निम्न मध्यम वर्गीय परिवारलाई लाजै बढी

बिहिबार, १३ पुष २०७४, ०१ : ०० शुक्रवार
निम्न मध्यम वर्गीय परिवारलाई लाजै बढी

नेपालीमा यो काम गर्दा सानो र त्यो काम गर्दा ठूलो भन्ने अर्थ लगाइन्छ । कुनै खास पेसा र काम गर्दा सानो–ठूलो भइने भावका कारण देशलाई नै हानि पुगिरहेको छ । वास्तवमा न त कुनै काम ठूलो हुन्छ न त सानो नै ! खासगरी निम्न र निम्न मध्यम वर्गीय परिवारमा सानो–ठूलो कामको भावनाले यति गहिरो प्रभाव पारेको छ कि त्यही प्रभावका कारण उनीहरुले खुलेर आफ्नो कामबारे बताउन सक्दैनन् न त गर्नै सक्छन् । यही भावनाका कारण पनि उनीहरुको प्रगति अवरुद्ध हुन थाल्छ ।

समाजले पनि को सानो, को ठूलो भनी भेदभाव नगर्दा र पेसा तथा पेसाकर्मीलाई सम्मान गर्दा ‘निम्नस्तरको काम’ गरिरहेको छु भन्नेहरुमा हीनताबोध पलाउँदैन । त्यसो त पछिल्लो समय कसले के भन्ला भन्ने संकोच तोडेर आफूलाई फक्राउने पात्रहरु पनि समाजमा नदेखिएका होइनन् तर अधिकांश भने रुमल्लिइरहेका छन् ।

‘हामीलाई संकोच नै बढी लाग्ने !’
सानैदेखि मिहिनेतका साथ पढेँ । कक्षामा पनि पढाइको स्तर राम्रो थियो । प्रायः स्कुल छँदा उत्कृष्ट पाँचसम्म भइरहन्थेँ । राम्रो पढाइका कारण शिक्षकशिक्षिकाले पनि माया गर्नुहुन्थ्यो र अझै राम्रो पढ्नू भनी हौसला दिनुहुन्थ्यो । त्यसैले एसएलसी पनि राम्रो श्रेणीमा पास भएँ । घरनजिक उच्च शिक्षा हासिल गर्ने ठाउँ थिएन । त्यसैले दुई जना मिल्ने साथीसँग अर्घाखाँचीकै सीतगङ्गा नगरपालिकामा बसी ११ कक्षा पढ्न थालेँ । अन्तिम परीक्षाको परिणाम निकै राम्रो आयो तर विवाहको प्रस्ताव आयो । केटी मान्छेमा आत्मबल कम हुनाले र घरपरिवारकै कुरा मान्नुपर्ने दबाब भएकाले विवाहको कुनै विकल्प थिएन । बिहेपछि १२ कक्षाको परीक्षा सकेँ र हामी दुवै काठमाडौँ आई संघर्ष गर्ने निर्णय पनि ग¥यौँ । काठमाडौँ आएपछि पाटनमा पढ्ने कुरा आयो । बिहानी कक्षामा भर्ना भएँ अनि पढाइलाई निरन्तरता दिएँ । त्यस बेला मेरो श्रीमान् मीनभवन कमर्स क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्यययन गर्नुहुन्थ्यो । यसै सिलसिलामा कक्षा १२ को नतिजा पनि निस्कियो । नतिजा राम्रो आयो । पढाइलाई निरन्तरता दिँदादिँदै पनि बिहे अघि र पछिको पढाइमा धेरै अन्तर पर्दोरहेछ । काठमाडौंको महँगी, विद्यार्थी जीवन, घरबाट पठाएको पैसाले नथेग्ने भएपछि एउटा सानो पसल खोल्ने निर्णय भयो र स्टेसनरी पसल गर्न थाल्यौँ । बिहान क्याम्पस अध्ययन गर्ने र दिउँसो पसलमा बस्ने गर्न थालेँ । पसलमा बस्दा फुर्सदको समयमा पाठ्यपुस्तक पढी बस्थैँ । यसैगरी पढाइलाई निरन्तरता दिँदै गए । सबैतिरको जिम्मेवारी निर्वाह गर्नुपर्दा पहिलेको जस्तो राम्रोसँग पढाइलाई निरन्तरता दिन सकिएन र पढाइको स्तर खस्किन थाल्यो । यत्तिकैमा बच्चा पनि जन्मियो अनि त पढाइलाई निरन्तरता दिनै सकिएन । घरमा कहिलेकाहीँ मात्र पढेर भए पनि परीक्षा चाहिँ दिने गर्थें । परीक्षामा धेरै राम्रो नम्बर आउन सकेन । ब्याचलर सकेपछि डिग्रीमा भर्ना गर्नुभन्दा बरु पसलमा बस्दा लोकसेवा आयोगका किताब पढ्नु ठीक लाग्ने गरेको छ ।

अहिले मेरा दुई छोरा छन् । सानो स्टेसनरी पसल, त्यही पसलको आम्दानी र घरबाट आएको सानो खर्चबाट काठमाडौँजस्तो महँगो ठाउँमा जेनतेन बस्न, खान, बच्चा पढाउन पुगिरहेको छ । निम्न मध्यम वर्गमा जन्मिएपछि अलि सानोतिनो काम गर्न नै रुचि लाग्छ, भनौँ लाज पनि । न त उपल्लो स्तरको कामका लागि नाम निकाल्न नै सकिन्छ, न त चिया पसल चलाउनै ! तीन चार वर्षदेखि लोकसेवाका लागि भिडिरहेकी छु । एक दिन कसो नाम ननिकालिएला भन्ने लागिरहन्छ ।
गीता खनाल
बुद्धनगर, काठमाडौं

‘अर्को जन्ममा निम्न वर्गमा जन्म नहोस्’
मेरो एसएलसी दिएपछि मागी विवाह भयो । मेरो परिवारका सबै सदस्य इन्डियामै बसोबास गरेकाले म पनि बिहेपछि त्यहीँ गएँ । विवाह सानै उमेरमा भएपछि                                                                                                                                                                                                                                                   एसएलसीपछि पढाइलाई निरन्तरता दिन सकिनँ । त्यत्तिकैमा बच्चा पनि जन्मियो । निम्न मध्यम वर्गमा जन्मिएपछि इच्छा लागेको गर्न चाहिँ नपाइने ! सबभन्दा दुःखको कुरा नै यही हो । फेरि हामी जस्तो परिवेशमा हुर्किएका हुन्छौँ, त्यसकै प्रभावका कारण आफूमा आत्मबलको पनि अभाव हुँदोरहेछ । आफ्ना बाबुबाजेले जे–जसरी परिवार चलाउनुहुन्थ्यो, त्यसरी नै चलाउनुपर्ने बाध्यता हुँदोरहेछ । इन्डियामा छँदा छोरी बिरामी भइरहन्थी । उसलाई औषधिउपचार गराउनका लागि म अहिले नेपाल आएकी हुँ । त्यति ठूलो रोग त होइन तर गर्मीका कारण हो कि भनेर यहाँ आएकी हुँ । नेपालमा त झन् बस्नका लागि कोठा भाडा महँगो र खानेकुरा पनि इन्डियाको तुलनामा झनै महँगो लाग्यो । अलिअलि घरबाट ल्याएको पैसाले यहाँ बस्न, छोरीलाई औषधिउपचार र शिक्षा दिलाउन नै गाह्रो हुने रहेछ । त्यसमा पनि आफ्नो पढाइ नभएपछि राम्रो काम पाउनै नसकिँदोरहेछ । सानोतिनो काम पाए पनि परिश्रमअनुसार पैसा नै नपाइने ! छोराछोरीले पनि साथीभाइको देखासिकीमा त्यहीअनुसारको डिमान्ड गर्छन्  । उनीहरुको इच्छा पूरा गराउन नसक्दा कताकता खिन्न मन हुने रहेछ । आधुनिक युग भए पनि परिवार रीतिरिवाजअनुसार काम गर्नुपर्ने भएकाले यो जन्ममा त यस्तै भयो भयो अर्को जन्ममा चाहिँ निम्न मध्यम वर्गमा मेरो जन्म नहोस् जस्तो लाग्छ ।
माया शर्मा
हाल : तीनकुने                                               

‘निम्न वर्गलाई लाजै बढी’
निम्न मध्यम वर्गमा जन्म भएकोमा मलाई त एक किसिमको मानसिक तनाव जस्तै हुन्छ । एक त परिवारको आर्थिक स्थितिले राम्रोसँग उच्च शिक्षा हासिल गर्न नसकिने अनि आफ्नो मनस्थिति नै कुण्ठित हुने हुनाले अगाडि बढ्न पनि गाह्रो हुन्छ । वर्ग विशेषकै कारणले होला काम व्यववहार पनि त्यही अनुसारको हुँदोहरेछ । यस वर्गको परिवार भए पनि अहिलेको आधुनिक युगमा राम्रोसँग पढ्नुपर्छ, कामलाई सानो ठूलो नभनी गर्नुपर्छ भन्छन् सबैजना तर मनमा त्यही छाप बसिसकेकाले त्यसलाई हटाउन नै गाह्रो पर्ने । छोराछोरीले पनि त्यहीअनुसारको काम गर्न मन पराउँछन् । घरमा केरा पाकेको छ, छोरा केरा बेचेर त्यही पैसाले चिनी, चियापत्ती लिएर आओभन्दा मलाई त केरा बेच्न लाज लाग्छ भन्छ । निम्न वर्गका मान्छेलाई लाजै बढी लाग्ने । कसरी मेरा छोराछोरीको यो लाज हट्छ, मलाई उपाय बताइदेऊ न भन्दा केहीले सुझाव दिन्छन्, ‘सबैका छोराछोरी त्यस्तै हुन्, अलि बुद्धि पलाएपछि गर्छन् ।’ छोराछोरीले बा–आमासँग पैसै नभएरै होला मलाई केरा बेचेर सामान ल्याओ भनेको भनेर कहिल्यै बुझ्ने प्रयास गर्दैनन् । यो पनि निम्न वर्गकै प्रभाव हो कि !
लक्ष्मी भुसाल
कपिलवस्तु

Leave A Comment