फुटबल थेग्दै प्रदेश–१

शनिबार, १५ पुष २०७४, ०२ : ०२ शुक्रवार
फुटबल थेग्दै प्रदेश–१

गिरिराज बाँस्कोटा/ पाँचथर

फुटबल विकासको मेरुदण्ड मानिने विभिन्न डिभिजनका राष्ट्रिय लिग सञ्चालन नहुँदा क्लबहरूले खेलाडी अनुबन्धन गरेका छैनन् । विभागीय टोली बाहेकका ए डिभिजनका क्लबहरूमा खेलाडी अनुबन्धन नहुँदा खेलाडी विस्थापित हुने अवस्था छ । तर हिउँद सुरु भएपछि प्रदेश– १ मा एकपछि अर्को हुने ठूला–साना किसिमका फुटबल प्रतियोगिताका कारणले खेलाडीलाई टिक्न केही सजिलो भएको छ भने फुटबल गतिविधिसमेत बढेका छन् ।

पछिल्ला वर्षमा प्रदेश १ मा हुने फुटबल प्रतियोगिताले नेपालको फुटबल धानिरहेको जानकारहरू बताउँछन् । क्लब लिग, राष्ट्रिय लिग सञ्चालन नभइरहेको अवस्थामा राजधानी काठमाडौं तथा अन्य प्रदेशको तुलनामा यहाँ बढी प्रतियोगिता हुने गर्छन् । हिउँद सुरु भएपछि प्रदेश–१ मा एकपछि अर्को हुने फुटबल प्रतियोगिताले फुटबल गतिविधि बढाउनुका साथै खेलाडीलाई समेत टेवा पुगेको छ ।
प्रदेश १ का विभिन्न जिल्लामा ठूला–ठूला गोल्डकपहरू आयोजना भइरहेका छन् । यो क्रम वैशाखसम्म चल्नेछ । केही प्रतियोगिता सम्पन्न भइसकेका छन् भने एक दर्जनभन्दा धेरै प्रतियोगिता हुने तयारीमा छन् । गाउँगाउँमा हुने साना प्रतियोगिता र सहरमा हुने ठूला प्रतियोगिताले पूर्वमा फुटबलको माहोल सृजना गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०७१ सालमा राष्ट्रिय लिग सम्पन्न गरेपश्चात लिग सञ्चालन नगरिरहेको अवस्था छ । आन्तरिक स्रोत नभए पनि विभिन्न किसिमबाट प्रतियोगिता भएका पाइन्छन् । प्रदेश १ मा आयोजना हुने फुटबल खेलाडीलाई केही भए पनि टिकाउन सहयोगी भएको छ ।

नेपालको समग्र फुटबल थेग्न प्रदेश १ को महŒवपूर्ण योगदान रहेको फुटबलका जानकार तथा एन्फा सुनसरीका पूर्व अध्यक्ष दिलिप राई बताउँछन् । ‘बाक्लो गरी हुने प्रतियोगिताले फुटबलको विकास तथा खेलाडीलाई टिक्न सहज भएको छ । खेलाडीलाई टिकाउन थोरै भए पनि प्रदेश १ का प्रतियोगिता सहयोगी बनेका छन्,’ राईले शुक्रबारसँग भने, ‘अन्य क्षेत्रको तुलनामा पूर्वमा बढी नै फुटबल हुन्छन् । ठूला–ठूला प्रतियोगितामा देशकै अनुभवी खेलाडी आइपुग्ने गरेका छन् । हिउँदका केही महिना खेलाडीलाई  भ्याई–नभ्याई हुने गरेको छ । खेलाडी उत्पादनमा पनि टेवा पुगेको छ ।’ पूर्वमा साना प्रतियोगिता असख्य हुने गरेका छन् । ठूला किसिमका गोल्डकप पनि बाक्लो गरी हुने गरेका छन् । त्यसमा ठूला–ठूला पुरस्कारका राशि राखिने गरिएको छ । ए डिभिजनका क्लबहरू सहभागी हुन आउँछन् । अनुभवी क्लबहरूले प्रदेश १ मा सहभागिता जनाएका छन् । क्लबहरूले प्रतियोगितालाई ध्यानमा राखेर खेलाडी छान्ने गरेका छन् । सुपरिचित क्लब सहभागी नभएका प्रतियोगितामा पनि स्थानीय तथा क्षेत्रीय क्लबहरूले अनुभवी खेलाडीलाई मैदानमा उतार्ने गर्छन् ।

पाँचथर सदरममुकाम फिदिममा नवौं फाल्गुनन्द गोल्डकप जारी छ । एक दशकयता यो प्रतियोगिता भइरहेको हो । केही दिनअघि झापामा सताक्षि गोल्डकप र मेची नेत्रालय काकरभिट्टा गोल्डकप सम्पन्न भएका छन् । सुनसरीमा मनमोहन दुहबी गोल्डकप सम्पन्न भएको छ । सुनसरीको इटहरीमा विजेताले ११ लाख रुपैयाँ पाउने गरी अन्तर्राष्ट्रिय मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप गर्ने घोषणा गरिएको छ । यो मोफसलकै ठूलो पुरस्कार हो । केही महिनाअघि ताप्लेजुङमा पाथिभरा गोल्डकप सम्पन्न भएको छ । यस्तै केही महिनाअघि सुनसरीमा भरौल गोल्डकप, उदपुरमा कटारी गोल्डकप सम्पन्न भएको छ ।
अब केही महिनामा सम्पन्न हुनेगरी फुटबल प्रतियोगिताको तयारी धमाधम हुन थालेको छ । पाँचथर सदरमुकाम फिदिममा फाल्गुनन्द गोल्डकपको तयारी तीव्ररूपमा अघि बढाइएको छ । झापामा झापा गोल्डकप, सुरुङ्गा गोल्डकप, इलाममा माईभ्याली गोल्डकप, धरानमा बुढासुब्बा गोल्डकप, सुनसरीमा मनमोहन दुहबी गोल्डकप हुने तयारीमा छन् । यस्तै मोरङमा विराट गोल्डकप, पथरी गोल्डकप, उदयपुरमा कटारी गोल्डकप, धनकुटामा भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रित गोल्डकप लगायतका प्रतियोगिता तयारीमा छन् । यी ठूला किसिमका प्रतियोगिता हुन् । साना–साना पुरस्कारका प्रतियोगिता धेरै छन् । यस किसिमका प्रतियोगिताले खेलाडीलाई राहत पुग्ने झापा–११ का क्याप्टेन योगेश गुरुङ बताउँछन् । लिग सञ्चालन नभएको बेला प्रदेश–१ मा एकपछि अर्को हुने फुटबल प्रतियोगिताले केही राहत पु¥याउने उनको भनाइ छ । खेल खेलेबापतको पारिश्रमिक, म्यान अफ दि म्याच, वेष्ट प्लेयरलगायतका पुरस्कारले पनि राहत दिने उनको भनाइ छ । देशभरको तुलनामा पूर्वमा भइरहने प्रतियोगिताले फुटबलको माहोल सृजना गरेको उनको भनाइ छ ।

विभिन्न सहयोगी, प्रायोजकहरूको भरमा प्रतियोगिता सञ्चालन भइरहेका छन् । पूर्वका पाँचथर, ताप्लेजुङ, इलाममा बढी दर्शकको चाप हुने गर्छ । यस्ता प्रतियोगिताले फुटबलको विकासका साथै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष विमल श्रेष्ठ बताउँछन् । फुटबलको व्यावसायिक विकासमा पनि सहयोग पुग्ने उनको भनाइ छ । खेलाडीको वृद्धिविकासमा कम लगानी भए पनि फुटबलमा भने प्रशस्त लगानी भएको देखिन्छ ।

 

Leave A Comment