समाजसेवीको आवरणमा बाल यौन दुराचारी

शुक्रबार, ०५ माघ २०७४, ०८ : २१ शुक्रवार
समाजसेवीको आवरणमा बाल यौन दुराचारी

अन्तर्राष्ट्रिय लागुऔषधका कारोबारीको ट्रान्जिट बनाउँदा अन्तर्राष्ट्रिय रुपमै बदनाम बन्दै गएको काठमाडौं पछिल्लो समय बाल यौन दुराचारीले समेत ‘हब’ बनाउन थालेका छन् । अन्तर्राष्ट्रिय रुपमै घृणित गम्भीर अपराधको सूचीमा रहेको यस अपराधमा सक्रिय एकपछि अर्को अपराधीको पक्राउको क्रमसमेत बढ्दै गएको छ ।

गैरसरकारी संस्थाका प्रतिनिधि र पर्यटकको आवरणमा नेपाल आएका विभिन्न देशका नागरिक सहयोगी नभई बाल यौन दुराचारी ठहरिन थालेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मात्र २०७४ को ९ महिनामा ५ जना बाल यौन दुराचारी पक्राउ गरिसकेको छ ।

ब्युरोले पक्राउ गरेका अधिकांश विदेशीले बालबालिकालाई सुरुमा सहयोग गरेर आफू निकट ल्याउने र त्यसपछि होटल तथा डेरामा राखेर यौन दुराचार गर्ने गरेको देखिन्छ । ब्युरोले पुस ३० मा काठमाडौंको भोटेबहालको एक घरमा डेरामा पक्राउ गरेको जर्मन नागरिक समाजसेवीको आवरणमा नेपालमा बसेका थिए । समाजसेवीको आवरणमा रहेका जर्मन नागरिक हन्स जर्गन गुस्ताव दाहम आखिर बाल यौन दुराचारको अभियोगमा पक्राउ परे ।

प्रारम्भिक अनुसन्धानमा बालबालिकालाई सहयोग गर्ने भन्दै डेरामा लगेर यौन दुराचार गर्ने गरेका थिए । उनी पर्यटक आवरणमा पटक–पटक नेपाल आउने गरेको उनको ट्राभल हिस्ट्रीमा देखिएकाले प्रहरी थप गम्भीर बनेको छ ।
प्रारम्भिक अनुसन्धानमा उनले सहयोगको आवरणमा बालबालिकालाई आकर्षित गरेर यौन दुराचार गर्ने गरेको देखिएको ब्युरोका प्रवक्ता जीवन श्रेष्ठको भनाइ छ ।

महिना बिराएर पक्राउ पर्छन् दुराचारी

दुई महिनाअगाडि कात्तिक २६ मा ब्युरोले नै नेदरल्यान्डका हेन्निकुस एड्रिनस जोसेपस क्रुजेसेनलाई एक बालकसहित होटलमा पक्राउ गरेको थियो । उनी तीनमहिने पर्यटन भिसामा नेपाल आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै कोटेश्वरको एक होटलमा पुगेका उनलाई ब्युरोले १३ वर्षीय बालकसँग अप्राकृतिक यौन सम्बन्ध राख्दाराख्दै पक्राउ गरेको थियो ।

ब्युरोको सूची अनुसार यस बीचमा बाल यौन दुराचारको अभियोगमा अस्ट्रियन, अमेरिकी र  जर्मनका नागरिक पक्राउ परिसकेका छन् । ती देशका धनाढ्य रहेको अनुसन्धानले खुलेको छ भने पक्राउ परेका अधिकांश यस्ता दुराचारी ठमेलका विभिन्न होटलमा समातिएका थिए ।

यस्तै २०७४ भदौमा पक्राउ परेका अस्ट्रियन नागरिक मार्कुस किन्डलर ठमेलको एक होटलमा बालकसहित फेला परेका थिए । २०७४ असार १५ मा पक्राउ परेका जर्मन नागरिक अल्बर्ट फ्रड क्लिनिकेसमेत ठमेलमा १४ वर्षीय बालकसहित फेला परेका थिए । नेदरल्यान्डका माइसेन हेन्ड्रिक र गत वर्ष पक्राउ परेका क्यानडाका अर्नेस स्याम्बिक म्याकेन्टस ठमेलको होटलमा फेला परेका थिए ।

दुई वर्षअघि पक्राउ परेका म्याकन्तोस क्यानडामा कहलिएका बाल यौन दुराचारी रहेको खुल्यो । ललितपुरमा पक्राउ परेका उनी क्यानडामा कहलिएका व्यापारी समेत हुन् । नेपालमा पक्राउ परेपछि क्यानडाको प्रहरीले उनलाई बुझाउन ताकेता गरे पनि सफल भएन । उनलाई अदालतले सात वर्ष कैद सुनायो । उनी अहिले नेपालकै जेलमा छन् ।

बाल यौन दुराचारीबाट पीडितमध्ये बालकको संख्या बढी छ । सहजै सम्पर्क गर्न सकिने, सँगै लिएर हिँड्दासमेत शंका नहुने भएकाले विदेशी यौन दुराचारीले बालकको चयन गर्ने गरेको देखिन्छ । अनुसन्धानमा खुलेका अधिकांश पीडित बालकको उमेर ९ देखि १५ वर्षसम्म छ ।

सहयोगी नेपाली नै
गत वर्ष भदौमा ब्युरोले अमेरिकी नागरिक किन्नेथ जोसेफ कम्बोसलाई तीन बालकसहित ठमेलको एक होटलमा फेला पारेको थियो । सो घटनामा उनी मात्र फेला परेनन्, उनका लागि बालक खोजिदिने नेपाली नागरिक बुद्ध पतुवारसमेत फेला परे ।

कम्बोस पक्राउ पर्नुअघि भूकम्पको बेलामा नेपाल आएर धादिङ लगायतका जिल्ला पुगेर राहत बाँडेका थिए । अनुसन्धानमा उनले नेपालमा धर्म बहिनी बनाएर तिहारमा टीकासमेत लगाएको खुलेको थियो ।

कम्बोसले विभिन्न सामाजिक सञ्जाल प्रयोग गरेर नेपाली बालबालिकाको अश्लील तस्बिर खिची बाल यौन दुराचारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका सदस्यलाई पठाउने गरेको खुलेपछि प्रहरी थप गम्भीर भएको थियो ।

‘पछिल्लो समय यौन दुराचारमा संलग्न विदेशी पक्राउको क्रम बढेको छ,’ ब्युरो प्रवक्ता श्रेष्ठले भने, ‘अहिले ब्युरोले यस्ता घटनामाथि निगरानी बढाएकाले पक्राउ गर्ने क्रम पनि बढेको हो ।’

 

Leave A Comment