बिरालोेको टोकाइबाट मृत्यु, डाक्टर चकित

शनिबार, १५ पुष २०७४, ०२ : १२ शुक्रवार
बिरालोेको टोकाइबाट मृत्यु, डाक्टर चकित

उपेन्द्र खड्का
डाक्टर शेरबहादुर पुनले बिरालोेले मानिसलाई टोकेपछि रेबिज लागेर मृत्यु हुन्छ भन्ने कुरा उनको ४० वर्षीय जीवनसम्म न त सुनेका थिए न त देखेका नै । केही महिनाअघि नुवाकोट शिवपुरी गाउँपालिका ५ नं वडाका करिब ४३ वर्षीय प्रह्रलाद पोख्रेलको बिरालोेले टोक्दा रेबिज लागी मृत्यु भएको आफ्नै आँखाअगाडि देखेपछि डाक्टर पुन आफैँ झस्किए ।

गत दसैंको समयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका प्रãाद पोख्रेलको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको डाक्टर पुनले देखेपछि आफू चकित भएको बताए ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले भने, ‘बिरालोेले टोकेर रेबिज लागी मानिसको मृत्यु भएको मैले पहिलोपटक देखेँे ।’ पोख्रेलको मृत्यु हुनुभन्दा पहिले बिरालोेले टोकी रेबिज लागेर मान्छेको मृत्यु भएको आफूले कहिल्यै नसुनेको डा. पुनले बताए । बिरालोेले टोक्दा सैद्धान्तिक रूपमा रेबिजको उपचार गर्ने भए पनि बिरालोेले टोकी मृत्यु भएको नेपाल र विश्वकै लागि समेत त्यो (प्रãाद पोख्रेलको) घटना नौलो हुने उनले दाबी गरे । डा. पुनका अनुसार हिँडिरहेको समयमा पछाडितिरबाट झम्टिएर बिरालोेले मृतक पोख्रेललाई टोकेको थियो । त्यस बिरालोेले गाउँका अन्य ६/७ जनालाई समेत टोकेको थियो । ‘उपचार गर्न ढिलो भइसकेकाले मृतक पोख्रेललाई बचाउन सकिएन,’ डा. पुनले दुःख व्यक्त गर्दै भने ।  

साउन महिनामा मृतक पोख्रेललाई बिरालोेले टोके पनि बिरालोेले टोक्दा रेबिज लाग्दैन र रेबिजको सुई पनि दिन पर्दैन भन्ठानेर उपचार नगरी घरमै बसेकाले पोख्रेललाई गुमाउनुपरेको हो । दसैँपछि भर्ती गरिएलगत्तै पोखरेलको ज्यान गएको थियो । बिरालोले टोकेर हप्तामा ५÷६ जना बिरामी आउने गरेका छन् । यस घटनाले बिरालोले टोक्दा रेबिज लाग्दैन भन्ने धारणाका आधारमा अस्पताल नआउने अझै धेरै संख्या हुन सक्ने डा. पुनको आँकलन छ ।

मुसाले टोक्दा रेबिज लाग्दैन
बिरालोले रेबिज सारेर मृत्यु भएको घटनापछि भने सर्वसाधारणले मुसाले टोक्दा रेबिज लाग्ने खतरा रहे÷नरहेको बारे सोधपुछ गर्नेहरु बढेको डाक्टर पुन बताउँछन् । ‘मुसाले टोक्दा टिटानस सुई चाहिँ लगाउनुपर्ने तर रेबिजको सुई लगाउन आवश्यक छैन,’ डाक्टर भन्छन्, ‘मुसाले टोक्दा रेबिज लाग्ने सम्भावना हुँदैन । मुसाले टोकेर रेबिज लाग्छ भन्ने कुनै वैज्ञानिक आधार पनि अहिलेसम्म देखिएको छैन । मुसाले टोकेर रेबिज लागी मानिसको मृत्यु भएको अहिलेसम्म इतिहासमै मलाई थाहा छैन ।’  
कहिलेकाहीँ ब्याक्टेरियल इन्फेक्सन हुनसक्नेतर्फ उनले सचेत गराए । इन्फेक्सन भएको खण्डमा एन्टिबायोटिक चलाउनुपर्ने उनले बताए । मुसाको टोकाइबाट शरीर सुन्निने, शरीरका जोर्नी दुख्ने समस्या भने हुनसक्ने डाक्टर पुन बताउँछन् ।

प्रायः महिलाले घरायसी काम गर्ने भएकाले मुसाको टोकाइबाट पीडित भएर अस्पताल आउने गरेको डा. पुन बताउँछन् । उनका अनुसार हप्तामा ४÷५ जना मुसाले टोकेर उपचार गर्न आउने गरेका छन् । डा. पुन सचेत गराउँदै भन्छन्, ‘टिटानस भयो भने उपचार छ तर रेबिजको लक्षण देखा परिसकेपछि त्यसको उपचार छैन । त्यसैले कुनै पनि जंगली जनावरले टोकेको खण्डमा जति सक्दो चाँडो अर्थात् २४ घण्टाभित्रै रेबिजको उपचार गर्नुपर्छ । कुनै पनि जनावरले टोकेको खण्डमा रेबिजको सुई भने दिनुपर्छ ।’

बाँदरले टोकेर रेबिज लागेको भेटिएको छैन  
डा. पुनले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा  अहिलेसम्म बाँदरको टोकाइबाट रेबिज लागेर मृत्यु नभएको प्रस्ट पारेका छन् । पशुपति, स्वयम्भू लगायतका मन्दिरका बाँदरले टोकेका बिरामीमा हालसम्म कुनै पनि रेबिजको भाइरस नभेटिएको डा. पुनले बताए । ‘हप्तामा १२ जनाभन्दा धेरै बाँदरले टोकेर अस्पतालमा उपचार गर्न आउने भए पनि हालसम्म कुनै पनि रेबिज लागेका बिरामी भेटिएका छैनन्,’ डा. पुनले भने । इपिडिमियोलोजी महाशाखाले पशुपतिका बाँदरमा अनुसन्धान तथा जाँच गरेको तर जाँच गर्दा रेबिजको भाइरस नभेटिएको समेत आफूलाई जानकारी भएकाले पशुपति, स्वयम्भू लगायतका क्षेत्रमा भएका बाँदरले टोकेको खण्डमा रेबिज नलाग्ने र आत्तिन नपर्ने समेत डा. पुनको भनाइ छ । ‘नेपाल सरकारको प्रोटोकललाई फलो गर्दा इपिडिमियोलोजीका अनुसार देवस्थलका बाँदरमा रेबिज नदेखिएकाले त्यसक्षेत्रका बाँदरले टोकेका बिरामीलाई हामी रेबिजको सुई लगाउँदैनौँ । एकै पटकमा धेरै जनालाई टोकेको खण्डमा भने रेबिजको सुई लगाइन्छ,’ डा. पुनले भने । ‘बाँदरले टोकेर आएका बिरामीलाई रेबिज लागेको पनि छैन र नेपालमा बाँदरले टोकेका मानिसलाई रेबिज लागेर मृत्यु भएको इतिहास पनि छैन,’ डा. पुनको दाबी छ । बाँदरले टोकेर टेकु अस्पतालमा दैनिक एक दर्जनभन्दा धेरै बिरामी जाने गरेका छन् ।

कुकरले टोकेका बिरामी धेरै
डा. पुनका अनुसार कुकुरले टोकेर दैनिक १ सय ५० सम्म बिरामी अस्पतालमा आउने गरेको बताउँछन् । कुकुरले टोकेर मासिक औसतमा दुईजनाको टेकु अस्पतालमा रेबिजका कारण ज्यान जाने गरेको डा. पुनले  जानकारी दिएका छन् । मुसा, बिरालो, कुकुर, बाँदर, स्याल, ब्वाँसो, बाघ, भालु, लोखर्के, खरायो घोडालगायतका जनावरले टोकेका बिरामी अस्पतालमा आउने गरेको डा. पुनले बताए । कुन जनावरले टोक्दा रेबिज लाग्छ र कुन जनावरले टोक्दा रेबिज लाग्दैन भन्ने सर्वसाधारणमा जनचेतना फैलाउन आवश्य रहेको डा. पुन बताउँछन् । पानी देख्दा डराउने, पानी खान नसक्ने, हावासँग डराउने, रिसाउने जस्ता लक्षण रेबिज लागेका बिरामीमा देखिने डा. पुनले बताए । डा. पुनले एक सय रुपैयाँको टिकट काटेपछि प्रायः सबै औषधि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा  बिरामीले पाउने गरेको बताएका छन् । साथै उनले अस्पतालमा हाल कुनै पनि औषधिको अभाव नभएको समेत प्रस्ट पारे ।

Leave A Comment