बिचौलिया देख्दा हर्षित हुन्छन् कर्मचारी

बिहिबार, १८ माघ २०७४, ०४ : ४६ शुक्रवार
बिचौलिया देख्दा हर्षित हुन्छन् कर्मचारी

कलंकी मालपोत कार्यालय पुग्दा हातमा फाइल बोकेर भौंतारिइरहेका सयौं सेवाग्राहीकै भीडमा चमकिलो मुहार प्रायः कमैको देखिन्छ । शुक्रबार मालपोत कार्यालय पुग्दा प्रायको मुहार मलिन नै देखियो जग्गाको राजीनामा, नामसारी, अंशबण्डा, दर्ताफारी, शेषपछिको बकसपत्र, जग्गा रोक्का र दर्तालगायतका काम लिएर आउनेहरू दिनभर कार्यालय परिसरमा यता–उता दगुरिरहन्छन् म्याराथनमा भाग लिएको खेलाडीझैं । त्यही भीडमा भेटिइन् स्वयम्भु सानो भर्याङकी सिर्जना बराइली । उनको महिना दिनयताको दैनिकी मालपोत कार्यालयको फाँट चहार्नु बनेको रहेछ । 

कलंकी मालपोत कार्यालयले सेवाग्राहीलाई दिएको सरकारी सेवाको अवस्था बुझ्न शुक्रबारकर्मी कार्यालयमा पुग्दा उनी दिक्किएर चिया पसलमा बसेको भेट्टियो । बराइली धादिङको आदमघाटमा बकस पाएको ४० रोपनी जग्गाको ‘लफडा’ सल्टाउन कलंकी आइपुगेकी रहिछन् ।

माघ ११ गते बिहीबार कागज बुझाउनुपर्ने रहेछ । जग्गा दर्ता गराउन उनले गत साता मात्र दुईपटक धादिङ–काठमाडौं ओहोरदोहोर गरिसकेकी रहिछिन् । एउटा फाइल पुगेन भनेर फर्काएपछि उनी दिक्क भएकी रहिछिन् । उनले शुक्रबारकर्मीलाई देखाउन झोलाबाट सबै कागजपत्र झिकेर पसलको टेबलमा फिजाइन् । 
‘कस्तो झन्झट हो यो मालपोतको काम, सम्झिँदा पनि ज्वरो आउलाजस्तो हुँदोरहेछ,’ उनले भनिन्‘ ‘हिजो धादिङबाट आएकी, फेरि धादिङकै मालपोत जानुपर्ने भयो ।’ 

कार्यालयभित्रको अवस्था हेर्न भित्र जाँदा भीडमा भेटिइन् ट्यांग्लाफाँट बस्ने कुमारी बज्राचार्य । उनी मालपोत धाउन थालेको वर्षांै भइसक्यो । २०४७ सालदेखि उनले एक पैसा (आनाको एक अंश) जग्गा आफ्नो बनाउन धाइरहेकी छिन् । सर्वोच्च अदालतसम्मै पुगेको घरझगडाको फैसला उनको पक्षमा त भयो तर लालपूर्जा हातमा परेको छैन । उनी त्यही पूर्जाका लागि निरन्तर धाउँदै आएकी छिन् कलंकीको मालपोत कार्यालय । दुई वर्ष पहिले र अहिले कलंकी मालपोत कार्यालय वरपरको वातावरण बदलिएछ ।

तर कार्यालयको अवस्था भने उही । सामान्य नियमसंगत काम गराउन भोग्नुपर्ने धपेडी उस्तै । शुक्रबारकर्मी दिनभर कार्यालयमा बस्दा सरकारले तोकेको शुल्कमा कर्मचारीका लागि अतिरिक्त शुल्क बुझाउनुपरेको दृश्य सामान्यझंै देखिए । लिनेदिने क्रम दिनभर चलिरह्यो ।

जग्गासम्बन्धी विभिन्न समस्या लिएर आउने नयाँ सेवाग्राही देख्नासाथ फाइल पल्टाउँदै कर्मचारी टाउको कन्याउन थालिहाल्थे । परिचित सेवाग्राही आए उनीहरुको अनुहारै उज्यालो हुन्थ्यो ।कार्यालय छिर्ने बित्तिकै परिसरमा नागरिक बडापत्र झुण्डिएको छ । पेस गर्नुपर्ने कागजात, समय, त्यससँग जिम्मेवार पदाधिकारी, आवश्यक शुल्क र उल्लेख भएबमोजिम काम नभए क्षतिपूर्तिको समेत उल्लेख छ । बडापत्र अनुसार तोकिएका सबै कागजात पूरा भएको निवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने दायित्व कर्मचारीको हो तर बडापत्रलाई कर्मचारीको व्यवहारले जिस्काइरहेको देखियो । अर्को पाटो अधिकांश सेवाग्राहीलाई बडापत्रबारे जानकारीसमेत रहनेछ ।भूकम्प गएपछि जग्गा नामसारी लगायतका काम ह्वात्तै बढेको छ र समस्या पनि उसैगरी बढेको छ । काम बढेसँगै सेवाग्राहीको दुःख पनि बढेको छ ।

बिचौलियाको बिगबिगी
सेवाग्राहीलाई सहयोग गर्ने गैर कर्मचारीको संख्या बाक्लै देखियो कार्यालयमा । उनीहरुको सेवाशुल्क भने चर्कै रहेछ । प्रक्रिया पुगेका कागजपत्र अनुसार काम गराइदिएबापत केस हेरेर २ देखि पाँच हजारसम्म रहेछ उनीहरुको शुल्क । त्यो शुल्कमा कर्मचारीको भागसमेत समेटिएको हुने नै भयो । त्यसैले एक्ला सेवाग्राहीभन्दा यस्ता सहयोगीसहितको सेवाग्राही कर्मचारीको पहिलो प्राथमिकता पर्ने नै भए ।


‘यहाँ लाइन बस्दै दिन जान्छ । पालो आयो भने पनि कहिले के मिलेन, कहिले के भयो भनेर झुलाइहाल्छन्,’ कलंकी घर भएका उमेश श्रेष्ठले भने, ‘आफैंले काम गराउँदा पनि टेबलमुनिदेखि हाकिमलाई पैसा खुवाउनुपर्छ । त्योभन्दा बरु दलाललाई केही पैसा दियो भने सबै उसैले मिलाउँछ, टन्टै साफ ।’ दिनभरको अनुगमनमा सामान्य कामका लागि समेत सेवाग्राहीले अनावश्यक दुःख पाएको देखेपछि कार्यालय प्रमुखको धारणा जान्न मन लाग्यो तर उनी कार्यालयमा भेटिएनन् । पटक–पटक फोनमार्फत सम्पर्कको प्रयास गर्दा पनि उनीसँग सम्पर्क हुननसक्दा उनको धारणा राख्न सकिएन । 

Leave A Comment