हेयर केयर र मेकअपमा रमेको जोडी

बिहिबार, १३ पुष २०७४, ०१ : ३२ दिलीप पौडेल
हेयर केयर र मेकअपमा रमेको जोडी

धेरै नेपाली युवायुवती स्वदेशमा अवसर नभएको भन्दै विदेशिइरहेका छन् तर एउटा जोडी भने विदेशको अवसरलाई त्यागेर स्वदेशमै रोजगारी सृजना गरिरहेको छ । उनीहरु आफूले व्यवसाय गरिरहेका छन् नै स्वदेशमै उद्यमशीलता विकास गर्न जनशक्ति पनि तयार गर्न पनि तल्लिन छन् । ललितपुर गोदावरीका रमेश सिलवाल र वसन्ती सिलवाल (राचल) अध्ययनका लागि युरोपियन मुलुक नेरदल्यान्ड पुगेका थिए । संयोग यी दुईको भेट विदेशमै भयो । उनीहरुको मन मात्र मिलेन, व्यावसायिक योजना पनि मिल्यो ।

वसन्तीको मेकअपमा रुचि अनि रमेशको हेयर स्टायलमा काम गर्ने सोख । नेदरल्यान्डको एक बहुराष्ट्रिय कम्पनीमा काम गर्ने यी दुवै जना विदेशी भूमिमै सँगै जीउने कसम खाए  र व्यावसायिक योजना पनि बुने । दुवैले एउटै निष्कर्ष निकाले, ‘अब विदेश होइन, स्वदेशमै फर्किएर व्यवसाय सुरु गर्नुपर्छ ।’ काम गर्ने ‘स्पिरिट’ मिलेकैले हाृेला उनीहरुको मन पनि मिल्यो । विदेशमा सिकेको सीपलाई प्रयोग गर्दै यो जोडीले काठमाडौंको पानीपोखरीमा ‘फेसन जेड कस्मेटोलोजी मेकअप एन्ड हेयर आर्ट सेन्टर’ सञ्चालन गरिरहेका छन् । तीन वर्षअघि सुरु गरेको सेन्टरबाट उनीहरुले व्यावसायिक सफलता पाइरहेका छन् ।


त्यहाँ अहिले हेयर केयर, मेकअपका सबै सुविधा त छन् नै यस क्षेत्रमा काम गर्न चाहने युवायुवतीलाई तालिम पनि दिइरहेका छन् । रमेशले हेयर र वसन्तीले मेकअपसम्बन्धी विदेशी भूमिमै अध्ययन र तालिम लिएका हुन् । त्यही सीप र ज्ञानलाई आफ्नै व्यवसायमार्फत बाँडिरहेका छन् । ‘आफूले सिकेको सीप र ज्ञानलाई प्रयोगमा ल्याउन व्यवसाय सुरु गरेका हौँ,’ रमेशले भने, ‘हेयर केयरमा डेप्थमा अध्ययन गरेको छु ।’

उनले कपालको रौं खस्ने समस्यालाई उपचार गर्ने दाबी गरे । ‘कपाल झर्ने समस्याको समाधान गर्छौं,’ उनले भने । हरेकलाई समय परिस्थितिअनुसार आफ्नो कपालको रौंलाई पनि स्टाइलिस बनाउन चाहन्छन् । त्यही चाहना रमेशले पूरा गरेका छन् । ‘हेयर डिजाइनिङ, स्टायल, कलरिङ सबै सेवा दिन्छौं,’ उनले भने, ‘युरोपियन स्टान्डर्डको सेवा दिने भएकाले सबै सन्तुष्ट छन् ।’ उनले रौंमा रङ लगाउने इतिहासमा पनि गहिरो अध्ययन गरेका छन् । ‘एक सय ८ वर्षअघिबाट फ्रान्सको लोरेल कम्पनीले कलरिङ सुरु गरेको हो,’ उनले भने, ‘विगतमा रङ लगाउँदा रौंमा असर भएपनि अहिले असर निकै न्यून हुन थालेको छ ।’

विगतमा अमोनियाको मात्रा धेरै भएकाले रौंमा समस्या देखिए पनि अहिले ब्रान्डेड केमिकल प्रयोग गर्ने बताउँछन् । ‘क्वालिटी प्रोडक्ट प्रयोग गर्ने नयाँ प्रविधि आएको छ,’ उनले भने, ‘प्रयोगकर्ताको कुनै कम्प्लेन छैन ।’ रमेश प्रवीणता प्रमाण पत्र तह अध्ययन गर्दा गर्दै विदेश गएका हुन् । आफ्नो विषयमा भने उनी पोख्त छन् । हेयर केयरको विषयमा उनले किताब लेख्न सुरु गरेका छन् । ‘तीन चार महिनामा लेखिसक्ने योनजामा छु,’ उनले भने, ‘हेयरसम्बन्धी विस्तृत जानकारी दिने योजना हो ।’

‘आफूले सिकेको ज्ञान बाँड्ने योजना हो,’ उनले भने, ‘मेरो पुस्तक पाठ्यक्रममा पनि समावेश हुनेछ ।’ किताब तयार गरेपछि सिटिइभिटीले डिप्लोमा कोर्सको लागि प्रयोग गर्ने आश्वासन पाएको बताए ।
बजारमा सञ्चालन रहेका सैलुन, हेयरकेयर सेन्टरले गहिराईमा पुगेर सेवा नदिएको उनको दाबी छ । ‘पर्याप्त ज्ञान नभएसम्म ठीक ढंगले सेवा दिन सकिन्न,’ उनले भने, ‘चर्चित सैलुनका डिजाइनर पनि हामी कहाँ तालिम लिन आउँछन् ।’ बजारमा चलेका भन्दा उनकोमा सेवा केही महँगो छ । ‘गुणस्तरीय सेवा र सीप दिने भएकाले केही महँगो भएको हो,’ उनले भने, ‘कस्टमर र विद्यार्थी सन्तुष्ट छन् ।’  उनको सेन्टरमा तालिम लिनेलाई मासिक २४/२५ हजार रुपैयाँ लिने गरेका छन् ।

वसन्ती पनि मेकअपमा पोख्त छिन् । उनले नेपालमा नभएर बहुर्राष्ट्रिय कम्पनीमा पनि काम गरिसकेकी छिन् । भारतको चर्चित भिएलसिसीमा मेकअपसम्बन्धी अध्यापन गरेको अनुभव छ । ‘तालिम लिँदालिँदै टप गरेपछि भारतमै पढाउने अवसर पाएँ,’ उनले भनिन्, ‘विदेशमा सिकेको अनुभवलाई स्वदेशमा प्रयोग गरिरहेकी छु ।’ विगतको तुलनामा मेकअप धेरै अघि बढेको बताउँछिन् । उनले प्रशिक्षार्थीलाई विभिन्न कोर्सहरु अध्यापन गराउँछिन् । उनको सेन्टरमा सर्टिफिकेट तहको अध्यापन हुन्छ । ‘पार्लर खोल्न, मेकअप आर्टिस्ट बन्न चाहने वा विदेश जाने जो सुकैले पनि तालिम लिन सक्छन्,’ उनले भनिन्, ‘सेल्फ मेकअपदेखि फोटो सुटसम्म फोकस गरेका छौं ।’

सुरुमा हेयर कलरिङमा काम गरेकी उनलाई फिल्ममा मोडलको मेकअपले आकर्षित ग¥यो । व्यक्तिगत मेकअप, पार्टी मेकअप, ब्राइडल मेकअप, फोटो सुटको लागि पनि उनले मेकअप गर्छिन् । ‘मेकअपमा नेचुरल ब्युटी पनि हुनु जरुरी छ,’ उनले भनिन् । मेकअपमा नेचुरेल ब्युटी बनाउनु पर्ने बताउँछिन्् ।
सौन्दर्य प्रतिको बढ्दो आकर्षण बढ्दो छ । आर्थिक सम्पन्नतासँगै ब्युटी पार्लरमै गएर ‘ब्युटी’ बन्ने महिला–पुरुषको सोखले पार्लर व्यवसाय फस्टाएको बताउँछिन् । महिलाहरु थ्रेडिङ, ड्रिमिङ, हेयर कटिङ, हेयर कलर, मेकअप गर्न लालायित छन् । थोरै लगानीमा कम जोखिमपूर्ण र नगद आम्दानी हुने भएकाले पनि नयाँ पुस्ता यो व्यवसायमा आकर्षित छन् ।

तीन वर्षअघि नेपालमा यो जोडीले सुरु गरेको हेयर आर्ट सेन्टरको व्यावसायिक यात्राले फड्को मारेको छ । सेन्टरमा मध्यम वर्गीय र उच्च वर्गीय हेयर ट्रिटमेन्टका लागि आउँछन् । कम्पनीमा दम्पती मात्र नभएर सात जनाले रोजगारी पाएका छन् । ‘हामी सबैको तलब र खर्च कटाएर मासिक दुई लाख बढी नाफा हुन्छ,’ रमेशले भने, ‘आफ्नै देशमा काम गर्दा आत्मसन्तुष्टि मिलेको छ ।’ यो जोडीलाई सेवा दिन भ्याई नभ्याई छ ।  त्यहाँ सेवा लिए बापत ५ हजारदेखि १८ हजार रुपैयाँसम्म लिने गरेका छन् । ‘शुल्कको बारेमा सेवाग्राहीको कुनै कम्प्लेन छैन,’ उनीहरुले भने, ‘सेवामा सन्तुष्टी दिन सकेका छौं ।’नेपाल फर्किएपछि सुरु गरेको व्यवसायले उचाई लिँदैछ । अन्य ठाउँमा पनि यसको शाखा विस्तार गर्ने योजना बनाएका छन् । विदेशमा काम गर्न भन्दा स्वदेशमै व्यवसाय गर्दा आत्मसन्तुष्टी र आम्दानी मिलेको उनीहरु बताउँछौं । ‘विदेशबाट फर्केपछि जिरोबाट सुरु गरेका हौं,’ दुवैले एक स्वरमा भने, ‘विदेशमा भन्दा यहाँ राम्रो छ ।’

उनीहरुको सेन्टरमा सेवा लिनको लागि पहिले नै समय लिनुपर्छ । ‘पहिले नै समय नलिने ग्राहकलाई सेवा दिन कठिन हुन्छ,’ रमेशले भने, ‘अधिकांश सेवाग्राही फोनबाट बुकिङ गरेर आउँछन् ।’ पति–पत्नी नै एउटै व्यवसायमा काम गर्दा भिन्न आनन्द हुने उनीहरु बताउँछन् । ‘एकै क्षेत्रमा काम गर्दा कन्फिडेन्ट बिल्डअप हुने बताए । श्रृंगारका लागि पैसा खर्च गर्न कन्जुस्याइँ नगर्ने भएकाले बजार बढिरहेको छ । ‘हरेकले आफ्नो पर्सनालिटी बनाउन चाहन्छ,’ वसन्तीले भनिन्, ‘खाने कुरामा कम्प्रमाइज गर्लान्, मेकअपमा गर्दैनन् ।’ उनीहरुले विदेशबाट केयरकेयर, मेकअपसम्बन्धी प्रोडक्ट विदेशबाट आयात गरेर बिक्री गर्ने गरेका छन् ।

Leave A Comment