सन्दीपको डेयर डेभिल्स यात्रा

बिहिबार, १८ माघ २०७४, ०२ : १४ शुक्रवार
सन्दीपको डेयर डेभिल्स यात्रा

दिल्ली डेयर डेभिल्सको नजरमा पर्दा १७ वर्षे स्पिनर सन्दीप लामिछानेको आइपिएल यात्रा सुरु भएको छ । १९ औँ संस्करणको अक्सनमा दिल्लीले उनलाई २० लाख भारतीय रुपैयाँमा खरिद गरेपछि पहिलो पटक आइपिएलमा नेपाली खेलाडीको प्रवेश हुन पुगेको छ । दिल्ली डेयर डेभिल्समा सन्दीपको प्रवेशसँगै क्रिकेटप्रेमी नेपाली समर्थकको रोजाइमा यो टिम पर्ने पक्कापक्की छ । 

आइपिएलको १९ औं संस्करणका लागि दुई दिनसम्म अक्सन चलेको थियो । अक्सनमा १ सय ६९ जना खेलाडी छानिएका थिए । खेलाडीको यो संख्या आइपिएलको पछिल्लो संस्करणमा भएको खरिदको तुलनामा धेरै हो ।
अक्सनको सूचीमा परे पनि सन्दीप कुनै टिमको रोजाइमा पर्छन् या पर्दैन भन्ने दुविधा भने कायमै थियो । उनको प्रारम्भिक मूल्य २० लाख थियो । अक्सनका क्रममा उनको पालो आएपछि दिल्ली डेयर डेभिल्सले उनलाई प्रारम्भिक मूल्यमै आफ्नो टिममा अनुबन्ध गर्यो । यता नेपालमा खुसियाली छायो भने सामाजिक सञ्जालमा बधाइको ओइरो लाग्यो । 

सन्दीप चितवन क्रिकेट एकेडेमीका उत्पादक हुन्, जो सानै उमेरमा राष्ट्रिय टिममा आउन सफल भए । उनको यो यात्रा भने बढो फिल्मी छ । सन् २०१५ मार्च ४ मा राष्ट्रिय टोलीका तत्कालिन प्रशिक्षक पुबुदु दसानायके चितवन पुग्दा सन्दीप नेटमा अभ्यास गरिरहेका थिए । 

खेलाडीको क्षमता पहिल्याएर त्यही अनुसारको रणनीति बनाउन खप्पिस दसानायकेको नजरमा सन्दीपको बलिङ कला परिहाल्यो । उनी काठमाडौं फर्किएलगत्तै सन्दीपको क्षमतालाई थप परख गर्न धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीमार्फत उनलाई काठमाडौं बोलाए र यु–१९ को अभ्यासमा सहभागी गराए । 

२०१५ को अक्टोबरमा मलेसियामा हुने आइसिसी यु–१९ ग्लोबल क्वालिफायरका लागि नेपाली युवा टोली बन्द प्रशिक्षण शिविरमा थियो । पुबुदुले सन्दीपलाई त्यहाँको प्रशिक्षणमा पनि छुटाएनन् । टिमको नाम छनोट हुँदा भने उनको नाम अट्न सकेन । 

पुबुदुको नजरमा उनी गढेकै थिए । २०१६ फेब्रुअरीमा बंगलादेशमा हुने यु–१९ क्रिकेट विश्वकपमा सहभागी हुने नेपाली टोलीमा सन्दीप टोलीमा ठाउँ त ओगटे नै समूह चरणमा समेत आयरल्यान्डविरुद्ध ह्याट्रिकसहित ५ विकेट लिएर चकित बनाए । यु–१९ विश्वकपको इतिहासमा ह्याट्रिक विकेट लिने उनले पाँचौं खेलाडीका रुपमा आफ्नो नाम दर्तासमेत गराए । 

नेपाली टोली विश्वकप क्वार्टरफाइनल पुग्दा सन्दीपले ६ खेलमा १४ विकेट लिइसकेका थिए । यसरी उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको दोस्रो नम्बरमा पुगेका थिए । 

उनको यात्रा थामिएन । त्यही वर्ष सेप्टेम्बरमा हङकङ ट्वान्टी–२० ब्लिट्ज प्रतियोगितामा अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कसँग एउटै टिमबाट खेल्ने मौका पाए । चितवनको नेटमा बल फ्याँकिरहेको फुच्चेबाट पुबुदु जसरी आकर्षित भएका थिए क्लार्कको अवस्था पनि उस्तै भयो । 

सन्दीपबाट प्रभावित क्लार्कले उनलाई अस्ट्रेलियामा रहेको माइकल क्लार्क क्रिकेट एकेडेमीमा अभ्यास गर्न र स्थानीय प्रतियोगिताका केही खेल खेलेर कला तिखार्ने अवसरसमेत दिए ।

अस्ट्रेलियाली टिममा क्लार्कपछि रिकी पोन्टिङ कप्तान थिए । संयोगवश उनलाई आइपिएलको ढोका खोल्ने दिल्ली डेयरडेभिल्सलाई उनै पोन्टिङले प्रशिक्षण दिने भएका छन् ।
नेपाली क्रिकेट खेलाडीको सपना सन्दीपको हकमा विपना बनेपछि उनी मात्रै हैन उनीसँग नेपाली क्रिकेटप्रेमी त झुमे नै क्लार्कसमेत औधि खुसी भए । 

सन्दीपको छनौटसँगै खुसी हुँदै क्लार्कले ट्विटरमा लेखेका छन्, ‘साह्रै खुसी लाग्यो । म कुनै टिमको हिस्सा भएको भए उनलाई लिन एकछिन पनि ढिलो गर्दिनथेँ । उनी एउटा असाधारण प्रतिभा र फुच्चे च्याम्पियन खेलाडी हुन् ।’

आइपिएलका महँगा खेलाडी
१.बेन स्टाक्स (राजस्थान रोयल्स) १२ करोड ५० लाख 
२. जयदेव उनदकट (राजस्थान रोयल्स) ११ करोड ५० लाख
३.मनीष पाण्डे (सनराइजर्स हैदराबाद) ११ करोड
४. लोकेश राहुल (किंग्स ११ पन्जाब) ११ करोड
५. क्रिस लेन (कोलकाता नाइट राइडर्स ) ९ करोड ६० लाख
६. मिचेल स्टार्क (कोलकाता नाइट राइडर्स )९ करोड ४० लाख
७. ग्लेन म्याम्सवेल(दिल्ली डेयर डेभिल्स) ९ करोड
८. रसिद खान (सनराइजर्स हैदराबाद )

दिल्ली डेयर डेभिल्सको टोली 
डेयर डभिल्सको टोलीमा गौतम गम्भीर, सन्दीप लामिछाने, क्रिस मोरिस, ग्लेन म्याम्सबेल, ऋषभ पन्त, श्रीयस एैयर,अमित मिश्रा, शहबाज नादिम, जसन रोय, मोहम्मद सामी, कागिसो रबाडा, नमन ओझा, पृथ्वी शाह, कोलन मुनरो, राहुल तेवातिया, विजय शंकर, हर्षल पटेल, ड्यानियल क्रिस्टियन, सायन घोष, आभेष खान, शहबाज नादिम, जयन्त यादव, ट्रेन्ट बोल्ट, गुरक्रितमान सिंह, मनजोत कलारा, अभिषेक शर्मा छन् ।

Leave A Comment