने नाटक लेख्ने अधिकार तपाईंलाई कसले दियो ? यस्तो पनि नाटक हुन्छ ?’
निर्देशक ट्वा...।
उनले सुस्तरी भने ‘समाज जस्तो छ त्यस्तै ऐना देखाएको हुँ अन्यथा नलिनुहोला ।’ युवती फन्किँदै हिँडिन् ।
गाली खाने निर्देशक थिए अशेष, औंला ठडाउने युवती सावित्री ।
नाटक सफल भएको खुसीभन्दा पनि एक युवतीले मञ्चमै आएर आंैला ठड्याएको दृश्य अशेषको मनमा गढ्यो । उनी कोठामा फर्किएर सुत्न खोजे तर त्यही दृश्यले उनलाई सुत्न दिएन । उनको मनमा साहसी ती युवतीको दृश्य घुमिरहेसँगै आक्रोश हैन माया पो टुसाउँदै आईो ।
‘बिहे गर्नु त यस्ती साहसी केटीसँग पो’ रातभरको जागारामपछि निष्कर्ष सुनाए ।
सावित्री त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्नातकोत्तर तहमा पढ्दै थिइन् । मल्लको पढाइ सक्किइसकेको थियो तर सम्बन्ध नाटकले जोडिरहेको थियो । त्यतिबेला नैना नेपालले प्रतिष्ठा नामक पत्रिका प्रकाशन गर्थिन् । सावित्री त्यहीँ काम गर्थिन् । अशेष लेख संकलन गरेर दिन जान्थे । मञ्चमा भेटिएकी युवतीसँग उनको भेट त्यहीँ भयो ।
मन त पराएँ तर पक्कापक्की गर्न अझै बाँकी रहेछ । प्रेम प्रस्ताव राख्नु अगाडि उनी दुई विषयमा ढुक्क हुन चाहन्थे । पहिलो उनी शाकाहारी हुन् या मांसहारी, दोस्रो उनी कांग्रेसी हुन् कि कम्युनिस्ट ।
कम्युनिस्ट विचारधाराबाट प्रभावित युवतीसँग जीवन बिताउन तयार रहेनछन् अशेष । सावित्रीको राजनीतिक धार बुझ्न चियो गर्न थाले । एक दिन कीर्तिपुरमा नेपाल विद्यार्थी संघले बीपी कोइरालाको समर्थनमा जुलुस निकाल्यो । त्यसको अग्रपङ्क्तिमा थिइन् उनै सावित्री । अशेष मक्ख ।
राजनीतिक आस्था त मिल्यो तर खुराक मिलेन । सावित्री शाकाहारी, मल्ल मांसहारी । तर त्यसले उनीहरुको प्रेमयात्रामा ठूलो बाधा भने गरेन ।
उनीहरुको भेट जुराउने माध्यम पत्रिकाकै काम थियो । त्यो २–३ महिनामा जु¥थ्यो । अशेष सावित्रीसँगको रंगिन यात्राको कल्पनामा चुर्लम्म भइसकेका थिए । तर सावित्रीले संकेतसमेत पाएकी रहिनछन् ।
‘चित्त नबुझेको कुरा फ्याट्ट भन्ने आफ्नो बानी त्यही बेलामा उहाँ पर्नुभयो,’ पहिलो दिनको जम्काभेटबारे सावित्रीले भनिन्, ‘उहाँलाई त के–के भइसकेछ । मलाई त केही न केही ।’
अशेष प्रेम प्रस्ताव राख्ने मौकाको ताकमा थिए । तर कहिल्यै नजुर्ने । कहिले वातावरण नमिल्ने, यसो वावातरण मिल्ला कि जस्तो हुँदा हिम्मतले साथ नदिने । अशेषको हविगत उनका रुम पार्टनर विष्णु विभुगीले हेरिरहेका रहेछन् । उनलाई माया लागेछ । साथीको उद्धार गर्नुप¥यो भनेर प्रस्ताव राखेछन् ‘म भनिदिउँ त सावित्रीलाई ?’
तर आफूले मन पराएकी केटीलाई अरूको मुखबाट प्रेम प्रस्ताव पठाउन धकाए । त्यस्ती हक्की केटी, कस्तो डरुवा रहेछ भनिन् भने आपत ।
‘भो म आफैँ भन्छु’ उनले विभुगीलाई भने ।
.............
अशेष काठमाडौंबाट पाल्पाका लागि हिँड्न त हिँडे तर उनको घर तानसेन हो भन्नेबाहेक अरू थाहा थिएन । बजार बाक्लो नभएकाले घर फेला पर्ने आशा बढ्यो उनमा । जे त पर्ला भनेर कस्सिए ।
बजारमा २–४ जनासँग ‘सावित्री कक्षपतिको घर कुन हो’ भनेर सोधखोज गर्दा फेला पारे ।
घर त फेला प¥यो तर के भनेर जाने ? परिवारका सदस्यले किन आएको भनेर सोधे के जवाफ दिने ? सावित्रीले कसरी लिने होलिन् ? खुट्टा काम्ने नै भयो । काम्यो ।
हिम्मत बढाउँदै सरासर घरभित्र गएँ ।
घरमा ११ वर्षजतिका एक बालक मात्र रहेछन् । उनले ती बालकलाई नै सोधे ‘सावित्री छिन् ?’
बालकले उनीतिर हेरे र घरमाथि गए ।
अशेष प्रतिक्रियाको प्रतिक्षामा उभिएरै बसे । ती बालक केही समयमै फर्किए ।
‘तपाईं आफँै माथि जानु रे ।’
काठमाडौंदेखि आउँदा भेट्न नओर्लिँदा झोक चल्यो अशेषलाई ।
‘त्यतिबेला चाहिनेभन्दा बढी स्वाभिमानी थिएँ । फर्किउँफर्किउँ पनि लाग्यो,’ अशेषले भने, ‘तर प्रेम प्रस्ताव नराखी के फर्किनु भनेर आफैँ माथि गएँ ।’
ला...
उनी कोठामा पुग्दा सावित्री ज्वरोले निस्लोट भएर सुतिरहेकी रहिछिन् । यस्तो बेला केको प्रेम प्रस्ताव । सञ्चोबिसञ्चो सोधेर उनी घरबाट निस्किए । अशेष किन आएका थिए सावित्रीले मेसै पाइनन् ।
‘नाटक देखाउन बाहिर हिँडिरहने मान्छे यता आएको बेला भेट्न आउनु’भा होला भन्ने लाग्यो,’ सावित्रीले भनिन्, ‘दाइ भनिरहेको व्यक्तिको मनमा पाकिरहेको खिचडी पत्तै पाइन ।’
अशेष तत्काल काठमाडौं भने फर्किएनन् । मौका पारेर प्रेम प्रस्ताव राख्ने योजना बनाएर तानसेनतिरकै होटलमा बसेँ । त्यही मेसो पारेर उनले ‘तुवाँलोले ढाकेको बस्ती’ भन्ने नाटक पनि देखाएँ । नाटक हेर्ने दर्शकको भीडमा सावित्रीका घर–परिवार पनि थिए ।
फेरि हिम्मत जुटाएर पुगे सावित्रीको घर । त्यो उनको तानसेन बसाइको अन्तिम दिन थियो । गाडी छुट्न त्यही १०÷१५ मिनेट बाँकी थियो । सञ्चो–बिसञ्चोको कुरा गर्दै प्रेमप्रस्ताव राख्ने मौकाको ताकमा थिए उनी । कुरैकुरामा कोठामा सावित्रीको दाइ आईपुगे । दाजुको कुटाइ खानु थिएन उनलाई । मलिन अनुहारका साथ काठमाडौं फर्किए ।
‘म माया गर्छु भन्न काठमाडौंबाट पाल्पा पुग्दा पनि सकिएन,’ मल्लले प्रेमका सकसका दिन सम्झँदै भने, ‘अहिले जस्तो हातहातमा फोन भएको भए कति सहज हुन्थ्यो होला ।’

‘कसरी भन्नुभयो त आर्ई लभ यू ?’ शुक्रबारकर्मीको प्रश्नको उत्तर दिन सावित्री अघि सरिन् ।
‘अहिले जस्तो सिधैँ आई लभ यू भन्ने चलन कहाँ थियो र,’ सावित्रीले भनिन्,  ‘त्यही पत्रिकाको कामको क्रममा उहाँसँग भेट भयो । जीवन के हो ? कस्तो हुनुपर्छ आदि इत्यादि कुरा गर्दै प्रतिकात्मक शैलीमा प्रेम प्रस्ताव राख्नुभयो । म त अक्क न बक्क ।’
उनले न ल भन्न सकिन् न नाई नै । केही समय दिनु भनेर हिँडिन् । झोक्कि स्वभावकी सावित्रीले अस्वीकार नगरी नरम व्यवहार गरेपछि अशेष मक्ख ।
‘मैले त ग्रिन सिग्नल पाइँहालेँ,’ अशेषले हाँस्दै भने, ‘त्यो दिन सय किलोको भारी बिसाएको जस्तो मन हलुँगो भयो ।’
त्यो समय अहिलेको जस्तो डेटमा जान सम्भवै थिएन । भेट  पनि २÷३ महिनामा हुन्थ्यो । चिठीको चलन भने थियो । दुवैबीच पत्र आदान–प्रदानको क्रम सुरु भएसँगै सावित्रीले बिस्तारै अशेषसँग मन साटिन् ।
भेटघाट हुँदा साथीहरु हुन्थे । त्यो बेला नजरको इशारामा कुरा हुन्थ्यो रे । उनीहरुको मन साटिएकोबारे २ जनाले मात्र संकेत पाएका थिए । कसोकसो तारानाथ शर्माले भने चाल पाएछन् ।
‘प्रेमिका रहेको समूहमा हिँड्न अति नै लाज हुन्थ्यो । तर एक दिन साथीहरुको समूहमा दुवै प¥यौं,’ साहित्यकार शर्माले दुवैको सम्बन्धको सुइको पाएको घटना सुनाए अशेषले ‘तारानाथ शर्माले  मलाई नियालिरहनुभएको रहेछ । मलाई बोलाएर तेरो सावित्रीसँग लभ हो ? भनेर सोध्नुभयो । मैले हैन भनेर ढाँट्न खोजेँ तर उहाँले ‘तेरो हिँडाइ, बोलाइ र चलाइले थाहा पाइसकेँ’ भन्नुभयो ।’
अशेष रातोपिरो  ।
यी दुवैको प्रेमयात्रा डेढ वर्षसम्म यस्तैगरी चलिरह्यो ।
‘अहिले जस्तो प्रेम देखाउने चलन थिएन मनमनै गुम्साएर राखिन्थ्यो । धेरै भेट नभएपछि झगडा नि पर्दैनथ्यो,’ सावित्रीले भनिन्, ‘अहिले त प्रेमीले म्यासेज पठाउन ढिला गरे पनि शंका हुन्छ रे ।’
अशेषले त घरमा ‘मनपरेकी केटी मात्रै बिहे गर्छु’ भनेर अनुमति लिइसकेका रहेछन् । उता सावित्रीको परिवारका सदस्यले पनि नाटक हेरेर चिनिसकेका थिए ।
यो जोडीलाई बिहे गर्न खासै गाह्रो भएन । २०४२, फागुन २९ मा पारिवारिक सहमतिमै दुवैको सम्बन्ध गाँसियो ।
अहिले अशेष नेपाली नाट्य क्षेत्रमा स्थापित नाम बनिसक्यो । सावित्रीले रंगमञ्च विषयमा पिएचडी गरेकी छिन् । दुवै पद्यकन्या क्याम्पसको प्राध्यापकसमेत हुन् ।
यात्राको क्रममा दुवैको बानी भने बदलियो । हिजोकी शाकाहारी सावित्री अहिले मांसाहारी भएकी छिन्, अशेष मांसाहारीबाट शाकाहारी । तर दुवैको प्रेम भने बदलिएको छैन ।
‘जीवन खुसीसाथ चलिरहेको छ’ दुवैले कुराकानीको बिट मारे ।

Leave A Comment