‘३ सय ५० नतिर्दा नाम चलेको डन पुलिस खोरमा’

शनिबार, २२ पुष २०७४, १२ : ३७ अनिल यादव
‘३ सय ५० नतिर्दा नाम चलेको डन पुलिस खोरमा’

पारस श्रेष्ठ,
बाउन्सर इन्चार्ज
फायर क्लब, ठमेल, काठमाडौं


कति वर्ष भयो बाउन्सर भएर काम गर्न थालेको ?
१० वर्ष हुन्छ अब । यही क्लबमा बाउन्सर, सहायक बाउन्सर हेड हुँदै अहिले बाउन्सर हेड भएको छु ।  

कसरी यो काम गर्न थालियो ?
पढाइको सिलसिलामा गाउँ (नुवाकोट)बाट काठमाडौं आइएको थियो । प्लस टुसम्म त काम गरिएन । काठमाडौंमा खान/बस्नलाई सधैँ घरबाट पैसा माग्ने कुरा आएन । त्यसैले काम खोज्ने क्रममा एकजना दाइमार्फत् यो काम थालियो । हरेक काममा गाह्रो त हुन्छ तर यो अलि बढी ‘रिस्की’ काम हो ।

क्लबमा बाउन्सरको खास जिम्मेवारी के हुन्छ ?  
क्लबमा रमाइलो गर्न आउने ग्राहकहरुलाई सुरक्षा दिनु हाम्रो खास जिम्मेवारी हुन्छ । उहाँहरुलाई बाधा हुन नदिन र सुरक्षित महसुस गराउन हामी खटिएका हुन्छौं । एक किसिमले भन्नुपर्दा हामी बिनाबर्दीका प्रहरीजस्तै हौं ।

क्लबभित्र कस्ता–कस्ता मान्छे आउँछन् ?
विदेशी/नेपाली सबै आउँछन् । कोही फेमिलीसहित आउँछन् भने कोही गलफ्रेन्ड÷ब्वाइफ्रेन्ड, कोही साथी–साथी मिलेर, यस्तै हो । मातेपछि अरुलाई ड्यास हान्दिने, मुख छाडिदिने, डिस्टर्ब गरिदिने मान्छे पनि हुन्छन् । त्यसकै लागि त बाउन्सर चाहिने हो । त्यस्ता मान्छेलाई सम्झाउने–बुझाउने काम हाम्रो हो । अर्को कुरा हामी जो पायो उही छिराउँदैनौँ । मान्छे हेरेर मात्र छिराउँछौँ । जो जेन्टल देखिन्छ, उसलाई प्राथमिकता दिन्छौँ । रफ मान्छेले बढी झगडा गर्छन्, उनीहरुलाई बढी टार्गेट गर्छौ ।

क्लबमा त झगडा नभएको दिनै हुँदैन रे ! झगडा भयो कि भएन भन्दा पनि कतिवटा भयो भन्ने प्रश्न उठ्छ रे, हो ?
मैले जागिर खाएको पिरियडभन्दा अगाडि र खाने क्रममा बढी हुन्थ्यो, अहिले अलि कम भएको छ । प्रशासनको पूर्ण रुपमा सहयोग छ । कहिलेकाहीँ सामान्य झगडा हुन्छ तर ठूलो हुँदैन । झगडा हुन त खोज्छ तर हामी त्यसलाई ठूलो रुप हुन नदिई मिलाउँछौँ । हाम्रै कामै त त्यही हो ।  

तर क्लबप्रेमीहरु त बाउन्सरले उल्टै ग्राहक पिट्छ भन्ने आरोप लाउँछन् नि ?
होइन । हामी मान्छे पिट्न बसेकै होइन । दुई पक्षबीच झगडा हुन खोजेपछि हामी छुट्टयाउन जान्छौं, त्यसैले हामीलाई आरोप लाउँछन् ।

के कारणले बढी झगडा हुन्छ ?
झगडा त बढी केटीको निहुँमा नै हुन्छ । एउटाले केटी लिएर आएको हुन्छ, त्यो केटी अर्कैसँग नाचिदिन्छ अनि खा’को तालमा झगडा गर्न खोज्छन् । अर्को, ‘टिकेट बार्गेनिङ’को निहुँमा पनि हुन्छ । ‘म को हो ? चिन्छस्’, ‘तँलाई मार्छु, हान्छु’ भनेर धम्की दिँँदै फ्रिमा छिर्न खोज्छन् अनि मिलाउन तनाव हुन्छ ।

कहिलेकाहीँ त पिटाइ पनि खाँइदो हो ?
झगडा छुट्टयाउने क्रममा कहिलेकाहीँ खाइन्छ । अहिलेसम्म हस्पिटलाइज्ड नै हुनेगरी त खाइएको छैन तर मेडिकलसम्म पुगिएको छ ।

क्लबभित्र केटीहरु पनि झगडा गर्छन् ?
गर्छन् नि ! संस्कारी केटीहरुले झगडा गर्दैनन् । अलि छाडा बोल्ने, रफ हुन खोज्नेहरुलाई निगरानीमा राख्छौं ।

बाउन्सरका रुपमा काम गर्दाको  सबैभन्दा अविस्मरणीय घटना केही छ ?
त्यस्तो त कति हुन्छन्, हुन्छन् । चार वर्ष अघिको एउटा केस कहिल्यै बिर्सन्नँ । एकजना लोकल डन ८–१० जना केटासहित क्लब आउनुभएको थियो । रक्सी खानुभयो । बिल जम्मा ३ सय ५० रुपैयाँ उठेको थियो । तैपनि टेबलमा बिल पुर्याउँदा उल्टै च्यादिनुभयो । हामीलाई हाँसो पनि उठ्यो । पुलिस बोलाएर एक रात थुन्यौं । नाम चलेकै डन हो । ३ सय ५० नतिर्दा पुलिस खोरमा एक रात थुनाइदियौं ।
यसरी काम गर्दा रिस्क त धेरै हुँदो हो, कतिपयले बदला पनि लिँदा हुन् ?
एकदम धेरै रिस्क हुन्छ । क्लबमै आएर बदला लिने भन्ने त हुन्न तर बाटो ढुक्ने, घर ढुक्ने काम गर्छन् । कतिपयले २४ घण्टाभित्र गोली हानेर मारिदिन्छु भन्दै धम्की नदिएका पनि होइनन् तर अहिलेसम्म केही भएको छैन । खासमा यो काम डरपोकले गर्नै सक्दैन । यो काम गर्ने हो भने भोलि कसैले पिट्ला कि, बदला लेला कि भन्ने नसोची काम गर्नुपर्छ ।

अनि बाउन्सरहरुसँग त क्लब आउने युवतीहरु पनि नजिक हुन खोज्छन् रे नि ?
हुन्छन् । भोलिदेखि आउँदा फ्रिमै छिराइदिन्छ भन्ने लोभले नजिक हुन्छन्, कोही बाउन्सरसँग नजिकहुँदा आफूलाई क्लबभित्र सेफ महसुस गर्न खोज्ने पनि हुन्छन् तर हामी त्यसरी सोच्दैनौँ । हाम्रो ध्यान डिउटीतिर मात्र हुन्छ, युवतीहरुसँग अनावश्यक गफ गर्दैनौैँ ।

प्रेम प्रस्ताव पनि राख्दा हुन् ?  
नराख्ने त होइनन् तर आफैँले इग्नोर गर्नुपर्यो । सेक्स प्रस्ताव भने डाइरेक्ट राख्दैनन् । घुमाउरो तरिकाले कुरा गर्छन् । टाइम स्पेन्ड गर्न खोज्छन् तर हामी आफैँ पन्छिन्छौँ । फेरि यो मान्छेअनुसार भर पर्ने कुरा पनि हो । म त केटीको मामिलामा धेरै पर छु । घरपरिवार र श्रीमती भएको मान्छे पनि परियो ।

यो कामबाट कमाइ कत्तिको हुन्छ ?
खासै हुँदैन । १५ देखि २० हजारसम्म हुन्छ । गुजारा चलाउन ठिक्क पुगेको छ ।

राति काम गर्दाको दुःख त धेरै हुँदो हो ?
हुन्छ नि ! चिसोमा जाडो हुन्छ, गर्मीमा खलखली पसिना आउँछ । बाउन्सरलाई धेरै दुःख छ । बेलुका ७ बजेभित्र क्लब छिर्छौं, बिहान घर पुग्दा ४ बज्छ । १०–११ बजे बिहान उठिन्छ । मैले बिहानको घाम नदेखेको त १० वर्षै भइसक्यो । अरुको दिउँसो हुँदा हाम्रो रात पर्छ, अरुलाई रात पर्दा हाम्रो दिउँसो हुन्छ ।

जिन्दगी भनेको के रहेछ त ?
मेरो विचारमा जिन्दगी भनेको इमान्दारिता हो । इमान्दार भयो भने मान्छे एकदिन माथि पुग्छ–पुग्छ । नत्र चार दिनको चाँदनी, फिर अँधेरी रात भनेजस्तै हुन्छ । इमान्दारिता भएन भने माथि पुगेको मान्छे पनि तल भर्छ । विस्तारै सबैको प्यारो भएर, सबैको विश्वास जित्यो भने राम्रो हुन्छ । म बाउन्सरबाट बाउन्सरको इन्चार्ज भएको तीन वर्ष बढी भइसक्यो । सहायक हुँदै हेड भएँ । पछि अझै माथि पुगौँला । यो मेरो इमान्दारिताको देन हो ।
 

Leave A Comment