क्रिकेटर पृथुको हिरासतका २३ दिन

शनिबार, २० माघ २०७४, ०३ : ३२ शुक्रवार
क्रिकेटर पृथुको हिरासतका २३ दिन

नेपाली क्रिकेट टिमका राष्ट्रिय खेलाडी पृथु बास्कोटा डेढ महिनाअगाडि एक्कासि प्रहरीको हिरासतमा पुगे । हिरासतमा उनको परिचय थियो दरबारमार्गमा रहेको क्लब डेजाभूका सञ्चालक ।


अन्तर्राष्ट्रिय डिजे मार्समेलोको नेपालमा कार्यक्रम आयोजना गर्दा भएको लफडाले उनलाई २३ दिन प्रहरी हिरासतमा बिताउन बाध्य पार्यो । डिजे मार्समेलो नेपालमा आए पनि उनको स्वास्थ्य बिग्रँदा कार्यक्रममा सहभागी हुन सकेनन् । महँगो दरमा टिकट किनेर रातभर कार्यक्रममा कुराएको र मार्समेलो नल्याएको झोँकमा दर्शकहरुले कार्यक्रमस्थल डेजाभूमा पोखे । दर्शकहरूले डिस्को थेक तोडफोड मात्र गरेनन्, लाखौँको नोक्सानी पनि थपिदिए ।


प्रकरण त्यत्तिमै सकिएन । प्रहरीलाई जानकारी नदिएको, महँगो दरमा टिकट बिक्री गरेर पनि कार्यक्रम आयोजना गर्न नसकेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले पृथुसहित डेजाभूका अन्य पाँच सञ्चालक र थप दुई कार्यक्रम आयोजकलाई पक्राउ ग¥यो । उनीहरू सबैलाई ठगी अभियोगमा हिरासतमा राख्यो ।  


महाशाखाले सोही अभियोगमा पृथुसहित मयंक खड्का, जयन श्रेष्ठ, आकाश न्यौपाने, विशाल डाँगी, मिलन श्रेष्ठ, राजीव महर्जन र रितेश मारवाडीलाई पक्राउ गरेको थियो ।  


२३ दिनको हिरासत बसाईपछि पृथु अहिले काठमाडौं जिल्ला अदालतबाट ठगी अभियोगमा ४५ हजार धरौटी बुझाएर म्याद बोकिरहेका छन् । मुद्दा अदालतमा विचाराधीन नै छ । यता तोडफोड भएको क्लब पुनर्निर्माण नहुँदा डेढ महिनादेखि बन्द छ ।


नेपाली फुटबल टिमका तात्कालीन क्याप्टेन सागर थापा सहितका राष्ट्रिय फुटबल खेलाडीसमेत पृथु बसेकै महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा थिए । सागर थापा र उनका साथी फुटबल खेलमा म्याच फिक्सिङका कारण पक्राउ परेका थिए तर पृथु भने डेजाभूका सञ्चालकका हैसियतमा हिरासत पुगेका थिए । हिरासतमा पर्दा उनी विवादमा तानिए नै एभरेस्ट प्रिमियर लिगमा क्याप्टेनको हैसियतमा चितवनको टिम नेतृत्व गर्ने अवसरबाट पनि चुके । सन् २०१५ मा औँलामा चोट लागेका कारण राष्ट्रिय टिममा नपरेका उनी पछि पुनः खुट्टामा चोट लाग्दा टोलीमा फर्किन पाएका थिएनन् ।


राष्ट्रिय खेलाडी हुँदाहुँदै अन्य व्यवसायमा हात हाल्दा उनी हिरासत पुग्नुपर्यो । संन्यास लिने तयारी हो कि पैसाको मोहले उनी व्यवसायतर्फ आकर्षित भएका हुन् भन्ने शुक्रबारकर्मीको जिज्ञासामा उनले भने, ‘२६ वर्षको भएँ । अहिले नै संन्यास लिन्नँ । चोटका कारण खेलमा फर्कन सकिनँ । यही बेला केही काम पनि गरौँ भनेर साथीहरुसँग मिलेर लगानी गरेको मात्र हो ।’


हिरासतमुक्त भएको करिब एक महिनापछि पृथुलाई भेट्दा हिरासतमा पर्नुको पीडा मत्थर भइसकेको थिएन । प्रहरीबारे उनका गुनासोका चाङ नै थिए । मार्समेलो काण्डमा आफ्नो भूमिका केही नहुँदा पनि ठगीको मुद्दा खेप्नु परेकामा उनले जति पीडा पोखे, पाँचै दिनमा अनुसन्धान सकिए पनि २३ दिनसम्म हिरासतमा राखेकोमा उत्तिकै दुःखी पनि देखिन्थे । अनुसन्धान सकिए पनि मुद्दा अदालतमा नलगी हिरासत अवधि बढाएको उनको गुनासोबारे महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले अनुसन्धान अवधिमा प्रहरीको मात्रै भूमिका नहुने बताए । (हेर्नुहोस्, बक्स)


‘अनुसन्धानको अवधिमा प्रहरीको मात्र भूमिका हुन्न,’ उनले भने, ‘अभियुक्त, सरकारी वकिल र अदालतको समेत भूमिका हुन्छ ।’


बन्द भएको व्यवसाय पुनः सुरु गर्ने र क्रिकेटमा पनि फर्कने तयारी उनले सँगसँगै अगाडि बढाइरहेका छन् । क्रिकेटमा फर्कन मैदाने अभ्यासमा सुरु गरिसकेका उनी खुकुरी कपमा बालुवाटार क्रिकेट क्लबबाट खेल्दैछन् । बन्द भएको डेजाभू क्लब खोल्न बिजनेस पार्टनरहरुसँग पनि उनी छलफलमा व्यस्त हुन थालेका छन् ।
 

अभागी पृथु


विश्वक्रिकेटकै सर्वाधिक लोकप्रिय नाम हो, सचिन तेन्डुलकर । भारतीय क्रिकेटमा त उनीलाई उनलाई भगवान्सरह नै पुजिन्छ । त्यस्तै कदकाठका होचा–होचा तर फुर्तिला पृथु बास्कोटा मैदान छिर्दा सचिनको झल्को आउँथ्यो । यु–१९ टोलीलाई विश्वकपको यात्रासम्म डोहो¥याउँदै हिँडेका पृथुको सानो कद भए पनि ब्याट समाएपछि लामो सट खेल्न माहिर थिए ।

फरक, ओपनिङ ब्याटिङ गर्न आउने उनी ब्याट चलाउन अब्बल थिए । ब्याट मात्र होइन, बलिङमा पनि उनले आफ्नो जादु देखाउन सक्थे । त्यसैले प्रशिक्षक रोय डायसका प्रिय शिष्य थिए, पृथु । पृथु तिनै खेलाडी हुन्, जसलाई राष्ट्रिय टोलीका कप्तान पारस खड्काको उत्तराधिकारीका रुपमा हेरिएको थियो । प्रशिक्षक डायसले पनि त्यसैअनुरुप पृथुलाई हुर्काएका थिए । स्वयं पारसका पनि प्रिय पात्र थिए, पृथु तर दुभाग्य चोटबाट थलिएपछि उनी राष्ट्रिय टोलीमा फर्कन सकेनन् ।


काठमाडौंका रैथाने ठिटो पृथु उमेर समूह हुँदै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल रहे । अस्ट्रेलियामा सम्पन्न २०१२ को यु–१९ विश्वकपमा नेपालको कप्तानी सम्हालेका थिए उनले । यु–१९ एसिसी इलाइट कपमा च्याम्पियन बनेको नेपालले २०११ मा आयरल्यान्डमा छनोट प्रतियोगितामा अस्ट्रेलिया विश्वकपको लागि टिकट काटेको थियो ।


थाइल्यान्डमा भएको इलाइट कपमा नेपालले समूह चरणमा युएई, ओमान,  अफगानिस्तान र थाइल्यान्डलाई पराजित गरेको थियो । सेमिफाइनलमा कतारलाई पराजित गरेको नेपालले फाइनलमा पुनः अफगानिस्तानलाई यु–१९ विश्वकप क्रिकेट छनोट प्रतियोगितामा स्थान बनाएको थियो । 


छनोट प्रतियोगितामा दोस्रो स्थानमा रहन सफल नेपालले विश्वकपमा भने राम्रो प्रदर्शन गर्न सकेन । पृथुकै कप्तानीमा विश्वकप खेल्न गएको नेपाल अस्ट्रेलिया, आयरल्यान्ड र इङ्ल्यान्डसम्मिलित समूहमा परेको थियो तर नेपालको अस्ट्रेलिया भ्रमण भने राम्रो हुन सकेन । नेपाल सबै खेलमा पराजित भएको थियो ।


लगत्तै भएको २०१२ को आइसिसी विश्व ट्वान्टी–२० छनोट प्रतियोगितामा पृथुले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भए । हङकङविरुद्धको खेलबाट डेब्यु गरेका पृथुले उक्त प्रतियोगिताको ९ खेलमा ८३ रन बनाउन सफल भए । विश्व क्रिकेट लिग डिभिजन ४ को अन्तिम १४ खेलाडी परेका उनले विश्वकप छनोट प्रतियोगितामा स्कटल्यान्डविरुद्ध लिस्ट ए खेलमा डेब्यु गरेका थिए तर राष्ट्रिय टोलीमा उनको यात्रा भने लामो समय जान सकेन । न्युजिल्यान्डमा २०१४ एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नराम्रो चोट लागेको थियो । 


कुर्कुच्चामा चोट लागेपछि पृथुले अस्ट्रेलियामा शल्यक्रिया गराएका थिए । त्यसपछि नियमित टोलीमा फर्कन संघर्ष गरिरहेका उनी नेपाली क्रिकेटमा अभागी साबित भए । राष्ट्रिय टोलीमा परे पनि उनले राम्रो प्रदर्शन गर्न सकेनन् । पुनः उनको हातको औँला फ््रयाक्चर भयो । उपचारपछि पुनरागमनका लागि संघर्ष गरिरहँदा डेजाभू काण्डमा परे । 

 

हिरासत अनुभव : हत्कडी लाग्दा सिरिगं भो 

एसएसपी (दिवेश लोहनी) सरले ‘केही गर्न सक्दैनौं’ भनेलगत्तै महानगरीय प्रहरी अपराध महाशाखामा रहेका प्रहरीले हातमा हडकडी लगाएदिए । झसंगै भएँ । साह्रै चित्त दुख्यो । ल हिँड् भन्दै नजिकै रहेको अर्को भवनतिर लगे । फेरि कता लैजान लागेका हुन् भन्ने पत्तो थिएन । महानगरीय प्रहरी परिसर काठमाडौं लेखिएको बोर्ड भएको भवनको तल्लो तलाको दाहिनेतिर लगे । पर्स, मोबाइल लगायतका सामान बाहिरै राख्न लगाए र चेन गेटभित्रको कोठामा छिराए ।


त्यो त हिरासत पो रहेछ !

मार्समेलोले निम्त्याएको लफडा
तीन महिनाअघि सिक्स्टी वान लाइभ केटिएमले डिजे मार्समेलोेको कन्सर्टको कुराकानी गरेको थियो । मार्समेलोको कन्सर्टका लागि क्लब डेजाभू ठीक लाग्यो भनेपछि २४ घण्टाका लागि भाडामा दिने सहमति भयो । सहमतिअनुसार कन्सर्टको सबै प्रमोसनल टिकट उसैले बिक्री गर्ने थियो । त्यस दिन डेजाभूको बार पनि उनीहरुले प्रयोग गरे । 


कार्यक्रमको दिन मार्समेलो दिउँसो १२ बजे काठमाडौं आएर होटेल द्वारिकामा बसेका रहेछन् । बेलुका साढे १२ बजेसम्म आयोजकले मार्समेलो आउँदैछन् मात्र भनिएको थियो तर आएका थिएनन् । कार्यक्रमको केही जिम्मेवारी थिएन । कार्यक्रम इन्जोए गर्ने मुडमा थिए । 


बेलुका साढे १ बजेतिर एक्कासि डेजाभूको स्टेजको म्युजिक बन्द गरेर मार्समेलो बिरामी भएकाले आउन नसक्ने अनाउन्स भएछ । त्यो बेला म क्लबभन्दा बाहिरै थिएँ । 


क्लबभित्र जाँदा त बबाल ! मार्समेलो नआउने अनाउन्स भएलगत्तै दर्शकहरुले बियरको क्यान, कुर्सीको झटारो हान्न थालिहालेछन् । बार, टेबल, कुर्सी, एसी, लाइट, साउण्ड सिस्टम केही बाँकी राखेनन् । पाँच मिनेटमा क्लब ध्वस्त भयो । ट्वाल्ल परेर हेर्ने बाहेकको अर्को विकल्प पनि थिएन ।


नहुनुपर्ने भइहाल्यो । एभरेस्ट प्रिमियर लिगमा चितवन टाइगर्सको क्याप्टेन भएकाले बिहान प्रशिक्षणमा जानुपथ्र्यो । बिहान साढे ३ बजेतिर डेजाभूबाट घर गएर एकछिन आराम गरेँ अनि  प्रशिक्षणमा सहभागी हुन ग्राउन्डमा गएँ ।

आयोजकका कारण क्लब पूरै ध्वस्त भएको थियो । उनीहरुसँग दिउसो कुरा गर्नुपर्ला भन्ने थियो । दिउसो २ बजेतिर साथीको फोन आयो । उनीहरु आयोजकसहित प्रहरी कार्यालय पुगेका रहेछन् । ‘महानगरीय प्रहरी अपराध महाशाखा टेकु आउनुप¥यो’ भनेपछि त्यतैतिर लागेँ ।


त्यहाँ पुग्दा प्रहरीले कार्यक्रमको बारेमा सोधपुछ गरिरहेको रहेछ । मलाई पनि सोधे । जे–जे सोधे सबै भनेँ । कुराकानी सामान्य रुपमै भयो । 


मार्समेलो नेपाल आएको प्रमाण के छ भन्न थाले । बिहान ८ बजे आयोजकले होटल द्वारिका पुगेर डिजेसँग खिचेको भिडियो देखायौं । चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेका रहेछन् । चिकित्सकको प्रेस्किप्सन देखाए ।


प्रारम्भमा नेपाली क्रिकेटर रहेछौ, ठाउँ भाडामा दिएपछि सुरक्षा निकायलाई जानकारी दिनुपर्छ नि भनेर सामान्य रुपमा कुरा गर्ने प्रहरी बिस्तारै कडा हुन थाले । तिम्रो ठाउँमा कार्यक्रम गर्न दिएपछि कसरी तिम्रो जिम्मेवारी हुन्न भनेर च्याप्न पो थाले !’


अनुमति नलिई कार्यक्रम गरेको, प्रहरीलाई जानकारी नदिएको, कार्यक्रम स्थलको क्षमताभन्दा बढी टिकट बिक्री गरेको, मार्समेलो ल्याउने भनेर महँगो टिकट बिक्री गरेर नल्याई सर्वसाधारणलाई ठगेको जस्ता प्रश्न गर्न थाले । माहौल बद्लिँदै गयो ।


तैपनि पक्राउ गरेर हिरासतमै राख्छन् जस्तो लागेको थिएन । मैले इपिएलको म्याच छ पनि भनेको थिएँ तर साथीहरुसहित पक्राउ परेँ ।


प्रायः टेकुको बाटो हिँडिरहे पनि त्यहाँ प्रहरी कार्यालय छ भन्ने थाहा थिएन । प्रहरी कार्यालय नै पहिलो पटक पुगेको थिएँ । फरक–फरक केसमा पक्राउ परेकाहरुलाई एकै कोठामा राखिने रहेछ । त्यहाँ त्यस्तै ९० जना जति थियौं । सेतो टायलमाथि प्लाई राखेर ओछ्यान बनाइएको रहेछ । घरबाट ब्ल्याङकेट मगाएँ । भोलिपल्ट त छोड्छन् भन्ने लागेको थियो । साथीहरु गफ गर्दै थिए । क्रिकेटको अभ्यास गरेकाले थाकेको थिएँ । निदाएछु ।

अदालत टेकेको पहिलो दिन 
भोलिपल्ट बिहान प्रहरीले बोलाए । अब छाड्ने भए भन्ने लाग्यो । खुसी हुँदै हिरासतबाट बाहिर निस्किएँ । एउटा कागज दिए, हस्ताक्षर गर्न । पढ्न खोज्दा दिएनन् । कागजमा साइन गराएपछि गाडीमा राखेर बाहिर लगे । टेकुबाट त्रिपुरेश्वर, माइतीघर हुँदै गाडी काठमाडौं जिल्ला अदालत अगाडि लगेर रोकियो । अदालत ? मनमा चिस्यो पस्यो ।


पहिलो पटक पुगेको थिएँ अदालत पनि । भवन राम्रै रहेछ । अदालतभित्र लगेपछि थाहा भयो, छाड्न हैन ठगीको मुद्दामा म्याद थप्न पो लगिएको रहेछ ! पक्राउ परेको २४ घण्टाभित्र प्रहरीले छाडेन भने केस त क्रिटिकल हुने रहेछ ! फेरि हिरासतमै फर्कनु पर्दा छुट्ने आश पनि म¥यो । साह्रै दिक्क लाग्यो तर के नै गर्न सकिन्थ्यो र !


हिरासतभित्र राष्ट्रिय गान
हिरासतको पनि आफ्नै नियम हुने रहेछ ! बिहान ६ बजे अनिवार्य उठ्नुपर्ने । ५ वटा लाइन लगाएर एक, दुई, तीन भन्दै गनेर हाजिरी दिनुपथ्र्यो । ८ देखि १० बजेसम्म भेटघाटको समय तोकिएको थियो । त्यो बेलासम्म बिहानको नित्यकर्म गरिसक्नुपर्ने । 


भेटघाटको समय सकिएपछि खाना खाएर कोही केसको लागि अदालत पुग्थे । कोही दिनभर पालो कुरेर बस्थे । साँझ ६ बजे हरेक दिन राष्ट्रिय गान गाउनुपथ्र्याे । एक प्रहरीले बेलुका दिनकै हिरासत भित्रका नियम सुनाउँथे । नयाँ आउनेका लागि भनिएको नियम सुन्दासुन्दा कण्ठै भइसकेको थियो । राति १० बजेपछि हल्ला गर्न नपाइने । डिम लाइट बलिरहन्थ्यो । होहल्लामा र लाइट बालेर सुत्नै नसक्ने बानी थियो । केही दिन साह्रै भयो ।

हिरासतको साथी अपराध किताब


करिब १० मिटरको दुरीमा रहेको मुद्दा फाँटमा जाने बयान दिने, म्याद सकियो भने थप्न अदालत लैजाने, सरकारी वकिल कार्यालय जाने । पाँच दिन जति चल्यो यस्तो । त्यसपछि त केही काम भएन । दिनभर हिरासतभित्रै । 


साथीहरु चिन्ता गर्थे । अब चिन्ता गरेर छुट्ने हैन । म सुतिदिन्थेँ । कति सुत्नु ! केही किताब मगाएँ । अपराधसम्बन्धी लेखिएको ‘कि विटनेस’, ‘द पावर अफ सबकन्सस माइन्ड’ जस्ता किताब हिरासतमै पढेँ । थुनिएको पाँचौँ दिनबाट एभरेस्ट प्रिमियम लिग सुरु भयो । पहिलो पटक चितवन टाइगर्सको कप्तानीको जिम्मेवारी पाएको थिएँ ।  पहिलो खेल छुटे पनि बाँकी खेल त खेल्न पाउँछु जस्तो लागेको थियो तर पाइएन । 


एसएसपी सरलाई खेल खेलेर हिरासतमा आउँछु पनि भनेँ । ‘कानुन लागिसक्यो, जान पाइन्न’ भन्ने जवाफ पाएँ । हिरासतमा रहेकाहरु र ड्युटीमा बस्ने प्रहरीले म क्रिकेटको राष्ट्रिय खेलाडी भन्ने थाहा पाइसकेका थिए । हिरासत कक्षमा टिभी थियो । ड्युटीमा खटिएका प्रहरीलाई आग्रह गर्दा उनले टिभी हेर्न दिन्थे । चितवन टाइगर्सको चार वटा खेल हिरासतमै हेरेँ । खेल हेरिरहँदा मैले खेल्न पाएको भए फरक गर्न सकिन्थ्यो भन्ने महसुस भइरह्यो । 
तर के गर्न सकिन्थ्यो र ?

हिरासमतै भनाभन
हिरासतमा प्रहरीले नै खाना पनि दिनेरहेछ । मेरो खानाचाहिँ घरबाट आउँथ्यो । खाना लिएर आउँदा दिदीहरुले भनसुन भइरहेको छ चाँडै होला भन्नुहुन्थ्यो तर भनसुन चलेन ।


प्रहरीले क्षमताभन्दा बढी टिकट बिक्री गरेको आरोप लगाएको थियो । डेजाभूको क्षमता २७ सय हो । आयोजकले २३ सय मात्र टिकट बिक्री गरेको भन्थे । कार्यक्रमको सुरक्षाका लागि दरबारमार्ग वृत्तमा जानकारी गराएका पनि थियौं । सुरक्षाका लागि माथिल्लो तहको प्रहरी कार्यालयलाई पनि जानकारी दिनुपर्ने थियो । पुरानो इभेन्ट कम्पनी भएकाले अनुभवी होलान् भन्ने लाग्यो । दिएका रहेनछन् ।


आयोजक र हामी एकै हिरासतमा थियौं । क्ल्बका पाँच जना र आयोजकबीच हिरासतमा भनाभन चलिरहन्थ्यो । नपर्नु हिरासतमा परिसकियो । के विवाद गर्नु भनेर साथीहरुलाई सम्झाएँ ।


जेलमा प्रत्येक दिन नयाँ केसका मानिस आउने–जाने हुन्थ्यो । कसैले म आज जान्छु भन्दा मलाई पनि लान मिल्छ भनेर ठट्टा गरिन्थ्यो । 


बयान र अनुसन्धानका सबै काम सक्किइसकेको थियो । चिनेजानेकाहरुलाई चाँडो मुद्दा बुझाउन भनिदिन भनेको पनि हो तर केही सीप लागेन । क्रिकेट संघ, राष्ट्रिय खेलकुद परिषद्ले चासै दिएनन् । हिरासतमा हुँदा राष्ट्रिय क्रिकेटका कप्तान पारस खड्का भेट्न आउनुभयो । उहाँले पहल पनि गर्नुभएको हो तर चलेन ।

चितवन टाइगर्सका किशोर भट्टराई, भावना म्याम (क्रिकेट एसोसिएसनकी प्रमुख कार्यकारी भावना घिमिरे), रमेश सिलवाल र राजु बस्नेत आउनु भएको थियो । कसैको केही चलेन । प्रहरीले हिरासतमा २४ दिनसम्म राख्न पाउँछ भन्ने सुनेको थिएँ । पूरै दिन राख्ने भयो भन्ने पक्का भयो ।

शुक्रबारको संयोग
२३ औं दिन करिब ११ बजे जेलबाट निकाले । गाडीमा राखेर अदालत लगे । अदालत पुग्दा बहस सुरु भइसकेको रहेछ । आज चैँ घर जान पाइन्छ भन्ने आश लागेको थियो । बहस सकियो । मेरो नाममा धरौटी निस्किएछ । हिरासत फर्कनु नपर्ने भयो भन्ने सोच्नासाथ मन हलुका भयो ।

सबै काजगपत्र बुझाउँदा ५ बज्यो । धरौटी बुझाए । घर फर्किएको दिन शुक्रबार रहेछ । हिरासतमा परेको दिन पनि शुक्रबार नै थियो । 


आफ्नै कोठा सुनसान लाग्यो । बत्ती ननिभाई सुत्न नसक्ने म घरको पहिलो दिन बत्ती बालेर सुतेँ । छिसिक्क हुँदा निद्राबाट बिउँझन्थेँ म । अहिले जतिसुकै हल्ला भए पनि मस्त निदाउन सक्छु । हिरासत बसाइले यत्ति बानी बद्लिदियो । 
 

पृथुको ६ आरोप

पक्राउका ६ कारण

प्रहरीले खोजी नगरे पनि म आफैं प्रहरी कार्यालयमा उपस्थित हुँदासमेत हत्कडी लगाउने काम भयो । एभरेस्ट प्रिमियर लिगको एक टिमको क्याप्टेन भएकाले क्रिकेट खेलेर हिरासतमै फर्कन्छु भन्दा पनि अनुमति पाइन ।

को व्यक्ति के हो भनेर पक्राउ नगरी मार्समेलोलाई नेपालमा ल्याएर कार्यक्रम आयोजना गर्छु भनेर टिकट बिक्री गर्ने र कार्यक्रमस्थल दिएर लापरबाही गर्ने आयोजक र कार्यक्रमस्थल डेजाभूका लगानीकर्ता पक्राउ गरिएको हो । कार्यक्रम गर्न स्थान भाडामा मात्र दिएको भनिएका डेजाभूका लगानीकर्ताले समेत आफैंले टिकट बिक्री गरेका छन् । लाखौंको टिकट बिक्रीमा डेजाभूको स्वाइप मेसिन प्रयोग भएकाले टिकट बिक्रीमा डेजाभूको समेत संलग्नता देखिएको छ ।

सम्झौतामा मार्समेलो ल्याउने, टिकट बिक्री गर्ने, कार्यक्रमस्थलको सुरक्षा प्रबन्ध र सरकारी निकायसँग अनुमति लिने जिम्मेवारी आयोजकको थियो । यसमा कार्यक्रम गर्ने ठाउँ भाडामा दिएका सञ्चालकको भूमिका नभए पनि दोष लगाइयो ।

संसारको सबैभन्दा महँगो डिजे ल्याउँदा सुरक्षा निकायलाई जानकारी दिने, कार्यक्रम स्थलमा सहभागी श्रोताको सुरक्षाका लागि अपनाउनुपर्ने सामान्य सुरक्षा प्रबन्धसमेत व्यवस्थापन गरेको देखिएन । कार्यक्रम गर्ने अनुमतिसमेत लिएको देखिएन । जुन अपराध हो ।

प्रहरीले जबर्जस्ती बयान कपीमा हस्ताक्षर गर्न लगायो । के लेखेको छ हेर्छुभन्दा पनि पाइएन । अदालत पुगेपछि भन्दै नभनेको विषयसमेत राखिएको थाहा भयो ।

बिक्री गरिएको टिकटमा मूल्यसमेत राखिएको छैन । टिकटमा भिआइपी, भिभिआइपी मात्र लेखिएको छ । यो कर छल्ने प्रयास हो । टिकट सकिएपछि हातमा बाँध्ने ब्यान्ड बाँडिएको छ । आयोजक र डेजाभूका सञ्चालकले समेत त्यही ब्यान्ड बाँधेका छन् । त्यसको संख्या कति हो हिसाब कतै राखिएको छैन ।

कार्यक्रमस्थलको क्षमता २ हजार ७ सय हो । आयोजकका अनुसार करिब २ हजार ३ सय जति टिकट बिक्री भएको रहेछ । सहभागी अट्ने क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्ने आरोप सत्य हैन । टिकट बिक्रीमा डेजाभूका सञ्चालकको कुनै भूमिका थिएन ।

कार्यक्रमस्थलमा अट्ने संख्याअनुसारको टिकट बिक्री नगरी क्षमताभन्दा बढीलाई टिकट बिक्री गरेको अनुसन्धानमा खुलेको छ । यसले कार्यक्रममा सहभागी सर्वसाधारणको सुरक्षामाथि खेलवाड गरियो ।  कानुनमा कुन पेसाकालाई कस्तो कारबाही उल्लेख हुन्न ।

कार्यक्रमबारे दरबारमार्ग वृत्तमा निवेदन दिइएको थियो । आयोजकसँगको सम्झौता पत्रमा सुरक्षाको सबै प्रबन्ध उसैले गर्नुपर्ने उल्लेख थियो । हामीले हाम्रो नियमित जे सुरक्षा प्रबन्ध थियो, त्यो मात्र उपलब्ध गराएका हौं । यो पाटोमा हाम्रो कुनै भूमिका थिएन ।

कुन कानुन उल्लंघन गरे कस्तो कारबाही मात्र उल्लेख हुन्छ । कानुन उल्लंघन गर्ने सबै माथिको अनुसन्धान प्रक्रिया समान हुन्छ । म यस्तो भनेर छुट पाउने कानुनी प्रावधान छैन ।

तीन दिनमा बयान लिने लगायतका सबै काम सकिए पनि २३ दिनसम्म हिरासतमा राखियो । अनुसन्धानका क्रममा हिरासतमा राख्ने दिन अनावश्यकरूपमा लम्ब्याइयो ।

अनुसन्धान कति अवधिमा सकाउने भन्ने सरकारी वकिल कार्यालय, अदालत र अभियुक्तको भूमिकामा समेत भर पर्छ । अनुसन्धानको म्यादको समयसीमामा प्रहरीको मात्र भूमिका हुन्न । प्रहरी बेलैमा पुगेर सहभागीलाई मुख्य हलबाट बाहिर ननिकालेको भए मानवीय क्षतिसमेत हुन सक्थ्यो । धन्न बेलैमा प्रहरी पुगेर उद्दार गरेकाले दुखद् घटना हुन पाएन । यसमा आयोजक र सञ्चालक गम्भीर देखिएनन् ।

 -महानगरीय प्रहरी अपराध महाशाखा का प्रमुख दिवेश लोहनीसंग गरेको कुराकानीमा आधारित






 

Leave A Comment