यौनकर्मीको सदाबहार स्पट

शुक्रबार, ०७ पुष २०७४, १२ : २४ शुक्रवार
यौनकर्मीको सदाबहार स्पट मोडलिङमा आधारित तस्बिर । मोडल: स्यारोन राई/संजिब श्रेष्ठ । तस्बिर : रुकेश श्रेष्ठ

भनिरहनु नपर्ला, राजधानीको परिचित र व्यस्त ठाउँ हो– रत्नपार्क । पार्कको नाम फेरिएको धेरै भइसक्यो तर यसको चरित्र अझै उस्तै छ । पहिले पार्कभित्र हुने ‘सेक्स डिल’ अहिले ‘बाहिरै’ भइरहेको हुन्छ । रत्नपार्क क्षेत्र अहिले ‘सदाबहार सेक्स स्पट’का रुपमा परिचित हुँदैछ । यसको बदनाम चरित्रका कारण त्यहाँ ओहोरदोहोर गर्ने सर्वसाधारणले समेत सास्ती खेप्नुपरिरहेको छ । उपेन्द्र खड्गापुष्पा थपलियाले  रत्नपार्क क्षेत्रमा हुने विभिन्न तमासा नियालेर तयार पारेको रिपोर्ट ।

‘नयाँ–नौलो केटी यहाँ देख्नै हुँदैन, ‘जाने हो ?’ भनेर सोधिहाल्छन्,’ करिब १० वर्षदेखि काठमाडौंको रत्नपार्क क्षेत्रमा स्क्रब (ढाड कन्याउने) बेच्दै हिँड्ने लक्ष्मण केसीको अनुभव हो यो ।

दुई साता अघिदेखि यहाँ चटपटेको व्यापार थालेका किशोरको अनुभव पनि लक्ष्मणभन्दा भिन्न छैन । सोमबार दिउँसो रिपोर्टिङका क्रममा भेटिएका उनी भन्दै थिए, ‘दिउँसोभन्दा पनि बेलुका यहाँ तमासा हुन्छ । एकछिन यहाँ बस्नुभयो भने तपाईंलाई नै ‘जाने हो?’ भन्न बेर छैन ।’

काठमाडौंको परिचित ठाउँ हो– रत्नपार्क । पुराना मात्रै होइन, दिनहुँ गाउँबाट राजधानी छिर्ने नयाँ–नयाँ अनुहार यहाँ फेला पर्छन् । कामबाट फर्किएका यात्रुहरुका लागि बस चढ्ने स्थल यही हो । सस्तो मूल्यमा किनमेल गर्न चाहने निम्नवर्गका मान्छेहरुको बजार पनि हो यो । नाउँमा रत्नपार्क भनिए पनि यसको परिचय थुप्रै छन् तर खास नाउँ त अर्कै छ– बदनाम पार्क ।

२०२१ सालमा तत्कालीन राजा महेन्द्रले रानी रत्नको नाममा निर्माण गरिदिएको यो पार्क लामो समय अव्यवस्थित रह्यो । २०७१ साल वैशाखमा काठमाडौं महानगरपालिकाले अव्यवस्थित रत्नपार्कलाई व्यवस्थित गर्ने हेतुले पूर्ण रुपमा बन्द ग¥यो । २०७१ मंसिरमा सम्पन्न सार्क शिखर सम्मेलनलाई लक्षित गर्दै महानगरपालिकाले यसको पुनर्निर्माण गरेको थियो । झन्डै १५ महिना बन्द भएपछि खोलिएको रत्नपार्कको नामै अहिले बदलिएको छ– शंखधर उद्यान (पार्क) । करिब ४२ रोपनी जग्गाभित्र फैलिएको यो पार्कको भित्री स्वरुप पनि बदलिएको छ । सानो पोखरी, रक गार्डेन, पिङ, चिप्लेटी र स–साना विश्राम स्थल फेरिएका छन्  तर अझै पनि यस क्षेत्रको चरित्र फेरिएको छैन । न माइक्रो र बसका सहयोगीले ‘रत्नपार्क, रत्नपार्क’ भन्न छाडेका छन्, न यहाँ चलिआएको यौन व्यवसाय रोकिएको छ । पहिला पार्कभित्र हुने काम अहिले बाहिर भइरहेको छ तर रोकिएको भने छैन । ‘यो त सदाबहार सेक्स स्टेसन हो,’ सोमबार साँझ रत्नपार्कमा यौनकर्मी खोज्दै हिँडिरहेका एक युवक भन्दै थिए, ‘मेरो घर मोरङ हो । म वर्र्षैपिच्छे काठमाडौं आउँदा यहाँ आएकै हुन्छु । यहाँको धन्दा सधैँ उस्तै हो, कहिल्यै सुध्रिएन । यतिसम्म कि यहाँ पाइने केही केटीहरु त दुइवर्षअघि आउँदा पनि यहीँ थिए, अहिले पनि यहीँ छन् ।’

भेष बदलेर धन्दा
प्रहरीका अनुसार पछिल्लो समय रत्नपार्क क्षेत्रमा धेरै युवकहरु साँझ भेष बदलेर हिँड्ने गरेका छन् । त्यसरी हिँड्ने कतिपय साँच्चिकै तेश्रोलिङ्गी यौनकर्मी हुन्छन् भने कतिपय विभिन्न उद्देश्य बोकेर भेष बदल्ने गर्छन् । केही हप्ताअघिको कुरा हो । महानगरीय प्रहरी वृत्त जनसेवाको प्रहरी टोलीले पर्स लुटेको अभियोगमा आफूलाई पिंकी श्रेष्ठ नाम बताउने एकजना तेश्रोलिङ्गीलाई समात्यो । देख्दा ठ्याक्कै युवतीजस्तै ती युवाको छातिको स्तन ठूलै देखिन्थ्यो । फेस ‘क्लिन सेभ’ गरिएको थियो । प्रहरीले उसलाई युवती भनेर महिला थुनेकै ठाउँमा थुन्यो । तर १० दिनपछि जब एक महिला ‘मेरो श्रीमान् खोई ?’ भन्दै आइपुगिन्, सिंगो प्रहरी वृत्त चकित बन्यो । ‘हामीलाई त केटीको नाम टिपाएको थियो, खासमा केटा पो रहेछ !’ महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी मोहनकुमार थापाले सम्झिए, ‘केटो त दुई वर्ष विदेश पनि बसेको रहेछ । नागरिकता पनि केटाकै नाममा रहेछ । केटी बनेर लुट्न सजिलो हुन्छ र केटालाई छिट्टै जालमा पार्न सकिन्छ भन्ने सोचेर भेष बदलेको रहेछ ।’

सदाबहार यौन बजार
रत्नपार्कको मुखैअघि महानगरीय प्रहरी आयुक्तको कार्यालय छ । तीन वटा वृत्तका प्रहरी यस क्षेत्रमा दिनहुँ गस्ती गर्छन् । जनसेवा वृत्तले रत्नपार्क क्षेत्र, सिहंदरबार वृत्तले रणोद्दीप पुलदेखि भृकृटीमण्डप (रत्नपार्कको बीच रोडसम्म) क्षेत्र र दरबारमार्गले रणोद्दीप पुलको आधा भाग हुँदै त्रिचन्द्र, रानीपोखरी घण्टाघर लगायतका क्षेत्र हेर्छ । तैपनि यो क्षेत्रले आफ्नो परिचय बदल्न सकेको छैन । थुप्रै ठाउँमा यौनधन्दा बन्द भए तर यहाँ हुन सकेन । पहिले पार्कभित्रै खुलेआम अश्लील हर्कत र सेक्स डिल हुन्थे तर पार्क पुनःनिर्माणपछि यो धन्दा पार्कवरिपरि चौतर्फी (पार्क बाहिर) सरेको छ । यस क्षेत्रले आफ्नो परिचयलाई बदल्नुको सट्टा झन् फैलाउँदै छ– सदाबहार यौनबजारका रुपमा । शनिबार, आइतबार र सोमबार तीनै दिन शुक्रबारकर्मी रत्नपार्क क्षेत्रमा पुग्दा दृश्य उस्तै देखियो, मात्रै पात्र फरक ।

देख्ने/भोग्नेहरु भन्छन्, ‘काठमाडौंको मुटु मानिने रत्नपार्क बिहान, दिउँसो र बेलुकी गरी तीन समय छेपारोले झैँ रङ फेर्छ ।’ हुन पनि हो । यो क्षेत्र बिहान शान्त, दिउँसो भद्र, साँझ व्यस्त र राति बढी उत्तेजक देखिन्छ । आइतबारको दृश्य पनि त्यस्तै थियो । पार्क वरिपरि पसल फिँजाएकाहरु आफ्नो सामान बेच्न तल्लिन थिए, यौनकर्मीहरु भने ग्राहक खोज्न । दृश्य केही नयाँ थिएन । पहिलेझै तेश्रोलिङ्गी र महिला यौनकर्मी ग्राहकसँग मोलमोलाइमा व्यस्त थिए ।

करिब साढे सात बजेको थियो । संवाददाता रातो रङको साइड ब्याग भिर्दै कुर्ता–सुरुवालमा सजिएर पार्कको फलामे बारमा अडेस लागिरहेकी एक युवतीको छेउमा पुग्यो । छेउमा नपुग्दै ती युवतीले आँखा सन्काउँदै सोधिहालिन्, ‘जाने हो ?’ त्यसपछि संवाद सुरु भइहाल्यो ।
‘कति पैसा हो ?’
‘दुई हजार ।’
‘अलि महँगो भएन र ?’
‘कोठा भाडासहित १५ सयमा जाने हो त ?’
‘जानेचाहिँ कहाँ हो ?’
‘वीर हस्पिटल पछाडिको लजमा ।’

त्यसपछि संवाददाता ‘पछि भेटौँला’ भन्दै अघि बढे । उता ती युवती त्यत्तिकै सोधेको भन्दै अश्लील भाषामा गाली गरिरहेकी थिइन् । थुप्रै ग्राहक–यौनकर्मीबीच यस्तै संवाद सुनिन्थ्यो । कोही ‘डिल’ गरेर यौनकर्मीसँग जान्थे त कोही त्यत्तिकै जिस्काइरहेका भेटिन्थे । धेरैजसो संख्यामा तेश्रोलिङ्गी यौनकर्मीको उपस्थिति देखिन्थ्यो । उनीहरु ग्राहकलाई फकाउन अनेक हर्कत गरिरहेका हुन्थे । कतिपय टाउकोमा हेल्मेट लगाएर ‘डिल’ गरिरहेका थिए त कोही अनुहारमा ‘मास्क’ लगाएर । २० देखि ५० वर्ष उमेर समूहका ‘युवा–युवती’ त्यहाँ देखिन्थे ।

संवाददाताले भेटेका थुप्रै तेश्रोलिङ्गी यौनकर्मीले लाजिम्पाटको आफ्नै कोठामा लाने बताएका थिए भने महिला यौनकर्मीहरु होटल भनिरहेका थिए । एउटी स्कुटरवालीले त ठाडै प्रस्ताव राखिन्, ‘१३ सय देऊ । लाजिम्पाटमा कोठा छ, तिमीलाई यही स्कुटरमा लगेर फेरि यहीँ ल्याइदिन्छु ।’
रत्नपार्क क्षेत्रमा कति जति यौनकर्मी दिनहुँ भेटिएलान् ? त्यसको यकिन तथ्यांक त कसैसँग छैन् तर त्यहाँ लामो समयदेखि इयरफोन र हाते बत्तीको व्यापार गर्दै हिँड्ने चितवनका विक्रम थापाले करिब ४५ को संख्यामा यहाँ यौनकर्मी दैनिक ‘सेवा’मा जुट्ने बताए ।

प्रहरी वृत्त जनसेवाका डिएसपी मोहनकुमार थापाका अनुसार रत्नपार्क क्षेत्र पहिलेदेखि नै यौनकर्मीको ग्राहक खोज्ने ‘जक्सन’ हो । ‘यहाँबाट ग्राहक खोजेर उनीहरु आसपासका होटल, लाजिम्पाट तथा आफ्नो (सेक्स वर्करका) कोठामा लाने गर्छन्,’ उनले भने ।

ग्राहक लुटिन्छन् पनि
रत्नपार्क क्षेत्रमा यौन प्यास मेट्न आएका ग्राहक लुटिने पनि गरेका छन् । विशेषगरी तेश्रोलिङ्गी यौनकर्मीले ग्राहक लुट्ने गरेको डिएसपी थापा बताउँछन् । ‘प्रहरीले देख्छ कि भनेर उनीहरु ग्राहकलाई सामान्य बार्गेनिङ गरेर रत्नपार्क क्षेत्रबाट बाहिर लान्छन् अनि बीच बाटोमा थप बार्गेनिङ गरेर लुट्ने गर्छन्,’ उनले भने, ‘बरु प्राकृतिक रुपमै महिला रहेका यौनकर्मीले ठग्दैनन्, वरिपरिको सामान्य होटलमा लगेर सन्तुष्टि दिन्छन् तर अधिकांश तेस्रोलिङ्गी यौनकर्मीले  ठग्ने  र लुट्ने गरेको उजुरी पाइएको छ । धेरैजसोले लाजिम्पाट क्षेत्रमा आफ्नो कोठामा लगेर पनि लुटेका छन् । लुट्न सजिलो हुने भएकाले उनीहरु बढी पाका उमेरका ग्राहक खोज्ने गरेको पनि अनुसन्धानका क्रममा खुल्यो ।’

आइतबार रत्नपार्कमै भेटिएका एक ट्याक्सी चालक पूर्णमान तामाङको भनाइ पनि डिएसपी थापासँग मिल्दोजुल्दो थियो । उनले एक वर्षअघि आफ्नो ट्याक्सीमा चढेर यौन सन्तुष्टि मेटाउन गएका एक युवकलाई तेश्रोलिङ्गी यौनकर्मीले लाजिम्पाट लगेर लुटेको उनले बताए । ‘त्यतिबेला ती ग्राहकको ४० हजार रुपैयाँ ती यौनकर्मीले चोरेकी थिइन्,’ उनले सुनाए ।

ग्राहक यौनकर्मीबाट मात्रै लुटिँदैनन्, रत्नपार्क क्षेत्रमा भेटिने दलालबाट पनि ठगिन्छन् । साँझ परेर रत्नपार्क क्षेत्रमा दिनहुँ आउने बताएका काठमाडौं, असनका रमेशले भने, ‘यहाँबाट दलालहरुले केटी मिलाइदिन्छु भन्दै ग्राहकहरुलाई ठमेल आसपासका डान्सबार लिएर जान्छन् अनि उता केटीसँग खान बसाएर बिल उठाइदिन्छन् । बिल तिर्ने बेलासम्म त्यो दलाल टाप ठोकिसकेको हुन्छ । म स्वयं एकपल्ट यसैगरी च्वाँक केटी मिलाइदिन्छु भन्ने दलालको फन्दामा परेको थिएँ ।’
मोडलिङमा आधारित तस्बिर । मोडल: स्यारोन राई/संजिब श्रेष्ठ । तस्बिर : रुकेश श्रेष्ठ

डिएसपी थापाका अनुसार दिउँसो भन्दा पनि साँझ ५ बजे देखि ८ बजेसम्म बढी तेस्रोलिङ्गी यौनकर्मी रत्नपार्क क्षेत्रमा देखापर्ने र उनीहरुले ग्राहकअनुसार पैसा असुल्ने गरेका छन् ।  मान्छेको चहलपहल र भिडभाड बढी हुने ठाउँमा उनीहरु ग्राहक खोज्न उभिने गरेको उनले बताए ।

पार्कभित्र निगरानी छ
शंखधर उद्यान (रत्नपार्क) तथा रानीपोखरी एकाई प्रमुख हरिशरण केसी पार्कबाहिर जे भए पनि पार्कभित्र अश्लील क्रियाकलाप तथा गतिविधि गर्ने युवा–युवती तथा जोडीलाई पार्कबाट बाहिर निकाल्ने गरेको बताए । ‘त्यस्ता अश्लील क्रियाकलाप गर्ने केही जोडीलाई पार्कबाट बाहिर निकालेका पनि छौं,’ उनले सुनाए । प्रवेश टिकटको व्यवस्था गरेयता पार्कभित्र यौनजन्य कारोबार गर्ने उद्देश्यले कुनै पनि यौनकर्मी प्रवेश नगरेको उनले दाबी गरे । केसीका अनुसार २०७२ साल असार १५ गतेबाट प्रवेश शुल्क लिन थालिएको हो । ‘तर गुपचुपमा भित्र पनि डिल हुने गर्छ,’ त्यहीँ भेटिएका एक व्यापारीको दाबी थियो । पार्क पुनर्निर्माण भएयता पार्कभित्रको वाइफाइको व्यवस्था पनि गरिए यता ‘धन्दा’को भन्दा पढाइको चिन्ता गर्नेहरु छिर्न थालेको उप्रेती बताउँछन् । ‘पुस्तक पढ्न, वाइफाइ चलाउन, शितलतामा रमाउन, आराम गर्न र साथी–साथी गफ गर्न यहाँ आउने गरेका छन्,’ उनको भनाइ थियो । रिपोर्टिङका क्रममा थुप्रै प्रेमिल जोडीहरु पनि पार्कभित्र ‘डेटिङ’ गर्दै गरेको अवस्थामा भेटिएका थिए ।

सर्वसाधारणका दुःख
बस चढ्न र किनमेल गर्न भनेर रत्नपार्क वरिपरि आउने सर्वसाधरण यस क्षेत्रको ‘बदनाम चरित्र’का कारण अति पीडित बनेका छन् । ‘यहाँ छोरीचेलीलाई एक्लै हिँड्न र उभिन निकै गाह्रो छ, उभियो कि यौनकर्मी ठानिहाल्छन्, ‘जाने हो  ?’ भनेर सोधिहाल्छन्,’ रत्नपार्क क्षेत्रमा व्यापार गर्दै आएकी रमादेवीले गुनासो पोखिन् । रमादेवीको भनाइ खासमा रत्नपार्क क्षेत्रको यथार्थ हो । यो क्षेत्र काठमाडौं महानगरपालिका वडा नम्बर २८ अन्तर्गत पर्छ । यस वडाका अध्यक्ष भाइराम खड्गी स्वयं यो क्षेत्रको समस्यादेखि आजित रहेछन् । संवाददातासँग भन्दै थिए, ‘म आफैँ कतिचोटी यौनकर्मीको फन्दामा परेको छु । यहाँ त आफ्ना आफन्त, साथीभाइ बस कुरेर बस्ने स्थिति पनि छैन । कतिपल्ट त मेरै परिवारका सदस्यलाई गाडी कुरेकै ठाउँमा ‘जाने हो ?’ भनेर सोधेका छन् । यस्तो  देख्दा दुःख लाग्छ । यो क्षेत्रलाई विकृतिमुक्त बनाउन म कम्मर कसेर लागेको छु तर गाह्रो परिरहेको छ । यो क्षेत्र मेरो वडामा परे पनि महानगरको प्रधान कार्यालयले नै हेर्छ, कर उठाउने पनि काम पनि उसैले गर्छ ।’

यौनकर्मी कसरी चिन्ने ?
को यौनकर्मी, को सर्वसाधारण, छुट्याउने कसरी ? यसमा डिएसपी थापाको टिप्स छ, ‘यौनकर्मीलाई छुट्याउने आधार भनेको उनीहरु ओभर मेकअप गर्ने, अप्राकृतिक देखिने, केटाहरुलाई बोलाउने, जिस्काउने, केटालाई आकर्षित गर्न खोज्ने, केटाको ध्यान केन्द्रित गर्न खोज्ने व्यवहार देखाउँछन्  र उनीहरुको ड्रेसअप पनि हिपहप र केटा आकर्षित गर्ने खालका हुन्छन् ।’

त्यसो त रत्नपार्क क्षेत्रमा भेटिने तेश्रोलिङ्गी यौनकर्मीलाई कतिपयले साँच्चिकै युवती ठानेर जाने गर्छन् । डिएसपी थापाका अनुसार तेश्रोलिङ्गी यौनकर्मी बढी ओपन तथा खुल्ने स्वभावका हुन्छन्, देख्दा केटीको स्वरुप भए पनि स्वर केटाजस्तो हुन्छ, छेउमा गाडी, बाइक आउनसाथ ‘जाने हो ?’ भनेर सोध्न पुगिहाल्छन् ।

मूकदर्शक प्रहरी
वरिपरि प्रहरीको गस्ती भए पनि रत्नपार्क क्षेत्रमा यौनकर्मीको उपस्थिति रोकिन सकेको छैन । प्रहरी मूकदर्शक बनेका कारण नै यो नरोकिएको सर्वसाधरणको आरोप छ । ‘यहीँ अगाडि पुलिस चौकी छ तर वास्ता गरेको देखिँदैन । मलाई लाग्छ, यिनीहरु पनि यौनकर्मीसँग मिलेका छन्,’ रत्नपार्कमा भेटिएका रेशम काफ्लेको आरोप थियो । रत्नपार्क क्षेत्रका व्यापारी लक्ष्मण केसी त यस्तो क्रियाकलापको रोकथाम प्रहरीबाट नहुने तर्क राख्छन् । ‘प्रहरी प्रशासन नजिक भएर के गर्नु ? छुट्टि भएपछि उनीहरु नै यता आएर मोलमोलाइ गरेको भेटिन्छ,’ उनले आक्रोश पोखे ।

यता जनसेवा वृत्तका डिएसपी थापा फूटपाथ व्यापार, ब्लु डायमन्ड सोसाइटी र कमजोर कानुनका कारण यो धन्दा रोक्न नसकिएको बताउँछन् । कसरी ? ‘दिनभर फुटपाथमा व्यापार गर्ने र साँझ परेपछि यौनधन्दा गर्ने  केस पनि फेला पारेका छौं,’ उनले भने, ‘त्यस्तै फुटपाथ र शौचालय संचालन गर्नेको सेक्स वर्करको कनेक्सन हुने र कमिसनमा काम गर्ने गरेको पनि पाएका छौं ।  त्यसैले फुटपाथ व्यवसायलाई व्यस्थित गर्नुपर्छ । दोस्रो, धेरै नक्कली तेस्रोलिङ्गीको अहिले बिगबिगी छ तर ब्लु डायमन्ड संगठनका साथीहरु तेस्रोलिङ्गी यौनकर्मी समाउनासाथ छुटाउन आइपुगिहाल्नुहुन्छ । यसले पनि गाह्रो पारेको छ । तेस्रो, कमजोर कानुनका कारण यौनव्यवसाय रोक्न नसकिएको त देशकै समस्या भइहाल्यो ।’यता तेस्रोलिङ्गीको पक्षमा काम गर्ने संस्था ब्लु डाइमन्ड सोसाइटीकी अध्यक्ष पिङ्की गुरुङले आफूहरुले यौन पेसा अंगालेर बसेका तेस्रोलिङ्गीलाई यौन कार्य गर्न वा नगर्न केही सल्लाह नदिने बताइन् । ‘यौन पेसा गर्न वा नगर्न हामी कुनै सल्लाह दिँदैनौँ, त्यो उनीहरुको बाध्यता र स्वतन्त्रताको कुरा हो,’ उनले भनिन्, ‘तर प्रहरीले भनेजस्तो तेस्रोलिङ्गीका नाममा अरु केटाहरु केटीको भेष बदलेर हिँड्दैनन् । हामी त केही निर्दोषलाई समाएर दुःख दिएको खण्डमा छुटाउन जाने हो, त्यो हाम्रो कर्तव्य पनि हो ।’ उनले त उल्टै प्रहरीमाथि आरोप लगाइन्, ‘बरु हाम्रै केही साथीहरुलाई कुनै—कुनै प्रहरीले समाएर हजार—पाँचसय लिँदै छाड्ने गरेको साथीहरुबाट सुनेका छौँ । यति भन्दाभन्दै पनि म के भन्छु भने कोही साँच्चिकै दोषी देखियो भने कार्बाही गर्नुपर्छ । यौन कार्यमा संलग्न हुने तेस्रोलिङ्गीले पनि अरु मानिसलाई अप्ठेरो पार्ने कार्य गर्न हुँदैन ।’ महानगरीय प्रहरी वृत्त जनसेवाका अनुसार २०७४/७५ मा ६ जना महिला र ५ जना तेस्रोलिङ्गीलाई पक्राउ गरेर सार्वजनिक मुद्दा चलाइएको थियो । यता महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी तिलक भारतले केही महिनायता ८/१० जना तेस्रोलिङ्गी यौनकर्मीलाई कार्बाही गरेको बताए । ‘अहिले वेश्यावृत्ति अलि कम भएको छ,’ उनको दाबी थियो । तेस्रोलिङ्गीलाई थुन्नका लागि आफ्नो कार्यालयमा महिला कक्ष खाली नभए सोह्रखुट्टेको लैनचौर वृत्तमा लगेर थुन्ने गरेको उनले सुनाए ।

उस्तै व्यापार शैली
यौनकर्मीका मामिलामा मात्रै होइन, व्यापारका मामिलामा पनि रत्नपार्कको चरित्र बदलिएको छैन । रिपोर्टिङका क्रममा रत्नपार्क क्षेत्र पुग्दा त्यहाँ दिउँसो फुटपाथमा हात हेराउने ज्योतिषले ग्राहकलाई डर देखाउँदै भविष्यवाणी हेरेको र पत्थर भिराउने गरेको देखिन्थ्यो । साँझ परेपछि रत्नपार्कमा चहलपहल बढ्ने गर्छ । पार्कछेउ फुटपाथमा मासु, भुटनका परिकार बिक्री भइरहेको थियो । थरीथरी सामान फुटपाथमा फिँजाएर बेच्ने शैलीमा पनि कुनै फेरबदल थिएन । व्यापारको शैली पनि अब त ‘सदाबहार’ नै भइसक्यो । जहिल्यै पुगे पनि व्यापारीको ग्राहक तान्ने शैली उस्तै हुन्छ । सोमबार साँझ पुग्दा पनि उस्तै थियो ः
‘हजार १२ सयको जुत्ता मात्र ५ सय ५० मा ।’
‘हान्दियो, हान्दियो, १ सय ९० मा झोला । ’
‘आउनुस् है, बसौँ, भुटन खाएर जाऊँ ।’
‘कन्डम है कन्डम, लङ टाइम, काँडा वाला, ओइली सबैखाले छ ।’

‘रत्नपार्कको विकृति चाँडै अन्त्य गर्छौ’

भाइराम खड्गी,
अध्यक्ष, वडा नं. २८, काठमाडौं महानगरपालिका

तपाईंको वडामा पर्ने रत्नपार्क क्षेत्रलाई तपाईं कसरी वर्णन गर्नुहुन्छ ?
यो क्षेत्रलाई एक वाक्यमा भन्नुपर्दा, यो एकदमै महत्वपूर्ण र राजधानीको केन्द«विन्दु हो । यहाँ कतिपय कुरा राम्रा पनि छन्, कतिपय नराम्रा पनि । राम्रा कुरालाई प्रोत्साहित र नराम्रालाई निरुत्साहित गर्नुपर्छ भन्ने मेरो मूल मन्त्र हो ।

यो क्षेत्र यौन क्रियाकलाप हुने क्षेत्रकोे रुपमा बढी चर्चित छ, यसको परिचय सधैंँ यस्तै हुने हो ?
होइन, यो हटाउनको निमित्त मैले महानगरको कार्यपालिका बैठकमा प्रस्ताव पेस गरिसकेको छु । हामीले यो हटाएरै छाड्छौँ । महानगर प्रहरी लगाएरै भए पनि  यो विकृतिको अन्त्य गर्छाैं ।
आसपासका होटलले पनि यौन व्यवसायलाई सघाउ पुर्याएको पाइयो नि ?
हो । हामीले सामुदायिक प्रहरी लगाएर छापा मारेका छौँ । अनि त्यस्ता व्यवसायीलाई पक्रेर प्रहरीलाई पनि बुझाएका छौँ तर विडम्बना प्रहरीले पनि २÷३ दिनमा छोडिदिने गरेको छ ।
चारैतिर पुलिस र नजिकै महानगर कार्यालय भएर पनि यो क्षेत्र असुरक्षित भयो भन्ने आरोप छ नि ?
यस्तो असुरक्षा र विकृतीको अन्त्यको लागी प्रहरी, प्रशासन र महानगर मिलेर काम गर्नुपर्ने आवश्यकता देखेको छु । अब  हामी यहीअनुरुप अगाडि बढ्छौँ र असुरक्षित, विकृत रत्नपार्क क्षेत्रको परिचय बदल्दै सुरक्षित र सभ्य क्षेत्र भनेर चिनाउछौँ ।
तपाईं निर्वाचित भएर आएको ५ महिना बढी भइसक्यो, तैपनि केही गर्न सक्नुभएन है ?
हेर्नुस्, यो ठाउँबारे म पहिलेदेखि नै परचित छु । काम गर्न एक जनाले मात्रै चाहेर हुँदैन रहेछ । कर्मचारीले काममा बाधा गरेको महसुस गरेको छु । जनप्रतिनिधिको हातमा केही पनि छैन । हामी मिसनसहित यो, यो गर्ने भनेर आएका छौँ तर प्रशासनिक झमेलाले गर्दा केही महत्वपूर्ण काम गर्न सकेका छैनौँ, चाँडै झमेलालाई चिरेर अगाडि बढ्ने छौँ ।

 

Leave A Comment