उपप्राध्यापक नै भन्छन् : ‘अस्कलको होस्टल गँजेडीको अखडा’

बुधबार, १७ माघ २०७४, ०४ : २३ प्रजु पन्त
उपप्राध्यापक नै भन्छन् : ‘अस्कलको होस्टल गँजेडीको अखडा’

अस्कल क्याम्पस पुग्दा भावि वैज्ञानिक उत्पादन गर्ने शैक्षिक थलो भन्ने पत्याउन मुस्किल प¥यो । क्याम्पसमा ‘न त पुस्तकालयमा पुस्तक देखियो न ल्याब  ल्याबजस्तो थियो । अहिले अस्कल क्याम्पसमा १५ सय विद्यार्थी अध्ययनरत छन् तर इनरोलमेन्टअनुसार प्रयोगात्मक नहुने, भएको पनि पुराना इक्युपमेन्टका कारण त्यति प्रभावकारी हुन सकेको छैन । 


एमएस्सी प्रथम सेमेस्टरमा पढ्ने छात्र किङ्गा शेर्पा दिक्कै भइसकेका रहेछन् क्याम्पसको अवस्था देखेर । पढाउने प्राध्यापक समयमा नआउने र आए पनि कोर्स पूरै नभ्याउने उनले दुःखेसो गरे । विज्ञानको पढाइ हुने क्याम्पसका सबै उपकरण थोत्रा मात्रै । प्रविधिमैत्री देखिएन । प्रयोगात्मक सामग्री नै नपाउने अर्का विद्यार्थी दत्तसिंह बुढाले बताए । 


‘क्याम्पसमा जे मागे पनि बजेट छैन मात्र भनेर पन्छाउँछन्,’ दत्त सिंहले भने, ‘वैज्ञानिक बनौं भनेर आएको यो पाराले कसरी वैज्ञानिक हुन सकिएला र !’ 


सन् १९६२ मा अमृतप्रसाद प्रधानले पब्लिक साइन्स क्याम्पसको रूपमा स्थापना गरेको कलेज सरकारीकरण भएर अमृत साइन्स क्याम्पस बनेको हो । यसलाई अमृत साइन्सभन्दा पनि अस्कल नामले बढी चिनिन्छ । वैज्ञानिक, डाक्टर इन्जिनियरजस्ता जनशक्ति उत्पादनका लागि खोलिएको क्याम्पसमा पढेका धेरै अहिले नीति निर्माणतहमा पुगेका छन् । विद्यार्थी उभो लाग्दै गए, क्याम्पसको हालत भने खस्कँदै गयो । 


क्याम्पसका कर्मचारी विश्वराम बिजुक्छेले भने, ‘क्याम्पस प्रशासनले राम्रोसँग काम गर्दैन, काममा जवाफदेहिता छैन, जताततै सेटिङ मिलाएको सुनिन्छ ।’


क्याम्पस प्रमुखले राम्रो काम गर्न खोज्दा विद्यार्थी नेताले भाँजो हाल्ने गरेको उनले अनुभव सुनाए । 
उपप्राध्यापक तथा होस्टल वार्डेन उमाकान्त लाल कर्ण त्रिभुवन विश्वविद्यालयमा जरो गाडेको भ्रष्टाचार यस क्याम्पसमा पनि आइसकेको बताए । लेखापरीक्षक र कर्मचारी मिलेर बदमासी गर्ने गरेको उनको ठम्याइ छ ।
‘राम्रो काम गर्न खोजे कर्मचारी, विद्यार्थीले भाग खोज्छन्, उनीहरूलाई नदिए जागिर जाने डर अनि क्याम्पस प्रमुखले के गर्नु ?’ उनले भने ।


होस्टल नै असुरक्षित 
करिब ३ रोपनी जग्गामा फैलिएको अस्कलको होस्टलको अवस्था हेर्न भित्रसम्म पुग्नै पर्दैन । पहिलो गेटको छेउमा वर्षाैंदेखिको जीर्ण भवन डरलाग्दो भूतझै ठडिएको छ ।


होस्टल वार्डेन कर्णका अनुसार यो होस्टल सुरक्षित छैन । भवन ५० वर्षअगाडि बनेको हो । विद्यार्थी आन्दोलन हुँदा उनीहरुको आधा रिस यही भवनमा झ्याल ढोकाले भोग्नुपर्छ । 


‘वर्षै पिच्छे बनाउँदै गयो । जुन संगठनका विद्यार्थीलाई रिस उठे पनि, झडप भए पनि, भवन तोडफोड गर्ने गलत प्रवृत्तिका कारण सरकारी क्याम्पस जीर्ण बने,’ उनले भने, ‘होस्टलको शौचालय मर्मत गर्न बजेट माग्दा अहिलेसम्म पाइएको छैन ।’


भुकम्पमा भत्किएको पर्खाल नबनाउँदा जो पनि सहजै होस्टलको भवनमा आउजाउ गर्नसक्ने भएपछि होस्टल गाँजा खाने अखडा बनेको कर्णले बताए । ‘विद्यार्थी नै कताबाट गाँजा ल्याउँछन्, खान्छन्, पुलिस प्रशासनलाई रिपोर्ट गर्न गयो । पुलिस आउँछन् र तिनै गाँजा खाने विद्यार्थीसँग उल्टै हात मिलाउँछन् ।’ 

 

यही तालले कस्ता वैज्ञानिक उत्पादन होलान् 

 

दत्तसिंह बुढा, विद्यार्थी 

क्याम्पसमा पहिले भन्दा अहिले अलि कम राजनीति हुन्छ । पढाइ त्यति नराम्रो त होइन तर सन्तुष्ट हुने खालको छैन । विद्यार्थी संख्याअनुसार शैक्षिक सामग्री उपलब्ध छैनन् । भएका पनि पुराना, टुटेफुटेका छन् । प्रयोगात्मक अभ्यासमा जुन नतिजा आउनुपर्ने हो त्यो आउँदैन । बस्ने ठाउँ पनि गतिलो छैन, पुस्तकालयको त कुरै छाडौं महँगा किताब किन्नलाई गाह्रो पर्छ । 


अस्कल क्याम्पसमा पढेका अधिकांश विद्यार्थी अहिले ठूला–ठूला ओहदामा पुगेका छन् । झलनाथ खनाल र  बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला १ करोड त आएको थियो तर केके विवाद नमिलेर खर्च भएन’छ । हामी प्रविधिमा पोख्त विश्वका जुनसुकै क्याम्पसमा पढेकासँग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्ने हो तर पास गरेर हातमा सर्टिफिकेट थापेर बस्नेबाहेक केही काम होलाजस्तो लाग्दैन । क्याम्पसमा पनि भ्रष्टाचार व्याप्त छ । जे माग गरे पनि बजेट अभाव देखाइन्छ । यही ताल हो भने भविष्यमा कस्ता वैज्ञानिक उत्पादन हुने हुन् ? राज्यले समयमै सोचोस् भन्ने लाग्छ । 

 

Leave A Comment