ल्याबमा रमाएको प्रेम

आइतबार, २८ माघ २०७४, ०४ : २९ अच्युत काेइराला
ल्याबमा रमाएको प्रेम

डा. मेघा प्रधानले प्रेमविवाह यति कठिन बन्ला भन्ने सोचेकी थिइनन् किनभने उनले जुन पुरुष (डा. उज्ज्वल श्रेष्ठ) लाई रोजेकी थिइन्, उनी सजातीय र प्रेमिल मात्र थिएनन्, सहयोगी पनि थिए । तर विवाह गरेर जसै धरानबाट काठमाडौँ आइपुगिन्, नेवार समुदायभित्रै उनले नसोचेको टिप्पणी सुन्नुपर्यो ।
मेघाका ससुरा नेपाल भाषा (नेवारी) नाम कहलिएका साहित्यकार हुन् । बुहारी मेघालाई भने एकरत्ति पनि नेवारी भाषा आउँदैनथ्यो । ‘यस्तो बेला मलाई च्वास्स घोच्थ्यो किनभने धरानमा हामीले कहिल्यै पनि नेवारी भाषा जान्ने प्रयास गरेनौँ न त घरमै सिक्नलाई जोड दिइयो ।’
यसबाहेक भने मेघाले आफ्नो जीवनका विवाहका दस वर्ष कसरी बिते, पत्तै पाइनन् । उनले पति उज्ज्वलतिर हेर्दै भनिन्, ‘एकअर्काको कामको प्रकृति बुझेको र एकअर्कालाई बुझेकाले होला हाम्रो कहिल्यै सिरियस मतभेद भएन ।’
प्रेमकथाको सुरुवात
कुन बेला डा. मेघालाई मन पराउनुभयो ? शुक्रबारकर्मीको प्रश्नमा उज्ज्वल हाँसे, भने, ‘यो धेरै गाह्रो प्रश्न राख्नुभयो किनभने हामी एउटै ब्याचका थियौँ । एउटै क्लासमा हुन्थ्यौँ । सँगै पढ्थ्यौँ  । म अलि कम बोल्ने नेचरको थिएँ । खै, कसोकसो नजिक भयौँ र कुन बेला लभ पर्यो, थाहै भएन ।’
उज्ज्वललाई सधैँ के लाग्थ्यो भने एकै नजरमा चाहिँ प्रेम हुँदैन । उनी आफू बाहिर नखुल्ने किसिमको भएकाले त्यस्तो लागेको हुनसक्ने उनकै निष्कर्ष रहेछ ।
 ‘हामी टिनएजरबाट गुज्रिसकेका थियौँ । त्यसैले एक हेराइमै प्रेम हुने कुरा भएन,’ उनले भने ‘हामी म्याच्योर थियौँ र यस्तो अवस्थामा मन र दिमाग दुवैले मन पराउनु पथ्र्यो । एकअर्कालाई मज्जाले बुझेपछि मात्र लभ पर्छ ।’
‘उसो भए उज्ज्वलको  डा. मेघासित क्याल्कुलेटिभ लभ पो रहेछ !’
शुक्रबारकर्मीले डा. मेघालाई जिस्क्यायो ।
जवाफमा मेघाले भनिन्, ‘मैले करियरलाई बढी नै सिरियसली लिएकी थिएँ । फेरि अलि फेमिनिस्ट टाइपको अधिकारका कुरा बढी गर्ने मान्छे । मसँग अरू डराउँथे ।’
कलेजमा सबैका ब्वाइफ्रेन्ड र गलैफ्रेन्ड हुन्थे । डा. मेघाका कुनै ब्वाइफ्रेन्ड नहुँदा उनलाई केटी साथीहरुले केटा छान्न दबाब पनि दिएका थिए । ‘मसँग यस्ता कुरा नगर भनेर मैले उनीहरुलाई थर्काउँथेँ,’ हाँस्दै उनी भन्छिन्, ‘हाम्रो लभ पर्नुमा फोनको ठूलो भूमिका छ । चाहे टाढा हुँदा होस् वा बिरामी पर्दा सधैँ फोनले हामीलाई नजिक्यायो ।’
पढ्नमा निकै तेज थिइन्, मेघा तर उनी बरोबर बिरामी भइरहन्थिन् । ‘ऊ कहिलेकाहीँ कलेज नआउँदा खल्लो लाग्थ्यो र म ऊसँग कुरा गर्ने बहाना बनाउँथेँ,’ डा. उज्ज्वल भन्छन्, ‘सबैभन्दा राम्रो बहाना चाहिँ कलेजमा छुटेका नोटहरु टिपाउनु थियो ।’
जसै मिहिनेतका साथ उज्ज्वलले मेघालाई नोट टिपाउँथे, मेघाको मनमा उज्जवलप्रति सम्मानको भाव जाग्थ्यो । यस्तो बिरामी बेलामा मलाई सम्झने उही मात्र छ जस्तो लाग्थ्यो, उनलाई । त्यसैले कलेज जाँदा ल्याबमा जहिले पनि उज्ज्वल र मेघा एकअर्काको सिधा अगाडि पर्थे । यो क्षण उज्ज्वलका लागि सबैभन्दा आनन्ददायक हुन्थ्यो । उनी मेघालाई हेर्दै ल्याबमा परीक्षणका काम गर्दाको क्षण निकै सुखद् ठान्थे ।
स्वास्थ्य समस्याका कारण मेघा भने बिहे गर्ने मुडमा थिइनन् । उनले आफ्नी आमालाई सोधिरहेकी हुन्थिन्, ‘मैले बिहे नगर्दा हुँदैन ?’ ममीले बिहे गर्न सम्झाउनु हुन्थ्यो । त्यसो त मेघाको परिवारमा अन्य केही सदस्यले अलि ढिलै बिहे गरेकाले पनि आफू करियर ओरिएन्टेड हुन्छु भनेर सोचेकी थिइन् तर उज्ज्वलले उनको मन पगालिदिए ।
उज्ज्वललाई मेघाको के कुराले आकर्षित ग¥यो त ? ‘ऊ स्ट्रङ विल पावर भएको केटी हो,’ उज्ज्वलले मुसुमुसु हाँस्दै भने, ‘उसको सत्य कुरामा जसरी अडान हुन्थ्यो, त्यो देखेर मलाई मन पथ्र्यो ।’
कलेज पढ्दा अंकुराएको प्रेम, अस्पतालमा इन्टर्न गर्दा मौलाउन थाल्यो । प्रतिष्ठानमै उनीहरुले इन्टर्न गरे तर त्यो समय कुन बेला बित्यो भन्ने दुवैले भेउ पाएनन् । प्रायः उनीहरु सँगै हुन्थे र एकअर्काको बानी परिसकेका थिए । त्यसपछि उनीहरुले केही समय बेग्लाबेग्लै अस्पतालमा काम गर्नुपर्ने भयो । मेघाको धनकुटा र उज्ज्वलको विराटनगरमा सरुवा भयो ।
‘यसपछि त हामी एकअर्कालाई अझ बढी मिस गर्न थाल्यौँ,’ उज्ज्वलले भने ।
मेघाले थपिन्, ‘अँ, कत्ति लामो समयसम्म कुराकानी हुन्थ्यो भने कहिलेकाहीँ त साथीहरु पनि रिसाउँथे !’ उनीहरुका लागि फोनवार्ता भने नयाँ कुरा थिएन । कलेज पढ्दा पूराका पूरा क्लासमा लेखाएका नोट सार्ने बानी परेकालाई धनकुटा र विराटनगरको दुरीमा हुने फोनवार्ता जतिबेला पनि कमै जस्तो महसुस हुन्थ्यो ।
बिहे गर्ने निर्णय
इन्टर्नकै बेला दुवैले आफ्नो घरमा कुरा चलाइसकेका थिए । सबैभन्दा अप्ठेरो चाहिँ डा. मेघालाई थियो किनभने उनीहरूबीचको सम्बन्ध भक्तपुरे कट्टर नेवारी घरमा कुन रूपमा लिइने हो भन्ने लागिरहन्थ्यो । त्यसैले डा. मेघाले डा. उज्ज्वललाई भनेकी थिइन्, ‘परिवारले स्वीकार गर्नुभएन भने हामी बिहे नगरौँ ।’ यस कुरामा डा. उज्ज्वल पनि राजी थिए । तर दुवैको घरमा उनीहरुको प्रेम सम्बन्धलाई लिएर कुनै गुनासो थिएन ।
छेकबार नै नरहेपछि दुवै सँगै उच्च शिक्षाका लागि भारत पढ्न जाने निर्णय गरे । बिहे भई नसकेका कारण उनीहरु कलेजको होस्टलमा सँगै बस्न पाउँदैन थिए । ६ महिना बेग्लाबेग्लै ब्वाइज र गल्स होस्टलमा बसिसकेपछि खर्च कटौती गर्ने अर्को उपायसँगै बस्नु हो भन्ने उज्ज्वललाई लाग्यो । त्यसपछि छोटो बिदाका बेला दुवै काठमाडौँ फर्किए र छोटोमिठो बिहे गरे ।
‘हामीले हनिमुनको अनुभव गर्न पाएनौँ,’ उज्ज्वलले विद्यार्थी कालमा बिहे हुनुको दुःख बताए । उता मेघा मुस्कुराइन् । उनले भनिन्, ‘सबै कुरामा हतार भएकाले हामी कलेज फर्कनुमै हतारो थियो । त्यसैले फरक यति मात्र भयो, पहिला हामी पक्का विद्यार्थी र प्रेमीप्रेमिका थियौँ, फर्कँदा पतिपत्नी भयौँ ।’
कलेज फर्केपछि दुवैलाई सजिलो भयो । एकलाई अर्काको भर भयो । बिरामी पर्दा हुने असहजता हट्यो ।
‘हाम्रो बिहे भयो भन्ने सुनेपछि हामीलाई पढाउने मिस र सरहरूले खुकुलो पारिदिनुहुन्थ्यो,’ डा. मेघाले मुस्कुराउँदै भनिन्, ‘उहाँलाई चाहिँ झन् कडा गरिदिँदारहेछन् !’ उज्ज्वलले हाँस्दै थपे, ‘बिदा माग्यो भने झन् कडा होला भनेर मैले अनौपचारिक रूपमा मात्रै प्रस्ताव राख्थेँ, बिदा पाउनै गाह्रो !’
हुन त एकअर्कालाई असाध्य माया गरेपछि यहीँ स्वर्ग, यहीँ हनिमुन ! उज्ज्वललाई यस्तै लाग्थ्यो । मेघा पनि त्यस्तै सोच्थिन्, त्यसैले कहीँकतै जाने कर पनि गरिनन् र आवश्यकताबोध पनि भएन रे ।
प्रेमपछि बिहे किन ?
सबैका प्रेम सफल हुँदैनन् र प्रेम गरिसकेपछि पनि दुईबीच सफल घरव्यवहार चल्छ भन्ने पनि छैन । मेघा भन्छिन्, ‘जीवनमा बिहे गर्नैपर्छ भन्ने छैन । प्रेम अभिव्यक्त गर्ने वा पाउने कैयौँ माध्यम हुन सक्छन् । मुख्य कुरा सेयरिङ र सपोर्टका लागि बिहे गरिने हो । अहिलेको समयमा आर्थिकरूपमा सबल हुनका लागि बिहे गरिँदैन किनभने हरकोही आफैँ कमाउन सक्षम हुन्छन् ।’
उनले एकल जीवन खुसी भएरै बिताएको पनि देखेकी थिइन् तर एकल जीवनमा आफ्ना सुखदुःख बाँड्ने मानिस नहुँदा सबैथोकले परिपूर्ण भएर पनि मानिस दुःखी हुन्छ भन्ने लाग्थ्यो । त्यसैले उनले सेयरिङका लागि, भावना साटासाट गर्नका लागि उपयुक्त व्यक्ति छनोट गरेकी थिइन् ।
बिहेपछि सबैले सोचेजस्तो जीवन हुँदैन । उनको छ त ? ‘आदर्श प्रेम सधैँ उस्तैगरी रहन्छ भन्ने हुँदैन,’ मेघा भन्छिन्, ‘हामी पनि एकअर्कासँग रिसाउँछौँ, झगडा गर्छौं तर केही समयपछि रिस मर्छ । के भएर रिसाएको भन्ने बुझेपछि रिस मरिहाल्छ । फेरि वैवाहिक जीवन भनेको कहिलेकाहीँ कम्प्रोमाइज गर्नुपर्छ ।’
उज्ज्वल थप्छन्, ‘हाम्रा कतिपय कुरा मिल्दैनन्, टोटल्ली डिफ्रेन्ट छौँ । यस्तो अवस्थामा फरकपनामा कम्प्रोमाइज गर्नुपर्छ । मुख्य कुरा खुसी हो । आफ्नै नजिकको मानिससँग रिसाएर के हुन्छ ? जति बाँचिन्छ, त्यतिञ्जेल खुसीसाथ बाँच्नुपर्छ भन्ने लाग्छ । अरुलाई चेन्ज गर्ने होइन, कतिपय अवस्थामा आफू पनि चिज हुनुपर्छ । हामी दुवै जना डाक्टर हौँ, दुवै व्यस्त हुन्छौँ । यो कुरा दुवै जनालाई थाहा छ र घरमा पनि आमाबुबाले छोरा–बुहारीका अप्ठेरा बुझ्नु भएको छ ।’
यति बुझ्ने परिवार भएपछि त्यो परिवार सुखी हुने नै भयो !

 

Leave A Comment