‘भूकम्पले मलाई लेखक बनायो’

बिहिबार, ११ माघ २०७४, ०१ : ४८ शुक्रवार
‘भूकम्पले मलाई लेखक बनायो’

कलकत्तामा जन्मिएका अमन श्रेष्ठ पाँच वर्षको उमेरमा सर्लाहीको हरिवन फर्किए । पढाइ त्यहीँ सुरु भयो र प्लस टु त्यहीँ पूरा गरे । बिबिएस अध्ययनसँगै रेडियो सिटी एफएममा कार्यक्रम चलाउँदै अघि बढे । एमकम अध्ययन सकेपछि उनी भविष्य खोज्दै अस्ट्रेलिया गए । अस्ट्रेलियामा उनले चार्टर्ड अकाउन्टेन्सी पढे र त्यसैमा आफ्नो करियर खोजे । पछि उनले त्यहीँ जोन सि. म्याक्सवेल कम्पनीको सर्टिफाइड प्रशिक्षकसमेत बने । पछिल्लो समय उनको ‘द फल्ट’ नामक उपन्यास प्रकाशित छ भने नयाँ पुस्तक प्रकाशनको तयारीमा छ ।

त्यति साहित्य नपढ्ने मान्छे पुस्तकै लेख्नुभयो नि ?
म चार्टर्ड एकाउन्टेन्ट पढ्दै गर्दा जोन सि. म्याक्सवेलको एउटा पुस्तक पढ्ने सल्लाह पाएँ । मलाई लाग्थ्यो, पाठ्यपुस्तक पो पढ्ने हो त, अरु किताब पढेर किन समय बर्बाद गर्नु ? मलाई बाहिरी र लिडरसिपका किताब पढ्न सुझाइन्थ्यो । लिडरसिपको किताब त लिडरहरुले पढ्ने हो, मजस्तो साधारण व्यक्तिले किन पढ्नु भन्ने लाग्थ्यो । धेरै पछि मात्र मैले के थाहा पाएँ पढ्नुको फाइदा । लिडरसिप भनेको लिडर बन्न होइन, आफूलाई चिन्न र आफूले आफैँलाई लिडर बनाउन पढ्नुपर्ने रहेछ ! मैले पहिलो पटक ‘२१ इर्रेस्टबल लज अफ लिडरसिप’ पढेँ । केही बुझेँ, केही बुझिनँ तर बुझेका कुरा राम्रा लागे । यो किताबले मलाई जिज्ञासा बढाइदियो र अन्य किताब पनि खोज्दै पढ्न थालेँ । किताब लेख्नु चाहिँ मेरालागि ठूलो भावनात्मक निर्णयको कुरा थियो । भूकम्पका बेला म नेपालमा थिएँ । मेरै आँखाअगाडि धरहरा ढलेको थियो । मेरै आँखाअगाडि मानिस मरे, तिनलाई निकालियो । म तीन दिनसम्म टँुडिखेलमै क्याम्पमा बसेँ । यही बेला अनुकम्प र पराकम्पले कहिल्यै नचिनेका मानिसलाई नजिक ल्याइदियो । यो एउटा ठूलो भावनात्मक परिवर्तनको समय थियो मेरालागि । यस अवधिमा मेरा केही विश्वास र दर्शन जन्मिरहेका थिए । डर, पीडा, मृत्यु के रहेछ भन्ने गहिरो गरी अनुभूत गरेँ । आफ्ना ‘इन्ट्रिन्सिक भ्यालु’ के रहेछन् भन्ने बुझ्ने अवसर पाएँ । अस्ट्रेलिया फर्कंदा भने नेपालका बारेमा ज्यादै नराम्रा समाचार आइरहेका थिए । त्यहाँ नेपालमा नराम्रै मात्र भइरहेको छ भन्ने खबर आइरहेको थियो । मलाई लाग्यो, त्यहाँ नराम्रो मात्र भइरहेको छैन, त्यहाँ केही राम्रो पनि भइरहेको छ भन्ने आफैँले अनुभूत गरेका कुरा किन नलेख्ने भनेर उपन्यास तयार पारेँ ।

उपन्यासको विषय के छ ?
जे मैले नेपालछँदा अनुभूत गरेँ । कसरी परिवारै सखाप भएको एक्लो वृद्धले अरुको परिवार बचाउन खटेको छ ? के कारण ऊ त्यसरी मरिमेटेर काममा लागिपरेको छ ? के सम्पत्ति र अन्य चिजहरु नै जीवनको सबैभन्दा ठूलो संकटमा महत्व राख्दारहेछन् ?

कस्तो प्रतिक्रिया पाउनु भयो त ?
किताब निस्क्यो । यो अस्ट्रेलियाको राम्रै कम्पनीबाट निस्किएको हो– हे हाउसबाट । मजस्तो नामै नचलेको व्यक्तिको पनि तीन महिनामा साढे आठ हजारभन्दा बढी पुस्तक बिक्री भयो ।  

यसले नयाँ पुस्तक लेख्न घच्घच्यायो होला ?
हजुर, नयाँ किताब तयार भइसक्यो । यो चाहिँ नन् फिक्सन हो । भूकम्पमै आधारित प्रेरणामाथि लेखिएको पुस्तक हो । भूकम्पमा जसले जे–जस्तो भोग्यो, त्यस विपत्मा मानिसले देखाएको सकारात्मक प्रवृत्ति र ह्युमन भ्यालुज (मानवीय मूल्य) माथि यो पुस्तक आधारित छ । मृत्युलाई नजिकबाट भोगेका व्यक्तिले कसरी आफू एउटा इन्डिभिजुअल (एकल व्यक्ति) मात्र होइनौँ र कसरी परिवार, समाजसँग गाँसिएका रहेछौँ भन्ने अनुभूति यस पुस्तकको मुख्य विषय हो ।

अहिले के पढ्दै हुनुहुन्छ ?
रिक हान्सनले लेख्नु भएको बुद्धाज् ब्रेन ।

कुनै पुस्तक पढेर जीवनै परिवर्तन होला त ?
जोन सि. म्याक्सवेलको ‘२१ इर्रेस्टेबल ल अफ लिडरसिप’ पढेर जीवनै परिवर्तन भयो त भन्दिनँ तर त्यहाँका कुराले आफूलाई झक्झक्याएको अवश्य हो ।

कुनै पुस्तक पढेर काश... यो पुस्तक मैले लेख्न पाएको भए भन्ने लाग्छ ?
धेरै छन् । पहिला म जे पायो त्यही पुस्तक पढ्थेँ । अहिले चाहिँ छानेर पढ्छु । छानेर पढेका किताबमध्ये अधिकांश ओहो... यो कुरा मैले भए यसरी लेख्थेँ जस्तो लाग्छ । खासगरी मेरो विधाका पुस्तकहरुमा मलाई यस्तो लाग्छ । खासगरी जोन सि. म्याक्सवेलले लेखेको ‘१५ इन्भ्यालुएबल लज अफ ग्रोथ’मा लिडरसिपका जेजस्ता विचारधारा छन्, त्यो मेरा पनि हुन् भन्ने लाग्छ र त्यो मैले लेख्न पाएको भए जस्तो लागिरहन्छ । जोन म्याक्सवेलले नलेखेको भए कुन न कुनै दिन मैले लेख्थेँजस्तो लाग्छ ।

तपाईंलाई ज्यादै प्रभाव पार्ने लेखक ?
एन्थोनी रबिन्स हुन् । उनी न्युरोलिङ्ग्विस्टिक प्रोग्रामिङ (एनएलपी) का ज्ञाता हुन् । उनको तालिमको विधा हो त्यो । व्यक्तिगत विकासको तालिममा उनी ख्यातिप्राप्त व्यक्ति हुन् । उनले धेरै पुस्तक लेखेका छन्, तीमध्ये पनि ‘अवेकेन द जायन्ट’मा हाम्रो सोच्ने शैली, प्याटर्नका बारेमा लेखेका छन् । यो पुस्तकले मलाई धेरै प्रभाव पारेको छ । उनले लेखेका कुराको कारण मेरो सोचको तरिका परिवर्तन भई आध्यात्म खोज्न थालेको हुँ ।

महत्वपूर्ण तर कम चासोमा परेका कुनै पुस्तक ?
बुद्धिसागरको पुस्तक ‘फिरफिरे’जस्तो लाग्यो । म त्यो पुस्तक पढ्दा म त्यहीँ पुगेको महसुस गरेँ तर अनुवाद भएर विदेश नपुग्दा यसको महत्व अरुले बुझेनन्जस्तो लाग्छ ।

पढ्दापढ्दै रुनु भएको कुनै पुस्तक छ ?
पछिल्लो समय त ‘फिरफिरे’ले नै रुवायो । खालिद हुसेनीको ‘थाइजन्ड स्पेन्डिड सन’ले पनि मलाई ज्यादै भावुक बनायो । ‘काइट रनर’ पढ्दा पनि ज्यादै इमोसनल भएँ । फिक्सनका किताबमा जहाँ रुने दृश्य छन् भने म रोइहाल्छु । खासमा रोएर नै ती दृश्यको न्याय हुन्छ भन्ने म मान्छु ।

किताब पढेर कहिल्यै हाँस्नु भएको छ ?
धेरै पुस्तक पढेर म हाँसेको छु । पछिल्लो समय चाहिँ स्कट फेले लेख्नुभएको ‘द ब्लाइन्ड स्पट’ पढ्दा स्वाद मानी मानी हाँसेको छु ।

कुनै किताब किन्नु हुन्छ, मिहिनेत गरेर कमाएको पैसा हाल्नु हुन्छ अनि ल्याएर जब साँझ किताब पढ्न बस्नु हुन्छ, बेकारमा पैसा खेर गयो भनेर कपाल भुत्ल्याउनु भएको छ ?
कुनै पनि किताब वाहियात हुँदैन । किताब बन्ने जुन प्रोसेस छ, त्यो प्रोसेरमा गुज्रिएर निस्किएको तपाईंको रुचिको पुस्तक नहुन सक्छ, तपाईंका लागि नबनेको हुनसक्छ तर टाउकै फुटाउनुपर्ने नराम्रो पुस्तक हुँदैन । साहित्यमा रुचि हुने तपाईंले ज्यादै प्राविधिक अर्थशास्त्रको पुस्तक पढ्न बस्नुभयो भने त टाउको मात्र होइन, अरु पनि धेरैथोक फुट्न सक्छ । कुनै पनि किताब मेरो सोचको समानान्तरमा गएको छैन भने कि त किन्दिनँ, किनेछु भने पनि एक पाठ पढिसकेपछि थन्क्याउँछु । यसको अर्थ त्यो नराम्रो पुस्तक हो भन्दिनँ ।

अन्त्यसम्मै पढ्न नसक्नु भएको चाहिँ ?
रोबर्ट टि. कियोसाकीको ‘रिच ड्याड, पुअर ड्याड’ भन्ने पुस्तकका अगाडिका कुरा निकै राम्रो लागेका थिए, अन्त्य भने मलाई जँचेन । प्रोमिसिङ बिगिनिङ, नन् प्रोमिसिङ इन्डिङ लाग्यो । पैसा सबैथोक हो भनेर सुरु गर्नु र पैसा नै सबैथोक हो भनी अन्त्य गर्नु बेइमानी हो । पैसा महत्वपूर्ण कुरा हो तर सबैथोक होइन भन्ने मलाई लाग्छ । दुई तीन च्याप्टर बाँकी रहँदा मैले त्यो किताब छाडेँ ।

पढ्न नपाएर लज्जित भएको कुनै पुस्तक ?
हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’, कर्ण शाक्यको ‘सोच’ र ‘खोज’ पुस्तक एक समय पढ्न नपाउँदा खल्लो भएको थियो । यस पटक नेपाल आउँदा मैले पढ्न नपाएका किताब खोजीखोजी अस्ट्रेलिया लिएर जाँदैछु ।

तपाईंले साथीभाइलाई उपहारमा दिने कुनै पुस्तक ?
म लिडरसिपसम्बन्धी पुस्तक नै दिन्छु । खासगरी जोन सि. म्याक्सवेलकै ‘डिफरेन्स मेकर’ किनभने बालबालिका र अभिभावक सँगै यो पुस्तक पढ्दाको धेरै फाइदा छन् । अर्को म्याक्सवेलकै ‘डेभलप द लिडर विद इन यु’ पनि हो ।

पढ्न बानी नभएकाले कस्ता पुस्तक पढ्दा राम्रो होला ?
सुरुमा साधारण किसिमका उपन्यासहरु पढ्दा हुन्छ । कथाकहानी पढ्दा ध्यान केन्द्रित हुने बानी बस्छ । बानी बसिसकेपछि चाहिँ नन् फिक्सन र खासगरी लिडरसिपसम्बन्धी किताब पढ्दा राम्रो किनभने जबसम्म तपाईं आफ्नो ‘लिडर’ बन्नु हुन्न, तपाईं अरुलाई ‘लिड’ गर्न सक्नुहुन्न ।

Leave A Comment