‘मलाई एक्टर्सहरूमा त्यति ट्रस्ट लाग्दैन’

आइतबार, १४ माघ २०७४, ०२ : २० अनिल यादव
‘मलाई एक्टर्सहरूमा त्यति ट्रस्ट लाग्दैन’

एक भारतीय अनलाइनले ‘सन्नी लियोनभन्दा हट’ भनेर लेखेपछि नेपाली अभिनेत्री अदिती बुढाथोकी चर्चामा आइन् । केही पञ्जाबी म्युजिक भिडियोमा समेत काम गरेकी र तेलुगु भाषाको भारतीय फिल्ममा अनुबन्धित भइसकेकी उनी ‘कृ’ मार्फत नेपाली फिल्ममा डेब्यु हुँदैछिन् । आइतबार काठमाडौं हात्तीसारस्थित सोसाइटी लाउन्जको कफी सपमा आमासँग हतारिँदै आइपुगेकी अदिती कुराकानीको सुरुवातमै भन्दै थिइन्, ‘कम बोल्ने मेरो सानैदेखिको स्वभाव हो’ तर उनी शुक्रबारकर्मी अनिल यादवसँग एक घण्टा खुलेर गफिइन् :

निकै हतारमा देखिनुहुन्छ नि ?
फिल्मको प्रमोसनमा कुद्नुपरेको छ, डबिङ पनि चलिरहेको छ । मिडियाले पनि खोज्छ । यसले व्यस्त बनायो ।

स्वभाव त कम बोल्ने छ भन्नुभयो, कुरा गर्न गाह्रो हुन्छ कि क्या हो !
मलाई कमै बोल्न मन लाग्छ । यो पहिल्यैदेखिको बानी हो । इन्टरभ्यूमा बोल्छु । गाह्रो पर्दैन ।

ग्ल्यामर इन्डस्ट्रीमा त बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्छन् नि ?
मलाई त्यस्तो लाग्दैन । बिक्ने भनेको ट्यालेन्ट हो । काम राम्रो छैन तर मिडियामा बोलेको बोल्यै गरेर केही हुन्छजस्तो लाग्दैन ।

केही दिनअघि तपाईंले ‘मिट एन्ड ग्रिट’ भनेर बेग्लै पत्रकार सम्मेलन गर्नुभयो । फिल्म रिलिजको पूर्वसन्ध्यामा नेपालमा यसरी हिरोइनले बेग्लै सम्मेलन गरेको सम्भवतः पहिलोपल्ट होला । किन गर्नुप¥यो यस्तो ?
ए हो र ! खासमा म बिजी पनि थिएँ । इन्टरभ्यू दिन पाइरहेकी थिइनँ । मिडियामा चिनजान पनि हुन सकेको थिएन । मामुले पनि एकपल्ट प्रेस मिट गरेर सबैसँग भेटघाट÷चिनजान गर् भन्नुभयो । खासमा त्यो प्रेस मिट अभिभावकको चाहनामा भएको हो ।

तपाईंको ममीका अनुसार ‘कृ’को सुटिङका बेला धेरैले तपाईंलाई इन्डियन भनेर ‘कन्फ्यूज्ड’ भए रे ! यो सबै कुरा क्लियर गर्न पनि प्रेस मिटको आइडिया फुरेको हो कि ?
त्यही कारण मात्र त होइन तर त्यो पनि हो । सुटिङमा कति जना योङस्टर केटाले पनि तपाईं इन्डियन हो भनेर मलाई सोधेका थिए । ‘होइन म नेपाली हो’ भन्दै नेपालीमा कुरा गरेपछि उनीहरू छक्क परेका थिए । प्रेसमिट गर्नुको अर्को कारण पनि छ । ‘कृ’को प्रेसमिटका बेला म मिडियासामु देखापर्दा त्यहाँ मलाई एउटा प्रश्न मात्र गरिएको थियो । राम्रोसँग मिडियामा ‘इन्टरएक्ट’ गर्न पाएको थिएन । गीतको सुटिङका लागि चाँडै स्कटल्यान्ड जानुछ, फर्किनेबित्तिकै प्रिमियर हुन्छ । पछि प्रमोसनका लागि त्यति टाइम नहुने भएकाले अहिले नै गरिहालेको ।

अनमोल उपस्थित भएको प्रेसमिटमा उहाँलाई मात्र बढी प्रश्न तेर्सिएपछि तपाईंले आफू छायाँमा परेको महसुस गरेर पो त्यो पर्सनल प्रेसमिट गरेको कि ?

अनमोलको यो ‘मोस्ट अवेटेड मुभी’ हो । धेरै अन्तरपछि उनले यो मुभी गरेकाले अडियन्समा एकखालको क्युरियोसिटी छ । तर मैले आफू छायाँमा परेको महसुस गरेको भने छैन । फिल्म युनिटका तर्फबाट त म पनि इन्टरभ्युहरू दिइरहेकै छु ।


अनमोलसँग तपाईंको जोडी सुहाएन भन्ने सुनिएको थियो नि ?
युट्युबमा त कस्ता–कस्ता मान्छेले कमेन्ट गर्छन्, त्यो सबैलाई थाहा भएकै कुरा हो । इन्स्टाग्राममा रहेका मेरा र अनमोलका फ्यानका कमेन्ट त राम्रै छ । अर्को कुरा अनमोलका फ्यानहरूले उसलाई १५–१६ वर्षको बच्चा जस्तो सोच्छ अनि को–एक्टर पनि त्यस्तै हुनुपर्छ भन्ने कल्पना गर्छ । तर त्यसरी हेर्नु ठीक हो जस्तो लाग्दैन । अहिले ट्रेलर मात्र आएको छ । फिल्म हेरेपछि जज गर्दा राम्रो होला ।

ग्ल्यामर इन्डस्ट्री आउनु तपाईंका लागि संयोग हो कि सानैदेखिको तयारी ?
स्क्रिनमा देखिने मन त पहिल्यैदेखि थियो । ब्याचलर गर्दागर्दै म्यागजिनहरूबाट फोटोसुटको अफर आउन थाल्यो । पहिलोपल्ट नभ्यता म्यागजिनको कभरसुट गरेपछि मेरो करिअर सुरु भएको हो । त्यसपछि केही ¥याम्प सो र क्याम्पेनहरू गरेँ । अनि मुम्बईको मोडलिङ एजेन्सीसँग एसोसिएट भएँ ।

मुम्बईको मोडलिङ एजेन्सीसँग चाहिँ कसरी जोडिनुभयो ?
मेरो कजन दिदीको साथी मेजोरा भन्ने मोडलिङ एजेन्सीमा म्यानेजरका रूपमा काम गर्नुहुन्थ्यो । दिदी नेपाल घुम्न आएका बेला उहाँले मलाई त्यहाँ काम गर्न प्रिफर गर्नुभयो । तीन महिना त्यहाँ काम गरँे । त्यसपछि तोहाब मोडलिङ एजेन्सीले एकैचोटी पाँच वर्षका लागि अग्रिमेन्ट ग¥यो । अहिले त्यसमै छु ।

नेपालमा त त्यस्तो खासै काम गर्नुभएको थिएन । भारतको मोडलिङ एजेन्सी के कारण तपाईंप्रति लोभिएको रहेछ ?
इन्डियामा टिपिकल लुक्स भएका मोडल मनपराइँदो रहेछ । डिफरेन्ट फिचर्स र लुक्स खोज्नुहुँदो रहेछ, सायद ममा त्यही पाउनुभयो कि !

पञ्जाबी म्युजिक भिडियोमा पनि काम गर्नुभएको छ, कसरी अफर आयो ?
त्यहाँ जति पनि म्युजिक भिडियो र क्याम्पेन्सहरू गरेँ त्यो सबै एजेन्सीमार्फत नै हो । एक्लै त त्यहाँ धेरै गाह्रो हुन्छ । सबै म्यानेजरले ह्यान्डल गर्ने हो । हामी त एकैचोटी सुटमा गएर काम गर्ने हो ।


मुम्बई पुगिसकेपछि बलिउडबाट डेब्यु हुन छाडेर नेपाली फिल्मबाट किन ?
म नेपाली हो, पहिलो प्राथमिकता नेपाललाई दिनुप¥यो नि ! फेरि मम÷ड्याडको इच्छा पनि नेपालीबाटै सुरु गरोस् भन्ने थियो ।

तपाईंले अनमोलसँग ‘कृ’ खेल्न पनि एकैपल्टमा तयार भएको होइन भन्ने सुनिएको थियो, के हो खास कुरो ?
हो, फस्टमा आउँदा गर्छु भन्ने सोचेकी थिइनँ । पछि २–३ पल्ट मिटिङ भइसकेपछि स्क्रिप्ट मन परेर खेल्न तयार भएकी हुँ । खासमा यो फिल्ममा मुख्य भूमिका केटीकै छ । त्यसैले पनि गर्न मन लागेको हो ।

‘कृ’भन्दा अघि पनि थुप्रै मुभी रिजेक्ट गर्नुभएछ । अनमोलकै ‘ड्रिम्स’ पनि खेल्नुभएन, किन नि ?
सिधै मसँग फिल्मको अफर आउँदैनथ्यो । सबैलाई नम्बर सेयर गर्दिनँ । त्यसले मसँग टच हुन नै गाह्रो थियो । फेसबुक पनि कम चलाउँछु । मलाई थाहा भएसम्म आफन्तमार्फत पाँचवटा फिल्मको अफर आएको थियो, जुन मैले रिजेक्ट गरेँ । त्यो बेला म पढिरहेको थिएँ । ममा एक्टिङ गर्छु भन्ने इनर्जी पनि जागेको थिएन । मुम्बई पुगेपछि मात्र गर्न सक्छु भन्ने फिलिङ जागेको हो ।

बलिउड फिल्ममा पनि ट्राई त गर्नुभयो होला ?
आफू परफेक्ट भएर मात्र अडिसन दिन्छु भनेर धेरै अडिसनमा गइनँ । २ वटामा मात्र अडिसन दिएँ । धर्मा प्रोडक्सनको ठूलै फिल्ममा पनि अडिसन दिएँ । एउटा फिल्मको अडिसनमा मलाई मनपराउनु भएको पनि हो तर मलाई सुट हुने क्यारेक्टर नभएर गरिनँ ।

त्यो ठूलो फिल्म कुन रहेछ, नाम भन्न मिल्छ ?
होस्, नभनौं । अहिले मेरो साथीले नै त्यहाँ काम गरिरा’को छ । फेरि नेपाली मिडिया त्यही त हो नि, न्युज आइहाल्छ ।

निकै डर लाग्छ हो नेपाली मिडियादेखि ?
त्यस्तो डर होइन, अलिअलि चाहिँ लाग्छ । हेडलाइन्स के राख्दिनु हुन्छ–हुन्छ । कुनै–कुनै त फन्नी पनि हुन्छ तर कुनै–कुनै ‘हे भगवान् के राख्या होला’ भन्ने टाइपको हुन्छ ।

हेडलाइनकै कुरा आउँदा झट्ट सम्झना आयो– केही समयअघि एक भारतीय अनलाइनले तपाईंलाई सन्नी लियोनभन्दा हट भनेर तुलना गरेपछि तपाईंले असन्तुष्टि जनाउनुभएको थियो है ?
 
भारतकै अनलाइनमा मेरो नाम ‘ब्युटिफुल गल्र्स फ्रम इन्डिया’ भनेर पनि आ’को थियो तर त्यसको कुनै चर्चा भएन । हट कुरा चर्चामा आउनै नहुने, चर्चा भइहाल्ने रहेछ ।


त्यसरी न्युज आउँदा तपाईंलाई कस्तो फिल भएको थियो ?
मिडिया फिल्डमा भएपछि यस्तो न्युज आउनु स्वाभाविक हो । मलाई त केही बिग डिल नै लाग्दैन ।

अब अलिकति फिल्मको कुरा गरौं, ‘कृ’ मा ठ्याक्कै तपाईंको भूमिका चाहिँ के हो ?
बोल्ड, फन अनि बब्ली क्यारेक्टर छ । धेरै त अहिले खोल्न मिल्दैन । कथा सस्पेन्स नै छ ।

यो फिल्ममा काम गर्नुअघि तपाईं अनमोललाई कसरी चिन्नुहुन्थ्यो ? नेपालको स्टार भन्ने त थाहा थियो होला नि ?
उसलाई भेटेको त थिइनँ । नेपालको एक्टर भन्ने चाहिँ थाहा थियो । पहिला १–२ वटा फिल्म खेल्दासम्म ऊ सुपरस्टारजस्तो लाग्दैनथ्यो । अहिले चाहिँ हो ।

तपाईंले अहिलेसम्म दिएका इन्टरभ्युमा जताततै अनमोलको प्रशंसा मात्रै गर्नुभयो, यो इन्टरभ्यूमा चाहिँ उसको कुरा काटौँ न, हुन्न ?

नेगेटिभ नै त उसको केही पनि छैन । हामी दुवै सुट गथ्र्यौं अनि आ–आफ्नो रुममा जान्थ्यांै । कहिलेकाहीँ कुरा हुँदा पनि उसले मलाई त्यस्तो रिस उठाको, मेरा लागि हानि पु¥याएको केही पनि छैन । अब के भन्ने–भन्ने ! अब त्यसलाई नै केही गर, मलाई रिस उठाऊ अनि मिडियालाई पोल लगाउँछु भन्छु भन्नुप¥यो (हाँस्दै) ।

नेपाली फिल्ममा डेब्यू हुनुअघि यो इन्डस्ट्रीबारे के सोच्नुभएको थियो र आएपछि के फरक पाउनुभयो ?

नेपाली फिल्म यति माथिल्लो लेभलमा पुगेको जस्तो लागेको थिएन । ‘कृ’मा निर्माताले फिल्म निर्माणमा कुनै कन्जुस्याइँ नगरेको देख्दा धेरै माथि पुगेको अनुभव भयो । यो फिल्ड अलिकति कन्जर्भेटिभ होला भन्ने भने लागेको थियो । स–सानो कुरा पनि अनलाइनतिर ठूलो इस्यु बनेर न्युज आएको देख्थेँ । त्यसमा भने डर लागेको थियो । केयरफुल हुनुपर्छ भन्ने त थियो ।

गसिप त हलिउड÷बलिउडमा पनि आउँछ नि ?
आउँछ तर यहाँ सानो कुरा पनि ठूलो भएर आउने क्या !

त्यो मामिलामा त नेपाली मिडियाभन्दा हलिउड÷बलिउडका अगाडि छन् नि । सेलिब्रेटीका अत्यन्तै निजी कुरामाथि पनि गसिप आइरहेको हुन्छ त्यहाँ । होइन र ?
निजी कुरामा... हो र ? ...मलाई त यहाँ झन् धेरै आउँछ भन्ने लाग्छ । गसिप लेख्ने मामिलामा यहाँका पत्रकार पनि फरवार्ड नै छन् ।

थोरै प्रेमको कुरा गरौं न त, अफेयरमा हुनुहुन्छ कि ?
अहिले सिंगल नै छु । टाइम नै पाको छैन, कहाँ डेटमा जानु ? (हाँस्दै)

भर्खरै एउटा युट्युब इन्टरभ्यूमा अनमोलले तपाईंका बारेमा ‘एक्ली छोरी हो, पाए त गरिन्छ नि’ भन्नेखालको प्रतिक्रिया दिनुभएछ । आर यु पोजिटिभ विथ हिम ?

हि इज अ गुड ब्वाई तर वि आर जस्ट फ्रेन्ड्स । हामी दुईजनै अहिले करिअरमा फोकस्ड छौं । ऊ पनि योङ छ, म पनि योङ छु । त्यस्तो केही सोचेको छैन (हास्ँदै) ।

साथीभन्दा माथि पुग्ने सम्भावना छ कि छैन ?
(हाँस्दै)... पछि त के हुन्छ, कसलाई के थाहा ?

धेरै युवती उनको फ्यान छन् । धेरैले नजर लगाएको केटासँग काम गर्नुभयो, यसो आफँै चान्स मारौं भन्ने लागेन ?
छ्या... । मलाई त्यस्तो हुँदैन कोहीसँग पनि । म त्यस्तो खालको केटी नै होइन । मलाई एकदम अल्छी लाग्छ चान्स मार्ने कुरामा । केटाहरूलाई एकदमै नोटिस्ड गर्ने, एक्टर भन्नेबित्तिकै फेसिनेटिङ हुने टाइपको मान्छे होइन म । मलाई म जुन प्रोफेसनमा छु त्यही प्रोफेसनको केटा डेट गर्न मन पनि छैन ।

किन नि ?
डिरेक्ट्ली भन्नुपर्दा मलाई एक्टर्सहरूमा त्यति ट्रस्ट लाग्दैन क्या ...(त्यसपछि उनी जोडले हाँसिन्) ।

 

Leave A Comment