‘मेरा गोप्य कुरा खोतल्न पत्रकारले मिहिनेत गरे हुन्थ्यो’

शनिबार, २२ पुष २०७४, १२ : ४८ अनिल यादव
‘मेरा गोप्य कुरा खोतल्न पत्रकारले मिहिनेत गरे हुन्थ्यो’

केकी अधिकारीलाई न बक्सअफिसले त्यति साथ दियो, न उनी बक्सअफिसकै पछि दौडिइन् । भन्छिन्, ‘मैले आफ्नो कामलाई बक्स अफिससँग कहिल्यै तुलना गरिनँ ।’ केकीका फिल्म बक्स अफिसमा कमै चले तर उनले निर्वाह गरेका प्रायः पात्र प्रशंसित भए । अभिनेत्री हुँदै फिल्म ‘कोहलपुर एक्सप्रेस’मार्फत उनी अब निर्मात्री हुँदैछिन् भने दाइजो प्रथाको विषय उठान गरेको उनी अभिनित फिल्म ‘राज्जारानी’ शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :

अभिनेत्री हुँदै निर्मात्री बन्नेको सूचीमा अब तपाईं पनि ?
पहिले अभिनय मात्र गरिन्थ्यो, त्यहाँ आफ्नो काम कसरी राम्रो गर्ने भन्नेतिर मात्र ध्यान हुन्थ्यो । निर्माताको पीडा देखिँदैनथ्यो । आफूलाई पर्छ अनि मात्र थाहा पाइन्छ भनेजस्तो अहिले मलाई भइरहेको छ । पहिले सुटिङ सकाएर घर जाने हतारो हुन्थ्यो । निर्मात्री भएपछि सिंगो ६० जना सन्तान हुर्काउने आमाजस्ती भएकी छु । सायद पहिलोपल्ट भएर होला !

फिल्ममा अभिनेत्री र निर्मात्री दुवैको दायित्व एकैपल्ट निर्वाह गर्दा त्यसले अभिनयमा असर पुग्दैन ?
एकैपल्ट सुटिङमा उत्रिएको भए असर पुग्न सक्थ्यो तर म स्क्रिप्टदेखि नै यो फिल्ममा आबद्ध थिएँ । मैले मेरो मात्र क्यारेक्टर होइन, फिल्मका सम्पूर्ण क्यारेक्टर अनुभव गर्न सक्थेँ । यसकारण मलाई सजिलो भयो । सायद एकैपल्ट फिल्डमा पुगेर अभिनय र निर्माण दुवैको जिम्मेवारी लिनुपर्ने भएको भएँ छाडेर भाग्थेँ होली । ४–५ महिनादेखि स्क्रिप्टमा निर्देशकसँग रहेर सँगै काम गरिरा’को भएर सजिलो भयो । यसको अर्थ गाह्रो हुँदै भएन भन्ने होइन । सबै चिजलाई बिर्सिएर आफूलाई आफ्नो क्यारेक्टरमा उतार्नुपर्ने हुन्थ्यो । कतै लाइट ढलेर कसैलाई लाग्ला कि जस्ता स–साना कुराले गाँजिरहन्थ्यो । एक्टर भएर होला, एक्टिङ गरिरहेका बेला यी सबै बिर्सिइन्थ्यो ।

तपाईंका तीन वटा फिल्म ‘राज्जारानी’, ‘हुर्रे’ र ‘कोहलपुर एक्सप्रेस’ क्रमशः प्रदर्शनको तयारीमा छन् । यी कस्ता फिल्म हुन् र यसमा तपाईंको भूमिका के छ ?
‘राज्जारानी’ एउटा सामाजिक प्रेम कथा हो । हामीले देखिइरहेको तर ‘इग्नोर’ गरेको ‘दाइजो’को विषय यसमा उठाइएको छ । अशिक्षित र गरिबले मात्रै नभएर शिक्षित र सम्पन्न वर्गले पनि ‘फलो’ गरिरहेको यो कुसंस्कारले हाम्रो समाजलाई निकै असर गरिरहेको छ । आर्थिक अवस्था कमजोर भएकाको घरमा गर्भावस्थामै छोरीलाई मारिन्छ । कारण– पछि दाइजो दिन सकिँदैन भनेर । दाइजो नदिएकै कारण जलाइने, मारिने लगायतका हामीलाई सुन्दैखेरी त आङ सिरिङ्ग हुने अमानवीय व्यवहार समाजमा भइरहेको छ । फिल्मले यसै विषयमा बोलेको छ । चलचित्रमा मनोरञ्जन पनि गाँसिएर आउँछ । सँगैमा तराईमा हुने हिंसाबारे पनि चलचित्रले विषय उठाएको छ । म यस फिल्ममा रानी भन्ने चरित्रमा छु र यसले दाइजोविरुद्धको आवाज उठाउँछे ।
‘हुर्रे’ चाहिँ टोटल्ली कमेडी मुभी हो । मैले यसमा पशुपतिनाथमा फूल बेच्ने युवतीको भूमिका निर्वाह गरिरहेकी छु । ‘कोहलपुर एक्सप्रेस’का विषयमा विस्तृतमा पछि कुरा गरौँला । अहिले यति मात्र भन्छु, यो एउटा रमाइलो फिल्म कमेडी जन्राको फिल्म हो ।

‘राज्जारानी’ मैथिली भाषामा पनि डब भएर प्रदर्शन हुँदैछ । ‘दाइजोप्रथा विरुद्धको अभियान’ चलाइरहेको संस्थासँग सहकार्य गरेर तपाईंहरुले भर्खरै तराईंका विभिन्न ठाउँमा प्रमोसनल कार्यक्रम पनि गर्नुभयो । तराईं भ्रमण कस्तो रह्यो ?
सबैभन्दा महत्वपूर्ण कुरा ‘राज्जारानी’ नेपाली र मैथिली भाषामा एकैदिन एकैसाथ रिलिज हुँदैछ । यो भन्नु किन पनि महत्वपूर्ण छ भने मैथिलीभाषी पनि थुप्रै हुनुहुन्छ तर मूलधारको फिल्मले कहिल्यै पनि उहाँहरुका भोगाई र कथालाई सम्बोधन गर्न सकेनौँ । गुनासो मात्र गरिरह्यौँ– उहाँहरुले नेपाली फिल्म हेर्नुहुन्न, इन्डियन फिल्ममात्र हेर्नुहुन्छ । त्यसैले यो फिल्म एउटा ‘रिस्क’ पनि हो । मैथिलीमा पनि यो फिल्म तयार गर्नु रिस्क हो तर कसै न कसैले यो रिस्क लिनु जरुरी थियो । यो चिज गरेर पनि हुँदैन भने बल्ल अर्को अप्सन खोज्ने हो । खासमा मैथिली भाषा बुझ्ने दर्शकहरुलाई टार्गेट गरेर तराईमा प्रमोसनल इभेन्ट गरेका थियौँ । जहाँजहाँ इभेन्ट भयो ती क्षेत्र म यसअघि नगएको क्षेत्र थिए । विराटनगर, जनकपुर र बबरगन्ज पुगेँ । एक किसिमको त्यहाँ ठूलो जमात छ, क्रेज छ । हामीले फिल्मको मार्केट सानो भयो भनेर इन्टरनेसनल मार्केट खोजिरहेका बेला आफ्नै देशमा मैथिली बोल्ने ठूलो जमातलाई इग्नोर गरिरहेका छौँ । टुरमार्फत मैले भिन्न क्षेत्रमा पुगेको अनुभव गरेँ ।

त्यहाँ दाइजोको समस्या कस्तो रहेछ, केही अध्ययन पनि गर्नुभयो कि ?
मैले पर्सनल्ली रिसर्च गर्न त भ्याइनँ किनभने छोटो समयमा धेरै ठाउँमा पुग्नुपर्ने थियो । बरु नेपालगंजमा फिल्म छायांकनका क्रममा मैले थुप्रै दाइजोका कथाहरु सुन्न पाएँ । ‘राज्जारानी’मा जति पनि हिंसाका घटनाहरु देखाइका छन्, ती सबै वास्तविक ‘स्टन्ट’ हुन् । कुनैमा पनि ‘बडी डबल’ गरिएको छैन । हिलोमा डुबाएकोदेखि जुत्तामा हानेको सिन सबै वास्तविक सिन हुन् । फिल्ममा त अलिकति चिटिङ गरिन्छ तर त्यसरी गर्दा कथाको भाव राम्रोसँग नआउला भनेर रियल गरेका थियौँ । म त्यहाँ जाँदा महिलाहरुलाई पिट्नु अथवा घरमा बुहारीलाई श्रीमतीलाई हिंसा गर्नु सामान्यजस्तो थियो । मैले त्यहाँ जे देखेँ, एकदमै दुःख लाग्यो ।

फिल्ममा तपाईंले मधेसी महिलाको चरित्र निर्वाह गर्नुभएको छ । यो क्यारेक्टर निर्वाह गर्नलाई तपाईंले कत्तिको मिहिनेत गर्नुभयो ?
यो फिल्मको स्क्रिप्ट मैले ३ वर्षअघि नै पाएको हो । त्यतिबेलादेखि नै मैले यो चलचित्रलाई जुनसुकै अवस्थामा भए पनि गर्छु, छोड्दिन भन्ने संकल्प थियो । किनभने यो फिल्म ‘पात्र’ हिरो भएको कथा हो क्या ! यहाँ नायिका हिरोसँग नाच्नका लागि मात्र चलचित्रमा आउँदिन । सायद त्यसरी बनेका चलचित्रहरु बक्स अफिसमा हिट होलान्, सिक्वेल बन्लान् तर यसमा रिस्क छ, च्यालेन्छ छ र मज्जा पनि छ । स्क्रिप्ट पाएको बेलादेखि नै मैले एकजना नेपालगन्जकी मधेसी मूलकी युवतीलाई साथी बनाएकी थिएँ । उसले फिल्मको डायलगहरु भन्न लगाउँथे र उसको हाउभाउमा टिपेर भन्न खोज्थेँ । काठमाडौंमा जन्मे–हुर्केको भएर होला नेचुरल भाव ल्याउन सकिरहेको थिइनँ । फिल्म सुटिङ हुनुअघि नेपालगन्ज पुगेर त्यहाँको महिलाहरुले एकअर्कामा गर्ने व्यवहार, घरको व्यवहार, एजुकेसन लेभल सबै अध्ययन गरेँ । त्यसलाई नै चित्रण गर्ने कोसिस गरेँ । कत्तिको न्याय गरेकी छु, त्यो त दर्शकले नै मूल्यांकन गर्नुहोला ।

फिल्म साइन गर्नुअघि तपाईं स्क्रिप्टको के कुराले बढी प्रभावित भएर फिल्म खेल्न तयार बन्नुहुन्छ ?
स्क्रिप्टको फ्लो नै हो । स्क्रिप्टको फस्ट पेज पढ्नेबित्तिकै नै थाहा हुन्छ, यो कत्तिको बलियो छ र यसमा कत्ति मिहिनेत गरिएको छ । कहिलेकाहीँ टिमका कारणका फिल्म खेलिन्छ । कहिलेकाहीँ स्क्रिप्ट भन्दा पात्र मन परेकाले त्यही लोभले पनि खेलिन्छ ।

‘स्वर’देखि ‘कोहलपुर एक्सप्रेस’को आफ्नो फिल्मी यात्रालाई कसरी रिभ्यू गर्नुहुन्छ ?
धेरै सिक्ने अवसर  पाएँ । फ्लप, एभरेजदेखि ‘सो–कल्ड’ हिट, मेरा सबैखाले मुभीले मलाई त केही न केही सिक्ने मौका दिए । फिल्मले बक्स अफिसमा जति नै कमाए पनि आफ्नो कामलाई बक्स अफिससँग कहिल्यै तुलना गरिनँ । हरेक काममा सधैँ आफूलाई सुधार्दै लाने प्रण गरे । नयाँ गर्ने लोभले नै मैले अहिलेसम्म कुनै पनि क्यारेक्टर दोहो¥याएर गरेको छैन ।  हरेकचोटी नयाँ मुभी गर्दा डेब्यु गर्दैछु भन्ने ठानेर काम गर्छु । यसले काममा ऊर्जा ल्याउँछ, ‘फ्रेसनेस’ ल्याउँछ । अहिलेको समय र नयाँ पात्रका हिसाबले ‘राज्जारानी’ पनि मेरा लागि डेब्यु चलचित्र हो ।

‘घामपानी’बाहेक तपाईंले खेलेका अधिकांश फिल्मले सुखद् व्यापार गर्न सकेनन् । तैपनि तपाईंलाई फिल्मको कुनै खडेरी भएन । फिल्म नचलिरहँदा पनि आफूलाई नयाँ–नयाँ फिल्मको प्रस्ताव आइरहनुको खास कारण के जस्तो लाग्छ ?
‘हाउ फन्नी’ पनि ‘एभरेज’ चलेको जस्तो लाग्छ । व्यापारका हिसाबले त ‘घामपानी’ भन्दा राम्रो गरेको थियो । सुरुमा म के भन्न चाहन्छु भने मैले चलचित्रमा काम गर्दा कहिल्यै पनि हिटलाई महŒव दिइनँ । दुईखाले फिल्मको अफर एकसाथ आउँथ्यो । एउटामा पात्रको कुनै खास महŒवपूर्ण भूमिका छैन तर त्यो फिल्म सुपरहिट हुनेवाला छ, अर्कोचाहिँ फिल्म चल्ने/नचल्ने ठेगान नभए पनि फिल्म पात्रमुखी छ भने मेरो रोजाई सधैँ दोस्रोतिरै भयो । त्यही भएर होला मैले गरेका थुप्रै चलचित्र तपाईंले भनेजस्तो हिट छैनन् तर मलाई गुनासो छैन । मैले गरेको अधिकांश फिल्म महिलाप्रधान छन् भन्दा मलाई गर्व लाग्छ । अर्को कुरा, मैले सफलता÷असफलतालाई अरुले कसरी हेर्छन् भन्ने कुरालाई कहिल्यै महŒव दिइनँ । मैले सधैँ कुनै एउटा सन्देशमूलक फिल्म गरेकी छु र त्यसले एकजनाको मात्र जीवन परिवर्तन गरेको छ भने त्यो नै मेरो लागि सबैभन्दा ठूलो सफलता हो भन्ने ठानेर अघि बढेँ । मैले कहिल्यै पनि बक्स अफिस रेकर्डलाई आफ्नो सफलतासँग दाँजेकी छैन । थाहा छ, संसारले त्यसरी नै दाँज्छ । यो गलत कुरा पनि होइन । आ–आफ्नो दृष्टिकोणको कुरा मात्र हो । मैले पात्रमा गर्ने मिहिनेतका कारण नै फिल्म हिट नभए पनि मलाई दर्शकले याद गरिरहनु भयो र मैले फिल्मका अफर पाइरहेँ ।

अलिकति जीवनका कुरा गरौं । तपाईंको जीवनको सबैभन्दा खराब क्षण के हो र त्यो परिस्थितिलाई तपाईंले कसरी सामना गर्नुभयो ?
एकबेला पढाइ र करिअर सँगसँगै जुध्दा परीक्षाका कारणले राम्रो प्रोजेक्ट हातबाट गुम्दा ठूलो चोट लाग्थ्यो । अहिले सम्झदा त्यो सानो चोट रहेछ । पर्सनल लेभलमा भएको आर्थिक संकटले कुनैबेला अब जिन्दगी जिउनै गाह्रो होला भन्ने लाग्थ्यो, अहिले त्यो अवस्था पार गरेर आइसकेपछि त्यो कति सानो कुरा रहेछ भन्ने लाग्छ । मान्छेले बलियो हुने अप्सन बाँकी भएका बेला मात्र आफू कति बलियो छु भन्ने कुरा थाहा पाउने रहेछ । अहिले सम्झँदा त्यो परिस्थिति सजिलै पार गरँे भन्ने पनि लाग्छ, कहिलेकाहीँ कसरी सामना गरेँ भन्ने पनि लाग्छ ।

तपाईंको अफेयरको कुरा पनि कहिल्यै सुनिदैन नि ?
त्यो त खोज्नुपर्यो (हाँस्दै) । खासमा भन्नुपर्दा हामी खोज पत्रकारितामा अलि कमजोर छौँ क्या ! अनि जसले जे भन्यो त्यही टिपेर ल्याएर गसिप बनाइदिन्छौं । र, अर्को कुरा म बढी काममै फोकस्ड भएकाले कामकै कारण चिनिन चाहन्छु । कामकै बारेमा चर्चा होस्, कसैले कामलाई नै लिएर कमिकमजोरी औल्याइदिओस् भन्ने लाग्छ । मलाई थाहा छ, कलाकारको पर्सनल कुरा पनि अडियन्सलाई थाहा पाउन मन लाग्छ । तर, त्यो हामी आफैँले बोल्ने भन्दा पनि मिडियाले हाम्रा गोप्य कुरा खोज्दा, रिसर्च राम्रो हुन्छ भन्ने लाग्छ (हाँस्दै) ।

अनि बिहे कहिले गर्ने ? बेला त भएन र ?
लिगल्ली समय त २० वर्षपछि नै भइसक्यो तर समय त्यतिबेलासम्म आउँदैन, जबसम्म तपाईंले जीवन बिताउने साथी पाउनुहुन्न । मैले चाहेर पनि त्यो चिज हुँदैन ।

अहिलेसम्म पाउनुभएको छैन त ?
पाएको भए त म कुर्दिन थिएँ होला । अविलम्ब बिहे हुन्छ (हाँस्दै) ।

तपाईंका लागि एक्टर हुनु भनेको के हो ?
मेरा लागि एक्टर हुन भनेको एकदमै स्मार्ट तरिकाले दर्शकलाई झुक्याउन सक्नु हो । तपाईंले एक्टिङ नै गरिरहनुभएको हुन्छ तर एक्टिङ नगरेको महसुस गराउन सक्नु एक्टरमा हुनुपर्ने खुबी हो । जसले सही ढंगले इमान्दारी साथ दर्शक झुुक्याउन सक्छ, उही हो एक्टर ।

फिल्म क्षेत्रको के कुराले तपाईंलाई चित्त दुख्छ ?
अडियन्सले फिल्म हेरिदिएनन्, मनपराइ दिएनन् भन्ने कुराले त चित्त दुख्दैन किनभने त्यहाँ त म आफू नै असफल भएको हो । तर, अझै पनि महिलाले पाउनुपर्ने स्थान स्क्रिप्टले नदिँदा चित्त दुख्छ । जब फिल्मको डिल हुन्छ, स्क्रिप्ट हेरिन्छ अनि त्यतिबेला अरु पात्रजस्तो मिहिनेत महिला क्यारेक्टरमा नगरेको देख्दा दुःख लाग्छ ।

Leave A Comment