‘दुःख गरेर बनाएको सिक्स प्याक देखाउनै पाइएन’

बिहिबार, २७ पुष २०७४, ०३ : १० अनिल यादव
‘दुःख गरेर बनाएको सिक्स प्याक देखाउनै पाइएन’

आफ्नै काका आकाश अधिकारीले निर्देशन गरेको फिल्म ‘के म तिम्रो होइन र’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका अभिनेता हुन्– आर्यन अधिकारी । यो फिल्मको ट्रेलर रिलिज भइसकेपछि धेरैले उनलाई बलिउड अभिनेता टाइगर श्राफसँग दाँजेका थिए । उनी अभिनित दोस्रो फिल्म ‘बटरफ्लाई’ शुक्रबारबाट प्रदर्शन हुँदै छ । प्रदर्शनको छेकोमा अनिल यादवले उनीसँग गरेको अन्तरंग कुराकानी :

डेढ वर्षपछि नयाँ फिल्म रिलिज हुँदैछ, कसरी ढिलो भयो ?
अँ, त्यस्तै भयो तर खासमा ‘बटरफ्लाई’को सुटिङ एक वर्षअघि नै सुरु भएको हो । प्राविधिक कारण रिलिज डेट सरिरह्यो । यद्यपि म त धमाधम काम गरिरहेको छु । यो फिल्मको सकेर मात्र मैले थप तीन वटा फिल्मको सुटिङ सकाइसकेँ ।

हिरो बन्ने रहर सानैदेखिको हो ?  
सानैदेखि मेरो दिमागमा एक्टर बन्छु भन्ने थियो । पछि एउटा समयमा ‘गर्दिन होला’ भन्ने पनि भयो ।  केही समय अरु नै क्षेत्रमा पनि हिडेँ । पछिल्लो पाँच वर्ष यता भने सिनेमा क्षेत्रमै काम गर्ने आत्मविश्वास जाग्यो र यसरी यहाँसम्म आइपुगियो ।

तपाईं त आफ्नै काकाले बनाएको हिरो है, यस्तो ‘ट्याग’ पाउँदा कस्तो लाग्छ ?
हो । मेरो काका आकाश अधिकारी यो क्षेत्रको स्थापित निर्देशक हुनुहुन्छ । म उहाँबाट यो क्षेत्रमा डेब्यु हुनुमा नराम्रो कुरा केही पनि देख्दिनँ । मेडिकल, बिजनेस, राजनीति लगायत हरेक क्षेत्रमा आफ्नो बाआमालाई फलो गरेर त्यहीँ काम गर्नेहरु प्रशस्तै छन् । त्यसैले कुनै पनि क्षेत्रमा प्रवेश गर्न आफ्नै परिवारको सपोर्ट लिनु नराम्रो कुरा होइन । त्यसपछि आफू कसरी अघि बढ्ने भन्नेचाहिँ महत्वपूर्ण हो । र, पनि म के भन्छु मलाई काका भएर पनि अभिनयमा आउन त्यति सजिलो थिएन । सन् २०१० देखि नै एक्टर बन्छु भनेर लागेको हो तर २०१५ मा आइपुग्दा मात्र भएँ । मेरो पहिलो सिनेमा बन्दा एक करोड जति लगानी लागेको थियो । म जस्तो नयाँ मान्छेका लागि यति धेरै लगानी गर्नु जोक थिएन । मेरो आफ्नै दाइले मेरा लागि लगानी गरिदिनुभएको थियो र म यो कुरा खुलेर गर्वसाथ भन्छु । किनभने त्यो फिल्म मेरा लागि मेरो दाइको गिफ्ट थियो । हो, मैले पनि ‘आकाश अधिकारीले आफ्नै भतिजलाई लन्च गर्दैछ रे’ भन्ने कुरा कहीँकतै सुने । फेरि हामीकहाँ आफ्नो मान्छेलाई हिरो/हिरोइन बनाउने ट्रेन्ड पहिल्यैदेखि छ । त्यसरी असफल भएका पनि छन् । त्यसैले मलाई यो ट्यागलाइनबाट बच्नु थियो । मैले पहिलो फिल्मपछि चार वटा थप फिल्ममा काम गरिसकेँ, जहाँ मेरो परिवारको कुनै संलग्नता छैन । यसकारण पनि म अब भन्न सक्छु, ‘म त्यो ट्यागलाइनबाट बचिसकेँ ।’

अब फिल्मबारे कुरा गरौं, ‘बटरफ्लाई’ कस्तो फिल्म हो र यसमा तपाईंको भूमिका के छ?
यो अरुजस्तै लभस्टोरी फिल्म होइन । केटाले केटीलाई मन पराउने, त्यसपछि भिलेन आउने, लास्टमा ह्याप्पी इन्डिङ हुने ! यस्तै यस्तै ट्रेन्डमाथि धेरै फिल्म बने । यो ‘इन्टेन्स लभ स्टोरी’ फिल्म हो । प्रेममा सबै कुरा जायज हुन्छन् भन्ने फर्मुलालाई यसले पछ्याएको छ । फिल्ममा म पढनदास क्यारेक्टरको भूमिकामा छु । सोझो र लद्दु क्यारेक्टरका रुपमा देखिन्छु तर मभन्दा ठीक विपरीत चरित्रको केटीलाई मनपराउँछु । र, उसलाई पाउन के–के गर्छु ? यही नै फिल्मको कथा हो ।

पहिलो फिल्मका लागि तपाईंले शरीरमा सिक्स प्याक बनाउनुभएको थियो, एक्सन पनि बेजोड थियो । एक्सन हिरोको रुपमा आफूलाई चिनाउन खोज्नुभएको हो ?
म कहिल्यै पनि आफूले आफूलाई ट्याग लाउन चाहन्नँ । यो एक्सन हिरो अथवा कमेडी भन्दै ट्याग भिर्न चाहन्न । मैले पहिलो फिल्म एक्सन लभस्टोरी गरेँ । दोस्रो फिल्ममा मैले सोझो टाइपको क्यारेक्टर प्ले गरेको छु । डायलग डेलिभरी पनि पहिलो फिल्मको भन्दा फरक छ । यसपछि मैले ‘कड्के कमालके’ भन्ने एउटा हिन्दी फिल्ममा काम गर्ने मौका पाएँ जहाँ बलिउडका बेजोड अभिनेता राजपाल यादव पनि हुनुहुन्छ । उहाँसँग काम गर्दा धेरै सिक्न पाइयो ।

राजपालको के कुरा तपाईंले बढी ‘नोटिस्ड’ गर्नुभयो ?
म उहाँलाई पूर्ण अभिनेता भन्न रुचाउँछु । काम गर्दा उहाँ एकदमै ‘फेयरलेस’ हुनुहुँदो रहेछ । मैले उहाँबाट सिकेको खास कुरा नै यही हो । उहाँ एक सय पर्सेन्ट फेयरलेस एक्टर । सुटिङकै बेला  क्यारेक्टरलाई बडो गज्जबसाथ ‘इम्प्रुभाइज्ड’ पनि गर्न सक्ने । डिरेक्टरले थाहै नपाई, के गर्दिने–गर्दिने । उहाँको क्षमता देखेर म चकित हुन्थेँ ।

नेपाली र हिन्दी दुवै भाषाको फिल्ममा काम गर्नुभयो । केही फरक महसुस भयो ?
काम गराईमा धेरै फरक छ । हामी सिनेमालाई एक्दमै लाइट्ली लिन्छौं, उनीहरु गम्भीरतापूर्वक लिन्छन् । हामीकहाँ क्यामेराम्यान, लाइटम्यानदेखि सबै कलाकार आफ्नो काम गरिरहेका हुन्छन् तर हामी कलाकार गफ हानिरहेका हुन्छौं, रिहर्सल गर्दैैनौं । मैले एकपल्ट एउटा फिल्मको सुटिङ सेटमा रिहर्सलका लागि एकजना सिनियर कलाकारलाई अनुरोध पनि गरेँ । तर उहाँले ‘पर्दैन’ भन्दै मान्नु भएन । हिन्दीको सुटिङ हुँदा त्यस्तो हुँदैन थियो । हामी क्यामेरा फेस गर्नुअघि ६–७ पल्ट प्राक्टिस गथ्र्यौं । त्यसैले धेरै टेक लिनुपर्दैन । नेपाली फिल्ममा भने यस्तै–यस्तै कुराको कमी छ भन्ने लाग्छ ।

तपाईंको बलिउडमा जम्ने लक्ष्य हो ?   
कुनै पनि कलाकार कहीँ पनि गएर काम गर्न सक्छ । बलिउडमा होइन, म त हलिउडमै जम्न खोजिरहेको छु नि ! (हाँस्दै) । तर, भनेर मात्र भएन नि ! रियल लाइफमा आफूलाई कसरी लिएर जाने भन्ने पनि हो । अहिले नै हलिउड, बलिउडमा काम गर्छु भन्नु उचित पनि हुँदैन । भनेर नहुनु र भइसकेपछि हुनुमा धेरै फरक हुन्छ । राजपालसँग काम गरेको फिल्म पनि फिल्मको सुट नभइञ्जेलसम्म कसैलाई भनेको थिइनँ । यस्तै केही योजनाहरु मसँग अझै छन् । विस्तारै गर्दै गएपछि सबैलाई थाहा भइहाल्छ ।

तपाईंलाई बलिउड अभिनेता टाइगर श्राफसँग पनि तुलना गरिन्छ, यसमा तपाईंको धारणा के छ ?
यसमा मलाई केही लाग्नुपर्छ भन्ने नै छैन । म ऊबाट प्रभावित छैन । उसको एउटा फिल्म हेरेको छु । आफूलाई त टाइगरजस्तो देखिन्छु भन्ने लाग्दैन । पत्रकार साथीहरुले डुप्लिकेट भनेर लेखिरहनुभएको देख्छु । त्यो गलत हो भन्ने लाग्छ । हामी सबै आफ्नै पहिचान बनाउन खोजिरहेका हुन्छौं, फलानोसँग देखिन्छ भन्दा को खुसी होला र ? कहिलेकाहीँ दर्शकले युट्युबमा टाइगरजस्तो भनेर कमेन्ट गरेको मैले पनि देखेको छु । त्यसो त टाइगर नराम्रो मान्छे पनि त छैन । त्यसो भए ऊजस्तो देखिनु नराम्रो पनि त होइन ! (हाँस्दै)

तपाईं फिल्ममा काम गर्नुअघि आफूले पाएको क्यारेक्टरलाई जीवन्त बनाउन कत्तिको मिहिनेत गर्नुहुन्छ ?
म त्यति धेरै क्यारेक्टर अध्ययन गर्ने एक्टर पनि होइन । मेथड एक्टरहरुले हलो जोत्ने क्यारेक्टर छ भने हलो जोत्न जान्छन् । त्यस्तो चाहिँ म गर्दिनँ । लास्टमा मर्ने क्यारेक्टर छ भने के गर्ने ? मर्ने ? (हाँस्दै) । यसको अर्थ मैले त्यसरी काम गर्नु हुँदैन भन्न खोजेको होइन । हिजो भर्खर एकजना फिल्मकर्मी फिल्मको अफर लिएर आउनुभएको थियो । एउटा गरिब गाउँमा हलो जोत्ने क्यारेक्टर छ र म मेरो एक्टर गाउँमा गएर हलो जोतेको अनुभव गरोस् भन्ने चाहन्छु भन्दै प्रस्ताव राख्नुभयो । मैले उहाँको प्रस्तावप्रति सकरात्मक भइनँ किनभने मैले लाइफमा बाल्यकालदेखि अहिलेसम्म आइपुग्दा गरिबीदेखि राम्रो लाइफसम्म देखेको छु । मैले कोदालो पनि खनेको छु, हलो पनि जोतेको छु, मैले खेत पनि गोढेको छु, मैले घाँस पनि काटेको छु, गाईवस्तु चराउन पनि गएको छु । त्यसपछि काठमाडौंको राम्रो लाइफको पनि देखेँ÷भोगेँ । आधा युरोप घुमेँ । २२÷२३ देश घुमेँ । ६–७ वर्ष अमेरिकामा पनि बिताएँ । लाइफमा मैले गरिबी, दुःखसुख सबै भोगिसकेँ । त्यसैले मलाई हलो जोत्ने क्यारेक्टर गर्न गाउँमा गएर एक महिना हलो जोत्नु पर्दैन । म त्यो चरण पार गरेर यहाँसम्म आइपुगेको हुँ ।

यहाँ धेरै फिल्मकर्मी कलाकारिता छाडेर अमेरिका जान्छन्, तपाईं त फर्किनुभयो नि ?
त्यो उनीहरुको बाध्यता होला । यहाँ कलाकारले जति पैसा पाएँ, कमाएँ भनेर हल्ला गरे पनि यथार्थ हामी सबैलाई थाहा छ । मान्छेले जीवन बाँच्नका लागि चाहिने न्यूनतम आवश्यकता पूरा गर्नलाई बाध्य भएर विदेशिन्छ, कोही रहरले विदेशिन्छ भन्ने मलाई लाग्दैन । मेरो हकमा भने म अब यतै काम गर्छु । जाने मुडमा छैन ।

फिल्म खेल्न तयार हुनुअघि तपाईंलाई स्क्रिप्टको के कुराले लोभ्याउँछ ?
सिनेमा रोज्दा म मेरो क्यारेक्टर मात्र हेर्दिनँ । भर्खरै मलाई एकजना फिल्मकर्मीले ‘एउटा क्लबमा गाइने गीत छ, गेस्ट रोलका रुपमा डान्स गर्दिनुपर्यो’ भनेर अफर गर्नुभएको थियो । मैले उहाँलाई फिल्मको पूरा स्क्रिप्ट मागेँ । उहाँले ‘फिल्ममा तपाईंको सिन नै छैन, क्लबमा नाच्न मात्र हो, किन चाहियो ?’ भन्नुभयो । मैले मानिनँ किनभने म फिल्म खेलिरहँदा आफू कस्तो फिल्मको सदस्य बनिरहेको छु भन्ने कुरालाई पनि ध्यान दिन्छु । म टिमवर्कमा विश्वास राख्छु । एकजना मान्छेको काम राम्रो भएर मात्र फिल्म कहिल्यै राम्रो हुँदैन । एउटा सिन मात्र गरेका कलाकार पनि यहाँ बेजोड अभिनयका कारण नजरमा परेका थुप्रै उदाहरण छन् ।

लगातार प्रेम कथामाथि बनेका फिल्ममा गरिरहनुभएको छ । यथार्थमा प्रेमलाई कसरी लिनुहुन्छ ?
म अलिकति इमोसनल मान्छे हो । जसरी एउटा सामान्य मान्छेले प्रेमलाई बुझेको छ, मैले पनि त्यसरी नै बुझेको छु ।  प्रेममा विश्वास, समय सबै कुरा आवश्यक हुन्छ । म पनि केही रिलेसनसिपमा रहिसकेको छु । सन् २०१५ अगाडि एउटा रिलेसनसिपमा थिएँ । ब्रेकअप भयो । त्यसयता सिंगल छु ।

किन नि सिंगल ?
खोजेजस्तो, रोजेजस्तो भेटेको छैन ।

कस्तो जीवनसाथी चाहिने हो र तपाईंलाई ?
त्यस्तो कुनै सर्त छैन । यदि साँचो माया नै गर्ने हो भने कुनै सर्त पनि चाहिँदैन । प्रेम भनेको निःसर्त हुनुपर्छ । केटी गोरी हुनुपर्छ, कपाल कर्ली हुनुपर्छ, अग्ली हुनुपर्छ भन्ने जस्ता सर्त राख्नुहुँदैन ।

तपाईंले पहिलो फिल्मताका शरीरमा बनाएको ‘सिक्स प्याक’ अझै छ ?
छ नि ! कम्ती दुःख गरेर बनाएको थिइनँ तर यहाँ देखाउनै पाइरहेको छुइनँ । ६ महिना लगाएर बनाएको थिएँ । ६ महिना त मुखमा स्वादिलो कुरा नै परने । म आफैँले मेरो शरीरमा सिक्स प्याक बन्ला भनेर सोचेको थिइनँ । अब खेल्ने फिल्ममा चाहिँ गीतमा भए पनि मिलाएर देखाऊँ भन्ने सोचिरहेको छु ।

Leave A Comment