सम्पदामाथि मनपरी

बिहिबार, १८ माघ २०७४, ०३ : ४५ शुक्रवार
सम्पदामाथि मनपरी

रानीपोखरी पुनर्निर्माणका क्रममा उछालिएको काठमाडौं महानगरपालिकामा मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी बीचको राजनीतिक विवाद अहिले मत्थर छ । उनीहरू अहिले चर्चामा छैनन् र निर्माणको काम पनि रोकिएको छ । २०७२ सालको भूकम्पमा भत्किएको रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणमा पुरातत्व विभाग लागिपरेको छ तर यो काममा पनि पछिल्लो समय उल्झन देखिन्छ । काठमाडौं महानगरपालिकाले प्राचीन सम्पदा रानीपोखरीलाई आधुनिक रिक्रिएसन सेन्टरका रुपमा विकास गर्ने र पैसा असुल्ने योजना बनाएर त्यसैअनुसार निर्माणको काम थालेपछि एकपछि अर्को विवाद सिर्जना भएका हुन् । 

पोखरी बीचको मन्दिर र पोखरीको वरिपरि पर्खाल बनाउने पूर्वाधारमा विवाद देखिन्छ ।  मेयर–उपमेयर परस्पर विरोधी कित्तामा उभिएपछि विवाद सतहमा आएको हो । रानीपोखरीमा कस्तो निर्माण गर्ने ? त्यहाँ सिमेन्ट, रड र बालुवा गिट्टीको पर्खाल बनाउने कि पुरानै शैलीका इँटा र कालो माटो प्रयोग गर्ने ? प्रश्नको उत्तर आइसकेको छ । विवादपछि गठित विज्ञसमूहले २५ दिन लगाएर एउटा प्रतिवेदन दिएका छन् । जसमा कालो माटो र इँटा प्रयोग गर्ने भनिएको छ । यस अर्थमा उपमेयर खड्गीको अडानले काम गरेको छ तर विज्ञ समूहका सदस्यबीच मन्दिर कुन शैलीको बनाउने भन्नेमा थप विवाद सिर्जना गरेका छन् । पुरातत्व विभागले मन्दिर गुम्बज शैलीमा निर्माण गर्दैछ जबकि विज्ञ समूहले मल्लकालीन शिखर शैलीमा बनाउनुपर्ने राय दिएको छ । विज्ञ समूहमा रहेका पुरातत्वका तीन जना सदस्यले यो निर्णयमा विमति जनाएका छन् । के देखिन्छ भने पर्खालको विवाद अब मन्दिरको गजुरको शैली पनि थपिएको छ । 

प्राचीन सम्पदासँग नागरिकको धर्म, संस्कृति र परम्परा जोडिएका हुन्छन् । आम नागरिकले त्यस्ता धरोहरलाई श्रद्धा र विश्वासका साथ आत्मसात गरेका हुन्छन् तर प्राचीन सम्पदाको पुनर्निर्माणमा जनताको त्यो विश्वासलाई ठाउँ दिइँदैन । आधुनिक बनाउने र कमाइ गर्ने व्यापारिक केन्द्रको रुपमा लिइन्छ । त्यसैको परिणाम हो, रानीपोखरी विवाद । 
रानीपोखरी प्रतिष्ठापित गर्न नेपाल र भारतका ५१ प्रसिद्ध तीर्थस्थलहरूबाट जल ल्याइएको बताइन्छ । यति महŒव दिएर प्रतिष्ठापित गरिएको पोखरीको पानी जबर्जस्ती सुकाइएको छ । संवेदनहीनताको परकाष्टा हो यस्तो प्रवृत्ति । 
रानीपोखरी विवाद अहिले सतहमा आएको मामला हो । राजधानी काठमाडौंको केन्द्रमा रहेको धरहरा भूकम्पले भत्काएपछि सतहमा आफ्नो अस्तित्व खोज्दैछ । प्रधानमन्त्रीको हैसियतमा केपी शर्मा ओलीले ‘म बनाउँछु मेरो धरहरा’ अभियान नै चलाएका थिए, ठूलो प्रचारका साथ तर सरकारले सोचेजति पैसा उठेन । नारा नारामै सीमित रह्यो । नेपाल टेलिकमले व्यापारिक उद्देश्यका साथ धराहरालाई टावरमा रुपान्तरण गर्ने सोच पनि पाखा लाग्यो । र, अहिले पुनर्निर्माण प्राधिकरणले निर्माण गर्ने भनिदैछ । कुरामा सीमित छ धरहरा । काष्ठमण्डप जगलाई खण्डहर प्रदर्शनमा राखिएको छ । प्राचीन सम्पदाको पुनर्निर्माण आवश्यक हुन्छ । यसको अर्थ सयौँ वर्ष पुराना ती संरचना अहिलेको व्यापारिक आवश्यकताअनुसार परिमार्जन गरिनुपर्छ भन्ने होइन । उनीहरूको मौलिक संरचना नचलाई पनि पुनर्निर्माण गर्न सकिन्छ । धरहराको प्राचीनताको व्यापारीकरण भएको छ र साइडवाकर्स नामको निजी कम्पनीले त्यहाँबाट कमाइरहेको छ । धराहरा क्षेत्र संरक्षण गर्नुपर्छ भन्ने स्थानीयको आवाज कसैले पनि सुनिरहेको छैन, धरहरा क्षेत्रमै रहेको स्थानीय सरकार, महानगरपालिका र नजिकै रहेको शासकीय केन्द्र सिंहदरबार । 

अहिलेका व्यापारिक केन्द्र काठमाडौँ मललाई सरकारी संस्था संचय कोषले बनाएको हो । यो उसैको जग्गा हो तर मल निर्माणकै क्रममा सुन्धाराको पानी सुुक्यो । स्थानीयले त्यसैबेला निकै विरोध गरे । सुन्धाराको धाराबाट पानी झर्न छोडेकामा आन्दोलन पनि भए तर व्यापारको अपारमा प्राचीनतालाई तिलाञ्जली दिइयो । प्रविधिको सही उपयोग गर्दै काठमाडौं मल निर्माण गर्ने र सुन्धाराको धारामा कलकल पानी आइरहने बनाउन असम्भव नभएको होइन, सम्भव थियो । तर कसैले पनि त्यो आवाज सुनेन । सहरको बीचमा रहेको इतिहासिक महŒवको धारो सुकाइयो । सम्पदाहरूलाई उनीहरूको प्राचीनतामा सजाऔं । प्राचीन सम्पदालाई आधुनिक रुप दिने र सम्पदा बेचेर व्यापार गर्ने मनोविज्ञानबाट मुक्त होऔं । नीति निर्माण गर्ने, निर्णय गर्नेहरू जो पैसा र प्रभावमा परेका छन् । उनीहरूबाट भएका यस्ता संवेदनाहीन कामविरुद्ध आवाज बुलन्द गरौं । सम्पदामाथि भैरहेको मनपरीतन्त्रका विरुद्ध लड्ने समय हो अहिले, लडौं  । 

Leave A Comment