सद्दाम हुसेनको रोमान्टिक उपन्यास

शुक्रबार, १९ माघ २०७४, ०५ : २१ शुक्रवार
सद्दाम हुसेनको रोमान्टिक उपन्यास

भ्यालेन्टाइनको पूर्वसन्ध्यामा अब तपाईंले पूर्व इराकी राष्ट्रपति सद्दाम हुसेनले लेखेको रोमान्टिक उपन्यास अमेजनमा किन्न सक्नुहुनेछ । क्रुर इराकी शासक नेता हुसेनले सन् २००० मा प्रकाशित गरेको रोमान्टिक उपन्यासले अहिले बजार तताइरहेको छ । प्रेमकथामा लेखिएको उपन्यास जम्मा १६० पृष्ठको छ ।

‘जाइबा एन्ड द किङ’ नामको उक्त उपन्यास तत्कालिन समयमा कुनै बेस्टसेलरको सूचीमा पनि परेन र समीक्षकहरुको नजरमा पनि परेको थिएन । तर सिआइएले भने उपन्यास सार्वजनिक भएपछि जाँचपड्ताल गरेको थियो । हुसेनको उपन्यासमा हजारौं वर्षअघि इराकी राजा र गरिब गाउँले युवती जाइबाको प्रेम कथा समावेश छ । पात्रहरुले धर्म, राष्ट्रियता र अन्य मर्मस्पर्शी कुराबारे बहस गर्दैगर्दा प्रेम पर्ने कुरा उपन्यासमा लेखिएको छ । अझ उपन्यासको एउटा प्लटमा गोठालो र भालुको संसर्गको दृश्यमार्फत् इराक र रुसको सम्बन्धलाई उतारेको बताइन्छ ।

हालै अमेजनमा बिक्रीमा राखिएको हुसेनको उपन्यासले मिश्रित प्रतिक्रिया पाएको छ । केहीले राजा र जाइबाको प्रेमपूर्ण कथा एकदमै राम्रो रहेको बताएका छन् भने केहीले गन्जागोल कथा लेखेको प्रतिक्रिया दिएका छन् । अझ कतिपयले भने यसलाई साहित्यिक रसको किताब नभई ऐतिहासिक मूल्यको पुस्तकको रुपमा हेरर किताब खरिद गर्न सुझाएका छन् ।
हुसेनको नाममा प्रकाशित कृतिहरुमा ‘जाइबा एन्ड द किङ’ चौथो कृति हो । सिआइए अधिकारीहरुका अनुसार हुसेनले उपन्यास आफैँ नलेखी घोस्ट राइटर प्रयोग गरी लेखाएको बताएका छन् । समग्रमा भन्नुपर्दा हुसेनको उपन्यासले राजालाई नायकत्व पार्ने कुरामा मात्र ध्यान दिएको बताइन्छ । उपन्यासमा हुसेन पुत्रीको भूमिका समावेश छ । हुसेनका अन्य तीन पुस्तक ‘द फोर्टिफाइड क्यासल’, ‘मेन एन्ड द सिटी’, र ‘बेगन डेमोन्स’ हुन् । ‘बेगन डेमोन्स’ हुसेनले सन् २००३ मा इराकमा भएको अमेरिकी हमलाको समयमा लेखेका थिए ।

Leave A Comment