कवि विप्लव प्रतीकको नजरमा ‘लालपूर्जा’: निर्देशकमाथि कलाकार हावी

बिहिबार, ११ माघ २०७४, ०५ : ०९ शुक्रवार
कवि विप्लव प्रतीकको नजरमा ‘लालपूर्जा’: निर्देशकमाथि कलाकार हावी

कलाकार : सौगात मल्ल, विपिन कार्की, हरिहर शर्मा, कामेश्वर चौरसिया, मेनुका प्रधान, मिरुना मगर, कुमार नगरकोटी, कमलमणि नेपाल आदि ।
कथा : विक्रमसिंह थारु र निगम श्रेष्ठ
निर्देशक : निगम श्रेष्ठ
सिनेमेटोग्राफर : नरेन्द्र मैनाली
संगीत : जेशन कुँवर
कथा : नेपाली समाजमा देखिने जग्गा भागबण्डामा पारिवारिक विवाद ।


१. स्क्रिप्ट
हाल बनिरहेका नेपाली फिल्ममध्ये यस फिल्मको स्क्रिप्ट लेखन फरक छ । दर्शकले नयाँ किसिमको स्वाद पाएका छन् । नयाँ स्वादलाई नेपाली दर्शक पचाउँछन् वा पचाउँदैनन् भन्ने अन्योल भने देखिन्छ ।


२. प्रस्तुतीकरण :
नेपाली फिल्ममा यो किसिमको प्रस्तुति पहिलो पटक भएको हो । वास्तविक नेपाली ग्रामीण भेगको कथालाई फेन्टासीमार्फत् प्रस्तुत गरिएको छ । एक पटकमा यस फिल्ममा देखाइएको फेन्टासीको लेभललाई दर्शकले पक्कै बुझ्न सक्दैनन् ।


३. पात्र चयन :
यस फिल्मको सबैभन्दा सशक्त पक्ष पात्र छनोट लाग्यो । सौगात मल्ल, विपिन कार्की, हरिहर शर्मा, कामेश्वर चौरसिया, मेनुका प्रधान, मिरुना मगर, कुमार नगरकोटी र कमलमणि नेपालको कामले दर्शकलाई निराश बनाउँदैन । पहिलो पटक फिल्ममा देखिएकी मिरुना मगरको अभिनय तारिफयोग्य  छ । सामाजिक परिवेशमा डुबेका पात्रहरु छन् । पुराना कलाकार हरिहर शर्माको यसअघिका फिल्महरुमा प्रायः एउटै खालको भूमिका हुन्थ्यो । यसपटक भने उनी नयाँ स्वरुपमा प्रस्तुत भएका छन् । कलाकारिताका लागि यो उत्कृष्ट पक्ष हो । कलाकारले भूमिका छनोटमा निर्देशकले मिहिनेत गरेका छन् ।

४. सिनेमेटोग्राफी र लोकेसन :
सिनेमेटोग्राफर नरेन्द्र मैनालीको खिच्ने शैली पृथक् लाग्यो । उनले पर्यटकीय नगरी लमजुङलाई साँच्चिकै सुन्दर देखाएका छन् । यसबाहेक उनले दर्शकलाई ‘अब के हुन्छ’ भन्ने महसुस गराउन सफल देखिन्छन् । लोकेशन छनोट राम्रो छ । यस फिल्ममा आर्ट निर्देशन र लाइटिङको काम एकदम राम्रो छ ।


५. निर्देशकीय पक्ष :
फिल्ममा निर्देशकको काममा कलाकार हावी देखिएका छन् । पात्र छनोट, कथा र दृश्यले गर्दा निर्देशक हराएको महसुस फिल्म हेरुञ्जेल गरेँ । फिल्ममा सौगात मल्ल (तान्त्रिक) ले ‘अक्षरगञ्जमा म आफैँलाई खोज्न जाँदैछु भन्छन्’ तर फिल्म हेरुञ्जेल उनी आफैँलाई खोज्न जान तयार भएको पात्र हुन कि होइनन् भन्ने कुरा दर्शकलाई महसुस गराउन नसक्नु निर्देशकको कमजोरी हो । मुख्य पात्रलाई न्याय नगरी निर्देशक फिल्म सिध्याउन हतारिएको देखियो । यसमा ध्यान दिएको भए फिल्मले साँच्चिकै नयाँ उचाइ पाउँथ्यो ।

लेखक कुमार नगरकोटीलाई प्रयोग गरेर फिल्म बनाउनु नौलो हो । दृश्यहरुमार्फत् नयाँ स्वाद दिने प्रयास फिल्मले गरिरहेको छ । हामी यसमा परिचित नभएकाले एकपटकमा यो फिल्मलाई बुझ्नै सकिन्न । निर्देशकले नयाँ किसिमको कल्पनालाई फिल्ममार्फत् प्रस्तुत गरेका छन् । पहिलो पटक यस्तो खालको नेपाली फिल्म बनेको हुँदा दर्शकले स्विकार्न सक्दैनन् । गाउँघरको वास्तविक कथालाई फेन्टासीमार्फत् प्रस्तुत गर्नु साटो सपनामार्फत् गरेको भए राम्रो हुन्थ्यो । त्यसबाहेक निर्देशकले दृश्यलाई एकले अर्कासँग जोड्न सकिरहेका छैनन् ।

यस्तो फिल्म बनाउने हिम्मत गर्नु नै ठूलो कुरा हो । यो सही समय थियो वा थिएन भन्ने कुरा मैले पत्ता लगाउन नसक्नु मेरो नराम्रो पक्ष होला । निर्देशकको मिहिनेत फिल्म प्रस्तुतिमा देखिएन । दर्शकले फिल्म हेरिदिएनन् भन्ने स्थितिको अन्त्य गर्ने हो भने निर्देशकले धेरै मिहिनेत गर्न सक्थे । फिल्ममा प्रयोगात्मक कुरा धेरै देखिए । फेन्टासीमा वास्तविक कथा बगाउँदा निर्देशक चुकेका छन् ।

६. विम्बात्मक प्रस्तुति :
फिल्मभर क्यान्टा र पर्पल कलर हावी देखिइएको छ । नेपाली फिल्ममा यस्ता विम्वहरु छनोट हुनु मेरालागि नयाँ लाग्यो ।


७. संगीत :
नेपाली फिल्मलाई चर्चित बनाउन चलिआएको अर्थहीन म्युजिक समेटिएर संस्कारबाट यो फिल्म माथि उठ्न सफल देखिएको छ । अर्गानिक म्युजिक फिल्ममा समेटिएका छन् । फिल्मका गीत सुनिसकेपछि अझ दुई वटा थपेको भए हुन्थ्यो जस्तो लागेको थियो । म्युजिक छनोट उत्कृष्ट लाग्यो । ब्याकग्राउन्ड म्युजिकले कलाकारको परिचय दिन महत्वपूर्ण भूमिका खेलेको छ तर निरन्तरता भने पाउन नसक्दा केही खिन्न महसुस गरेँ ।


Leave A Comment