सुत्केरी समस्या

बिहिबार, २० पुष २०७४, ०१ : ५९ शुक्रवार
सुत्केरी समस्या

१८ औँ शताब्दीको अन्त्यतिर र उन्नाइसौँ शताब्दीको सुरुवाती दिनहरुमा युरोपका महिलाहरु बच्चा जन्माएको १० दिनभित्र बिरामी पर्थे । त्यस समयका डाक्टरहरु र मेडिकल प्रोफेसनलहरु घरमा बच्चा जन्माउनु भन्दा हस्पिटलमा बच्चा जन्माउनु उचित भन्ने अभियान चलाइरहेका थिए । बच्चा जन्माउँदा हुने मेडिकल जटिलताबाट बच्न अधिकांश महिलाहरु हस्पिटल जान रुचाउँथे । हस्पिटलमा बच्चा जन्माए पनि उनीहरु संक्रमणबाट छुट्कारा पाउन सकेका थिएनन् । उनीहरुलाई बच्चा जन्माएको केही दिनपछि  ज्वरो आउँथ्यो । यसलाई मेडिकलको भाषामा प्युपेरल फिभर भनिन्छ ।

ज्वरोको अलावा पेट दुख्ने समस्याले पनि उनीहरुलाई सताउँथ्यो र ४८ घण्टाभित्र उनीहरुको मृत्यु हुन्थ्यो । केही हस्पिटलहरुमा समस्या झन् गम्भीर थियो । सुत्केरी भएका महिलामध्ये ७०% देखि ८०% महिलाको मृत्यु हुन्थ्यो । यस्तो अवस्थालाई ब्ल्याक डेथ अफ चाइल्ड–बेड भनेर व्याख्या गरियो । यो समस्या युरोपमा मात्र सीमित थिएन । यो पछि अमेरिकी महादेशसम्म फैलियो । परिस्थिति यस्तो भैदियो कि हस्पिटल जानु भनेको मृत्युलाई बोलावट दिनु सरह हुन थाल्यो । त्यसकारण बच्चा जन्माउन हस्पिटल जाने महिलाहरुको सङ्ख्या कम हँुदै जान थाल्यो । यसर्थ मेडिकल संघसंस्थाका मालिक लगायत डाक्टरहरु तनावमा रहे । समस्याको जड पहिल्याउनै सकेनन् । केही सुधारका लागि निरन्तर प्रयास भने गरिरहे ।
त्यो बेला उनीहरु रुढीबादी परम्पराको जरै निमोठेर विज्ञान भिœयाउन सफल भएका थिए । समाज परिवर्तनको अभियन्ता थिए उनीहरु । हरेक कुराका पछाडि तर्क र कारण हेरिन्थ्यो । बुद्धिजीवीहरुको बोलवाला चल्थ्यो । वैज्ञानिक खोज अनुसन्धानलाई प्राथमिकता दिइन्थ्यो र अनुसन्धानबाट आएका निचोडलाई महŒव दिइन्थ्यो । यस्तो युगमा सुत्केरी महिलाहरुमा आएको ज्वरो महामारीले डाक्टरहरुमा कौतुहल जन्मायो । उनीहरुले शोधमा समय र पैसा लगानी बढाउन थाले । वर्षौंको अनुभवबाट आएको बुझाइका आधारमा जटिल सिद्धान्त दिए । ज्वरो महामारीलाई सरल भाषामा वर्णन गर्ने प्रयत्न गरे । महामारी रोकथामको लागि जटिल तौरतरिका पनि अघि सारे । यद्यपि उनीहरुले निर्माण गरेको मेडिकल मोडलले अपेक्षित परिमाण दिएन । ज्वरो महामारी फैलिनुको प्रमुख कारण केलाउन सकेनन् । स्थिति झन्–झन् नाजुक बन्दै गयो ।

मेडिकल सर्जनहरु आफ्नो सोचको दायरा फराकिलो पार्न र महामारी समस्याको समाधान पत्ता लगाउन सम्भव भएका सबै उपायहरु अनुसरण गर्न थाले । उनीहरु बिहान मृतक महिलाको अटोप्सिस लिन्थे । केही समाधान पाउने आशामा अध्ययन गर्थे । त्यसपछि नियमित राउण्डमा जान्थे । बिरामीको उपचारका लागि समय दिन्थे । त्यसताका डाक्टरहरु ‘जर्म थ्योरी’को बारेमा अनभिज्ञ थिए । उनीहरु सरसफाइमा ध्यान दिँदैनन् थिए । बिरामीको हेरविचारपछि हात धुने प्रचलन नै थिएन । अपरेसन÷चिरफार गर्नु परे पनि स्टेरिलाइज (कीटमुक्त) नगरिएको चक्कु÷ब्लेड प्रयोग गर्थे । मास्कबिनै अपरेसन कक्षमा घण्टौँ बिताइदिन्थे ।

सन् १८४३ मा अमेरिकी फिजिसिएन डाक्टर ओलिभर वेन्डेल होम्सले आफ्नो रिर्सच पेपर जर्नल अफ मेडिसिन एन्ड सर्जरीमा छपाए । उनको अनुसन्धानले डाक्टरहरु नै समस्याको प्रमुख कारण रहेको पुष्टि गर्दथ्यो । हस्पिटलमा कार्यरत सम्पूर्ण मेडिकल स्टाफ लगायत डाक्टरहरुलाई पनि सरसफाइमा ध्यान दिन विशेष जोड दिइएको थियो । उनले बिरामी उपचारका क्रममा प्रयोग भएका सामान, लत्ताकपडा स्टेरिलाइज (कीटमुक्त) गरे र डाक्टरहरुले बारम्बार हात धोए मात्र रोग निवारण हुने तर्क दिए । तर यस्तोे सुझाव उनका समकक्षीलाई मन परेन । उनी हाँसोका पात्र भए । आलोचकहरु भन्ने गर्थे, ‘डाक्टर जेन्टलमेन हुन् । उनीहरु समस्याका कारक हुनै सक्दैनन् ।’ आलोचकहरुको नकारात्मक टीकाटिप्पणी आए पनि डाक्टर होम्सले दिएका तथ्यहरु नकार्न सकिने अवस्था थिएन । डाक्टरहरु जति धेरै पटक मृतक शरिरको अटोप्सी गर्थे त्यति नै धेरै महिलाहरु संक्रमित हुन्थे। अटप्सी संचालन गर्ने केही डाक्टरहरुसमेत संक्रमणको सिकार हुन्थे । यो क्रम वर्षौंसम्म चल्यो । अन्ततः १२ वर्षपछि मेडिकल संघसंस्थाहरुले आफूलाई सच्याए । हस्पिटल सेनिटेसनमा ध्यान दिन थालियो भने यसैलाई जोड दिइयो । डाक्टरहरु जिम्मेवारी साथ मास्क, पञ्जा र कीटमुक्त सामानहरु प्रयोग गरेर अपरेसन गर्न थाले । त्यसपछि केही सकारात्मक परिवर्तन देखिन थाल्यो । नभन्दै ३० वर्षभित्र प्युपेरलको महामारी सधैँका लागि हराएर गयो ।

त्यसैले कहिलेकाहीँ हामी आफैँ समस्याको जड हुन्छौँ । हामी समस्याको समाधान बाहिरै खोज्छाैं । समस्या खोज्न टाढा जानु पर्दैन । समस्या बाहिर होइन, हामीभित्रै छन् । यो तथ्य स्वीकार्न के हामीमा हिम्मत छ ? हामी कत्तिको जिम्मेवार छौँ ? कतै अरुमा मात्रै खोट देखेका त छैनौँ ? हो, हामीले टेकेको ठीक पैतालामुनिको माटो देख्न सकिँदैन तर एक पटक आत्ममूल्यांकन गरी हेरौँ । सोच बदलौँ । पैताला मुनिको धुलो हेर्ने कोसिस गराैं।

Leave A Comment