मनाङेलाई सर्वोच्चको सरप्राइज

शुक्रबार, १२ माघ २०७४, ०२ : ०७ शुक्रवार
मनाङेलाई सर्वोच्चको सरप्राइज

कानुन पालना गराउने प्रहरी र सुरक्षा तथा कानुनका सञ्चारकर्मीका लागि २०७४ माघ २ सरप्राइज बोकेर आयो । यो सरप्राइज काठमाडौंका चल्तीका दुई गुण्डा नाइकेका लागि समेत सरप्राइज नै थियो । एक थिए दीपक मनाङे, अर्का चक्रे मिलन ।

सरप्राइजकर्ता बन्यो सर्वोच्च अदालत । जसको सरप्राइजले प्रदेश सांसद दीपक गुरुङ उर्फ मनाङे एकाएक गुण्डा नाइकेकै हैसियतमा फर्किए । जसको प्रभाव तत्काल देखियो । प्रदेश नम्बर ४ को संसद् भवन जाने उनको बाटो बीचैमा मोडियो । प्रदेश सांसदको परिचय अपराधीमा बदलियो । प्रदेशका सबै सांसद सपथ खाएर कार्यभार सम्हाल्ने तयारी गरिरहँदा उनी भने भूमिगत हुनुपरेको छ ।

उनको बाटो मोड्ने घटना घटेको थियो, २०६१ मा । त्यसबेला उनी काठमाडौंमा प्रभाव जमाउँदै थिए । चक्रपथमा रहेर प्रभाव विस्तारमा लागेका चक्रे मिलनसँगको दुस्मनी भिडन्तमा बद्लिँदा उनी हत्या प्रयासको अभियुक्त बन्न पुगे ।

उनले तात्कालीन प्रतिस्पर्धी मिलन गुरुङ उर्फ चक्रे मिलनलाई खुँडा प्रहार गरेका थिए । उनले गरेको हत्या प्रयासलाई १० वर्षअघि नै अदालतले दोषी प्रमाणित गरिसकेको थियो । तर प्रहरी प्रशासनसँग सेटिङ गर्दै उनी निर्दोषझैँ खुल्लमखुल्ला हिँडिरहेका थिए । त्यही पुरानो फैसला सर्वोच्चले माघ २ मा सतहमा ल्याइदियो ।

बाटो मोडाउने त्यो घटना

२०७४ माघमा जुन सजायको पोल खुल्यो, त्यो रोपिएको थियो २०६१ वैशाख ३१ मा । पछिल्लो समय चक्रे मिलन र दीपक मनाङेले एकै प्रहरी हिरासतमा बास बसे पनि त्यो यी दुवै एकअर्काको कट्टर दुस्मन थिए ।

जहाँ भेट भयो त्यहीँ एकअर्काको हत्या गर्नसमेत उनीहरु पछि नपर्ने अवस्था थियो । पानीपोखरीकोे चुफाङ रेस्टुरेन्टमा साथीहरुसँग बसेको मौका छोपेर होटल छिरेका हेलमेटधारी एक हुल केटाहरुको आक्रमणमा पर्दा चक्रे गम्भीर घाइते भए । उनको देब्रे हात नै छिनालियो । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारपछि उनको हात जोडियो ।

मनाङेसँगै तात्कालीन टोलेगुण्डा रेवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामाविरुद्ध उजुरी प¥यो र २०६१ चैत १८ मा मनाङे पक्राउ परे । उनी दोषी ठहर पनि भए तर हत्या प्रयासमा नभई कुटपिटमा । काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार उनी २ वर्ष कैद बसेर २०६३ माघ २८ मा मुक्त भए । त्यसयता उनी यो मुद्दामा जोडिएनन् । उनले मुद्दा सकिएको बताइरहे र सरोकारवाला निकायले पत्याइरहे ।

तर, यो सब भ्रम रहेको त्यतिबेला खुल्यो जब जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन अदालतमा तात्कालीन जिल्ला सरकारी वकिलको कार्यालयले हालेको पुनरावेदन निवेदनका आधारमा जिल्लाको फैसला उल्टिएर २०६४ मा मनाङेविरुद्ध हत्या प्रयासमा ५ वर्ष कैद सजाय सुनाइएको थियो । उनका सहयोगीले सफाइ पाएको सो मुद्दामा उनी दोषी ठहर भएको तथ्य गुपचुप रह्यो । उनी यस विषयमा मौन बसे भने अदालत र प्रहरीसमेत गुपचुप रहे ।

उनका सहयोगीलाई सफाइ दिने पुनरावेदनको फैसलाविरुद्ध सर्वोच्चमा पुगेको निवेदनमाथि फैसला गर्दै जिल्लाकै फैसला सदर गर्ने माघ ४ मा आएको सर्वोच्चको फैसलाले उनको पोल खुलाएको हो ।

अचम्म के भने, सर्वोच्चले मनाङेबारे केही बोलेको थिएन । गणेश लामासहित चार जनाबारे मात्र बोलेको थियो । सो मुद्दामा मनाङेसमेत जोडिएको गाइगुइँसँगै खोज्दा उनी सोही मुद्दामा तीन वर्ष अझै जेल बस्नुपर्ने दोषी रहेको खुल्यो ।

छक्क पार्ने सेटिङ

मनाङे दोषी ठहर भए पनि उनको खोजी भने माघ ७ बाट मात्रै सुरु भयो । सर्वोच्चको फैसलासँगै मनाङेको पोल खुलेपछि मात्रै काठमाडौं जिल्ला अदालतले तात्कालीन पुनरावेदन अदालतको फैसला अनुसारको लगत माघ ७ मा कसेपछि प्रहरी उनको खोजीमा जुटेको थियो । यसपछि मात्र मनाङे कानुनी रुपमा फरार दोषीमा दर्ज भए ।

अदालतको प्रशासन र प्रहरीको पोल खुलेपछि बल्ल केन्द्रदेखि जिल्ला तहका प्रहरी मनाङेको खोजीमा खटियो । मनाङेलाई पहिला कसले पक्राउ गर्ने अहिले प्रतिस्पर्धा चलेको छ, प्रहरीमाझ ।

मनाङेबारे बुझ्दा उनी हत्या प्रयासको मुद्दामा कैद सजाय काट्न बाँकी दोषी रहेको अदालतबाट जानकारी पाएपछि खोजी सुरु गरेका छौं, मनाङेको खोजीमा खटिएको सिआइबीका प्रमुख डिआइजी पुष्कर कार्कीले भने ।

१० वर्षसम्म मनाङेको वास्तविकता लुक्नु संयोग देखिदैन । पुनरावेदनमा फैसलाबारे जानकारी दिन जिल्लाको नाममा पत्र काटेको देखिनु तर जिल्लामा त्यसको लगत नचढ्नु अनि प्रहरीले मनाङेको मुद्दाबारे चासो नराख्नु संयोग हैन, सेटिङ हो भन्ने घटनाक्रमले नै देखाउँछ ।

चार सरप्राइज जो काम लागेनन्

२०७४ को उनको पहिलो सरप्राइज थियो, सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा कालो भनिएको उनको १३ करोड सम्पत्ति विशेषको फैसलाबाट सेतो हुनु ।

विभाग र ब्युरोले चक्रे मिलन, गणेश लामा, अभिषेक गिरी, पर्शुराम बस्नेतसँगै मनाङेको सम्पत्तिको स्रोतको अनुसन्धान गरेर खुलेको १३ करोडको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको थियो । अन्यको मुद्दा विचाराधीन नै हुँदा उनले सफाइ पाएका थिए ।

विशेषको सफाइसँगै दोस्रो सरप्राइज आयो, उनको एमाले यात्रा । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस र थरुहटहुँदै राप्रपामै फर्किएका उनलाई एमालेले एकाएक स्वागत ग¥यो प्रदेश सभा निर्वाचन अगाडि ।

राप्रपाबाट मनाङ जिल्ला अध्यक्ष भएका उनी दलबलसहित एमाले प्रवेश गरे । एमालेले उनलाई सदस्यमा मात्रै खुम्च्याउन चाहेन । प्रदेश सांसद बनाउने तयारी ग¥यो । एमालेले तेस्रो सरप्राइज दियोे मनाङ प्रदेश (ख) बाट उम्मेदवार सिफारिस गरेर ।

गुण्डाको न्यानो स्वागत भन्दै आलोचना बढेपछि टिकट खण्डा लामाको हातमा पुगे पनि अन्त्यमा एमालेले आधिकारिक उम्मेदवारको उम्मेदवारी फिर्ता गराएर स्वतन्त्र उम्मेदवार बनेका मनाङेलाई साथ दियो । मनाङका मतदाताले जिताइदिएर माननीय बनाइदिए ।

तर जीवन एकै रेखामा मात्र कहाँ हिड्छ र ? माननीयको प्रमाणपत्र पाएसँगै मनाङेको यात्राले वक्र रेखा समात्यो । सर्वोच्चको सरप्राइजले माननीयबाट पुरानै पहिचानमा फर्कायो गुण्डा नाइके ।

राजनीतिक यात्रा

०४७ देखि ०६८ :कहिले राप्रपा कहिले कांग्रेस

०६८ :संघीय समाजवादी पार्टी प्रवेश

०७३ पुस २८ :राप्रपा प्रवेश

०७४ असोज :एमालेमा प्रवेश

०७४ कात्तिक :स्वतन्त्र उम्मेदवार

०७४ मंसिर :एमालेको साथले प्रदेश सभा निर्वाचित

आपराधिक यात्रा

०५९ भदौ :धनमाल डाका मुद्दा

०६० पुस :सार्वजनिक अपराध

०६० चैत :सार्वजनिक अपराध

२०६१ वैशाख :खुकुरी हानेर हत्या प्रयास

०६३ फागुन :गोली हानेर हत्या प्रयास

०६५ माघ :कुटपिटमा एक वर्ष कैद

०६८ जेठ :कुटपिट

०६९ चैत :ठगी

०७० जेठ ५ :अवैध सम्पत्ति

०७३ असार :संगठित अपराध

०७४ वैशाख :सार्वजनिक अपराध

टिप्पणी

मनाङेलाई नेता र प्रहरीले बलियो बनाए

जगतमान श्रेष्ठ

पूर्व प्रहरी उपरिक्षक

मनाङे ठमेल धोबीचौर क्षेत्रको सामान्य गुण्डागर्दीबाट अगाडि बढेको केटा हो । केही केटाहरु लिएर झगडा गर्दै आउने उसको प्रवृत्ती देखिन्थ्यो । ऊ आफैँ कुटपिटमा उत्रिनुभन्दा आफ्ना केटाहरु लगाउन खप्पिस देखिन्छ । उसको मसलभन्दा बढी दिमाग चल्छ ।

 

ठमेलमा मनाङ जिल्लाका धेरै बस्छन् । उसलाई मनाङकै मान्छेले पनि चलाए । मनाङ भन्नेवित्तिकै पैसा, पावरमा प्रभाव बढी देखिन्छ । मनाङवासीको तत्कालिन राजपरिवारसँग पनि राम्रै टच हुन्थ्यो । यसले दिपकलाई सजिलै पैसा र पावरमा लिंक गराएको देखिन्छ ।

चक्रे मिलनको पृष्ठभूमि पहिल्यैदेखि बदमास देखिन्छ तर मनाङे बुझ्ने भएपछि मात्र बदमास भएको देखिन्छ । केटाहरु भेला पार्ने, खुवाउने, पिलाउने, खर्च दिने उसको प्रवृत्ती देखिन्छ । यसले उसलाई ठमेल क्षेत्रमा प्रभाव बढाउन सजिलो बनायो । काठमाडौंका अन्य गुण्डाहरु कोही ढुंगाखानीतिर लागे कोही बालुवाखानी ठेक्कापट्टामा । सजिलै पैसा कमाउने र अरु लागिनसकेको देखेपछि मनाङे रात्रिकालीन व्यवसायमा गएको देखिन्छ ।

ठमेल उसकै क्षेत्र पनि हो । मनाङेको बसोबास पनि बाक्लै भएकाले उसलाई त्यस क्षेत्रमा प्रभाव बढाउन सजिलो भयो । अगाडि बढ्न संरक्षण पनि चाहिन्छ । टोलका प्रतिष्ठित र प्रभाव रहेको व्यक्तिको सहयोग पनि पायो । पुलिसदेखि गुन्डा डराउँछन्, गुन्डादेखि नेता, नेतादेखि पुलिस भन्नेबारे ऊ जानकार भयो । उसले आफ्नो खराब काम लुकाउन यही चेनको राम्रो उपयोग गर्यो । नेताको संरक्षणमा गयो ।

नेताको संरक्षणको आडमा केही प्रहरीको संरक्षण पनि पायो । केही प्रहरी अधिकृतले मनाङेको बदमासीमाथि आँखा नचिम्लिदिएको भए अहिलेको अवस्थामा पुग्न सक्दैनथ्यो ।

नयाँ प्रहरी आएपछि आफ्नो कार्यकालमा केही गलत काम नहोस् भनेर मनाङे जस्तालाई बोलाएर मेरो पालामा केही गरिस् भने म सिध्याउँछु भनेर थर्काउने गलत प्रवृत्ती छ । यो भनेको अरुको पालामा जे सुकै गर् भनेको जस्तै हो । यो पनि एक प्रकारको संरक्षण हो ।

अहिले पनि अप्रत्यक्ष रुपमा ठेकापट्टामा, कम्प्लेक्समा, हाउजिङमा, असुलीमा गुण्डाहरु सक्रिय देखिन्छन् । पहिलेको तुलनामा गुण्डागर्दी केही हदसम्म मत्थर भएको छ तर अहिले पनि फिरौती उठाउने काम हुन्छ । उनीहरुको अपराध कार्यविधि फेरिएको देखिन्छ । किडन्याप गर्दैनन् तर थर्काएर पैसा लिइरहेका छन् ।

पञ्चायतकालमा समेत गुण्डागर्दी नभएको हैन । बढेको २०४६ पछि हो । राजनीतिक पद्धति परिवर्तन भयो । नेतालाई सहयोगी चाहियो । टोलमा हाट्टहुट्ट गर्नसक्ने नेताका सहयोगी बने । ती नेता सत्तामा पुगेपछि ती गुन्डाले आर्थिक अवस्था बलियो बनाए । आर्थिक अवस्था बलियो भएपछि गुण्डा नेताको पछि हैन नेता गुण्डाको पछि लाग्न थाले । गुण्डा पार्टीको सदस्य बन्न थाले । कोही केन्द्रीय सदस्य भए, कोही सांसद ।

मान्छे सुध्रिन पनि सक्छ तर वास्तविक सुध्रिएको छ कि छैन भन्ने बुझ्न जरुरी छ । अहिलेको ब्याकग्राउन्ड के छ बुझ्न जरुरी छ । सुध्रिएको अवस्थामा कोही नेता बन्लान्, कोही व्यापारी तर अहिलेकै अवस्थामा मनाङे सुध्रिएको चरणमा हैन । भर्खरै सजाय काट्दैछ । दबाबमा परेर हो या प्रभावमा मनाङेलाई सांसद बनाउन दल हतारिएकै हो ।

घरको वातावरणले कस्तो व्यक्ति बनाउने भन्ने ठूलो भूमिका खेलेको हुन्छ । गुन्डा हुनलाई नेगेटिभ इम्प्रेसन हुने काम बच्चादेखि नै देखाउँदो रहेछ । केही गुन्डाको पृष्ठभूमि केलाउँदा देखिएको तथ्य हो यो ।

राज्यले चाह्यो भने यो गुन्डाराज दुई दिनमा सकिन्छ । कसैले नचाहेर होला, कसैले चाहेर गर्न नसकेको होला । यसका लागि क्राइम प्याटर्न विश्लेषणलाई राम्रोसँग प्रयोग गर्न सक्नुपर्छ ।

दीपककै कुरा गरौं । पोजिटिभ र नेगेटिभ प्रभाव केके भए, कसरी वृत्तिविकास भयो, उसलाई टोले गुण्डाबाट गुण्डा नाइके बन्नबाट रोक्न राज्यका निकायको कहाँ कमी कमजोरी भयो, यसको विश्लेषण आवश्यक छ । भोलिका दिनमा अर्को मनाङेको उत्पादन रोक्ने हो भने उनीहरुको क्राइम प्याटर्न एनालाइसिस गरेर रणनीति बनाउन आवश्यक छ । अपराध शून्य कहीँ, कहिल्यै हुन्न । नियन्त्रण गर्न सकिन्छ । यत्ति गर्ने हो भने नयाँ गुण्डा नाइकेको उत्पादन नियन्त्रण सम्भव छ ।

Leave A Comment