‘पुस्तक लेख्नु आविष्कार हो, निरन्तरको खोजी हो’

बिहिबार, २७ पुष २०७४, ०२ : ३९ शुक्रवार
‘पुस्तक लेख्नु आविष्कार हो, निरन्तरको खोजी हो’

हिमाल पत्रिकाका पूर्व सम्पादक एवं व्यंग्यकार तथा अनुवादक वसन्त थापा कुनै बेलाका चर्चित स्तम्भकार हुन् । थुप्रै पुस्तक अनुवाद गरिसकेका थापाको ‘ऋतुविचार’ भन्ने पुस्तक प्रकाशित छ ।
तपाईंले अहिले पढ्दै गर्नुभएको पुस्तक ?
कामको व्यस्तताले गर्दा पहिलेको तुलनामा अहिले म पढाइलाई समय अलि कम दिने गरेको छु । कार्य व्यस्तताको बाबजुद अहिले पनि म एक साथ तीनवटा  पुस्तक पढ्दै छु । ती पुस्तकमा कवि विप्लव प्रतीकको ‘अविजित’, रवीन्द्र कार्कीको ‘बोर्डर’ र झुम्पा लाहिरीको ‘लो ल्यान्ड’ भन्ने पुस्तक रहेका छन् । प्रतीक गद्य कवि हुनाले उनको लेखनशैली गद्यमा छ, विषयवस्तु धेरैै रमाइलो छ । त्यस्तै रवीन्द्र आफू पूर्वको भएको हुनाले बेग्लै किसिमको भाषा छ । दुवैले ४०/४५ वर्षअघिको घटनाका सन्दर्भमा लेखेका छन् । सबै पाठकलाई जस्तै मलाई पनि कुनै लेखकको एउटा पुस्तक राम्रो लाग्यो भने उसका अरू पुस्तक पढ्न मन लाग्ने भएजस्तै भएको हो, झुम्पा लाहिरीको ‘लो ल्यान्ड’ । त्यो पुस्तक पढ्नुको कारण भने केही वर्ष पहिले उनको ‘दि नेमसेक’ भन्ने पुस्तक पढेको थिएँ, त्यसकै प्रभावले यो पुस्तक पढेको हुँ । त्यो मलाई निकै राम्रो लागेको थियो ।
तपार्इंको जीवन परिवर्तन गरिदिएको कुनै पुस्तक ?
कुनै पनि पुस्तक पढेर त्यसको ज्ञानले हिजोको आजै (थोरै समयमा) जीवनमा देखिने गरी फरक पार्दैन । तर व्यक्तिको विचारधारा र व्यक्तित्व निर्माणमा भने परिवर्तन हुन्छ । मलाई प्रभाव पारेका पुस्तकमा लियोन उरिसको ‘एक्जोड्स’ हो । यो पुस्तक इजरायलको बारेमा लेखिएको छ । त्यस्तै एलोम्स ह्यालीको ‘दि रुट्स’, जिओफ्री आर्चरको ‘केन एन्ड आवेल’ र डोमिनिक ल्यापिएरेको ‘ओ जेरुसेलम’ आदि । यस्ता पुस्तकले मेरो सोच्ने तरिकालाई नै परिवर्तन गरिदिएका छन् ।
तपार्इंको लेखनीमा सबैभन्दा बढी प्रभाव पर्ने लेखक वा पुस्तक ?
म लेखनमा जहिले पनि मौलिकता हुनुपर्छ भन्ने दृढ मान्यता राख्छु । लेखनमा अरूको प्रभाव पर्यो भने आफ्नो भन्नु के रह्यो र ? हामीले विभिन्न स्रोतबाट थोपाथोपा गरेर ज्ञान प्राप्त गरेका हुन्छौँ । र, त्यो ज्ञानलाई अनुशरण गर्दै आफ्नो मौलिकतामा ढालेर लेख्नु सबैभन्दा राम्रो पक्ष हो । म कसैबाट पनि प्रभावित छैन ।
तपाईंलाई मन पर्ने लेखक ?
 ब्रिटिस लेखक भिएस नयपाल मलाई खुब मनपर्ने लेखक हुन् । उनी नोबेल पुरस्कार विजेता हुन् । उनले ‘ग्राहमग्रीन’ भन्ने पुस्तक निकालेका छन् । त्यस्तै हिन्दीमा निर्मल बर्मा, मोहन राकेश, नेपालीमा शंकर लामिछाने र धु्रवचन्द्र गौतम आदि लेखक मलाई धेरै मन पर्ने मध्येमा अगाडि आउँछन् ।  
सबैभन्दा कम चासोमा परेको महत्वपूर्ण पुस्तकको नाम लिनु पर्यो भने कुन लिनुहुन्छ ?
पुस्तक भनेको सागर हो, पढेर साध्य हुँदैन । उपन्यास उठाएपछि सकभर सिध्याउँ भन्ने हुन्छ । समय अभावका कारण पढ्न मन लाग्दालाग्दै पनि पढ्न नपाएका थुप्रै पुस्तक छन् । नामै लिनुपर्दा इन्द्रबहादुर राईको ‘आज रमिता छ’ भन्ने पुस्तकलाई साहित्यकार मञ्जुश्री थापाले अंग्रेजीमा अनुवाद गरेकी छन् । त्यो पढ्न मन छ तर साथमा भएर पनि पढ्न पाएको छैन ।
तपार्इंलाई मज्जाले रुवाएको कुनै पुस्तक ?
मन पग्लिने खालका पुस्तक पढ्दै गर्दा नरुने को नै होला र ? त्यसको अपवाद म पनि हुने कुरै भएन । रोएको छु, भावनामा बगेर होला धेरै पुस्तक पढ्दा रोएको छु । टेकबहादुर पन्थीको ‘ममताको चिता’ पढ्दा म धेरै रोएँ । त्यस्तै इन्द्रबहादुर राईको ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ पढ्दा पनि त्यसरी नै रोइयो । यो पुस्तकमा बर्माबाट शरणार्थी बन्न पुगेकाको कथा व्यथामा प्रमुख पात्र जयमाया आफू मात्र लिखापानी पुग्छे । बाटामा सबै परिवारका सदस्य गुमाउँछे । बडो दर्दनाक छ यो पुस्तक ।
तपाईंलाई मज्जाले हँसाउने कुनै पुस्तक ?
पछिल्लो समय हँसाउने पुस्तक पढेको छैन तर पहिलेपहिले धेरै पढ्थेँ, त्यसमा पनि हिन्दीका पुस्तक धेरै पढियो । त्यस्तै हरिशंकर परसाईंका पुस्तक र शरद जोशीका पुस्तक पढ्दा धेरै हाँसियो ।
तपाईंले अन्त्यसम्म पढ्न नसक्नु भएका पुस्तक ?
त्यस्ता पुस्तक त धेरै छन् । नाम भन्न मिल्दैन । ती पुस्तक आधा जति पढेर थन्काइएका छन् । कसैको भाषा नमिल्दो लाग्छ, कसैको शब्द छनोट मन पर्दैन । भाषाले नसमातेपछि म त्यो पुस्तक हेर्दै हेर्दिनँ ।
पढ्न नपाएर लज्जित तुल्याएको कुनै पुस्तक छ ?
मैले आजसम्म कुनै पुस्तक पढ्न नपाएर लज्जित महसुस गरेको छैन ।
तपाईंले प्रायः उपहारमा दिइरहने कुनै पुस्तक ?
मैले आजभोलि खासै पुस्तक उपहारमा दिएको छैन किनभने आजकालका युवालाई पढ्न चासो नै छैन केको पुस्तक दिनु ? फेरि उपहारमा पुस्तक दिने चलन पनि त्यति छैन । तर मैले केही वर्ष पहिले एकजना साथीको विवाहमा ‘माओत्सेतुङ्ग संकलित रचना’ भन्ने पुस्तक उपहार दिएको थिएँ ।
तपाईं पुस्तक किन पढ्नुहुन्छ ?
यो प्रश्न त तपाईं भात किन खानुहुन्छ भनेर सोधेजस्तै हो मेरा लागि ।  पुस्तक भनेको बौद्धिक खुराक हो । पुस्तक भनेको ज्ञान र मनोरञ्जनको स्रोत हो । त्यसकारण पढ्छु । म सानैदेखि पुस्तकसँगै हुर्किएँ । पुस्तक मेरा लागि जीवनको अभिन्न अंग हो, हिस्सा हो ।
कस्ता पुस्तक लेखिऊन् भन्ने लाग्छ ?
यस्तै लेखिनुपर्छ भन्दा पनि मलाई के लाग्छ भने जो पहिले लेखिएका छैनन्, जुन विषयवस्तु पहिले उठान गरिएको छैन त्यस्ता पुस्तक लेखिऊन् भन्ने लाग्छ । पुस्तक लेख्नु भनेको आविष्कार हो । निरन्तरको खोजी हो ।  
कस्तो पुस्तक पढ्न सल्लाह दिनुहुन्छ ?
यस्तै पढ्नु, यही पढ्नु भनेर म भन्दिन । जुन पुस्तक पढ्दा आफ्नो मन रमाउँछ, प्रसन्न हुन्छ, पढौंपढौं लाग्छ त्यही पढ्ने हो । जुन पुस्तक पढ्दा पनि हामीलाई फाइदा भने अवश्य हुन्छ । पुस्तक पढाइले हाम्रो जीवनशैली नै रमाइलो बनाइदिनुका साथै ज्ञानको संसारलाई फराकिलो बनाइदिन्छ । उमेर अनुसार रुचि फरक हुनु स्वाभाविक हो । रुचि अनुसार पढ्ने गर्नुपर्छ ।

Leave A Comment