मलाई किन नेता भन्या ?

बिहिबार, २० पुष २०७४, ०२ : २२ शुक्रवार
मलाई किन नेता भन्या ?

कुन आधारले म नेता बनेँ ? विनाकारण त्यसै अर्कालाई नेता भन्न पाइन्छ ? पण्डित हुनलाई पण्डित्याइँ चाहिन्छ । नेता हुनलाई धुत्र्याइँ, फुत्र्याइँ के के चाहिन्छ मलाई थाहा छैन, तर म नेता होइन । त्यसै मलाई नेता भन्ने ? नेता बन्ने खुुवि मसित केही छैन । मान्छेलाई प्रशिक्षण दिनोस्, उसको परीक्षण गर्नोस्, कसमा नेता हुने गुण छ, खुवि छ, उसैलाई नेता मान्नोस् । नेता भन्नोस् । जथाभावी मलाई नेता नभन्नोस् । जान्नोस्, सुन्नोस्, बुझ्नोस्, परीक्षण गर्नोस्, हचुवामा अर्कालाई त्यसै नेता नभन्नोस् । हालको यो उपाधि कसैलाई पनि मनपरेको छैन । तपाईंलाई मानहानिको मुद्दा लाग्नसक्छ । त्यसै मलाई नेताको आरोप नलगाउनोस् । मसित कोमल मुटु छ । म त्यतिमाथि पुग्न सक्दिन र चाहन्न पनि ।
भन्नोस् मलाई नेता भन्ने आधार अरु के के देख्नुभो ?

मैले कसैलाई भ्रममा पारेँ कि, कसैलाई आश्वासनको डोको बाँडेँ कि, कुनै जङ्गल फाँडेँ कि, कसैका टाउको चुडाएँ कि कसैका घरखेत उडाएँ कि, कसैका स्वास्नी भगाएँ कि, कसैका गाँसमाथि, बासमाथि, लाशमाथि राजनीतिको राल चुहाएँ ? त्यसै मलाई नेता भन्ने ? आजको यो अवस्थामा विनाआधार कसैलाई नेता भन्न पाइन्छ ? मैले कसैलाई लुटेको, चुटेको, भुटेको तानेको, हानेको, थिचेको, मिचेको कुनै प्रमाण छ ? न त साँठगाँठ गरेर गाँठ कमाएको छु न त साँझबिहान कसैका छोरीबेटी समाएको छु, न त कसैको हरण अपहरण, शरणको मरण पारेको छु ! सुझोनबुझो त्यसै अर्कालाई नेता भन्ने ? मैले कुन जनतालाई धोका दिएँ, कसका लोग्नेस्वास्नी बझाएँ, कसलाई देश कटाएँ ? कसैका सास लुकाएँ, लाश लुकाएँ, टाउको गिडेँ, मातेर हिडेँ, भ्रष्टाचार गरेँ, भकारी भरेँ, अपराध गरेँ, प्लेन लुटेँ, जनता भुटेँ हँ ? त्यसै मलाई नेता भन्ने ? कुनै हुलाकीलाई सुराकी भनेर प्राणान्तको कारबाही गरेँ कि क्रियापुत्रीकै क्रिया गर्नुपर्ने पारेर क्रुर बनेँ कि, मबाट लुटपाट, पिटपाट, भुटभाट केही भयो ? हजारौँले गोली खानु प¥यो, झुन्निनु प¥यो, थुन्निनु प¥यो त्यसको जवाफ खै ? केका आधारमा सार्वजनिक ठाउँमा बसेर सबैका सामु मलाई नेता भनेको ?
ममा नेता हुने कुन गुण देख्नु भो ?

बोल्न पाएँ भन्दैमा जसलाई जे पनि बोल्ने ? यही हो लोकतन्त्रको स्वतन्त्रता ? यही हो समाजवाद ? यही हो मर्यादा ? अर्कालाई विनाबर्दीको पगरी उसै गुथाइदिने ? कसले भन्न सक्छ मलाई नेता भनेर ?
अझै भन्नोस् त म कुनै ठेकेदारसित चोचोमोचो मिलाएर हिँडेको छु कि, भित्रभित्र नोट, बाहिरबाहिर भोट भनेर हिँडेको छु कि, पक्षकालाई डुलाउन र सोझा जनतालाई भुलाउन पचास वर्षमा नसकिने कामलाई पचासदिनमै गरिदिन्छु भनेर जनतालाई भाषणमा रासन बाँडेर बाटोघाटो, पुलपुलेसा, पानी पैनी, जलमार्ग, स्थलमार्ग, हवाईमार्गजस्ता सबै मार्ग पूरा गरिदिन्छु भनेर असम्भव आशा बाँडेर त हिँडेको छैन, त्यसै मलाई नेता भन्ने ?

भन्सारबाट सुन, लेकबाट नुन, जनताको खुन कहिल्यै निकालेको छु ? नेताकै बगालमा धेरै वर्ष काम गरेको भए पनि नेतामा हुने लोभ लालच र लोलोपोतोको गुण नभएको भनेर कस्ताकस्ता छट्टू, धूर्तलाई पाखा लगाएर डन र दुर्जनलाई डाडु पन्यु जिम्मा ला’ बेलाँ मलाई नेता भन्ने ? राजनीतिको धारिलो हतियार र मतियार साथमा हुनेमध्येकालाई त पार्टीले नेता नमानेर बागी, दागी, बैरागी नेता बनाइ’रा बेलाँ माथिका दर्जनौँ गुणमध्ये कुनै एक गुण र क्षमता मात्र पनि नभएको मजस्तो लुरेलाई नेता भन्न पाइन्छ ?
आज नेता, व्यापारी, तस्कर, भ्रष्टाचारी, दुराचारी व्यभिचारी, रागी, दागी, बैरागी, डन, दुर्जन सबैलाई पार्टीपार्टीका गठबन्धनले गाँजेर गन्जागोल गरे रे भन्दैमा मलाई कुन आधारबाट कुन गुटको व्यक्ति ठानेर नेता भन्नु भो ? मलाई चित्तबुझ्दो स्पष्टीकरण चाहियो । नत्र राम्रो हुनेछैन ।

घिमिरे ‘मैदेली’
 

Leave A Comment