माओवादी–एमाले एकीकरणका अप्ठेरा के छन् ?

बिहिबार, २० पुष २०७४, १२ : ३३ शुक्रवार
माओवादी–एमाले एकीकरणका अप्ठेरा के छन् ?

पार्टी एकीकरण गर्ने र स्थिर सरकार बनाउने भनी चुनावमा होमिएका एमाले र माओवादी एकीकरण अहिले राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । प्रत्यक्ष निर्वाचन सम्पन्न भएको एक महिना बितिसक्दा पनि एकीकरणको ठोस खाका आएको छैन । राजनीतिक वाद, सैद्धान्तिक धारणा, पदीय भागवण्डाजस्ता मामिला एकीकरणका पेचिला पक्ष हुन् । एमाले माओवादी एकीकरण प्रक्रियालाई नजिकबाट नियालिरहेका राजनीतिज्ञ तथा राजनीतिक विश्लेषकहरूले एकीकरणसँग जोडिएका विभिन्न राजनीतिक, सामाजिक पक्ष केलाएका छन् । राजनीतिकर्मी र विश्लेषकसँग प्रजु पन्तले शुक्रबारका लागि गरेको कुराकानीः

‘एकता होइन, मिलिजुली खान खोजिएको हो’
हरि रोक्का

वाम एकीकरण भनेको मिलिजुली जाऔँ, बाँडीचुँडी खाऔँ भनेजस्तै हो । दुई पार्टी एकीकरण भएको त धेरै राम्रो हो तर जुन तरिकाले एकीकरण प्रक्रिया थालनी भयो, त्यो दीर्घकालीन सोच, चिन्तन राखेर गरेजस्तो देखिँदैन । यो मिलिजुलि जाआँै, बाँडीचुँडी खाऔँ भनेर क्षणिक फाइदाका लागि गरेजस्तो देखिन्छ किनभने पार्टी एकीकरण हावा कुरा होइन । कसैलाई गफ लगाएजस्तो सहज कुरा होइन । बोलेजस्तो काम गर्न सजिलो छैन । दुवै पार्टी ५० वर्षदेखि भिन्नभिन्न छन् । अलगअलग धारबाट, विचारधाराबाट र संस्कारबाट आएका छन् । त्यसो हुनाले पार्टीमा हुने स्कुलिङ, सोच्ने तरिका छलफल गर्ने तरिका नै फरक छ । यस्तो अलग धार, अलग स्कुलिङबाट आएकालाई कार्यकर्ता तहदेखि नै एउटै बनाउन धेरै ग्राहो छ । सैद्धान्तिक रुपमा पनि एउटा जनताको बहुदलीय जनवाद (जबज) मान्छ, अर्काे माओवाद । अब कुन धारमा जाने भन्ने पनि टुङ्गो लगाउनुपर्ला । यस विषयमा छलफल भएको मैले सुनेको छैन ।

फरकधारकै पार्टी बनाउने हो भने के सिद्धान्तमा जाने भनेर खुलाउनुपर्ने हो तर त्यसो गरेको देखिँदैन । यसै राजनीतिक दल बन्दैन । यहाँ त खेलाँची गरेजस्तो भएको छ । कुनै पनि राजनीतिक दल बन्नलाई त इतिहासदेखि हेर्ने हो भने पनि पहिले कुन दर्शनशास्त्र, दोस्रोमा विचारधारा, तेस्रोमा संगठन निर्माण कार्यक्रम लगायतका कुरा आउँछन् । यहाँ त चुरो कुरामा छलफल भएकै छैन । महŒवपूर्ण कुरामा बहस, छलफल भएको छैन । बाहिर सुन्नमा आएअनुसार सेकेन्डरी कुरा पदीय भागबण्डाका कुरा आएका छन् र यो तरिकाले कस्तो किसिमको एकीकरण हुने हो बुझिनसक्नु भएको छ । पहिले पार्टीको उद्देश्य के हो स्पष्ट हुनुपर्नेमा नेतृत्वले जवाफ दिन सकेको छैन । यसरी विचारधारा नै स्पष्ट नबनाई एकीकरणमा पुगिदैन र त्यस्तो दिगो पनि हुँदैन । यो त छोटो समयका लागि गरेजस्तो सत्तामा नै पुग्नका लागि गरेजस्तो देखिएको छ ।

देशका विकासका लागि साँच्चै गम्भीर भएर सोचेको हो, उन्नति प्रगति नै चाहेको हो भने विचारधारामाथि व्यापक रुपमा छलफल, बहस तल्लो तहदेखि नै हुनुप¥यो । नयाँ विचारधाराबाट जान खोजेको हो भने विचारधारा स्पष्ट हुँदै जानुपर्छ तर व्यवहारमा के देखिन्छ भने सत्तामा कसरी पुग्ने र नाम तथा दाममा लागेजस्तो देखिन्छ ।

‘जटिलता छन् वाम एकतामा’  
श्याम श्रेष्ठ

अहिलेको आवश्यकता अनुसार नै वाम गठबन्धन भएको हो । नेपालमा कम्युनिस्टहरु यत्रतत्र छरिएर रहेको नेपाली जनताले मन पराएका थिएनन् । समयको माग बुझ्दै एमाले, माओवादी लगायतका वाम दलहरू एकीकृत भएका हुन्, चुनावको समयमा । एकीकरण राम्रो कुरा हो तर एकीकरण प्रक्रिया सजिलो भने छैन किनभने दुवै दल आ–आफ्नै संघर्षबाट आएका छन् । दुवै दलले एकलेअर्काको अस्तित्व सम्मान गरेको अवस्थामा एकीकरण सहज होला तर एकले गरेको काम अर्काेले स्वीकार नगरे त गाह्रो हुने देखिन्छ । दुवै दल आपसमा मिलेको अवस्थामा नेपाल पनि बेलायत अमेरिकाको जस्तो दुई दलीय व्यवस्थामा जान सक्छ ।

अहिले दलहरू एकीकरणका चर्चा छन् । दलहरू एकीकरण हुँदा  सिद्धान्त के हुने ? संगठन कस्तो बन्ने ? को–को कार्यसमितिमा रहने भन्ने कुरा पनि आँउछन् । माओवादीले माओवाद मान्छ, एमालेले जबज । अहिले दुवै दल आफ्ना सैद्धान्तिक अडानबाट पछाडि हट्ने स्पष्ट सङ्केत गरेका छन् । एमालेका घनश्याम भुषाल लगायतका नेताले जबजको औचित्य सकिएको भन्दै त्यहाँबाट केही राम्रा कुरा मात्र लिने बताएका छन् । उता माओवादीका नेता नारायणकाजी श्रेष्ठले माओवाद छोड्ने कुरा गरिरहेका छन् । यसरी दुवैका राम्रा कुरा लिने र पूरै चाहिँ छोड्ने कुरा जनाइरहेका छन् । यसरी हेर्दा नयाँ सिद्धान्त सहितको नयाँ पार्टी गठन हुने देखिन्छ ।

एउटै पार्टी हुँदा मुख्यतः चार वटा चुनौती देखेको छु मैले । पहिलो पदको व्यवस्थापन कसरी गर्ने भन्ने हो । तल्लो कमिटीदेखि केन्दीय कमिटी सम्मै दुवै दलका आकांक्षी निकै धेरै देखिन्छन् । यसलाई कसरी व्यवस्थापन गर्छन् भन्ने हो । दोस्रो माओवादीले सशस्त्र युद्धलाई आफ्नो आदर्श मान्छ भने एमालेले सशस्त्र युद्धको औचित्य देख्दैन । माओवादीले प्रचण्डपथ मान्छ भने एमालेले मदनपथ मानेर आएको छ, यसलाई कसरी लिन्छन् भन्ने हो । यस्ता मामलामा  शीर्ष नेता स्पष्ट देखिए पनि कार्यकर्ता तहमा  वैचारिक एकता कसरी हुने भन्ने चुनौती छ । तेस्रोमा सांस्कृतिक चुनौती छ । दुवै दलमा सांस्कृतिक विचलन छ । चप्पलमा आएका मान्छे १०÷१२ वर्षमा महली भएका छन् । माओवादी २०६४ मा आउँदा जुन स्थिति थियो, अहिले त्यो स्थितिमा छैन । एमालेको पनि अवस्था त्यस्तै हो । सांस्कृतिक विचलनलाई यी दुवै पार्टीले एक भएपछि कसरी समाल्छन् ? अहिलेकै अवस्था र भौतिकवादी विलासितामै रमाइरहने हो भने तात्विक फरक के भयो र ?
त्यस्तै चौथो चुनौती भनेको चुनावमा जाँदा बनाएको घोषणापत्र हो । त्यसमा असम्भव कुराका ताँती छन् । जस्तो खाद्यान्नमा नेपाललाई दुई वर्षमा आत्मनिर्भर बनाउने कुरा, तीन वर्षमा विद्युतमा आत्मनिर्भर, १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने कुराजस्ता थुप्रै कुरा छन्, जुन निर्धारित समयमा हुन सक्दैनन् । यस्ता जनस्तरमा बाँडेका आश्वासन कसरी पूरा हुने हो ?  
यी चुनौतीबीच पार्टी एकीकरण हुने सम्भावना भने देखिन्छ । दुवै दलले बहुदल मान्ने, लोक कल्याणकारी राज्य बनाउने, समाजवादसम्म पुग्नेजस्ता कुरा साझा विन्दु हुन् । अहिले अब चाहेर पनि उनीहरु एकीकरणबाट उम्कन सक्दैनन् किनभने दुवै दलले एकलौटी सरकार गठन हुने सम्भावना छैन । एकीकरण भएन भने जनतालाई धोका दिएको हुन्छ । किनभने यो बहुमत वामपन्थी दललाई आएको हो, कुनै एक पार्टीलाई होइन । स्थिर सरकार बनाउँछौँ भनेर आएको हो । पार्टी एकीकरणमा एक ढिक्का दुवै दलका केहीलाई छोडेर सबै पुस्ता एक नै देखिन्छन् । एकता हुने कुरामा संशय राख्नुपर्ने देख्दिन तर एमालेका ईश्वर पोखरेल र माओवादीका गोपाल किराती, आहुति जस्ताको असहमति देखिन्छ । उनीहरूसँग ठूलो संगठन छैन । सरकार गठन लगायतका पदीय भागबण्डा मिल्दै जाला ।

‘प्रचण्डलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक’
देवेन्द्र पौडेल, 
माओवादी नेता
पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद माओवादीलाई हुनुपर्छ यो हाम्रो बटमलाइन नै हो । सरकारको नेतृत्व अथवा पार्टीको नेतृत्वमा हाम्रो दाबी छ । यी दुईमध्ये एक माओवादीलाई हुनुपर्ने हाम्रो बटमलाइन नै हो किनभने एमाले माओवादीमा प्रवेश गरेको पनि होइन, माओवादी एमालेमा प्रवेश गरेको पनि होइन । त्यस कारण पदमा पनि बाँडफाँड हुनुपर्छ । पार्टीमा प्रवेश गरेको भए, जे छ त्यही स्वीकार्न सकिन्छ तर मिलेपछि पदहरु पनि मिलाउनुपर्छ । पार्टी समायोजन भएपछि सबै कुरा समायोजन हुन्छ । भागबण्डा नै हुन्छ र हुनु पनि पर्छ । अहिले पार्टी एकीकरणमा ढिलासुस्ती आउनुका पछाडि सरकार गठनको कुराले पनि हो । सरकार गठन भएलगत्तै पार्टी एकीकरण हुन्छ किनभने अहिले जनताको चाहना भनेको वामपन्थी दल एक होऊन् भन्ने हो । जनादेश पनि त्यहीअनुसार प्राप्त भएको होे । वामपन्थीहरु एकजुट हुनुपर्ने आजको आवश्यकता पनि हो । संविधानमा लेखिएको समाजवाद प्राप्त गर्न पनि हामी एक हुन जरुरी छ । अहिले हामी सिद्धान्त नै नयाँ बनाउने कुरा चलाएका छौँ । जबजको पनि राम्रो कुरा लिने २१ आँै शताब्दीको जनवादको पनि  राम्रा कुरा लिने र नयाँ सिद्धान्त बनाउने हो । कार्यदलमा त्यस विषयमा औपचारिक अनौपचारिक छलफलमा जुटिरहेका छौँ । छिट्टै टुङ्गोमा पुग्छौँ । अलिकति समय लाग्दैमा एकीकरण हुँदैन कि भनेर शङ्का गर्न जरुरी छैन । एकीकरण त हुन्छ नै अलिकति समय लागेको मात्र हो तर बाँडफाँडमा पनि मिलाएर गएन भने एकीकरण यो नै हुन्छ भन्न गाह्रो छ ।

‘एकीकरणमा कुनै शङ्का छैन’
घनश्याम भुसाल,
एमाले उपमहासचिव

कम्युनिस्टहरु एक हुनुपर्ने आजको आवश्यकता हो । एकीकरणको प्रक्रिया त चुनावअघि नै भइसकेको छ । चुनावअघि हामीले तालमेल गरेर एकताको  सुरुवात गरिसकेका हौँ । चुनावी नतिजाले के देखाउँछ भने यी दुवै पार्टीका कार्यकर्ताले एकीकरण मुद्दालाई अनुमोदन गरिसकेका छन् । हामीले सरकार बनाउनुअगाडि पार्टी कस्तो बनाउने, कहिले हुने, विधिविधान कस्तो हुने भन्ने कुराको मोटामोटी खाका बनाइसक्छांै । र, अहिले काम त्यहीअनुसार अगाडि बढिरहेको छ । बाहिर चलेको जस्तो प्रधानमन्त्री को हुने, अध्यक्ष को हुने भन्ने विषयमा त्यति धेरै विवाद छैन । त्यो त प्राविधिक पाटा हुन् ।

बिस्तारै मिल्दै जान्छ । अहिले पार्टीको सिद्धान्त के हुने ? पदीय भागबण्डा कसरी गर्ने ? स्थानीय, जिल्ला, प्रदेश, केन्द्रको कमिटीहरु कसरी बन्ने ? पोलिटब्युरो कमिटी कसरी बन्ने ? स्थायी समिति कसरी बन्ने ? भन्ने जस्ता विषयमा व्यापक छलफल भइरहेको छ । एकीकरणको प्रक्रिया सरकार गठनसँगै अगाडि बढ्दै जान्छ । यसमा कुनै विवाद छैन । यसमा शंका गर्नुपर्ने कुनै कारण देखिँदैन ।

Leave A Comment