मनमोहन गोल्डकपको उपाधि मनाङले जित्यो

शनिबार, १५ पुष २०७४, ०२ : ०५ शुक्रवार
मनमोहन गोल्डकपको उपाधि मनाङले जित्यो

चुमन बस्नेत

सुनसरीको दुहबीमा आयोजना भएको दोस्रो मनमोहन दुहबी गोल्डकपको उपाधि काठमाडौंको मनाङ मस्र्याङ्दीले जितेको छ । यस सिजनमा पूर्वाञ्चलको विभिन्न गोल्डकपको उपाधि जित्दै आफूलाई बलियो टिम स्थापित गर्दै आएको चिरप्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई एकका विरुद्ध दुई गोलले स्तब्ध बनाउँदै मनाङले उपाधि चुमेको हो । निकै रोमाञ्चक र कडा प्रतिस्पर्धा रहेको खेलमा आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । प्रतियोगितामा ३ गोल गर्दै सर्वाधिक गोलकर्ताबाट पुरस्कृत नवयुग त्यसपछि मैदानमा गोलका लागि प्रयासमा जुटिरहे ।

आर्मीले झापामा भएको सताक्षी गोल्डकप र काँकरभिट्टा गोल्डकपको उपाधि जितेको छ । आर्मीले रूपन्देही ११ लाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । अर्कोतर्फ काठमाडौंको चर्च ब्वाइज युनाइटेडलाई हराउँदै उपाधि होडमा पुगेको मनाङका लागि डि बक्स बाहिरबाट भलि प्रहार गर्दैै गोल गर्न सफल विशाल राईले खेल बराबरीमा ल्याए । केही समयअघि राष्ट्रिय अन्तर्राष्ट्रिय खेलबाट बिदा लिएका मनाङका कप्तान अनिल गुरुङले गोलका लागि केही राम्रो प्रयास गरेका थिए । चोटबाट तंग्रिएका आर्मीका कप्तान भरत खवासले पनि खेललाई आफ्नो पक्षमा ल्याउन प्रयास गरेका थिए । मध्यक्रमबाट बल अघि बढाएका अनिलले डि बक्समा बल क्रस गरेका थिए । उक्त बललाई नियन्त्रणमा लिँदै सुजल श्रेष्ठले विमल रानालाई एसिस्ट गरेका थिए । आर्मीको डिफेन्स लाइनमा अनमार्क रहेका रानाले उक्त अवसरलाई खेर जान दिएनन् । विकास खवासलाई चिर्दै रानाले गरेको प्रहार गोल हुन पुगेको थियो ।

त्यसपछि गोलका लागि अन्तिम १० मिनेटको समय आर्मीले मनाङमाथि पूरै दबाबमा राख्दै एकपछि अर्को आक्रमण गर्यो । अन्ततः गतवर्षको हारको बदलालिँदै मनाङले प्रतियोगिताको दोस्रो संस्करणको उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो । जितसँगै उत्कृष्ट खेलाडीमा मनाङका खेलाडीले विभिन्न उपाधिमा कब्जा जमाए । जसमा उत्कृष्ट खेलाडी सुजल श्रेष्ठ, गोलरक्षक दिपेश थापामगर, फरवार्डमा कप्तान अनिल गुरुङ र डिफेन्समा प्याट्रिक घोषित भए । आर्मीका कप्तान भरत खवासले उत्कृष्ट मिडफिल्डकोे उपाधि पाए । विगतको भन्दा पुरस्कार राशि बढाएको प्रतियोगितामा आयोजक इलेभेन एरोज क्लबका दीपक राईले आठवटा टोलीको सहभागिता रहेको प्रतियोगितामा विजेता मनाङले ४ लाख रुपैयाँ, उपविजेता आर्मीले २ लाख रुपैयाँ जित्यो । प्रतियोगितामा आर्मी, मनाङ, मोरङ ११, रूपन्देही ११, चर्च ब्वाइज युनाइटेड, आयोजक एलेभेन एरोज, हिमालयन शेर्पा र झापा ११ को सहभागिता रहेको थियो ।

५० औं क्याप जित्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका अनिल गुरुङलाई मनमोहन गोल्डकपको फाइनलमा सम्मान गरिएको थियो । गुरुङ लामो समयदेखि मनाङ मस्र्याङ्दीबाट खेल्दै आएका छन् । उनलाई सम्मानस्वरूप टिभी प्रदान गरिएको थियो । उनले फिलिपिन्ससँग खेल्दै अन्तर्राष्ट्रिय खेल जगतबाट सन्यास लिएका हुन् । गुरुङले भारतको चर्चित आई लिगमा सिलोङलाजोङबाट एक सिजन खेलेका थिए । गुरुङको खेल सुरुवात पोखराको साहारा एकेडेमीबाट भएको थियो ।

२०२३ सालमा फुटबल खेलको विकास गर्ने उद्देश्यका साथ दुहबीका स्थानीय व्यक्ति र फुटबल खेलाडीको टोलीले एलेभेन एरोज क्लब स्थापना गरेको हो । क्लब स्थापनासँगै अहिलेसम्म निरन्तररूपमा फुटबलको विकासमा टेवा पु¥याउँदै विभिन्न नामबाट गोल्डकप फुटबल प्रतियोगिता गरिरहेको छ । क्लबले दुगड गोल्डकप, लुनकरण दास गंगादेवी दुहबी गोल्डकप, दुहबी गोल्डकपका नामबाट प्रतियोगिता आयोजना गरिएको थियो भने गतवर्षबाट मनमोहन दुहबी गोल्डकपबाट प्रतियोगिता भइरहेको छ ।   

Leave A Comment