सुरज थापाका प्रिय १० सुर

शनिबार, २२ पुष २०७४, १२ : १८ भोला अधिकारी
सुरज थापाका प्रिय १० सुर

नेपाल आइडल टप ६ बाट बाहिरिएका लोकप्रिय गायक हुन्, सुरज थापा । उनले आफ्ना पाँच र अरूका पाँच प्रिय लाग्ने गीतका बारेमा यसरी बताए ।

आफ्ना पाँच
बौलाहा हुँ म बौलाहा

यो गीतमा मेरो आफ्नै शब्द संगीत रहेको छ । यो गीतमा एउटा प्रेमिकाका लागि जतिसुकै माया गर्दा पनि वास्ता नगर्दा बौलाहा भएको कुरा गीतले भाव व्यक्त गरेको छ । मान्छेको जीवनमा मेल खाने गीत बनेका कारण पनि यो गीत मलाई प्रिय लाग्छ  ।
ओ प्रिया ओ प्रिया
यो गीतमा  पनि मेरो आफ्नै शब्द संगीत रहेको छ । गीतमा पे्रयसी भनांै आफ्नो मायालुलाई बोलाएको छ । यस गीतमा प्रेमी प्रेमिकाका बीच  मायाप्रेम साटेको कुरा गरिएको छ  । मलाई लाग्छ जसले प्रेम गर्छ उसलाई पक्कै छुने गीत हो यो । ‘हर्ट टचिङ’ गीत भएकाले पनि यो मलाई साह्रै मन पर्छ ।
ए जाने माया
यो सेन्टिमेन्टल गीत हो । यस गीतमा भुपेन्द्र खड्काले मिठो शब्द कोरिदिनु भएको छ । यसको संगीत म आफैंले गरेको छु । यसमा पनि एउटा प्रेमकै कुरा जोडिएको छ । यो गीत प्रायः म गुनगुनाइरहेको हुन्छु । कतै कार्यक्रममा जाँदा यो गीत मुखमा झुण्डिरहेको हुन्छ । त्यसैले पनि यो गीत मेरा लागि प्रिय लाग्छ  ।
 तस्बिर तिम्रो
यो गीतलाई म आफैँले लेखेको हुँ भने संगीत पनि आफँैले गरेको छु । धेरै वर्ष अगाडि कम्पोज गरेको गीत भएर होला माया लागिरहँदो रहेछ । गीतलाई गोपाल रसाइलीले मिठासपूर्ण तरिकाले  एरेन्ज गर्नुभएको छ । मायालुको तस्बिर कति कर्णप्रिय लाग्छ भन्ने कुरा गीतले बोलेको छ ।
मेरी आमा देउता पुज्दै
यो गीतमा शब्द रविन शर्माको रहेको छ । संगीत भने रामकृष्ण बम मल्लको रहेको छ । आफू परदेश गएको बेलामा गाउँमा आमालाई सम्झिएको गीत हो यो । परदेशीको कथाव्यथा र यथार्थ चित्रण भएका गीत मलाई अतिप्रिय लाग्छ  ।

अरूका पाँच
तिम्रो जस्तो मेरो मुटु

स्वर सम्राट नारायण गोपालले गाउनुभएको हो यो गीत । गीतको भाव नै साह्रै मन छुने छ । सायद यो गीत गाउँदा छुट्टै आनन्दको उर्जा उत्पन्न हुन्छ । गीतमा शब्द संगीत उस्तै मन छुने खालको छ । भावुकता बोकेको गीत भएकाले पनि म यो गीत सुन्ने र गुनगुनाउने गर्दछु । सुनिरहेर पनि होला यो गीत प्रिय लाग्छ ।

मुटु जलिरहेछ
भक्तराज आचार्यले गाउनु भएको यो गीत अति नै मन पर्छ । मन छुने शब्द संगीत मेलोडी उस्तै छ । सुन्दासुन्दै गहिराइमा पुगेको भान हुन्छ  । म स्कुलका कार्यक्रममा पनि गीत गाउने गरेको थिएँ । अहिले पनि यो गीत सुन्दा स्कुल पढेको याद आउने गर्छ । गीत विनोद ढकालले लेख्नु भएको हो ।
सायद मायामा फसेँकी
स्वरूपराज आचार्यले गाउनु भएको यो गीतले मेरै जीवनमा मेल खाएको हो कि भन्ने भान गराउँछ । धेरै सुन्ने गीतमा यो गीत मेरो अग्र स्थानमा आउँछ । यो गीत गाउँदा बेग्लै आनन्द आउँछ  । यो गीतमा  सत्यस्वरूपको संगीत रहेको छ ।

भन के छ बन्दोबस्त
विश्व नेपालीले गाएको यो गीत मलाई राम्रो लाग्छ । मैले धेरै कार्यक्रममा यो गीत गाएको छु । मन छुने शब्द, संगीत त छँदै छ । मेलोडीमा पनि उस्तै मिठास छ । संगीत आनन्द राईको रहेको  छ भने शब्द आनन्द अधिकारीको छ ।

आमैले सोध्लिन् नि खोइ छोरो भन्लिन्
यो गीत झलकमान गन्धर्वले गाउनु हो । यो गीत मैले नेपाल आइडलमा धेरै गाएको छु । मलाई नेपाल आइडलमा यो स्थानसम्म पुर्याएको गीत यही हो । यो गीतमा झलकमानकै शब्द र लय छ । लाहुरेको कथाव्यथा यस गीतले पोखेको छ । यो गीत मैले गुनगुनाइरहनेमा पर्छ ।
 

Leave A Comment