म्यासेन्जर किड एप बच्चाका लागि खतरा

बिहिबार, १३ पुष २०७४, १२ : ४६ शुक्रवार
म्यासेन्जर किड एप बच्चाका लागि खतरा

फेसबुकले बच्चाहरूको लागि भनेर नयाँ च्याटिङ एप ल्याएको छ । ‘म्यासेन्जर किड’ नाम दिइएको यो एप फेसबुकले ६ देखि १३ वर्षका बच्चाहरूले प्रयोग गर्न सक्ने जनाएको छ । बच्चाहरूसँग हरेक समय स्मार्टफोन र इन्टरनेटको पहुँच बढ्दै गएकाले सोसल मिडियाका विभिन्न प्ल्याटफर्महरूले बच्चालाई आर्कषण गर्न सुरु गरेका छन् । हामीले धेरै जसोको स्मार्टफोनमा इन्स्टाग्राम, स्न्यापच्याट, युट्युब, ह्वाट्सएप र फेसबुकजस्ता धेरै सामाजिक सञ्जाल रहेको पाउनेछौँ ।

सामाजिक सञ्जालले तीव्र गतिमा नेपालमा आफ्नो ठाउँ ओगटेको छ । अहिलेसम्म विश्वमा २० करोड बढी मानिसहरू फेसबुक चलाउने गर्छन् । फेसबुकले अब तपाईंका साना बच्चाका लागि च्याटिङ एप ल्याउन लागेको हो ।

यो च्याटिङ एपको मुख्य विशेषता भनेको यसमा अभिभावकको नियन्त्रण रहन्छ । बच्चहरूले आफ्नै इच्छाले न कसैलाई एड गर्न पाउनेछन् न कुनै म्यासेज डिलिट गर्न सक्ने छन् । अभिभावकले मात्र यी सबै गर्न पाउने छन् । फेसबुकका अनुसार युवाहरूको लागि बनेको म्यासेजर एपको प्रयोग बच्चा र किशोर अवस्थाका बच्चाहरूको लागि राम्रो हुँदैन । हाल यो एप अमेरिकाका बच्चाहरूको लागि मात्र आएको छ तर यो एप बिस्तारै फेसबुकले अरु देशहरूलाई पनि उपलब्ध गराउने बताएको छ । साइबर एक्सपर्टका अनुसार यो एप बच्चाहरूको लागि एउटा नयाँ खतरा हो ।

उनीहरू भन्छन् ‘सुरुमा नै बच्चाहरू आफ्नो गलत उमेर फेसबुकमा राखेर फेसबुक प्रोफाइल चलाउन थालेका छन् । अब झन् यसले ६÷७ वर्षका बच्चालाई समेत च्याटिङको लतमा लगाउने छ । यस्तोमा बच्चाले असल जिन्दगीमा कुरा गर्न र सामाजिक व्यवहार सिक्न नसक्ने अवस्था सिर्जना हुनेछ ।’
साइबर एक्सपर्टका अनुसार फेसबुकका लागि यो एउटा बिजनेस मात्र हो किनभने उनीहरूका लागि नयाँ प्रयोगकर्ता तयार हुनेछन् । फेसबुकले कुनै कथा या कविताको किताब निकालेको भए त्यो उपयोगी हुने थियो तर यस्तो च्याटिङ एप कुनै राम्रो उद्देश्यका साथ ल्याउन नलागिएको साइबर विज्ञ बताउँछन् ।
मनोवैज्ञानिकहरूको भने यस विषयमा फरक धारणा रहेको छ । उनीहरू भन्छन्, ‘हामीले बच्चाहरूलाई आफैँ ओपन प्लेटफर्म दियौँ भने बच्चाहरूले लुकेर केही काम गर्ने छैनन् । यो आफ्ना बच्चालाई कुनै फिल्म देखाएजस्तै हो । हामी बच्चाहरूले आफ्ना साथीहरूसँग कस्तो कुरा गर्दै छन् भन्ने कुरा थाहा पायौँ भने उनीहरूको मनोवृत्तिबारे सजिलै थाहा पाउन सक्ने छौँ ।’

यो कामका लागि पहिला आमाबुबा नै मानसिक रुपमा तयार हुनुपर्नेछ र त्यसपछि मात्र बच्चाहरूलाई प्रयोग गर्न दिनुपर्नेछ । केही गडबड देखिएमा बच्चालाई सजाय दिनु नहुने मनोवैज्ञानिकहरू बताउँछन् ।
एक रिसर्च सेन्टरका अनुसार हरेक दिन ९२ प्रतिशत किशोर इन्टरनेटको प्रयोग गर्ने गर्छन् र उनीहरू मध्ये २४ प्रतिशत लगातार अनलाइनमा बस्ने गर्छन् ।

रिसर्चका अनुसार जो बच्चाहरू सामाजिक सञ्जालमा जति धेरै व्यस्त रहने गर्छन्, उनीहरू अनलाइन हुन पाएनन् भने त्यति नै दुःखी र एक्लोपन महसुस गर्ने गर्छन् । उनीहरूमा चिन्ता, समाजमा घुलमिल नहुने र डिप्रेसनमा पर्नेजस्ता समस्या देखापर्न सक्छन् ।

अमेरिकाको ‘रिस्र्टाट लाइफ सेन्टर’ नामक एक पुनउत्थान केन्द्रले इन्टरनेट र गेमिङजस्ता कुराको लतमा फँसेका मानिसहरूलाई यो लतबाट निकाल्न मद्दत गर्ने गर्छ । यस्ता रिहेब सेन्टर खुल्नुले पनि के संकेत गर्छ भने आउँदा दिनमा बच्चा र किशोरका लागि यो ठूलो समस्याको रुपमा देखापर्ने निश्चित छ ।

Leave A Comment