मेनुका पौडेलको प्रिय १० सुर

सोमबार, १५ माघ २०७४, १२ : २७ भोला अधिकारी
मेनुका पौडेलको प्रिय १० सुर

लोकप्रिय रियालिटी सो नेपाल आइडलको उत्कृष्ट ११ मा पुगेर दर्शकस्रोताको मन जितेकी गायिका हुन्, मेनुका पौडेल । उनले आफूलाई प्रिय लाग्ने आफ्ना पाँच र अरुका पाँच गीत शुक्रबार साप्ताहिकलाई यसरी बताइन् ।


आफ्ना पाँच

कहिले घाम थियो
यो गीतमा मलाई गाउन सरल भावको थियो । मन पर्ने शब्द अनि संगीत संयोजन पनि राम्रो । नेपाल आइडलबाट बाहिरिएपछि यो गीत रेकर्डिङ गर्ने अवसर प्राप्त भयो । यस गीतकी लेखिका पुष्पा केसी भण्डारी हुनुहुन्छ । खेम विश्वकर्माले यसलाई संगीत भर्नुभएको हो । त्यसैले पनि यो गीत मलाई सधैँ प्रिय लाग्छ  ।

मैले हेर्ने तारा
यस गीतमा एउटा भाव पोखिएको छ । मायालुपनको आभास गराउँछ । मनले हेर्ने ताराका कुराहरु समेटिएको छ  । सन्तोष देउजा ठकुरीले मन छुने शब्द कोर्नु भएको छ । यस गीतका संगीतकार विकास पाण्डे हुनुहुन्छ । यो गीत गाउँदा छुट्टै आनन्द लाग्छ । अहिले स्टेजमा पनि यो गीत गाउने गरेकी छु । स्रोतादर्शकले मन पराइदिनु भएको पनि छ  ।


जुन टीका लगाएर
एउटा प्रेमी–प्रेमिकाको कुरा गीतले गरेको छ । यो गीतमा शब्द संगीतको संयोजन अति मन पर्छ । यो गीतमा शब्द रचना गोविन्द फुयालको रहेको छ । त्यस्तै यो गीतको संगीत वसन्त सापकोटाले गर्नुभएको छ । अहिलेका चर्चित संगीतकार वसन्त सापकोटाको संगीतमा गीत गाउन पाउँदा अत्यन्त खुसी छु । त्यसैले पनि यो मेरालागि यो गीत प्रिय छ  ।


तराईको चारकोसै झाडी
देशभक्तिले ओतप्रोत भएको गीत हो यो । पहिलो पटक मेरो आवाजमा देशभक्तिको गीत गाउँदा पाउँदा हर्षित हुने नै भए । यो गीतले देशको तराईको कुरा गरेको छ । म पनि झापा तराईकै छोरी हुँ, मैले गाएको यो गीतमा तराई आएकाले पनि यो गीत मन परेको हो । यसका गीतकार ईश्वर श्रेष्ठ हुनुहुन्छ भने संगीत दीपक शर्माको रहेको छ ।


तराईमा धान झुल्दा
यो पनि देशभक्तिले ओतप्रोत गीत नै हो । तराईमा धान झुलेको बेलाजस्तो सुन्दर देखिन्छ । यस्तै कुरा गीतले गरेको छ । यो गीत सुन्दा जो कोहीलाई तराई पुगेको आभास गराउँछ । केशव पौडेलको शब्द रचना अनि श्रीकृष्ण बम मल्लको संगीत रहेको छ । यो गीतको मेलोडी मिठास लाग्छ ।

अरुका पाँच

हजार सपनाहरुको माया लागेर आउँछ
भक्तराज आचार्यको स्वर र संगीत रहेको गीत हो । यो गीत सानोमा रेडियोमा बज्दा एकदमै मन पथ्र्यो । आफूले संघर्ष गरेका दिनहरुको पीडा सम्झँदा माया लाग्नु स्वाभाविक हो । मैले नेपाल आइडलमा आउनुअगाडि रेडियो नेपालमा गीत गाउँदा गरेको संघर्षका कुराहरु मलाई अहिले झलझली याद आउँछ । विगत सम्झिन मन लागे यो गीत सुन्ने र गुन्गुनाउने गर्छु । यस गीतलाई ईश्वर बल्लभले लेख्नु भएको हो ।  

मन बिना बाँच्न
संगीता रानाको स्वरमा रहेको यो गीत मैले नेपाल आइडलमा गाएकी थिएँ । यो गीत गाएर नै  म अगाडि आएकी हुँ । यो गीत मन परेर नै मैले छानेको हो । उहाँको त्यो गाउने कला मलाई एकदमै मन पर्छ ।  सुवासचन्द्र ढुङ्गेलले यो गीतलाई लेख्नु भएको हो भने संगीत एबिडको रहेको छ  ।

दुइटा फूल देउरालीमा सँगै राखौँजस्तो लाग्छ
स्वरसम्राट नारायण गोपालले गाउनु भएको गीत हो । यस गीतमा आफ्नी प्रेमिकासँग देउरालीमा फूल चढाएको कुरा गरिएको छ । सुमधुर आवाजमा रहेको यो गीत एकान्तमा सुन्दा अत्यन्तै भावुक बनाउँछ । यो गीत मलाई मात्र नभएर सुन्ने हरेकलाई मन पर्छ होला । सदाबहार रहेको यस गीतका रचनाकार ईश्वर बल्लभ हुनुहुन्छ ।


अलिअलि भन्दाभन्दै
यो जगदीश समालले गाउनु भएको गीत हो । उहाँको स्वरमा यो गीत एकदमै राम्रो लाग्छ । म यो गीत बेलाबखत गुन्गुनाउने गर्छु । यसका रचनाकार उत्तम भौकाजी हुनुहुन्छ । गीतलाई सत्यस्वरुपले संगीत गर्नु भएको हो । यो गीतमा म आफूले गाउँदा पनि छुट्टै मिठास पाउँछु ।


कति माया लाग्छ
यो कुन्ती मोक्तान दिदीले गाउनु भएको गीत हो । लोक स्वादमा रहेको गीतमा आमाले दिएको जुनसुकै कुरा पनि चीज हुुन्छ भन्न खोजिएको छ । शीलाबहादुर मोक्तानको संगीत रहेको यो गीतमा बुद्धवीर लामाको शब्द रचना छ  । यो गीत हरेक स्कुलका कार्यक्रममा बज्ने गर्छ । सदाबहार गीत भएर पनि होला, जति सुने पनि अल्छी लाग्दैन ।  

 

Leave A Comment