सेलिब्रिटीका भ्यालेन्टाइन्स डे योजना

शुक्रबार, २६ माघ २०७४, ०५ : ५४ शुक्रवार
सेलिब्रिटीका भ्यालेन्टाइन्स डे योजना

‘अरूको डेटिङ हेरेर बस्ने हो’
आशिष राना ‘लाहुरे’

र्यापर
प्रेमी–प्रेमिकाका लागि विशेष दिन भनिए पनि मेरा लागि भ्यालेन्टाइन डे भनेको अरू डेटिङ गएको हेरेर बस्ने दिन हो । अहिलेसम्म यो दिन मनाउन पाएको छैन । अहिलेसम्म लभ नपरेको भएर होला, यो दिन मेरा लागि विशेष नभएको । फ्यानहरूको माया पाए पनि आशिष राना भनेर कोही केटीबाट न त लभ लेटर आयो न प्रेम प्रस्ताव नै आए ।

डेटिङ जानुपर्छ भन्दा रातोपिरो हुन्थेँ
अदिती बुढाथोकी

नायिका
स्कुलमा पढ्दा लजालु स्वभावकी थिएँ । डेटिङका लागि प्रस्ताव आइरहेका हुन्थे । कसैले डेटिङ जानुपर्छ भन्दा रातोपिरो हुन्थेँ । यसको मतलब लभ नै परेन भन्न मिल्दैन । कहिले काहीँ साथी भेटेर रमाइलो गर्ने गथ्र्याैं । यसपटक फिल्मको दौडधूपले भ्यालेन्टाइन डेको कुनै योजना बनाएको छैन । भ्याउँदा पनि भ्याइँदैन । मनमा ड्रिम ब्वाई छ । ऊ देखावटी गर्नेभन्दा वास्तविक जीवन बुझ्ने होस् । मेरो विचारलाई सम्मान गर्ने खालको होस् । अहिलेसम्म भेट भएको छैन ।
मायाले रोमान्टिक बनाउँछ
तेन्जिङ छेतेन भुटिया,

फेसन डिजाइनर
अहिले म सिंगल छु । यसपटकको भ्यालेन्टाइन डेमा साथीहरू मिलेर रात्रि डिनरमा जाने योजना बनाइरहेको छु । भ्यालेन्टाइन डे प्रेमी–प्रेमिकाले मात्र मनाउनु पर्छ भन्ने होइन । गएका वर्षमा जब भ्यालेन्टाइन डे मनाउँदै हुन्थे, कसैले तपार्इंलाई माया गर्छ भन्ने कुराले रोमान्टिक बनाउँथ्यो । कुनै योजना नबनाए पनि त्यो दिन विशेष भइदिन्थ्यो । त्यसबेला म काठमाडौंमा पहिला कहिल्यै नपुगेका ठाँउमा पुगेको थिएँ । आशा गरौं फेरि त्यो दिनको सकारात्मक महसुस गर्न पाउनेछु ।
मलाई त सबै दिन प्रेम दिवस
हरिप्रभा खड्गी,

उपमेयर, काठमाडौं महानगरपालिका
३१ वर्ष पहिला लभ म्यारिज गरियो । त्यो बेला भ्यालेन्टाइन डेको चर्चा थिएन । अहिले जस्तो डेटिङ जाने चलन पनि थिएन । तर रेष्टुरेन्टतिर गएर चियागफ भने हुन्थ्यो ।
मलाई अहिले पनि भ्यालेन्टाइन डेको मतलब लाग्दैन । सायद जिम्मेवारी र उमेरले पनि होला । त्यसैले मैले भ्यालेन्टाइन डे मनाएको छैन । माया गर्नेका लागि एक दिन विशेष हुनुपर्छ भन्ने पनि लाग्दैन ।
संसार मायामा अडिएको छ । मायाले नै एकअर्काले बाँध्ने काम गर्छ । तर, प्रेम वाचा बन्धन भने होइन । प्रेम त विश्वास हो । त्यसैले त मायाको संसार विश्वासमा अडिएको भनिन्छ । विश्वास गर्न र माया दर्शाउन प्रेम दिवस एक दिन मात्र होइन ३ सय ६५ दिनै हुनुपर्छ । म त सधैँ प्रेम दिवस मनाउँछु । माया गर्ने दिन भन्दै मायालाई एक दिनमा खुम्चाउन चाहन्न ।

 

Leave A Comment